खोप लगाएका ९० प्रतिशतमा देखियो ‘एन्टिबडी’
कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका ९० प्रतिशतमा रोग प्रतिरोधात्मक क्षमता अर्थात ‘एन्टिबडी’ विकसित भएको पाइएको एक अध्ययनले देखाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ असारदेखि ३० साउनसम्म देशका विभिन्न स्थानबाट नमूना संकलन गरेर सूक्ष्म विश्लेषण गरेको थियो। १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा एन्टिबडी विकसित भएको पाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताएका छन्।
कोभिड-१९ विरुद्धको खोपको एउटा डोज लगाएका व्यक्तिमा भन्दा पूर्ण खोप लगाएका व्यक्तिमा एन्टिबडी राम्रोसँग विकसित भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। “एक डोज मात्र खोप लगाएका व्यक्तिहरू ८० प्रतिशतमा र पूर्ण डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ,” स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले लगाइराखेका खोपहरू अत्यन्त प्रभावकारी रहेको देखिन्छ।”
त्यस्तै, स्वास्थ्य मन्त्रालयको सर्वेक्षणमा ६८.६ प्रतिशतमा एन्टिबडी पाइएको छ। “प्रारम्भिक नतीजा अनुसार, देशभरि ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिबडी देखिएको छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेशा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टिबडी देखिएको छ।”
यससँगै स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनाएको छ। भाइरसले रूप परिवर्तन गरिरहेकाले सतर्कता अपनाउन र खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ।