हिमाली क्षेत्रको वर्षाले संकेत गरेको 'महाविपद्'
हिमाली क्षेत्रमा हिउँको सट्टा पानी परेमा उत्पन्न हुनसक्ने बाढी-पहिरोबारे अध्ययन विश्लेषण गरी जनधनको क्षति रोक्ने पहलकदमी लिन ढिलो भइसकेको छ।
यस वर्षको वर्षायामको पहिलो झरीमै मेलम्ची नदी र मनाङमा मर्स्याङ्दी नदीमा विनाशकारी बाढी आयो। मेलम्चीमा बाढी आउनुका कारणबारे चर्चा भइरहेका छन्। सरकारी तथा गैरसरकारी क्षेत्रबाट अवलोकन र अध्ययन गरी यसका कारण पत्ता लगाउने प्रयत्न भएका छन्।
इसिमोडका अनुसन्धाताहरूको टोलीले अत्यधिक वर्षा, हिउँ पर्ने उचाइमा वर्षा भएका कारण हिमगलन समेत भएको हुनसक्ने अनुमान गरेको छ। वर्षा र हिमगलन दुवै कारणले हिमाली क्षेत्रको गेग्रान जमीनमा भलले भू-क्षय गरेको, पुराना र नयाँ पहिरो गएका, ती पहिरोले नदी थुन्ने, थुनिएको नदी फुटेर फेरि पहिरो झार्दै बग्दा यस्तो विध्वंसकारी बाढीको विकास भएको औंल्याएको छ। नयाँ अध्ययनहरूले थप जानकारी र निष्कर्ष ल्याउलान्।
ठूलो विपत्तिको पूर्वाभास
हिउँ पर्ने ठाउँमा पानी परेपछि यसले सतहमा जमेको वा हिमक्षेत्रको गेग्रान जमीनभित्र रहेको हिउँ/बरफ पगाल्छ। ती गेग्रान बग्न थाल्छन् र बढ्दै गएर पहिरोको रूप लिन्छ, अनि क्रमशः पहिरोले बाढी, बाढीले पहिरो तान्दै र बढाउँदै तल झर्छ। यस्ता घटना वर्षायाममा भए नदीमा अरू खोला-खोल्साबाट पनि पानी/भल मिसिन्छ र बाढी ठूलो बनाउन मद्दत गर्छ।
हिउँको सट्टामा पानी पर्न थालेका क्षेत्र र त्यहाँबाट हुनसक्ने पहिरो र बाढीको जोखिमबारे तत्कालै गहन अध्ययन गरी जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सारिएन भने विभिन्न ठाउँमा अझै ठूलो क्षति हुनसक्छ। मेलम्ची र मनाङको बाढी निकट भविष्यमा हुनसक्ने ठूला प्राकृतिक प्रकोपहरूको पूर्वदृश्य हो।
हिउँको सट्टामा पानी पर्न थालेका क्षेत्र र त्यहाँबाट हुनसक्ने पहिरो र बाढीको जोखिमबारे तत्कालै गहन अध्ययन गरी जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सारिएन भने विभिन्न ठाउँमा अझै ठूलो क्षति हुनसक्छ। मेलम्ची र मनाङको बाढी निकट भविष्यमा हुनसक्ने ठूला प्राकृतिक प्रकोपहरूको पूर्वदृश्य हो।
नेपालमा हिमताल र तिनको अवस्थाबारे धेरै अध्ययन भएका छन्, तर हिमालबाट उत्पत्ति भएका नदी तटीय क्षेत्रको भू-स्वरूप र तिनको जोखिमबारे खासै अध्ययन भएको छैन। पहिरोका बारेमा आम चासो पनि कमै छ।
भूगर्भशास्त्रीहरूले विभिन्न ठाउँमा अध्ययनपछि दिएका जानकारी र निष्कर्षलाई ती ठाउँमा विकास-निर्माणका काम गर्दा खासै उपयोग गरिएको पाइँदैन। नदी तटबन्धमा धेरै चासो दिइन्छ र प्रशस्त बजेट पनि खर्च हुँदै आएको छ। भू-क्षय, पहिरो र बाढीको अन्योन्याश्रित सम्बन्धलाई ध्यान नदिई तटबन्धमा गरिएका लगानी खेर गइरहेका छन्। मेलम्चीमा आएको बाढीले जलाधारमा माथिल्लो र तल्लो तटीय सम्बन्धका बारेमा सचेत रहन, जोखिम मनन गर्न र सम्पूर्ण जलाधारको संरक्षणमा ध्यान दिनुपर्ने शिक्षा दिएको छ।
हामीकहाँ परापूर्व कालदेखि नै बाढी-पहिरोले बनाएका बगरमा वा खोलानाला कुना सरेपछि उकास परेका जग्गामा खेती गरिएको र बस्ती, बजार बसाइने गरेको छ। कतिपय फाँट, टारहरू बाढी-पहिरोबाट सुरक्षित होलान्, तापनि नदी किनारका सबै जमीन बसोबास गर्न वा अन्य प्रयोजनका लागि सुरक्षित छन् कि छैनन् भनेर विस्तृत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन ढिलाइ गर्न हुँदैन।
ताप्लेजुङ घुन्सा गाउँको माथिल्लो भेगमा कुम्भकर्ण हिमनदी, खम्बाचेन र ल्होनाकसम्म गेग्रानै गेग्रान भएका पाखा र बगर छन्। कुम्भकर्ण हिमनदी, उत्तरी कञ्चनजंघा हिमनदीको खम्बाचेनदेखि ल्होनाक र आधार शिविर र आसपासमा हिमताल बन्ने र गल्ने प्रक्रिया अहिले पनि छ।
हालसालै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले मेलम्ची नदीमा बाढीको कारण र थप जोखिम के कस्तो छ भनेर अध्ययन गर्ने निर्णय गरेको छ। हिमाली क्षेत्रबाट शुरू भएका नदीहरूमा पनि यस्तो अध्ययन अविलम्ब गर्नुपर्छ। साथै, अन्यत्र त्यस्तो जोखिम कहाँ छ भनेर खोज्नु र निराकरणका उपाय अपनाउनुपर्छ। अब मेलम्चीको शेर्माथाङ क्षेत्रमा जस्तै भौगोलिक र हावापानी अवस्था भएका अरू नदी सिरानमा के कस्तो अवस्था छ भनेर ध्यान दिन जरुरी छ।
हिमालबाट शुरू हुने नदी सिरानमा बाढी-पहिरोको जोखिम
यो पंक्तिकार २०५९ फागुनदेखि २०६० जेठसम्म भुइँचुकको प्राकृतिक वितरण सम्बन्धी खोजतलास गर्न तमोर नदीको माथिल्लो जलाधार क्षेत्रमा गएको थियो। तमोर नदीका सिरान क्षेत्र ओलाङचुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका ४ हजार मिटरदेखि ५ हजार ३०० मिटरसम्म र कावेली नदीको जलाधार क्षेत्र याम्फुदिन जाने अवसर मिल्यो।
टिपेटाला क्षेत्रबाट शुरू हुने तमोर खोला, याङ्मा क्षेत्रबाट शुरू हुने याङ्मा खोला र कञ्चनजंघा र कुम्भकर्ण हिमालको उत्तर-पश्चिम भेगबाट शुरू हुने घुन्सा खोला गरी तीन मुख्य हिमनदीबाट तमोर नदी शुरू हुन्छ। ताप्लेजुङ घुन्सा गाउँको माथिल्लो भेगमा कुम्भकर्ण हिमनदी, खम्बाचेन र ल्होनाकसम्म गेग्रानै गेग्रान भएका पाखा र बगर छन्। कुम्भकर्ण हिमनदी, उत्तरी कञ्चनजंघा हिमनदीको खम्बाचेनदेखि ल्होनाक र आधार शिविर र आसपासमा हिमताल बन्ने र गल्ने प्रक्रिया अहिले पनि छ। कुम्भकर्ण हिमनदीको पुछारमा सय मिटरभन्दा अग्लो गेग्रानी खात (हेर्नुस् म्याप १) छ।
हिमताल बन्ने र क्षयीकरण हुने प्रक्रिया याङ्मा र ओलाङचुङ्गोला क्षेत्रमा पनि जारी छ। याङ्मा खोलाको तीन हजार ९०० मिटरदेखि चार हजार २०० मिटर उचाइसम्म पुरानो हिमनदीको गेग्रानी सतह र विशाल बगर छ। जरिटारभन्दा माथि याङ्मामा रूख हुँदैनन्, अल्पाइन झाडी मात्रै छन्। अत्यन्त भिरालो जमीनका कारण जरिटारमुनि याङ्मा खोला छहरो परेर बगेको छ। मनाङमा जस्तै यहाँ हिउँको सट्टा पानी परे पाखामा पहिरो जान्छ र त्यसले मास्तिरको टारको भाग तान्ने जोखिम हुन्छ।
अहिले हिमनदी चाहिं याङ्मा गाउँको उत्तर–पूर्व र उत्तर–पश्चिममा छन्। २०३७ सालमा एक पटक फुटिसकेको नङ्गमा पोखरी र त्यसको गेग्रानले पाबुके खोला थुनिएर बनेको च्छेछेत पोखरी यही क्षेत्रमा छन्। नङ्गमा पोखरी फुटेको बाढीले याङ्माको खेतीयोग्य जमीन पुर्यो र धेरै मानिस अन्यत्र जान बाध्य भए। यो बाढीले निकै तलसम्म क्षति गरेको थियो भनिन्छ।
ओलाङचुङ्गोला गाउँ र त्यसको माथि मौमाटारतिर पनि उस्तै प्रकृतिको जमीन र सिङ्गामा पोखरी लगायत साना–ठूला हिमताल छन्। विगतमा बाढी-पहिरोले घरबास क्षति गरेर ओलाङचुङ्गोलाका आधाभन्दा बढी परिवारहरू विस्थापित भएका थिए। तमोर जलाधार क्षेत्रमा २०२० सालयता हिमतालहरू फुटेर पाँच पटक ठूला बाढी आएको विवरण अल्टोन बायर्स र मोहन चन्दको टोलीले गरेको अध्ययनमा उल्लेख छ। यस लेखकसँगको हालसालैको संवादमा अल्टोनले जलवायु परिवर्तनका साथै तमोर नदी किनारमा सडक बनाउँदा अपनाइएको तरिकाले यस क्षेत्रको वन र वनस्पतिमा आउन सक्ने चुनौतीबारे चिन्ता व्यक्त गरेका थिए।
तमोरको उद्गममा रहेका यी नदीमध्ये कुनै एकमा, दुईमा वा सबैमा मेलम्चीमा झैं बाढी-पहिरो आएमा गोला, याङ्मा र घुन्सा जस्ता हिमाली गाउँहरू र तल छिरुवा, सिँवा बजार र कम्तीमा कावेली दोभानसम्म क्षति गर्न सक्ने सहजै अनुमान गर्न सकिन्छ। तथापि, विस्तृत अध्ययन विश्लेषण गरेर मात्र जोखिम क्षेत्रको रेखाङ्कन गर्नुपर्छ।
बाढी-पहिरोबाट मानिस, पशुपक्षी, बसोबासका साथै खेतीयोग्य जमीन, सडक, पुल, जलविद्युत् र पानीका स्रोत नोक्सान हुनेछन्। क्षति भएका कतिपय चिज कहिल्यै पुनर्भरण गर्न सकिंदैन। वर्षाको प्रकृति, तापक्रम, सडक लगायत भौतिक संरचना निर्माण गर्दा वा खोरिया खेती जस्ता कारणले पहिरोको जोखिममा के कस्तो र कति प्रभाव परेको हुनसक्छ र अब के कस्तो जोखिम छ भन्ने थाहा पाउन मिहिन अध्ययन गर्नुपर्छ।
यो पंक्तिकार विभिन्न कामका सिलसिलामा दूधकोशी जलाधारको खुम्बु क्षेत्र, तामाकोशीको रोल्वालिङ उपत्यका, सेती र कालीगण्डकी जलाधारका उपल्लो भेगमा बसेको अनुभवका आधारमा ती ठाउँमा पनि मेलम्ची वा तमोर नदीको सिरान भागमा माथि उल्लेख गरे झैं पहिरो र बाढीका जोखिम छन् भन्ने लाग्छ। गएको वर्ष अन्नपूर्ण पदमार्गमा देउराली नजिक हिमपहिरो जाँदा कम्तीमा १० जनाको ज्यान गएको थियो। हिमपातपछि टलक्क घाम लाग्दा त्यसरी गर्लम्म पहिरो जाने कुरा पक्कै पनि हावापानी र जमीनको बनावटले सिर्जना गरेको हो भन्न सकिन्छ।
जलाधार बुझ्ने चुनौती
हिमाली क्षेत्रमा पहिरो जाने वा हिमताल बन्ने र फुट्ने प्रक्रिया भूकम्प जस्तै भौगोलिक प्रक्रियासँग सम्बन्धित छ वा यो हावापानीमा हुने फेरबदलमा मात्र निर्भर हुन्छ भन्ने वैज्ञानिक विश्लेषण भए के-कति प्राकृतिक र मानवीय कारण छन्, बुझ्न सहज हुने थियो। समयक्रममा हुने प्राकृतिक भौतिक क्षयीकरण साथै रासायनिक क्षयीकरणबाट पनि पहिरोका लागि वातावरण तयार हुन्छ।
मानवीय क्रियाकलाप र जैविक क्रिया-प्रतिक्रियाले पनि भौतिक तथा रासायनिक क्षयीकरणमा मनग्गे भूमिका निर्वाह गर्छन्। कालान्तरमा यो प्रक्रियाले समग्र जलाधार प्रणालीमा खलल पार्छ र अन्तत: त्यो पहिरोका रूपमा विसर्जन हुन्छ। कुनै पनि जलाधारमा हुने यी क्रिया-प्रतिक्रियाको वैज्ञानिक अनुगमन हुन जरुरी छ।
भोटेकोशीमा गत वर्ष बाढी आएर ठूलो क्षति गर्यो। त्यसको माथिल्लो भेगमा साना-ठूला दर्जनौं हिमताल छन्। उष्णीकरणका कारण तापक्रम रेखा माथि सर्दा ती ताल फुट्ने जोखिम बढ्दै छ। भोटेकोशी, मर्स्याङ्दी र मेलम्ची नदीमा आएका बाढी-पहिरोले हिमाली पाखाहरूलाई बग्नबाट जोगाउने अग्रसरता लिन ढिलो हुँदै छ भन्ने सन्देश दिएका छन्।
विद्वान्हरूले जलाधार विभिन्न जीवन्त प्रणालीको एक महाप्रणाली हो भन्छन्। जलाधारमा तल्लो र माथिल्लो क्षेत्रबीच प्रत्यक्ष देखिने र नदेखिने सम्बन्ध हुन्छ। हामीले बाहिर बगेको पानी देख्छौं। जमीनको भित्रभित्रै पनि पानी बगिरहेको हुन्छ। यसले जलाधारको जीवन दायित्व तथा स्थायित्वमा मुख्य भूमिका खेल्छ। भू-सतहको विचलन, हावापानी र यसको परिवर्तन साथै जलाधारमा गरिने मानवीय गतिविधिहरू जस्तै वनपाखामा हुने खोरिया फँडानी र डढेलो, विकास-निर्माण सम्बन्धी बाँध, सिंचाइ कुलो, सडक वा सुरुङ निर्माणका क्रममा जलाधारको जलसञ्चार प्रणालीमा के असर पर्छ भन्ने सूक्ष्म अध्ययन हुनुपर्छ।
बगरमा थुप्रिएको गिट्टी-बालुवा जति निकाल्दा पनि के फरक पर्ला र भन्ने सोच समाजको एक तप्कामा रहेको पाइन्छ। जलाधारको कुनै पनि भागमा हुने परिवर्तनका असर अन्यत्र फैलिन्छन् भनेर हम्मेसी ख्याल गरिंदैन। यो पाखामा वा यति थोरै जग्गामा खोरिया फँडानी, डढेलो वा कटानले के फरक पार्छ र भन्ने मानसिकता पनि हावी छ। हाम्रा जलाधारहरूको अवस्था र जोखिमको विस्तृत लेखाजोखा गरी सत्यतथ्य बाहिर ल्याइएन भने भ्रम वा अफवाहले ठाउँ पाउँछन्, जसले विपद् जोखिममा चासो दिन, प्रकोपका सम्पूर्ण कारण खोज्न र तिनका समाधान पत्ता लगाउन अवरोध गर्छन्।
भोटेकोशीमा गत वर्ष बाढी आएर ठूलो क्षति गर्यो। त्यसको माथिल्लो भेगमा साना-ठूला दर्जनौं हिमताल छन् (हेर्नुस् म्याप २)। उष्णीकरणका कारण तापक्रम रेखा माथि सर्दा ती ताल फुट्ने जोखिम बढ्दै छ। भोटेकोशी, मर्स्याङ्दी र मेलम्ची नदीमा आएका बाढी-पहिरोले हिमाली पाखाहरूलाई बग्नबाट जोगाउने अग्रसरता लिन ढिलो हुँदै छ भन्ने सन्देश दिएका छन्।
आजकल पानी पर्छ भन्ने खबर सुन्नासाथ हामीलाई अब कुन नदीमा बाढी आउने हो वा अब कतातिर पहिरो जान्छ भन्ने सन्त्रासले छोप्छ। त्यसैले ढिलो नगरी हिमाली क्षेत्रमा हिउँको सट्टा पानी परेमा उत्पन्न हुनसक्ने बाढी-पहिरोबारे अध्ययन विश्लेषण गरी जोखिममा रहेका बस्तीलाई समयमै सूचित गर्नुपर्छ। जोखिम लुकाउन हुँदैन र बढाइचढाइ पनि गर्न हुँदैन। हिमाली क्षेत्रका बाढी-पहिरोबाट हुने जोखिम थाहा पाउन र जनधनको रक्षा गर्ने उपाय खोज्न ढिलो नगरौं।
भण्डारी विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत छन्।