त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार 'शिक्षक' मासिकलाई
त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार–२०७७ 'शिक्षक' मासिकले पाएको छ।
विद्यालय शिक्षाको सुधारका निम्ति उल्लेखनीय योगदान गरे बापत 'शिक्षक' मासिकलाई उक्त पुरस्कार दिइएको हो।
काठमाडौं विश्वविद्यालय (केयू), त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रद्वारा स्थापित एक लाख राशिको पुरस्कार र सम्मानपत्र संस्थापक उपकुलपति एवं केन्द्रका अध्यक्ष डा. सुरेशराज शर्माले आज पाटनढोकामा आयोजित कार्यक्रममा 'शिक्षक' मासिकका प्रधान सम्पादक राजेन्द्र दाहाललाई हस्तान्तरण गरे।
कार्यक्रममा केयूका संस्थापक उपकुलपति शर्माले विद्यालयको सुधार उत्साही र जागरुक शिक्षकले नै गर्न सक्ने औंल्याए। "हामीले केही कोशिश गरे पनि उपलब्धि नहुँदा जहिले पनि नयाँ पिँढीले के भन्ला भन्ने ग्लानि हुने गरेको छ," शर्माले भने।
नेपालले कृषि र पर्यटनमै जोड दिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा केन्द्रका निर्देशक एवं शिक्षाविद् डा. केदारनाथ श्रेष्ठले 'शिक्षक' पत्रिकाको योगदानको चर्चा गर्दै त्यसको अरूले पनि देखासिकी गरे शिक्षा क्षेत्रको विकासमा सकारात्मक प्रभाव पर्ने टिप्पणी गरे।
केयूका उपकुलपति डा. भोला थापाले उप्रेती आफ्ना शिक्षकको पनि शिक्षक भएको बताउँदै विश्वविद्यालयले निकट भविष्यमा मदन पुरस्कार पुस्तकालयको संरक्षण र अभिलेखीकरणमा सघाउने वचनबद्धता गरे।
केन्द्रका सदस्य एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. हृदयरत्न वज्राचार्यले त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्र एउटा अभियान भएकाले समाजको अभियन्ताका रूपमा 'शिक्षक' मासिकलाई सम्मान गरिएको बताए।
कार्यक्रममा पुरस्कृत प्रधान सम्पादक दाहालले सिक्ने, सिकाउने र पढ्ने पढाउने वातावरण निर्माणका लागि १५ वर्षअघि ज्ञानविज्ञान सहकारी संस्थाबाट पत्रिका निकालेको स्मरण गरे।
यसअघि मस्तिष्क पक्षाघात स्वावलम्बन केन्द्र र गोपीनाथ शर्माले त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार पुरस्कार पाइसकेका छन्।
२०७७ असारमै घोषणा भए पनि विभिन्न कारण पुरस्कार दिन ढिला भएको केन्द्रका सहअध्यक्ष दीपकनाथ उप्रेतीले कार्यक्रममा बताए।
अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि गरेका शिक्षाविद् उप्रेती त्रिभुवन विश्वविद्यालयका उपकुलपति, फ्रान्सका लागि राजदूत, युनेस्कोका लागि स्थायी प्रतिनिधि थिए। उनले काठमाडौं विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, नागरिक शिक्षा प्रवर्द्धन समाजको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनको ६ चैत २०६१ मा निधन भएको थियो।