नवलपरासी पूर्वमा यो वर्षकाे सबैभन्दा धेरै वर्षा
पछिल्लो २४ घण्टामा देशका ११ स्थानमा अत्यधिक वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, रुपन्देही, कपिलवस्तु, धनुषा, सिन्धुली, नवलपरासी पूर्व र चितवनमा अत्यधिक वर्षा भएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार, नवलपरासी पूर्वको वसन्तामा २४ घण्टामा वर्षभरिकै उच्च वर्षा भएको छ।
वसन्तामा रहेको स्वचालित वर्षा मापन केन्द्रका अनुसार, यो क्षेत्रमा ४३४.२ मिलिमिटर वर्षा भएको छ। २४ घण्टामा १५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।
त्यसैगरी सेमरी नवलपरासीमा ३८१.०, वाणगंगा कपिलवस्तुमा ३५०.६ मिलिमिटर वर्षा भएको छ।
नवलपरासीको परासी बजारमा ३०२, सिन्धुलीमाढीमा २७५.२, डन्डा नवलपरासीमा २७०.६, दुमकौली नवलपरासीमा २२२.०, भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा २२१.२ मिलिमिटर वर्षा भयो।
त्यसैगरी सूर्यपूरा रुपन्देहीमा २०१.४, धनुषाको चिसापानी बजारमा १९९.४, भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा १६५.२, डेढगाउँ नवलपरासीमा १६२.६ र चितवनको देवघाटमा १५५.५ मिलिमिटर वर्षा मापन गरिएको छ।
विभागका अनुसार, प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।