बागमती प्रदेश सभाका १२ सांसदले छोडे एमाले
बागमती प्रदेश सभाका १२ सांसदले नेकपा (एमाले) छोडेर नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेको सनाखत गरेको सांसद मुनु सिग्देलले बताइन्। निर्वाचन आयोगले प्रदेश सभा सदस्यलाई २२ भदौसम्म पार्टी रोज्ने समय दिएको छ।
नयाँ पार्टी रोज्ने सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर, कुसुमकुमार कार्की र कृष्ण खनाल छन्। सांसद खनाल मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्री छन्।
अहिले १२ जनाले सनाखत गरेको, अझै केही सांसद आउने सिग्देलले बताइन्। “अझै केही साथीहरू आउने क्रममा हुनुहुन्छ,” उनले भनिन्।
११० सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५६ सांसद निर्वाचित थिए। दोलखाका सांसद पशुपति चौलागाईको निधन भएको छ। १२ सांसदले एमाले छोडेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अहिले विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, जनता समाजवादी पार्टी (जसपा)का तीन र राष्ट्रिय जनमोर्चा एक सांसद छन्।