एकीकृत समाजवादीलाई प्रदेश २ सरकारमा ल्याउने तयारी
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश २ सरकारमा ल्याउने तयारी गरिएको छ।
मुख्यमन्त्री लालबाबु राउतले यसअघि पनि नेपाल पक्षलाई प्रदेश सरकारमा सहभागी गराउन खोजेका थिए। तर, नयाँ दल गठन नभएकाले मन्त्रिपरिषद् विस्तार रोकिएको थियो।
नेकपा (एमाले) विभाजन भएर एकीकृत समाजवादी बनेसँगै प्रदेश सरकारमा सहभागी गराउने तयारी थालिएको हो। एकीकृत समाजवादी संघीय सरकारमा सहभागी भएर मन्त्रिपरिषद् विस्तार भए लगत्तै प्रदेश २ मा पनि नयाँ मन्त्री थपिने भएका छन्।
एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेश सांसदको सनाखत हुने र त्यसपछि सरकारमा सहभागी हुने बताए। “बुधबार पार्टीको सनाखत कार्य हुँदै छ। त्यसपछि संसदीय दलको नेता चयन गरेर सरकारमा सहभागिताका विषयमा छलफल हुन्छ,” महतोले भने।
अहिले प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)को नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार छ। कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालयलाई फुटाएर १० पुर्याएका छन्।
जसमध्ये जसपाका चार, कांग्रेसका तीन र माओवादीका एक मन्त्री छन्। बाँकी दुई मन्त्रालय मुख्यमन्त्री राउतले आफूसँगै राखेका छन्। वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय मुख्यमन्त्रीसँगै रहेका छन्।
यी दुवै मन्त्रालय एकीकृत समाजवादीलाई दिएर सरकारमा ल्याउने मुख्यमन्त्री राउतको तयारी छ। एकीकृत समाजवादीका नेता महतोले अहिले सनाखतमा लागिरहेको र त्यसपछि मात्रै मन्त्रालयका विषयमा छलफल हुने बताए।
यसअघि जेठमा कांग्रेसलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री तथा तीन राज्यमन्त्रीलाई हटाएका थिए। माओवादीलाई सरकारमा ल्याउन जसपा अध्यक्ष उपेन्द्र यादव पक्षकै एक मन्त्री र एक राज्यमन्त्रीलाई राजीनामा गर्न लगाएका थिए।