कर्णालीमा एमाले बलियो कि एकीकृत समाजवादी?
माधवकुमार नेपाल पक्ष बलियो रहेको कर्णाली प्रदेशमा एमाले विभाजनपछिको तस्वीर प्रष्ट भएको छैन। तैपनि, अहिलेसम्म खुलेका नेता तथा जनप्रतिनिधिलाई हेर्दा नयाँ पार्टीको दबदबा देखिन्छ।
एमाले कर्णालीमा नेपालको पकड बलियो थियो। प्रदेशका अधिकांश जिल्ला नेतृत्वमा नेपाल पक्षकै नेता थिए। प्रदेश सभा र स्थानीय तहका बहुमत जनप्रतिनिधि पनि नेपालकै पक्षमा थिए। केन्द्रमा १० नेताले साथ छोडेपछि कर्णालीमा पनि केही कमजोर देखिएको नेताहरू बताउँछन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका २० सांसद निर्वाचित थिए। तीमध्ये नेपाल पक्षका चार सांसद पदमुक्त भइसकेका छन्। नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा कारबाहीमा परेका छन्।
“नयाँ पार्टीमा आउने जनप्रतिनिधिको संख्या बढ्दै गएको छ,” एकीकृत समाजवादीका नेता शहरी विकास मन्त्री अम्मरबहादुर थापा भन्छन्, “एमालेले जितेका स्थानीय तहमध्ये ६० प्रतिशत भन्दा बढी हाम्रो पार्टीमा आउलान्।”
तीबाहेक अहिले दुई जना सांसद मात्रै नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेर लागेका छन्। प्रदेश सभा सदस्य देवी वली र चन्द्रबहादुर शाही समाजवादीमा गएका छन्। अब अर्को सातासम्म एमाले कि समाजवादी पार्टीमा बस्ने भन्ने विषयमा स्पष्ट धारणा आउने समाजवादीका नेताहरू बताउँछन्।
निर्वाचन आयोगले दल त्याग गर्न २२ भदौसम्मको समय दिने निर्णय गरेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) मा नयाँ दलमा जाने जनप्रतिनिधिलाई २१ दिनको समय दिने व्यवस्था गरिएको छ।
साेही अनुसार, आयोगले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म नयाँ दलमा जान सक्ने समय दिएको हो। त्यो अवधिसम्म नयाँ दलमा प्रवेश गर्ने एमाले जनप्रतिनिधिको पद जोगिनेछ। अब बिस्तारै जनप्रतिनिधि खुलेर आउने एकीकृत समाजवादी केन्द्रीय सदस्य वली बताउँछिन्।
एमाले नेताहरू आफ्नो पार्टी नै बलियो हुने बताउँछन् भने समाजवादीका नेताहरू आफ्नो पक्षमा ६० प्रतिशत जनप्रतिनिधि आउने बताउँछन्। प्रदेशका ७९ वटा स्थानीय तहमध्ये कतिपय तहका जनप्रतिनिधिले स्पष्ट धारणा बनाइसकेका छन् भने कतिपय द्विविधामै छन्।
एकीकृत समाजवादीका नेता एवं कर्णालीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा प्रदेशका बहुमत जनप्रतिनिधि नयाँ पार्टीमा आउने दाबी गर्छन्। “नयाँ पार्टीमा आउने जनप्रतिनिधिको संख्या बढ्दै गएको छ,” थापा भन्छन्, “एमालेले जितेका स्थानीय तहमध्ये ६० प्रतिशत भन्दा बढी हाम्रो पार्टीमा आउलान्।” एकीकृत समाजवादीमा आउने जनप्रतिनिधिको संख्या अर्को सातापछि यकीन हुने उनको भनाइ छ।

कर्णालीका १० जिल्लामध्ये पाँच वटा जिल्लामा एकीकृत समाजवादीको संख्या बढी हुने प्रदेश सांसद एंव केन्द्रीय सदस्य वली बताउँछिन्। उनका अनुसार, कालिकोट, डोल्पा, जुम्ला, रुकुम पश्चिम र मुगुमा एकीकृत समाजवादीको पकड छ। अन्य पाँच जिल्लामा हाराहारीमा हुने उनको भनाइ छ। कर्णालीका धेरैजसो जिल्लामा नयाँ पार्टीको प्रभाव रहेको बताउँदै उनी भन्छिन्, “प्रदेशभरि नै समाजवादीमा प्रवेश गर्नेको उत्साह देखिन्छ।”
प्रदेश सदरमुकाम सुर्खेतमा भने एमालेकै प्रभाव देखिएको छ। ६२ सदस्यीय जिल्ला कमिटीमा नौ जना मात्रै नयाँ दलमा सहभागी भएका छन्।
स्थानीय तहमा समाजवादीको प्रभाव
कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह छन्। २०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो। जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादी रोज्ने मन्त्री थापाको दाबी छ।
दैलेखका ११ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो। मन्त्री थापाका अनुसार, सातमध्ये चारवटा स्थानीय तहका प्रमुख र पाँच वटा स्थानीय तहका उपप्रमुख समाजवादीमा खुलेका छन्।
कालिकोटमा पनि एमाले विजयी भएका अधिकांश स्थानीय तहका जनप्रतिनिधि समाजवादीमा खुलेका छन्। एमाले विजयी भएका तीन स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन्।
कालिकोटको एमाले जिल्ला कमिटीबाट पनि बहुमत सदस्य नयाँ पार्टीमा लागेका छन्। ६७ सदस्यीय जिल्ला कमिटीका ४० भन्दा बढी सदस्य एकीकृत समाजवादीमा लागेका हुन्।
प्रदेश सदरमुकाम सुर्खेतमा भने एमालेकै प्रभाव देखिएको छ। एमालेको ६३ सदस्यीय जिल्ला कमिटीमा एक जनाको मृत्यु भएको छ। बाँकी ६२ जनामध्ये नौ जना मात्रै नयाँ दलमा सहभागी भएका छन्। पदाधिकारीमध्ये सचिव मोहन बडुवाल र उपसचिव टोपबहादुर रास्कोटी एकीकृत समाजवादीमा लागेका छन्।

सुर्खेतका नौ वटा स्थानीय तहमध्ये तीन वटामा एमाले विजयी भएको थियो। अहिले तीन वटै तहका प्रमुख र उपप्रमुख एमालेमै रहेका छन्। सुर्खेतका केही वडाध्यक्ष भने समाजवादीमा लागेका छन्।
त्यस्तै, हिमाली जिल्ला डोल्पामा नयाँ पार्टी बलियो रहेको एकीकृत समाजवादीका नेता एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा बताउँछन्। केही दिनअघि डोल्पा पुगेका मन्त्री सिंहले आफ्नो गृहजिल्लामा एकीकृत समाजवादी नै रहेको दाबी गरे।
रुकुम पश्चिममा पनि नयाँ पार्टीकै दबदबा छ। केन्द्रीय सदस्य एवं सांसद वलीको गृहजिल्लामा धेरैजसो नेता तथा कार्यकर्ता नयाँ पार्टीमा लागेका छन्।
अन्य पाँच जिल्लामा भने को कता जाने भन्ने स्पष्ट भएको छैन। तैपनि एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा रहेको छ।