सुदूरपश्चिममा पनि १० सांसदले छोडे एमाले
सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा (एमाले) छोडेर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
सुदूरपश्चिमकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीको नेतृत्वमा एमालेका सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर सनाखत गरेका हुन्। “अहिले १० सांसदले सनाखत गरेका छौं, केही दिनमा अझै थपिन्छन्,” मन्त्री जोशीले हिमालखबरसँग भनिन्।

५३ सदस्यीय प्रदेश सभामा एमालेका २४ सांसद निर्वाचित भएका थिए। उनीहरूमध्ये १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्। अब एमालेमा १४ सांसद बाँकी छन्।
एकीकृत समाजवादीलाई मान्यता दिएसँगै निर्वाचन आयोगले प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म पार्टी रोज्ने समय दिएको छ। तर, एमाले नेता भीम रावल बुधबार धनगढी आउने भएपछि एकीकृत समाजवादीमा लागेका सांसदले मंगलबार नै सनाखत गरेका हुन्। नेता रावलले सांसदलाई रोक्न सक्ने आशंकामा आजै सनाखत गरिएको जनाइएको छ।
.jpg)
एकीकृत समाजवादीमा सनाखत गरेका सांसदमा मन्त्री जोशीसँगै सुनकुमारी चौधरी, मनाकुमारी साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, अमर साउद, दुर्गा विक, माया भट्ट र लालबहादुर खड्का छन्।