कसरी समस्या बन्दै छ ‘भाषिक रंगभेद’?
विश्वको सर्वाधिक प्रचलित भाषा हो, अंग्रेजी। यसका विभिन्न प्रकार वा भाषिका छन्।
बीबीसी विश्वसेवामा प्रकाशित क्रिस्टिन रोको रिपोर्टले अंग्रेजी मातृभाषी विशेष गरेर गोरा जातिका अंग्रेजीभाषीहरूले अन्य अंग्रेजीभाषीमाथि हुने गरेको विभेद उजागर गरेको छ। नेपाल जस्तो बहुभाषिक मुलुकमा नेपाली मातृभाषी र गैरमातृभाषीबीचमा पनि विभेद रहेकाले यो सामग्री सान्दर्भिक लागेर
पूर्ण पी राईले गरेको अनुवाद:
गत वर्ष न्यूयोर्कस्थित ट्रायाङ्गल इन्भेस्टिगेशन नामक मानव संसाधन परामर्शदाता संस्थाले एउटा गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थामा कर्मचारीलाई उच्चारणका आधारमा विभेद गरिएको आरोपबारे अनुसन्धान गरेको थियो। खास गरी एक जना इथियोपियाली कर्मचारीलाई जूम बैठकहरूमा सहकर्मीहरूले बारम्बार हतोत्साही गरेका गुनासो थियो। उनको अंग्रेजी नबुझिने भनेर आलोचना गरिन्थ्यो र उनलाई बैठकबाटै निकालिन्थ्यो। त्यसपछिका बैठकहरूमा जूम बैठकमा उनी सचेत भए, त्यहाँ बोल्नेभन्दा पनि उनले ‘च्याट’ मा बढी ध्यान दिन थाले।
ट्रायाङ्गलका संस्थापक तथा प्रमुख किया रोबर्ट्सको समूहले गरेको अध्ययनबाट ती आरोपहरू सत्य ठहरिए, काला जातिका कर्मचारीहरूलाई फरक व्यवहार गरिन्थ्यो, उनीहरू त्यो कामका लागि सक्षम नभए जसरी उनीहरूलाई होच्याइन्थ्यो र उनीहरूका विचार र सुझावहरूलाई गम्भीरतापूर्वक लिइँदैनथ्यो। अनुसन्धानले अन्ततः त्यस्ता समस्या समाधानका लागि त्यस संस्थाका कर्मचारीहरूलाई तालीम दिन र नियमित निगरानी गर्न तयार बनायो।
भाषिक विभेदको यो घटना नयाँ र एक मात्र प्रकरण थिएन। अंग्रेजी भाषा प्रयोग गर्नेको संख्या विश्वव्यापी रूपमा बढिरहेको छ। व्यापार, विज्ञान र शासनको प्रमुख भाषा हो यो। विभिन्न देश र समुदायले प्रयोग गर्ने क्रम बढेसँगै अंग्रेजी भाषा जटिल बन्दै गएको छ। विविधतालाई आत्मसात् गर्नुको साटो हामी आफैं पनि खास किसिमको अंग्रेजीलाई अरूभन्दा माथिल्लो श्रेणीको मान्छौं। यसको मतलब मातृभाषी हुन् वा गैरमातृभाषी, तथाकथित ‘मानक’ भन्दा फरक तरिकाले बोल्ने वक्ताहरू आफ्नो उच्चारण र लवजको कारण आफूलाई कमजोर, सीमान्तकृत र दण्डित महसूस गर्छन्।
यद्यपि सबैखाले भाषिक विभेद जानाजान भएका हुँदैनन्। आफूलाई समावेशी ठान्ने धेरै मानिस आफूमा रहेको पूर्वाग्रही सोचले आफूलाई विभेदकारी बनाइरहेको बुझ्दैनन्, आफूले विभेद गरिरहेको थाहा पाउँदैनन्। के कुराले उनीहरूलाई कामदारहरूको मनोबल खस्काउन र निरुत्साहित गर्नतर्फ अग्रसर गराइरहेको छ भन्ने कुराले कुनै फरक पार्दैन। यदि यस्तै अवस्था रहिरह्यो, वा कम्पनी वा रोजगारदाताहरूले यसलाई ध्यान दिएनन् वा रोकेनन् भने कर्मचारी तथा कामदारहरूको अवस्था झन् खराब बन्नेछ। उनीहरू झन् किनारातिर धकेलिनेछन्, कार्यथलोबाटै बहिष्कृत हुनेछन्।
अंग्रेजी भाषासँग कस्तो धारणा जोडिएको छ भने, यो धनी, बहुसंख्यक गोराहरूले बोल्छन् र धेरैजसो एकभाषी छन्। जुन धारणाले यसलाई विशेष दर्जा दिलाएको छ। यही सीमित दृष्टिकोणका कारण नाइजेरिया र सिंगापुर जस्ता बहुभाषिक देशहरूमा अंग्रेजी पनि त्यहाँको सरकारी कामकाजी भाषा हुँदाहुँदै त्यहाँको अंग्रेजीलाई कम वैध र कम रुचाइने रूपमा लिइन्छ।
जति–जति विश्व कामको संसारमा झन्–झन् जोडिंदै गएको छ, कामदारका लागि एक–आपसमा प्रभावकारी र सम्मानजनक रूपमा कुरा गर्ने सञ्चार क्षमता अनिवार्य बनेको छ। त्यसैले, हामी भाषिक विभेद कसरी अन्त्य गर्न सक्छौं र मातृभाषी र गैरमातृभाषीलाई समान रूपमा लाभान्वित पार्न भाषालाई अझै समावेशी, व्यावहारिक रूपमा उपयोगी बनाउन सक्छौं त?
व्यक्त र अव्यक्त
विश्वव्यापी रूपमा अंग्रेजी वक्ताहरूको संख्या हिसाब गर्दा अंग्रेजी मातृभाषा भएकाहरूलाई गैरमातृभाषीहरूले दुई तिहाइले पछि पारिसकेका छन्। यद्यपि ‘अंग्रेजी मातृभाषी’ लाई परिभाषित गर्न कठिन हुन्छ। अंग्रेजी मातृभाषी भन्नाले बच्चैदेखि पहिलो भाषाको रूपमा अंग्रेजी बोल्नेहरूलाई बुझाउँछ। तर, धेरै बालबालिका एकसाथ धेरैवटा भाषा सिक्दै हुर्किन्छन्। जस्तै, यदि कुनै देशमा धेरैवटा भाषा बोलिन्छन्, र बाबुआमा फरक–फरक ठाउँका फरक–फरक भाषीहरू भए भने बच्चाहरूले सँगसँगै दुवै भाषा सिक्छन्।
अंग्रेजी भाषासँग कस्तो धारणा जोडिएको छ भने, यो धनी, बहुसंख्यक गोराहरूले बोल्छन् र धेरैजसो एकभाषी छन्। जुन धारणाले यसलाई विशेष दर्जा दिलाएको छ। यही सीमित दृष्टिकोणका कारण नाइजेरिया र सिंगापुर जस्ता बहुभाषिक देशहरूमा अंग्रेजी पनि त्यहाँको सरकारी कामकाजी भाषा हुँदाहुँदै त्यहाँको अंग्रेजीलाई कम वैध र कम रुचाइने रूपमा लिइन्छ। अस्ट्रेलियाको पर्थस्थित कर्टिन विश्वविद्यालयका समाजभाषाविद् सेन्डर डोभचिनका अनुसार, विश्वव्यापी रूपमा बेलायती, अमेरिकी र अस्ट्रेलियाली अंग्रेजी सबैभन्दा सम्मानित छन्।
भाषावैज्ञानिक आधारमा एशियाली, अफ्रिकी र खाडी मुलुकवासीहरू पनि अंग्रेजीका वास्तविक मातृभाषी हुन्। केही अमेरिकीलाई एशियालीको अनुहार देख्नासाथै उसको अंग्रेजी बुझ्न कठिन हुन्छ भन्ने लाग्छ, उनीहरू कति शुद्ध बोल्न सक्छन् र उनीहरू कहाँबाट आएका हुन् भन्ने मतलब नै हुँदैन।
कुनै पनि देशभित्र बोलिने अंग्रेजीको खास रूप वा भाषिकाले खासै फाइदा पुर्याउँदैन। एउटा मात्र उदाहरण अमेरिकाको लिऊँ, अफ्रिकी–अमेरिकी अंग्रेजीलाई गलत रूपमा बुझिन्छ र विभेद गरिन्छ। उनीहरूको राष्ट्रियता र छालाको रङप्रतिको धारणाका कारण उनीहरूले अपमान भोग्नुपर्छ। “जब कुनै युरोपेली जस्तैः फ्रान्स, जर्मनी, इटालीको मानिसले अंग्रेजी बोल्छ, उनीहरूले फरक लवजमा बोले पनि त्यसलाई साँच्चै सुन्दर, आनन्ददायी, कलात्मक र अनेक उपमा दिएर प्रशंसा गरिन्छ,” डोभचिन व्याख्या गर्छन्, “तर एशियाली, अफ्रिकी र खाडी मुलुकवासीले बोलेको अंग्रेजीलाई कठिन र नराम्रो मानिन्छ।”
भाषावैज्ञानिक आधारमा एशियाली, अफ्रिकी र खाडी मुलुकवासीहरू पनि अंग्रेजीका वास्तविक मातृभाषी हुन्। केही अमेरिकीलाई एशियालीको अनुहार देख्नासाथै उसको अंग्रेजी बुझ्न कठिन हुन्छ भन्ने लाग्छ, उनीहरू कति शुद्ध बोल्न सक्छन् र उनीहरू कहाँबाट आएका हुन् भन्ने मतलब नै हुँदैन। म अमेरिकामा जन्मिएको, बेलायतको राहदानी बोक्ने र अंग्रेजीमा उच्च शिक्षा हासिल गरेको भए पनि धेरै एशियाली मूलका मानिसलाई जस्तै धेरैले मेरो अंग्रेजीको कारण आलोचना गरेको मलाई अनुभव छ।
यस्ता धारणाले भाषिक रंगभेदलाई प्रोत्साहन गर्छन्। भाषिक रंगभेद वक्ताको उच्चारण, भाषिका र बोल्ने शैलीमा आधारित हुन्छ। भाषिक रंगभेदले वक्ताको भाषा जतिसुकै शुद्ध, प्रष्ट भए पनि फरक भएको कारण जानाजान अपमान, खिसीट्युरी र जातीय अहंकार निम्त्याउन सक्छ। विदेशी उच्चारण भएका अंग्रेजीभाषीहरूको सामाजिक बहिष्करणलाई नदेख्नु वा एशियाली–अमेरिकी अंग्रेजीको जानाजान आलोचना गर्नु झन् खराब भाषिक रंगभेद हुन्।
यी उदाहरणले के देखाउँछन् भने, विभेद गर्नेले आफूले गरेको व्यवहार आपराधिक छ भनेर थाहै पाउँदैनन्, किनभने त्यहाँ धेरैखाले अदृश्य मनोवैज्ञानिक संयन्त्रको भूमिका हुन्छ। आफूसँग कम परिचित लवज बुझ्न धेरै मिहिनेत गर्नुपर्छ। यसका लागि धेरै दिमागी शक्ति चाहिन्छ, साथै आफ्नो समूहका सदस्यहरूप्रति न्यानो भावना हुनुपर्छ, जसले अर्को खाले अंग्रेजी बोल्नेहरूप्रति नकारात्मक धारणा पैदा गराउन सक्छ।
समग्रमा, गैरमातृभाषी वक्ताहरू कम सत्य, कम तीक्ष्ण र कम दक्ष हुन्छन् भन्ने आम बुझाइ छ। विदेशी लवजमा बोलिएका कुरालाई मानिसहरूले कम विश्वसनीय मान्छन् भनेर मनोवैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
यस्ता अप्रत्यक्ष संयन्त्रहरूले फरक शैलीको अंग्रेजी बोल्ने मानिसहरूप्रति नकारात्मक भाव पैदा गर्ने व्यवहारलाई प्रोत्साहन गर्छन्। म आफैं पनि यस्तो अभ्यासको दोषी छु। मैले आफ्ना साथीहरूलाई गिज्याउने गरिरहेको पाएकी छु। जसरी मैले अमेरिकी शब्द ‘इन्साइड बेसबल’ (विज्ञ) वा बेलायती शब्द ‘टेक द पिस’ (पिसाब फेरौं) जस्ता शब्दहरूको थप व्याख्या गर्न वा परिवर्तन गर्न पर्दैन। भारतीय अंग्रेजी अभिव्यक्तिहरूमा प्रयोग हुने ‘अपग्रेडेशन’ शब्दभन्दा मेरो प्रयोगको ‘अपग्रेडिङ’ लाई म किन उत्तम ठान्छु भन्ने वास्तै नगरी समाचारहरू सम्पादन गरेको छु। यसले कार्यक्षेत्रको कुराकानीका क्रममा अधैर्य भएर मैले मेरा हीनताबोधबाट ग्रस्त साथीहरूलाई बोल्दाबोल्दै बीचमै रोकेको छु।
यस्ता खाले पूर्वाग्रहहरूले महत्त्वपूर्ण मनोवैज्ञानिक अर्थ राख्छन्। डोभचिनको अनुसन्धानका अनुसार, धेरै मानिसलाई गिज्याइन्छ वा बहिष्करण गरिन्छ। तिनीहरूका भाषाले उनीहरूलाई हीनताबोध गराउँछ र उनीहरू आफूलाई कमजोर तथा कम सक्षम महसूस गर्न थाल्छन्। रिपोर्टहरूका अनुसार, धेरै बहुभाषिक मानिसहरू आफ्नो मातृदेशमा आफ्नो अंग्रेजी भाषाको कौशल उत्कृष्ट भएकोमा विश्वस्त हुन्छन्, तर पहिलो भाषा अंग्रेजी भएका देशहरूमा उनीहरूमाथि गरिने व्यवहारले तिनको आत्मविश्वास गुम्दै जान्छ।
भाषिक रंगभेदले शिक्षा, रोजगारी, स्वस्थ्य सेवा र बसोबासबाट उनीहरूलाई वञ्चित गराउने सम्भावना डरलाग्दो देखिएको छ। कार्यस्थलमा खास लवजका मानिसहरूलाई निरुत्साहित गरिन्छ। जस्तै, एउटा कल सेन्टरमा काम गर्ने कोस्टारिकाकी एक कर्मचारीलाई सेवाग्राहीले ‘तिम्रो असभ्य शैलीले मलाई बिरामी बनाउँछ’ भने। साथै, उनीहरूलाई खास अवसरहरूबाट वञ्चित गरिन्छ। जस्तै, लन्डनको एक यातायात कम्पनीका व्यवस्थापकले आफ्ना एक पाकिस्तानी कर्मचारीलाई सामूहिक छलफलमा सहभागी नै गराएनन्।
यस्तो विभेदको अर्थ खास मानिसहरूलाई अवसरको ढोकाबाट बाहिर राख्नु हो। उदाहरणका लागि, ‘वाइ कम्बिनेटर’ संस्थालाई लिन सकिन्छ। नयाँ उद्यमीहरूलाई बीउ पूँजी सहयोग गर्ने यो संस्थाका निर्देशक पउल ग्राहमले त्यो कार्यक्रम विदेशी लवज भएकाहरूका लागि हैन भनेर खुलमखुला घोषणा गरे। व्यापार सम्बन्धी पत्रिका बिजिनेस पब्लिकेशन इन्कसँगको अन्तर्वार्तामा उनले भने, “अर्ध–दिमाग भएको जोकोही व्यक्तिले महसूस गर्न सक्छ, यदि तपाईं अंग्रेजी मातृभाषीले जस्तो ‘शुद्ध’ बोल्न सक्नुहुन्छ भने तपाईं धेरै सफल हुँदै हुनुहुन्छ। त्यसैले उनीहरू आफ्नो उच्चारण शैलीबाट मुक्त भएनन् भने सफल हुन्छन् भन्नु निराधार हो।”
यस भनाइको विपक्षमा कडा प्रतिक्रिया आए, तर ग्राहमले आफ्नो विचारमा अडिग हुँदै लेखे, “तपाईं कुरा नबुझी काम गर्न सक्नुहुन्न।” यो एउटा शास्त्रीय अभिव्यक्ति हो, जसले मातृभाषीलाई विशेषाधिकार दिन्छ। विश्वव्यापी रूपमा अंग्रेजी वक्तामध्ये अल्पसंख्यक मातृभाषीहरूले बहुसंख्यक गैरमातृभाषीहरूलाई परिवर्तन गर्न खोजिरहेका छन्।
भाषिक रंगभेद अन्त्यको मार्ग
चाहे व्यक्तिगत तहमा होस् वा संस्थागत रूपमा, भाषिक रंगभेद गम्भीर कुरा हो। कर्टिन विश्वविद्यालयका समाजभाषाविद् डोभचिनका भनाइमा भाषिक रंगभेदको समस्या आफसेआफ ठीक हुन्छ भनेर पर्खेर बस्यौं भने कहिल्यै समाधान हुँदैन।
रोजगारदाता कम्पनी तथा व्यक्तिहरूले ‘राम्रो अंग्रेजी’ प्रतिको धारणा नै बदल्नुपर्छ। कार्यस्थलहरूको व्यवस्थापन गर्दा बुट्टेदार भाषा वा अपमानजनक कुराकानीभन्दा प्रभावकारी सञ्चारमा केन्द्रित हुनुले धेरै ठूलो अर्थ राख्छ।
पहिलो, रोजगारदाताहरू भाषिक विविधता पनि एक किसिमको विविधता हो भन्ने मान्न संस्थागत तथा रणनीतिक रूपमा तयार हुनुपर्छ। उनीहरूले खास लवज लक्षित उखानटुक्काको प्रयोग घटाउन सक्छन्। बैठकहरूमा आफू कम बोलेर गैरमातृभाषीहरूलाई बढी अवसर दिन सक्छन्, साथै गैरमातृभाषीलाई बैठकको अध्यक्षता गर्ने मौका दिन सक्छन् र सञ्चारका लागि खास शैली तय गर्न सक्छन्। उनीहरूले वक्ताको हाउभाउलाई ध्यान दिन र सुन्ने सीप बढाउन सक्छन्। व्यापक अवसरहरूले दिमागलाई विभिन्न लवज बुझ्न अभ्यस्त बनाउँछ। समग्रमा हरेक व्यक्ति भाषा सम्बन्धी पूर्वाग्रहहरूप्रति सचेत हुनेछ।
अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयका भाषाशास्त्री सुरेश कनागराजा भन्छन्, “सबैखाले अंग्रेजी बोल्ने मानिसहरूसँग राम्ररी कुराकानी गर्न आवश्यक छ। तपाईंलाई ‘म चिनियाँ अंग्रेजी वा भारतीय अंग्रेजी बुझ्दिनँ’ भन्ने छूट छैन। किनभने, तपाईं बजार गुमाउन चाहनुहुन्न।” निर्णयहरू गर्दा, उत्कृष्ट उम्मेदवारहरूको खोजी गर्दा व्यवस्थापकहरूमा खास किसिमको अंग्रेजीप्रति पूर्वाग्रह रहेमा निश्चित रूपमा उनीहरूले गुमाइरहनेछन्। यसबारे कनागराजा थप भन्छन्, “तपाईं गलत कुरामा ध्यान केन्द्रित गर्दै हुनुहुन्छ, र सम्भवतः धेरै विज्ञता गुमाउँदै हुनुहुन्छ।”
रोजगारदाता कम्पनी तथा व्यक्तिहरूले ‘राम्रो अंग्रेजी’ प्रतिको धारणा नै बदल्नुपर्छ। कार्यस्थलहरूको व्यवस्थापन गर्दा बुट्टेदार भाषा वा अपमानजनक कुराकानीभन्दा प्रभावकारी सञ्चारमा केन्द्रित हुनुले धेरै ठूलो अर्थ राख्छ। कामको सन्दर्भमा मातृभाषी होस् वा गैरमातृभाषी धेरै किसिमका अंग्रेजीलाई स्विकार्ने व्यक्ति आफ्नो समुदायको तरिका मात्रै बुझ्न सक्नेभन्दा निश्चित रूपमा प्रभावकारी सञ्चारकर्ता बन्छ।
मेरो करिअर तथाकथित अंग्रेजी मातृभाषी वक्ताका रूपमा प्राप्त विशेषाधिकारमा आधारित छ भन्ने कुराको मैले धेरै हदसम्म प्रतिबिम्बित गरिरहेको छु। रुमानियामा अंग्रेजी पढाउन मलाई शिक्षण सम्बन्धी कुनै विशेष योग्यता आवश्यक परेको थिएन, म अमेरिकी हुनु नै पर्याप्त थियो। लेखन र सम्पादनको जागीरका लागि मेरो प्रमुख बिकाउ सम्पत्ति भनेको विश्वव्यापी मान्यताप्राप्त अंग्रेजीसँगको साक्षात्कार बनेको छ।
यो विशेषाधिकारका साथ म र म जस्तै अन्य व्यक्तिहरू भाषिक रंगभेदका असरहरूप्रति सचेत बन्न र विभेदमा योगदान हुने तौरतरिकाहरू कम गर्न सक्छौं। व्यक्तिगत विचारधारा र प्रयत्नले उत्तर अमेरिका र अंग्रेजीको दबादबा रहेका पश्चिम यूरोपको शक्ति संरचनालाई खलबल्याउन त सक्दैन, तर यसले अंग्रेजीका सबैखाले विविधतालाई सम्मान गर्ने सोचको बीजारोपण गर्न सक्छ।
- बीबीसीमा प्रकाशित रिपोर्टको भावानुवाद।
अनुवादः पूर्ण पी राई