पुरानो पार्टी छोडेर नयाँमा सनाखत शुरू
नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचन आयोगको कार्यालय पुगेर जानकारी दिन थालेका छन्।
मंगलबार प्रदेश २ को पर्साका जनप्रतिनिधि नयाँ पार्टी प्रवेश गरेको जानकारी दिन निर्वाचन कार्यालय पुगेका छन्। जनप्रतिनिधिले पुरानो पार्टी छोडेर नयाँ पार्टीमा गएको जानकारी दिन शुरू गरेका हुन्।
२ भदौमा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन भएको हो। त्यस अनुसार, निर्वाचन आयोगले दुवै दलका प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म नयाँ पार्टीमा जानसक्ने समय दिएको छ।
निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस अनुसार, पर्साका स्थानीय तहका जनप्रतिनिधि मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेका छन्।
आजदेखि नयाँ पार्टी प्रवेश गर्ने जनप्रतिनिधिको सनाखत हुन थालेको प्रदेश निर्वाचन कार्यालय कार्यालय प्रमुख पुष्पा झाले बताइन्। प्रदेश निर्वाचन कार्यालय रहेको ठाउँमा स्थानीय तहका जनप्रतिनिधिको सनाखत पनि प्रदेश कार्यालयले नै गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन्।
मंगलबार जसपा छोडेर लोसपामा गएको जानकारी दिन स्थानीय तहका जनप्रतिनिधि निर्वाचन कार्यालय पुगेका छन्। स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा गएको जानकारी दिंदै सनाखत गर्न थालेपछि निर्वाचन कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ।
त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका जनप्रतिनिधिले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने तयारी गरेका छन्। एमाले छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेश सभा सदस्यले बुधबार सनाखत गर्ने तयारी रहेको एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बताए। “भोलि निर्वाचन कार्यालय गएर सनाखत गर्छौं, पर्सि बैठक बसेर संसदीय दलको नेता चयन गर्छौं,” महतोले भने।
लोसपामा गएका प्रदेश सांसदले भने एक-दुई दिनभित्रै सनाखत गर्ने बताएका छन्। त्यसका लागि बुधबार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी जनकपुर आउने कार्यक्रम रहेको छ।
त्यसपछि प्रदेश सांसदले नयाँ पार्टी प्रवेश गरेको निर्वाचन आयोगलाई जानकारी दिने तयारी रहेको लोसपा नेता वृषेशचन्द्र लाल बताए। “भोलि अध्यक्ष सहित नेताहरू आउँदै हुनुहुन्छ। उहाँहरूसँग छलफल गरेर सनाखत गर्ने तयारीमा छौं,” लालले भने। सबै जना एकै पटक आयोग पुगेर सनाखत गर्ने उनले बताए।