पुस्तक पढ्ने संस्कृति प्रवर्द्धन गर्न मकवानपुरमा पुस्तकालय ब्युँताउन थालिएको छ।
राष्ट्रिय पुस्तकालय दिवसका अवसर पारेर मंगलबार मात्रै पाँच वटा पुस्तकालय सञ्चालनमा ल्याइएका छन्। पुस्तकालय अभियान समूह, मकवानपुरले हेटौंडा-१ मा चौकीटोलस्थित नवज्योति पुस्तकालय, हेटौंडा-१८ दोभान चौरस्थित दोभानचौर सामुदायिक पुस्तकालय, बकैया गाउँपालिका-७, हात्तीचरणस्थित हात्तीचरण सामुदायिक पुस्तकालय, मकवानपुरगढी गाउँपालिका-५, धादिङस्थित हाम्रो सामुदायिक पुस्तकालय र भीमफेदी गाउँपालिका-४, निबुवाटारस्थित ज्ञानज्योति पुस्तकालय सञ्चालनमा ल्याएको हो।
पुस्तकालय शिक्षा प्रणालीलाई ब्युँताउन मकवानपुरमा बन्द रहेका पुस्तकालय सञ्चालनमा ल्याउन थालिएको अभियानका संयोजक प्राध्यापक सुरेश श्रेष्ठले बताए। मकवानपुरमा खोलिएका सामुदायिक तथा संस्थागत पुस्तकालय आर्थिक अभाव लगायतका कारणले बन्द हुन थालेपछि यो अभियान शुरू गरिएको उनले बताए।
यो अभियान अन्तर्गत हेटौंडाको चौघडास्थित शान्ति पुस्तकालय १५ वर्षपछि सञ्चालनमा आएको छ। यो पुस्तकालय नवजीवन ज्योति क्लबले सञ्चालनमा ल्याएको हो।
त्यस्तै, हेटौंडा-१, चौकीटोलस्थित नवज्योति पुस्तकालय पुनःसञ्चालनमा आउने भएको छ। पुस्तकालय पुनःसञ्चालनका लागि स्थानीयको भेलाले उत्सव ढुंगानाको संयोजकत्वमा सात सदस्यीय पुस्तकालय सञ्चालन तथा व्यवस्थापन तदर्थ समिति गठन गरेको स्थानीय सन्तोष पराजुलीले जानकारी दिए। २०४७ सालमा स्थापना भएको पुस्तकालय २०५७ सालदेखि बन्द भएको थियो।
पुस्तकालय पुनःसञ्चालनका लागि पुस्तकालय अभियान समूहले रु. ५० हजार बराबरको पुस्तक सहयोग गर्दै आएको छ। अन्य स्थानका पुस्तकालय पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको अभियान समूहका सदस्य रोशन खनालले जानकारी दिए।
अहिले हेटौंडामा रहेको पुष्पलाल स्मृति पुस्तकालय पनि प्रभावकारी रूपमा सञ्चालित छैन। पहिले जस्तो पाठकको चाप नभएकाले खासै जोड नदिइएको पुस्तकालय व्यवस्थापन समितिले जनाएको छ।