बागमतीमा यस्तो छ नयाँ र पुरानो पार्टीको समीकरण
नेकपा (एमाले) विभाजनपछि बागमती प्रदेशका नेता तथा कार्यकर्ता नयाँ पार्टी रोज्ने कि पुरानैमा बस्ने भन्ने दोधारमा छन्।
विभाजनअघि बागमती प्रदेशमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष हाराहारीमा रहेका थिए। नेपाल पक्षकी प्रभावशाली नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि अन्य नेता तथा कार्यकर्ता पनि दोधारमा परेका हुन्। शाक्यले नेपालको साथ छोडेसँगै केही नेता तथा कार्यकर्ता पनि एमालेमै रोकिएको जनाइएको छ।
अहिलेसम्म बहुसंख्यक नेता एमालेमै बसेको देखिएको छ। बागमतीका १३ मध्ये दुई वटा जिल्लाका अध्यक्ष नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। एमालेबाट एकीकृत समाजवादीमा रोज्नेमा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल र काभ्रेका अध्यक्ष टोपबहादुर वाइबा छन्।
अन्य अध्यक्ष पुरानै पार्टीमा बसेको एमाले बागमती प्रदेश कमिटीको संगठन विभाग प्रमुख अनन्त पौडेल बताउँछन्। उनी भन्छन्, “प्रदेशका जिल्ला अध्यक्षहरूले दल रोजिसकेका छन्। केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा अन्य महत्त्वपूर्ण पदमा रहेकाहरूको अन्तिम विचार आउन बाँकी छ।”
पौडेलका अनुसार, काठमाडौंका अध्यक्ष कृष्ण राई, ललितपुरका हरिकृष्ण व्यञ्जनकार, भक्तपुरका वचन देउजा, सिन्धुपाल्चोकका झम्क नेपाल, धादिङका भूमि त्रिपाठी, नुवाकोटका नारायण खतिवडा, रसुवाका कर्न्याल लामा, सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्ति पौडेल, दोलखाका हरिश्चन्द्र पोखरेल र चितवनका कृष्णभक्त पोखरेलले एमालेमै रहने घोषणा गरेका छन्।
एमालेका प्रदेश सदस्यमा पनि सिग्देल र वाइबा मात्रै एकीकृत समाजवादीमा खुलेका छन्। त्यस्तै, केन्द्रीय कमिटीका सदस्य जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जन मात्रै खुलेका छन्। २२ भदौसम्म दल रोज्ने समय भएकाले केही समय पर्खिनुपर्ने पौडेलको भनाइ छ। उनी भन्छन्, “सम्भवतः साविक प्रदेश कमिटीबाट ५ प्रतिशत नेताहरूले मात्रै समाजवादी रोज्नेछन्।”
एमालेको ११६ सदस्यीय प्रदेश कमिटी रहेको छ। एक साताभित्र प्रदेश कमिटीको बैठक बस्न लागेकाले छिटै टुंगो लाग्ने पौडेलको भनाइ छ।
त्यस्तै, प्रदेश सभा सदस्यहरू पनि धेरैजसो एमालेमै बस्ने देखिएका छन्। प्रदेश सभामा एमालेका ५५ सदस्य छन्। अहिलेसम्म मुनु सिग्देल, राजेन्द्र पाण्डे र कृष्ण खनालले मात्रै समाजवादी रोजेका छन्। अन्य सांसदले एमालेमै बस्ने कि समाजवादीमा जाने भन्ने खुलाएका छैनन्।
एकीकृत समाजवादीकी नेत्री मुनु सिग्देल आफूहरूको संगठन बलियो रहेको बताउँछिन्। अझै दल रोज्ने समय बाँकी भएकाले किटान गर्ने वेला नभएको उनको भनाइ छ।
“दल रोज्न पाउने समय बाँकी छ, त्यसैले अहिले नै यता वा उता भनेर किटान गर्नुपर्ने वेला भएको छैन,” नेत्री सिग्देल भन्छिन्, “हाम्रो संगठन पनि बलियो छ, समयले देखाउँछ।”
बागमती प्रदेशका जिल्ला कमिटी पदाधिकारी पनि स्पष्ट भएका छैनन्। जिल्ला सचिव, संगठन विभाग प्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू अझै कता जाने भन्ने यकिन भएको छैन।