‘मधेशमा नेता छन्, नेतृत्व छैन’
‘मधेशका मुद्दा हराउन थालेका छन्, जातिगत राजनीति हावी बन्दै गएको छ। अहिले मधेशी दलका नेताहरू कोही यादवको माईजन (मुखिया) बनेका छन् कोही ब्राह्मणको माईजन। समग्रमा मधेशको वास्तविक अजेन्डा हराएको छ।’
२०६२/०६३ को जनआन्दोलनका वेला गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल लगायतका नेताहरूसँग काँधमा काँध मिलाउँदै हिंडे- नेपाल सद्भावना पार्टी (आनन्दी देवी)का कार्यवाहक अध्यक्ष भरतविमल यादव। २०६३ वैशाखमा ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्धको जनआन्दोलनमा दिनहुँजसो सडकमा देखिने उनी यति वेला सक्रिय राजनीतिमा छैनन्।
२०७० सालमा उपेन्द्र यादवको पार्टीबाट शुरू गर्न लागेको राजनीतिको ‘दोस्रो इनिङ्स’ पनि सफल हुन सकेन। २०४६ सालको परिवर्तनपछि सरकारी जागीर छाडेर राजनीतिमा होमिएका यादव राजनीतिबाट किन टाढिए? मधेशवादी दलहरूबारे उनको दृष्टिकोण के छ? यिनै प्रश्नको सेरोफेरोमा रहेर हिमालखबरका लागि वीरेन्द्र रमणले गरेको कुराकानीको सम्पादित अंशः
२०६२/६३ को आन्दोलनका वेला निकै चर्चित हुनुुहुन्थ्यो। अहिले राजनीतिबाट टाढिनुको कारण के हो?
त्यति वेला म नेपाल सद्भावना पार्टी (आनन्दी देवी)को कार्यवाहक अध्यक्ष थिएँ। शेरबहादुर देउवालाई राजाले प्रधानमन्त्री नियुक्त गरेपछि नेकपा (एमाले) पनि आधा प्रतिगमन सच्चियो भनेर सरकारमा गयो। ममाथि पनि सरकारमा जान देशभित्र र बाहिरबाट दबाब आए, तर म आन्दोलन छाडेर सत्तामा गइनँ।
२०६३ वैशाखमा जनआन्दोलन सफल भएपछि सरकारमा सहभागी हुन फोहोरी खेल शुरू भयो। विदेशी शक्तिहरूले देउवा सरकारमा सहभागी हुन दिएको दबाब नमानेकाले ममाथि द्वेष राखे।
धेरै समय अध्ययनमा बिताउने गरेको छु। नेपाल र भारतका राजनीतिक व्यक्तित्वहरूको इतिहास पढिरहेको छु।
पार्टीलाई मजबूत बनाउने नाममा मेरो नेतृत्वको नेसपा (आनन्दी देवी) र लक्ष्मणलाल कर्ण नेतृत्वको सद्भावना पार्टीसँग एकीकरण गरियो। त्यो एक किसिमको चाल रहेछ। बिस्तारै मलाई षड्यन्त्र गरेर अल्पमतमा पारियो। त्यसपछि पार्टीमा बस्न मन मानेन।
उपेन्द्र यादव नेतृत्वको पार्टी चाहिं किन छोड्नुभयो?
नेसपा छोडेपछि निष्क्रिय बसें। दोस्रो संविधानसभा चुनावअघि उपेन्द्र यादव विभिन्न माध्यमबाट मेरो नजिक आउन चाहे। वरिष्ठ नेता बनाउँछु भन्दै उनले अभिषेक प्रताप साह र रामस्वार्थ रायलाई मकहाँ पठाए। त्यसपछि उपेन्द्रसँग मेरो भेटघाट भयो। ‘राष्ट्रिय राजनीतिमा तपाईंको ठूलो योगदान छ, त्याग गर्नुभएको छ, तपाईं जस्तो व्यक्तिलाई मैले सम्मान नगरे मलाई कसले सम्मान गर्छ’ भन्दै पार्टीमा आउन आग्रह गरे। वरिष्ठ नेताको हैसियतमा मलाई पार्टीमा लगे पनि।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा चुनावमा मैले पनि प्रत्यक्षबाट लड्ने सोच बनाएँ। तर, उपेन्द्रले 'तपाईं वरिष्ठ नेता हुनुहुन्छ, के चुनाव लड्नुहुन्छ? निर्वाचनको नेतृत्व सम्हालिदिनुस्' भने, मैले हुन्छ भनें।
समानुपातिकमा मेरो नाम एक नम्बरमा राखियो। पार्टीले समानुपातिकमा आठ सीट पायो। त्यसमा कसलाई पठाउने, सो विषयमा बैठक भयो। उपेन्द्रले भने, "पार्टी बचाउन आर्थिक सहयोगको पनि आवश्यकता हुन्छ।" मैले २० प्रतिशत त्यस्ता व्यक्तिलाई दिनुस्, बाँकीमा कार्यकर्ता पठाउनु भनें। त्यतिमै बैठक सकियो।
त्यसपछि बैठकमा मलाई बोलाउन छाडे। आफूखुशी समानुपातिक सांसदको नाम पठाए। त्यसपछि त्यहाँ बस्दा अपमान हुने ठानें। त्यो दिनदेखि मेरो दलीय आबद्धता छैन।
अहिले दिनचर्या कस्तो छ?
धेरै समय अध्ययनमा बिताउने गरेको छु। नेपाल र भारतका राजनीतिक व्यक्तित्वहरूको इतिहास पढिरहेको छु। स्वस्थ रहन बिहान–बेलुका घुम्ने गरेको छु। कुनै साथीभाइ भेटे वा घरमै साथीहरू आउँदा राजनीतिक चर्चा–परिचर्चा समेत गर्ने गरेको छु।
त्यसो भए भरतविमलले राजनीतिबाट सन्न्यास लिएको भन्न मिल्छ?
सन्न्यास लिएको छैन। राजनीतिबाट सन्न्यास लिएको भए तपाईंसँग बसेर यसरी राजनीतिक संवाद गर्दिनथें। दलीय सहभागिताबाट अलग भएको हुँ। राजनीतिमा आफूलाई हरेक समय जोड्न चाहन्छु।
मधेशको राजनीतिबारे अध्ययन गरौं र सम्भव भए विभिन्न माध्यमबाट आफ्नो विचारलाई प्रवाहित गरौं भनेर लागेको छु। मधेशी समुदायलाई राजनीतिक फाइदा होस् भन्ने चाहना छ।
यहाँ सरकारी जागीर छाडेर राजनीति गर्न सद्भावना पार्टीमा आउनुभयो। त्यसरी राजनीतिमा आउन के कुराले प्रेरित गर्यो?
राजनीतिमा आउनुअघि म जिल्ला वन अधिकृत (डिएफओ) थिएँ। मधेशको राजनीतिमा अहिले निकै दुःखद अवस्था छ। मधेशी र पहाडी समुदाय छन्। आदिवासी-जनजाति पनि छन्, तर उनीहरू मधेशी जति थिचोमिचोमा परेका छैनन्।
जनजातिको भेदभावको स्थिति अर्को किसिमको छ भने मधेशीसँगको भेदभावको अवस्था अर्को किसिमको छ। सरकारी जागीरमा हुँदा पनि मैले मधेशीसँग हुने गरेको भेदभावको विषयमा नजिकबाट बुझ्ने मौका पाएँ। २०४६ सालमा म कपिलवस्तुमा डिएफओ थिएँ। त्यति वेला आन्दोलनका क्रममा निकै वन अतिक्रमण भएको थियो। अतिक्रमण मधेशी र पहाडी दुवै समुदायले गरेका थिए।
मधेशी समुदायले अतिक्रमण गरेको छ भने त्यसलाई हटाउन भन्नुभयो। पहाडी समुदायले गरेको छ भने अहिले नहटाउन भन्नुभयो। मैले कि सबैलाई हटाउँछु कि कसैलाई हटाउँदिनँ भनेपछि विवाद भयो। त्यसपछि जागीरबाट राजीनामा दिएँ।
अन्तरिम सरकारका वनमन्त्री झलनाथ खनाल हुनुहुन्थ्यो। उहाँले मधेशी समुदायले अतिक्रमण गरेको छ भने त्यसलाई हटाउन भन्नुभयो। पहाडी समुदायले गरेको छ भने अहिले नहटाउन भन्नुभयो। मैले कि सबैलाई हटाउँछु कि कसैलाई हटाउँदिनँ भनेपछि विवाद भयो। त्यसपछि जागीरबाट राजीनामा दिएँ। नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहसँग सम्पर्क भएपछि राजनीतिमा प्रवेश गरें।
मधेशवादी दलहरूलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
संघीयताको अजेन्डा स्थापित गराउने मान्छे म हुँ। अन्तरिम संविधानमा मैले असहमति जनाएपछि मधेश आन्दोलन भयो। संविधानमा संघीयता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण भयो, तर अहिले इतिहासलाई नै समाप्त पार्ने खेल भइरहेको छ। उपेन्द्र यादवलाई संघीयताको जनकका रूपमा प्रस्तुत गराउने कुरा भइरहेको छ। इतिहासलाई मेट्नु हुँदैन। यो सबै सोच नै व्यक्तिवादी चिन्तन र जातिवादी सोचको कारणले भइरहेको छ।
मधेशका मुद्दा हराउन थालेका छन्, जातिगत राजनीति हावी बन्दै गएको छ। अहिले मधेशी दलका नेताहरू कोही यादवको माईजन (मुखिया) बनेका छन् कोही ब्राह्मणको माईजन। समग्रमा मधेशको वास्तविक अजेन्डा हराएको छ।
मधेशवादी दलका नेताहरूप्रति बढी नै आलोचित देखिनुभयो नि?
मधेशमा नेताहरू छन्, तर मधेशी समुदायको समस्या उजागर गर्ने नेतृत्व छैन। मधेशको जातीय आधार बनाएर काम गर्नेहरूले दुई-चार सीट जितेर पार्टी चलाएका छन्, तर मधेशी जनताका समस्या समाधान गरेका छैनन्। उनीहरू कसरी मन्त्री बन्ने, कसरी सम्पति आर्जन गर्ने भन्नेमा लागेका छन्।
हिजोसम्म साइकलमा चढ्ने हैसियत नभएकाहरू स्कारपियो चढ्छन्। यो सबै राजनीतिको आवरणमा सम्पति जोड्ने खेल मात्रै हो। अहिलेका मधेश केन्द्रित नेताहरूमा सम्पति आर्जनको जुन मोह छ, त्यो दुःखद कुरा हो।
हिजोसम्म साइकलमा चढ्ने हैसियत नभएकाहरू स्कारपियो चढ्छन्। यो सबै राजनीतिको आवरणमा सम्पति जोड्ने खेल मात्रै हो। अहिलेका मधेश केन्द्रित नेताहरूमा सम्पति आर्जनको जुन मोह छ, त्यो दुःखद कुरा हो।
जनता समाजवादी पार्टीको एकीकरण डेढ वर्ष पनि टिक्न सकेन। उपेन्द्र यादव र महन्थ ठाकुरले गरेको पार्टी विभाजनलाई कसरी बुझ्ने?
मधेश केन्द्रित दलको अहिलेको विभाजन सिद्धान्तको विभाजन हुँदै होइन। मधेश केन्द्रित पार्टीलाई जनताले निर्वाचनमा राम्रै मत दिएका थिए। मधेश केन्द्रित दलको विभाजनको कारण नेताहरूबीचको टकराव हो। जसरी पनि नेतृत्वमा हावी हुन खोज्दा दलहरू फुटिरहेका छन्।
जसपा पनि व्यक्तिगत टकरावकै कारण विभाजित भएको हो। भलै त्यसलाई राजनीतिक आवरण दिइएको छ। महन्थ ठाकुर र उपेन्द्र यादवको जसरी पनि पार्टी आफ्नो कब्जामा रहोस् भन्ने सोच र चिन्तनको कारणले गर्दा नै जसपाको यस्तो अवस्था आएको हो। महन्थ ठाकुरमा उपेन्द्र यादवले आफूलाई मानेर हिंडोस् भन्ने सोच देखियो। जब कि उपेन्द्र यादव आजसम्म कसैलाई नेता मान्ने सोचमै छैनन् । संसद् विघटनको सन्दर्भमा महन्थ ठाकुरको धारणा गलत थियो ।
मधेश केन्द्रित दलको भविष्य कस्तो देख्नुहुन्छ?
जुन हिसाबले मधेशको राजनीतिलाई अगाडि बढाउन खोजिंदै छ, त्यसले मधेश केन्द्रित दलको यात्रा चुनौतीपूर्ण देख्छु। उनीहरूका लागि कठिन दिनहरू आउँदै छन्। यसको जिम्मेवारी अहिलेको नेतृत्व पंक्तिले नै लिनुपर्छ।