चिनो नलगाइएका चिहानहरू
क्यानडामा विद्यालय परिसरमा भेटिइरहेका बालबालिकाहरूको चिहानले त्यहाँका आदिवासीको भाषा-संस्कृति नामेट पार्न १२० वर्षसम्म आवासीय विद्यालय प्रणालीले रचेको दुश्चक्रको दमनकारी इतिहास सम्झाइदिएको छ।
मानव विकास सूचकांकका हिसाबले क्यानडा विश्वका उत्कृष्ट देशहरूमा पर्छ। मानवअधिकार, सामाजिक न्याय, कामको उपलब्धता, अति न्यून भ्रष्टाचार आदिका कारण क्यानडा यो सूचीमा छ। तर, सन् १८६७ जुलाईमा अस्तित्वमा आएको यो देशको विगत खासगरी सन् १९७० अघिसम्म मानवअधिकारका दृष्टिले कहालीलाग्दो छ।
गत तीन महीनायता क्यानडामा बालबालिकाका चिनो नलगाइएका सयौं चिहान भेटिएकोबारे तपाईंले केही न केही सुन्नुभएकै होला। गत २८ मेमा ब्रिटिश कोलम्बिया प्रदेशमा २१५ बालबालिकाका चिहान फेला परेको समाचार सार्वजनिक भयो।
ती चिहान सन् १८९० देखि १९६९ सम्म सञ्चालित काम्लुप्स इन्डियन रेजिडेन्सियल स्कूलको परिसरमा थिए, जसमध्ये कतिपय बालबालिका तीन वर्षकै उमेरमा मरेका पाइए। ती को बालबालिका थिए? के कारणले मरे? त्यहाँ कहिले र कसले गाड्यो भन्नेबारे राज्यका निकायहरू बेखबर थिए।
समाचार सार्वजनिक भए लगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘क्यानडाको इतिहासको लाजमर्दो कालखण्ड’ भएको प्रतिक्रिया दिए। हरेक बच्चाको स्मरणमा एक घण्टाका दरले २१५ घण्टासम्म राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। शोक व्यक्त गर्दै बालबालिकाका जुत्ता-चप्पल सरकारी भवन, क्याथोलिक चर्चका वरपर राखिएका थिए।
आदिवासी बालबालिकालाई सांस्कृतिक र धार्मिक रूपमा समान बनाउन क्याथोलिक चर्चहरूलाई विद्यालय सञ्चालनको जिम्मा दिइयो। संसद्बाट कानून नै पारित गरेर सबै आदिवासीका बालबालिकालाई आवासीय विद्यालयमा राख्नैपर्ने र साधारण विद्यालयमा पढाउन नपाउने नियम बनाइयो।
चिनो नलगाइएका चिहान २१५ मा सीमित भएन। थप चिहान पत्ता लाग्ने क्रम जारी छ। गत मे महीनायता एक हजार ४१२ वटा चिहान पत्ता लागिसकेका छन् भने अझै करीब एक दर्जन ठाउँमा आवासीय विद्यालयको परिसर वरपर अनुसन्धान भइरहेको छ।
सांस्कृतिक दमनका लागि शैक्षिक अस्त्र
क्यानडा अस्तित्वमा आइसकेपछि यहाँका आदिवासीहरूलाई कसरी युरोपेली आप्रवासी सरह भाषिक, सांस्कृतिक र धार्मिक रूपमा मूलप्रवाहीकरण गर्ने भन्नेबारे धेरै बहस भए। त्यस क्रममा त्यहाँका प्रथम प्रधानमन्त्री जोन ए. म्याकडोनाल्ड सहित क्यानडाका संस्थापक नेताहरूले आवासीय विद्यालयमा आदिवासीका छोराछोरी राखेर अंग्रेजी माध्यमबाट पढाउने रणनीति तयार गरे। उनीहरूले अमेरिकामा गरिएको यस्तै रणनीतिको सिको गरेका थिए, जसलाई आक्रामक मूलप्रवाहीकरण (एग्रेसिभ एस्सिमिलेसन) भनिन्थ्यो।
आदिवासी बालबालिकालाई सांस्कृतिक र धार्मिक रूपमा समान बनाउन क्याथोलिक चर्चहरूलाई विद्यालय सञ्चालनको जिम्मा दिइयो। संसद्बाट कानून नै पारित गरेर सबै आदिवासीका बालबालिकालाई आवासीय विद्यालयमा राख्नैपर्ने र साधारण विद्यालयमा पढाउन नपाउने नियम बनाइयो। अभिभावकको असहमतिका बावजूद बालबालिकालाई आवासीय विद्यालयमा पठाइयो। धेरैजसो अभिभावकले आफ्ना छोराछोरी कहाँ छन् भन्ने समेत पत्तो पाएनन्।
विद्यालयमा ल्याइएका बालबालिकालाई आफ्ना अभिभावकसँग सकभर भेट्न दिइएन। कदाचित् भेटिहाले उनीहरूको मातृभाषामा कुराकानी गर्न दिइएन। उनीहरूलाई आफ्नो संस्कृतिको अभ्यास गर्न नदिई जबर्जस्ती इसाइकरण गरियो।
क्यानडाका साधारण विद्यालयभन्दा आवासीय विद्यालयको पाठ्यक्रम निकै भिन्न थियो। छात्राहरूलाई घरधन्दा, भान्सा, सफाइ, सिलाइबुनाइ लगायतका सीप सिकाइन्थ्यो भने छात्रहरूलाई सिकर्मी, डकर्मी र खेतीपाती सिकाइन्थ्यो । प्रयोगात्मक सिकाइका नाममा निःशुल्क काममा लगाइन्थ्यो।
पढ्न नसकेको वा अनुशासन उल्लंघन गरेको नाममा विद्यार्थीलाई भौतिक एवं मानसिक सजाय दिइयो। कतिपय विद्यालयमा यौन दुर्व्यवहार र यौन शोषणका घटनाहरू पनि भए।
आवासीय विद्यालयको आर्थिक र भौतिक अवस्था जर्जर थियो। धेरैजसो विद्यालयमा क्षमताभन्दा बढी विद्यार्थी राखिन्थे। उनीहरूको लवाइखवाइ राम्रो थिएन। पढ्न नसकेको वा अनुशासन उल्लंघन गरेको नाममा विद्यार्थीलाई भौतिक एवं मानसिक सजाय दिइयो। कतिपय विद्यालयमा यौन दुर्व्यवहार र यौन शोषणका घटनाहरू पनि भए।
बालबालिकालाई परिवारबाट छुटाइएको, भाषा र संस्कृति चौपट बनाइएको विषयमा आदिवासीहरूले आवासीय विद्यालय प्रणालीको विरोध गर्दै आएका थिए, तर सुनुवाइ भइरहेको थिएन। १४ जुलाई १९७० देखि क्री समुदायका एक हजारभन्दा बढी आदिवासीले अल्बर्टा राज्यको स्याडल लेकस्थित ब्लू क्विल्स इन्डियन रेजिडेन्सियल स्कूल अगाडि १७ दिनसम्म धर्ना दिए।
अन्ततः त्यो स्कूल सञ्चालनको जिम्मेवारी आदिवासी समुदायले पायो। यस घटनाबाट उत्साहित भएका अन्य आदिवासी समुदायले पनि त्यस्ता आवासीय विद्यालय बन्द हुनुपर्ने वा आफ्नो मातहतमा सञ्चालन गर्न पाउनुपर्ने भन्दै आन्दोलन गरे। फलतः सन् सत्तरीको दशकमा अधिकांश यस्ता विद्यालय साधारण विद्यालयमा परिणत भए वा बन्द भए।
भाषिक र सांस्कृतिक संहार
करीब १२० वर्षसम्म चलेको क्यानडेली आवासीय विद्यालय प्रणालीबाट सिर्जित सांस्कृतिक दमन र विभेदका कारण त्यहाँका आदिवासी समुदायका करीब एक लाख ५० हजार बालबालिका प्रभावित भए। उनीहरूले आफ्नो भाषा र संस्कृति बिर्सिए। पुस्तान्तरणको खाडल निकै गहिरो छ। परम्परागत ज्ञान र सिकाइ लगभग समाप्त भएको छ।
क्यानडाका प्रान्तीय राज्यहरूले पनि औपचारिक क्षमायाचना गर्ने, आदिवासी समुदायको उत्थानका लागि छुट्टै मन्त्रालय वा विभाग गठन गर्ने, हराउँदै गरेका भाषा र संस्कृतिको उत्थानका लागि बजेट छुट्याउने, विद्यालयका पाठ्यक्रममा राखेर आदिवासी संस्कृतिका बारेमा पढाउने काम शुरू गरेका छन्।
त्यही विभेद र संहारका कारण सिर्जित तनावका कारण अधिकांश आदिवासीहरू विक्षिप्त छन्, धेरैले स्मरणशक्ति गुमाएका छन्। क्यानडाको सत्य निरूपण तथा मेलमिलाप आयोगले आवासीय विद्यालय प्रणालीबाट भएको भाषिक र सांस्कृतिक क्षतिलाई ‘सांस्कृतिक नरसंहार’ भनेको छ। क्यानडाका ९० वटा आदिवासी भाषामध्ये अधिकांश संकटोन्मुख र हराउने अवस्थामा छन्।
आवासीय विद्यालय प्रणाली सञ्चालनको जिम्मा पाएका युनाइटेड चर्च अफ क्यानडा, रोमन क्याथोलिक चर्च लगायतले आफ्नो यूरोपियन मानसिकताबाट आदिवासी समुदायमा पारिएको क्षतिका बारेमा आदिवासीहरू समक्ष पटक पटक क्षमा मागेका छन्। ११ जून २००८ मा क्यानडा सरकारले आवासीय विद्यालय नीति गलत थियो भनेर औपचारिक रूपमा क्षमा माग्यो।
आदिवासी समुदायको भाषा-संस्कृतिको उत्थान र उनीहरूको मानसिक स्वास्थ्यका लागि क्यानडाका विश्वविद्यालय, चर्च र अन्य संस्थाहरूले विभिन्न चरण र ढाँचामा सहकार्य गरिरहेका छन्। सन् २००५ मा क्यानडा सरकारले आदिवासी विद्यालय प्रणालीमा आउन बाध्य पारिएका करीब ८६ हजार व्यक्ति वा तिनको परिवारलाई क्षतिपूर्ति स्वरूप झन्डै दुई अर्ब डलर उपलब्ध गराएको थियो। शारीरिक यातना वा यौन दुर्व्यवहारबाट पीडित भएकालाई घटना हेरी बढीमा २ लाख ७५ हजार डलर क्षतिपूर्ति दिइयो।
क्यानडाका प्रान्तीय राज्यहरूले पनि औपचारिक क्षमायाचना गर्ने, आदिवासी समुदायको उत्थानका लागि छुट्टै मन्त्रालय वा विभाग गठन गर्ने, हराउँदै गरेका भाषा र संस्कृतिको उत्थानका लागि बजेट छुट्याउने, विद्यालयका पाठ्यक्रममा राखेर आदिवासी संस्कृतिका बारेमा पढाउने काम शुरू गरेका छन्। यस्तै, आवासीय विद्यालय प्रणालीबाट आदिवासी भाषा-संस्कृतिमा परेको क्षतिबारे कक्षा १ देखि १२ सम्मका पाठ्यक्रममा राखेर अध्ययन गराउन क्यानडियन स्कूल बोर्ड एसोसिएसनले काम थालेको छ।
आवासीय विद्यालय प्रणाली सञ्चालनको जिम्मा पाएका केही चर्चमा आगो लगाइयो भने दर्जनौं चर्चमा बालबालिकाका नाममा रङ पोत्ने र तोडफोड गर्ने काम भए।
आक्रोश र आन्दोलन
चिनो नलगाइएका चिहानहरूका बारेमा शृंखलाबद्ध र स्तब्ध तुल्याउने घटनाहरू सार्वजनिक भइरहँदा अहिले फेरि आदिवासी आन्दोलन जुर्मुराएको छ। हिजो आवासीय विद्यालय प्रणाली स्थापना गर्न अगुवाइ गर्ने क्यानडाका प्रथम प्रधानमन्त्री जोन ए म्याकडोनाल्ड लगायत मुख्य व्यक्तिहरूका नाममा रहेका सार्वजनिक स्मारक, विद्यालय, सडक, पार्क आदिका नाम परिवर्तन गर्ने आन्दोलन चलेको छ।
आवासीय विद्यालय प्रणाली डिजाइनका एक प्रमुख योगदानकर्ता इगर्टन रायर्सनका नाममा रहेको टोरोन्टोस्थित रायर्सन युनिभर्सिटीको नामबाट ‘रायर्सन’ शब्द हटाउन विश्वविद्यालय प्रशासन सहमत भइसकेको छ। आन्दोलनकारीहरूले रायर्सनको मूर्ति तोडफोड गरेर हटाइसकेका छन्।
क्यानडाको राष्ट्रिय दिवस गत १ जुलाईमा विनिपेग शहरमा महारानी भिक्टोरिया र महारानी एलिजाबेथ द्वितीयका शालिकहरू तोडफोड गरिए। आवासीय विद्यालय प्रणाली सञ्चालनको जिम्मा पाएका केही चर्चमा आगो लगाइयो भने दर्जनौं चर्चमा बालबालिकाका नाममा रङ पोत्ने र तोडफोड गर्ने काम भए।
क्यानडाले आवासीय विद्यालय नीतिबाट आर्थिक, सामाजिक र राजनीतिक रूपमा समेत जे जस्तो मूल्य चुकाइरहेको छ, त्यसबाट नेपालले देशका विभिन्न जनजाति र आदिवासी समुदायमा कसरी सत्य निरूपण गर्ने र मेलमिलाप गराउने भन्ने गहन पाठ सिक्नुपर्छ।
सत्य निरूपण तथा मेलमिलाप आयोगकै सिफारिशमा यसै वर्षदेखि हरेक वर्ष ३० सेप्टेम्बरमा आवासीय विद्यालयबाट पीडितहरूको स्मरणमा राष्ट्रिय दिवसका रूपमा बिदा दिइनेछ। त्यस्तै, क्यानडाका गभर्नर जनरल (बेलायती महारानीको प्रतिनिधिका रूपमा कार्यकारी राष्ट्र प्रमुखको पद) मा पहिलो पटक आदिवासी समुदायकी मेरी सिमोनलाई नियुक्त गरिएको छ।
उनले आवासीय विद्यालय प्रणाली बन्द गराउन र आदिवासीका अधिकारहरूलाई कानूनी रूपमा संस्थागत गर्न उल्लेख्य भूमिका खेलेकी छन्। राष्ट्र प्रमुखको प्रतिनिधिका रूपमा सिमोनको नियुक्ति ‘चिनो नलगाइएका चिहानहरू’ घटनाको एउटा सांकेतिक प्रत्युत्तर हो।
नेपालका लागि पाठ
मूलप्रवाहीकरणका नाममा युरोपेली भाषा, सभ्यता र धर्मलाई क्यानडाका आदिवासीमाथि थोपर्न आवासीय विद्यालय प्रणालीको जे-जस्तो अभ्यास गरियो, त्यसले क्यानडाको इतिहास, वर्तमान र भविष्यलाई समेत प्रभावित पारिरहनेछ। नेपालमा पनि पञ्चायत कालमा प्रयोग गरिएको ‘एक भाषा एक भेष’ को नीति २०६२/६३ पछि पहिचानको आन्दोलनका रूपमा आएको देखिन्छ। त्यही नीतिका कारण कतिपय भाषा र संस्कृति विलुप्त अवस्थामा पुगिसकेका छन्।
क्यानडाले आवासीय विद्यालय नीतिबाट आर्थिक, सामाजिक र राजनीतिक रूपमा समेत जे जस्तो मूल्य चुकाइरहेको छ, त्यसबाट नेपालले देशका विभिन्न जनजाति र आदिवासी समुदायमा कसरी सत्य निरूपण गर्ने र मेलमिलाप गराउने भन्ने गहन पाठ सिक्नुपर्छ। अन्यथा आदिवासी जनजाति समुदायभित्रको असन्तुष्टिले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ।
(हिमालको २०७८ भदौ अंकमा प्रकाशित।)