कस्तो होला महामारीपछिको मनोरञ्जन क्षेत्र?
महामारीले थला पारेको क्षेत्र हो- मनोरञ्जन क्षेत्र। आफूलाई उद्योगका रूपमा विकास गर्न खोजिरहेको यो क्षेत्र यति वेला नराम्ररी खुम्चिएको मात्र छैन, सर्जकका सिर्जना पनि सुनिन र देखिन पाएका छैनन्।
विसं २०५६ मा क्याराभान (हिमालय) फिल्म रिलिज हुँदा काठमाडौंको जय नेपाल हलमा स्वदेशी र विदेशी दर्शक ओइरिए। त्यो क्यूएफएक्सले लिइसकेपछिको पछिल्लो जय नेपाल थिएन। त्यति वेलाको जय नेपाल जराजीर्ण त भइहाल्यो, दर्शकले शौचालयको खपिनसक्नु दुर्गन्ध र लुगै च्यातिदिने खालको काठको कुर्सी पनि झेल्नुपर्थ्याे। तैपनि एरिक भाली निर्देशित उक्त फिल्म काठमाडौंमा त्यही एक्लो हलमा सफलताका साथ चल्यो।
अर्को साल ७२औं एकेडेमी अवार्डको ‘बेस्ट फरेन फिल्म’ विधामा क्याराभान चुनियो। नेपालबाट ओस्कारमा मनोनीत हुने यो नै पहिलो नेपाली फिल्म थियो। “जय नेपाल हलको साइनो अप्रत्यक्ष रूपमा ओस्कारसँग पनि जोडिन पुग्यो,” क्याराभानका सह-निर्माता समेत रहेका कलाकार नीर शाह सम्झन्छन्, “अहिले त्यो हल बन्द भएको सुन्दा निकै दुःख लागेको छ।”
क्याराभानभन्दा धेरै अघिदेखिका जय नेपाल हलसँग सम्बन्धित अनेक पुराना स्मृति शाहसँग छन्। राजधानी शहरको सानो गौचरनमा हुर्किएका उनी सानै उमेरदेखि हात्तीसारस्थित त्यही घरपायक हलमा फिल्म हेर्न जान्थे। “मैले बच्चै वेलादेखि त्यो हलमा फिल्म हेर्न थालेको हुँ,” उनी भन्छन्, “विसं २०२१ मा रिलिज भएको फिल्म आमा चलेदेखि नउत्रुन्जेल प्रायः हरेक दिन, हरेक शो मैले त्यही हलमा हेरें।”
पुरानो इतिहास बोकेको थलो सधैंका लागि बन्द हुँदा उनलाई नमज्जा लागिरहेको छ। “हाम्रो पालाका सबै हल बन्द भए अब,” उनी भन्छन्, “रञ्जना हल छैन, विशाल बजारको जनसेवा हल उहिल्यै जलेर नष्ट भयो। पाटनको अशोक सिनेमा हल, भक्तपुरको नवदुर्गा हल र जमलको विश्वज्योति पनि बन्द भए। यस पालि जय नेपाल र कुमारी हल समेत बन्द भएपछि हाम्रा स्मृति गाँसिएका सबै सिने-संरचना नासिएको आभास भइरहेको छ।”
पछिल्लो समय ठूला शपिङ मलहरूमा मल्टिप्लेक्स हलहरू खुल्न थालेयता विशेषतः हल मात्र रहेका पुराना थिएटरहरू छायामा पर्न थालेका थिए। कोरोना महामारीले तिनलाई कहिल्यै नउठ्ने गरी पूरै थला पारिदियो। नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, काठमाडौं उपत्यकाका १३ सहित देशभरका करीब २८ वटा हल सधैंका लागि बन्द भए।
शर्मा सुनाउँछन्, “नेपालमा २० प्रतिशतसम्म हल बन्द हुने क्रममा छन्। डेढ वर्षदेखि डायस्पोराको बजार ठप्प छ। कोभिडअघि नै तयार भएर प्रदर्शनीमा जान ठिक्क परेका ३५ वटा फिल्मका निर्माताको करोडौंको लगानी डुबेको छ।”
डेढ वर्षदेखि फिल्मका गतिविधि ठप्प हुँदा कतिपय कलाकार र प्राविधिक यो क्षेत्रबाट पलायन हुन बाध्य छन्। कोही आर्थिक त कोही मानसिक समस्यासँग जुधिरहेका छन्। फुर्सदको समय कतिले ध्यान र योगतिर पनि समय बिताए। हालै मात्र ११ दिन लामो विपश्यनाबाट फर्किएपछिका केही दिन अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा लगायतले क्लबहाउसमा आफ्ना अनुभव सुनाएका थिए। महामारीले काम ठप्प नभएका भए उनीहरू यति लामो ध्यान शिविरमा सम्भवतः जान पाउँदैनथे।
आम्दानी नै नभएपछि हलहरूले कर्मचारी कटौती गरेका छन्। “हलको रेखदेख र अरू अत्यावश्यक कामका लागि चाहिने कर्मचारी बाहेक अरूलाई राख्न सकेका छैनौं,” मल्टिप्लेक्स हलको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्स सिनेमाजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन अडिगा भन्छन्, “अवस्था सुध्रिएपछि फेरि बोलाउँछौं।”
कतिपयले त अब फिल्म हलको भविष्य सकिएको घोषणा समेत गरिरहेका छन्। तर, हलका विषयमा यस्तो अड्कलबाजी नयाँ भने होइन। “टेलिभिजन, टेप, मोबाइल वा ल्यापटपमा फिल्म हेर्नु र हलमा गएर फिल्म हेर्नुमा आकाश-जमीनको फरक छ,” नेपाल चलचित्र संघका महासचिव शर्मा भन्छन्, “फिल्मको कल्चर भनेको हल नै हो। नयाँ प्रविधि आउँदा मान्छेहरू त्यसमा रमाउन खोज्छन्। तर, त्यसले थिएटर-कल्चरलाई व्यापक असर गर्दैन। बरु थिएटरहरू परिष्कृत हुँदै जानेछन्।”
हलको बहस एकातिर हुँदै गर्दा कामधन्दा नभएर खाली बस्नुपरेको यो समयलाई कतिपय फिल्मकर्मी र पारखीहरूले भने फिल्मबारे सिक्ने/बुझ्ने अवसरका रूपमा सदुपयोग गरिरहेका छन्। जस्तो, नायिका केकी अधिकारीलाई हिजोआज ‘यो-यो फिल्म हेर्नुस्’ भनेर दर्शकले नै सिफारिश गर्छन्। “कोभिडले हामीलाई सिक्ने र सुधारिने समय दिएको छ,” उनी भन्छिन्, “अबका दिन हामीले आफूलाई थप प्रमाणित गर्नुपर्नेछ। विदेशका राम्रा फिल्म हेरेर दर्शकको ज्ञान बढिसकेकाले अब यतिले पुग्छ भन्ने सोचबाट हामी मुक्त हुनैपर्नेछ।”
कोभिडले निम्त्याएको लामो फुर्सदपछि फिल्म वा अभिव्यक्ति कलामा व्यापक परिवर्तन आउने फिल्म निर्देशक नवीन सुब्बा औंल्याउँछन्। मुख्यतः फिल्मको पुस्ता नै परिवर्तन हुने, प्रविधि, दर्शकको रुचि, फिल्म हेर्ने माध्यम, विषयवस्तु, विधा लगायत सबै पाटोमा फेरबदल देखिने उनको धारणा छ। “आफूलाई सुधार नगर्ने हो भने हाम्रो समय अब सकिनेवाला छ,” सुब्बा भन्छन्, “कोभिड संकट कम हुनासाथ हामीलाई नयाँ पुस्ताले टेक ओभर गर्नेछ।”
अर्का निर्देशक प्रचण्डमान श्रेष्ठका अनुसार, भिडिओ स्ट्रिमिङ प्लेटफर्मको बढ्दो आकर्षणका कारण अबका दिनमा नेपाली कन्टेन्टहरू ओभर द टप (ओटीटी) साइटमा पुग्नेछन्। “नेटफ्लिक्स, अमेजन जस्ता ठूला ओटीटीमा तुरुन्तै नजालान्, तर विभिन्न देशका स्थानीय ओटीटी प्लेटफर्मले आफ्नो कन्टेन्टको लाइब्रेरी बढाउन अन्य देशका कन्टेन्ट किन्न थालेका छन्,” उनी भन्छन्, “हामीले गतिला सामग्री बनाउन सक्यौं भने हाम्रा फिल्म पनि मिडिया ब्यांकहरू मार्फत तिनै स्थानीय ओटीटीले खरीद गर्नेछन्।” कर्पोरेट क्षेत्रले कथामा आधारित छोटा फिल्ममा लगानी गर्न थालेको बताउँदै श्रेष्ठ ओटीटी सञ्चालकहरूमा जोखिम मोल्ने क्षमता बढेकाले उनीहरूले लगानी गर्नेमा आशावादी छन्।
नेपाली फिल्म क्षेत्रमा विसं २०६८ मा चलचित्र लुटबाट नयाँ ट्रेन्डको शुरूवात भएको मानिन्छ। २०७२ सालको भूकम्प र त्यस लगत्तै शुरू भएको भारतीय नाकाबन्दीले नेपाली फिल्मको बजारलाई प्रभावित पार्यो। तर, २४ भदौ २०७३ मा रिलिज भएको छक्कापन्जाले कीर्तिमान कायम गर्दै त्यो वेला १० करोडको व्यापार गर्यो।
त्यसपछि छक्कापन्जा २, शत्रु गते, छक्कापन्जा ३, कबड्डी-३, छ माया छपक्कै जस्ता फिल्मले सहजै १० करोडभन्दा बढी व्यापार गरे। हरेक संकटपछि फिल्मको व्यापार बढेको यिनै उदाहरणका आधारमा फिल्मकर्मी र फिल्म व्यवसायीहरू कोभिड संकटपछि पनि नेपाली फिल्मको दिन सुध्रिनेमा आशावादी छन्।
रंगमञ्च : दुई पाइला पछाडि
नेपालमा नाटकहरू फराकिलो प्रोसिनियम थिएटर होइन, ब्ल्याक बक्स थिएटरमा देखाइन्छन्। ब्ल्याक बक्स थिएटरमा साँघुरो ठाउँ र थोरै कुर्सी हुन्छन्, जसले गर्दा दर्शकलाई भौतिक दूरीमा व्यवस्थित गर्न हम्मेहम्मे हुन्छ। र, कलाकार तथा दर्शकबीच दूरी पनि कम हुन्छ। अर्को कुरा, ‘ग्रीन रुम’ साँघुरो हुने भएकाले प्राविधिक र कलाकारहरूबीच मञ्चन अवधिभर घुलमिल भइरहन्छ। यस्तो हुँदा संक्रमणको जोखिम उच्च रहन्छ।
“हामीले प्रत्यक्ष प्रस्तुति दिनुपर्ने भएकाले महामारीका वेला हाम्रो काम ठप्प भयो,” मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बा भन्छिन्, “धेरैजसो कलाकार पलायन भए। अहिले कलाकार टिकाउनु नै मुख्य चुनौती बनेको छ।”
महामारीका वेला सडक नाटकको सम्भावना थिएन। सार्वजनिक स्थलमा अझै पनि भीडभाड गर्ने अनुमति छैन। तर, शिल्पी थिएटरले विभिन्न सामाजिक आन्दोलनका क्रममा माइतीघर मण्डलादेखि टेकु पचलीघाटको मूल सडकमा प्रस्तुति दिएको थियो। “आफूलाई तयार राख्न, अभ्यासलाई निरन्तरता दिन, नाट्य समूहलाई बचाउन र दर्शकसँगै एकआपसमा जोडिइराख्न पनि हामीले सडकमा नाटक देखाएका थियौं,” शिल्पी थिएटरका प्रमुख घिमिरे युवराज भन्छन्।
नाटकघर बन्द हुँदा कलाकार, प्राविधिक र नाट्य समूहलाई आर्थिक र मानसिक समस्या आइपरेको रंगकर्मीहरू बताउँछन्। त्यसले नाटक मार्फत सिर्जना हुने बहस र नाटकघरमा हुने छलफलहरू पनि टुटाएको युवराजको भनाइ छ। यसो हुँदा समाजको बौद्धिक विकासमा अवरोध पुगेको उनी ठान्छन्। “संकटका वेला रंगमञ्चको अझै बढी आवश्यकता हुन्छ,” उनी भन्छन्, “मान्छे एक्लो र दिक्दार हुँदा ताजगी दिने थलो यिनै हुन्।”
जीविकोपार्जन एउटा पाटो भयो, अर्को महत्त्वपूर्ण पाटो रंगकर्मीले आफ्नो अभिव्यक्तिको माध्यम गुमाएका छन्। नाटकमा अभिनय गर्दा वा अरू जिम्मेवारी निर्वाह गर्दा जुन सन्तुष्टि, खुशी र ऊर्जा मिल्थ्यो, त्यो गुमेको कौशी थिएटरकी रंगकर्मी आकांक्षा कार्की सुनाउँछिन्। उनी भन्छिन्, “यत्तिका समय काम गर्न नपाउँदा जिन्दगी अर्थहीन रहेछ, म एक्लो रहेछु भने जस्तो महसूस हुन्छ।”
यस्तै बेचैनी र अन्योल कम गर्न नाटकका कलाकार तथा प्राविधिकहरूले पछिल्लो समय ‘हाइब्रिड फर्म’ का रूपमा नाटकलाई रेकर्ड गरेर वा खिचेर प्रत्यक्ष अथवा रेकर्डेड स्ट्रिमिङ गर्ने चलन शुरू गरेका छन्। कतिपय देशमा अडियो नाटक वा नाटकहरूका पडकास्ट लोकप्रिय बन्दै गएका छन्। अमेरिकी म्यागजिन भेराइटीमा प्रकाशित ‘...हाउ पान्डेमिक इज ट्रान्सफर्मिङ थिएटर’ लेखमा सन् २०२० यता रंगमञ्चले डिजिटल सम्भावनाको ढोका उघारेको उल्लेख छ।
अमेरिकाकै जेसीए आर्टस् मार्केटिङले हालै गरेको सर्वेक्षण अनुसार, डिजिटल थिएटरका ४३ प्रतिशत दर्शकले जीवनमा कहिले पनि नाटकघरमा गएर प्रत्यक्ष प्रस्तुति हेरेका छैनन्। यसको अर्थ, नाटकलाई ठूलो जनमानसमा पुर्याउन डिजिटल थिएटर प्रभावकारी हुने सर्वेक्षणको निचोड छ।
हामीकहाँ पनि मण्डला थिएटरको युट्युब च्यानलबाट वैशाखमा रिलिज गरिएको मीतज्यू नाटक दुई लाखभन्दा बढीले हेरिसकेका छन्। मीतज्यूको यो प्रयोगले नेपाली नाटकको लोकप्रियता फराकिलो हुने निश्चित छ। कलाकार केदार श्रेष्ठको थिएटर मलले पनि पुराना रेकर्डेड नाटकहरूलाई फेसबूक मार्फत प्रसारण गरेको थियो।
नेपालमा कार्यरत अमेरिकी नाट्य निर्देशक डेबोरा मेरोलाले १३ मार्च २०२० देखि नयाँ नाटक द राइड अक्रस कन्स्ट्यान्स मञ्चन गर्ने तयारी थालेकी थिइन्। तर, बन्दाबन्दीका कारण १० दिनअघि नै उनले स्थगन गरिन्। कलाकारलाई आधाभन्दा बढी पारिश्रमिक दिइसकेकी छन्। अब आगामी सेप्टेम्बर १० देखि १९ सम्म बबरमहल रिभिजिटेडको खुला ठाउँमा डेबोराको नाटक मञ्चन गर्ने तयारी हुँदै छ।
शैली थिएटरले रातो पुलमा नाटकघर बनाएको केही महीनामै पहिलो बन्दाबन्दी भएको थियो। चार वटा नाटक प्रदर्शन भएदेखि नाटकघर बन्दको बन्दै छ। अहिले भाडा मात्र तिरेर राखिएको छ। शिल्पी थिएटरले नयाँ नाटक ‘अनुपस्थित तीन’को रिहर्सल समेत भर्चुअल्ली गरेको थियो। हरेक शोमा ४० जना दर्शकलाई गोठाले थिएटरमै बसेर नाटक हेर्ने प्रबन्ध मिलाइएको थियो।
“अब महामारीको क्षति गनेर बस्नेभन्दा पनि कसरी अघि बढ्ने भन्नेबारे हामीले सोच्नुपर्छ,” सिर्जना सुब्बा भन्छिन्, “लामो छलाङ मार्न दुई पाइला पछि सरेको ठानेर अघि बढ्नु उचित होला।”
शान्त धुन
संगीत क्षेत्रका अधिकांश गतिविधि यथावत् छन्। गीत रचना, कम्पोजिसन, रेकर्डिङ सबै चलिरहेकै छन्। डिजिटल प्लेटफर्म, युट्युब, फेसबूक र टिकटकहरूमा गीत-संगीतको प्रचारप्रसार उस्तै छ।
म्युजिक भिडिओ निर्माणको संख्या अझै बढेको छ। टेलिभिजनका संगीत सम्बन्धी रियालिटी शोहरू कोरोनाभाइरससँग जुध्दैवर्दै भए पनि जारी छन्। यसरी हेर्दा, फिल्म र रंगमञ्चको तुलनामा कोरोनाका कारण संगीत क्षेत्र खासै प्रभावित देखिँदैन।
तर, यसभित्रको ‘कन्सर्ट इन्डस्ट्री’मा सबैभन्दा बढी मार परेको छ। सामान्य अवस्थामा देशका विभिन्न सहरमा हुने मेला, उत्सव तथा विदेशमा हुने कन्सर्टबाट एउटा कलाकारले वर्षमा १०-२० लाख रुपैयाँ सजिलै कमाउँथ्यो। अहिले त्यो कमाइ ठप्प छ। सन् २०२० मै बीबीसीको एक रिपोर्टमा विश्व संगीतका कलाकारले आफ्नो आम्दानीको दुई तिहाइ रकम गुमाउने पूर्वानुमान गरिएको थियो।
कार्यक्रमका लागि देश-विदेश दौडिरहने गायकगायिका अहिले वेलाबखत रेकर्डिङ स्टुडियो धाउनमै सीमित भएका छन्। “पहिलो बन्दाबन्दीअघि फिक्स्ड भएका मेरा पाँच वटा स्टेज शो रद्द भए,” पछिल्लो समयकी व्यस्त गायिका मेलिना राई भन्छिन्, “अवस्था सामान्य हुँदा वर्षैभरि अटुट रूपमा कार्यक्रम हुन्थ्यो, देश-विदेश डुलिरहनुपर्थ्यो। अहिले चाहिं रेकर्डिङ र युट्युबहरूबाट मात्र आम्दानी भइरहेको छ।”
अघिल्लो बन्दाबन्दीमा स्टुडियोहरू पूरै बन्द भए पनि यस पालि स्वास्थ्य मापदण्ड पालना गरेर वा कतिपयले निजी होम-स्टुडियोमा गीत, संगीत रेकर्ड गर्ने-गराउने गरिरहेका छन्। तसर्थ, स्टुडियोको चाप कत्ति पनि नघटेको संगीतकार अर्जुन पोखरेल बताउँछन्। द डिभाइन म्युजिक कम्पनीका सञ्चालक समेत रहेका उनी भन्छन्, “सिंगल ट्र्याक रेकर्ड गर्नेहरू टन्नै छन्।”
पोखरेलका अनुसार, पछिल्लो समय युट्युब च्यानलहरूले गीत तथा म्युजिक भिडिओ निर्माणमा लगानी गर्ने चलन ह्वात्तै बढेको छ। “आफ्ना च्यानललाई कन्टेन्ट चाहिने भएपछि मान्छेहरू म्युजिक भिडिओमा पैसा हाल्न तयार छन्,” पाश्र्व संगीत सिर्जनामा नाम कमाएका पोखरेल भन्छन्, “अब फिल्म कहिले बन्छन्, टुंगो छैन। फिल्म नबनेपछि त्यसलाई चाहिने गीत-संगीत बन्ने भएनन्।
कोरोनाले रेस्टुरेन्ट, बार, पब वा दोहोरी साँझमा सांगीतिक प्रस्तुति दिएर आयआर्जन गर्ने कलाकारलाई सोझो असर गरेको छ। काठमाडौंका बारहरूमा गीत गाएर, वाद्यवादन गरेर मासिक ५०-६० हजार रुपैयाँ आम्दानी गर्ने कलाकारहरू अहिले बेरोजगार छन्। उनीहरूमध्ये कतिपय स्कूलका संगीत शिक्षक पनि हुन्। तर, स्कूल नखुलेकै डेढ वर्ष भइसक्यो।
“ब्यान्डमा साउन्ड इन्जिनियरिङको काम गर्ने साथीहरू अहिले साइकल बनाउने, झ्याल–ढोका बनाउने काममा लागेको देखिरहेको छु,” द एक्स ब्यान्डका प्रमुख गायक (भोकलिस्ट) शिव मुखिया भन्छन्, “ब्यान्डका केटाहरूले अरू नै व्यवसाय र विकल्प खोज्न थालिसके।” मेटल विधाको अग्रणी अन्डरसाइड ब्यान्डका सदस्यहरू अहिले संगीतको सट्टा हाइड्रोपावर-प्लान्ट, रेस्टुरेन्ट लगायत व्यवसायमा लागेका छन्।
प्रोग्रेसिभ रक विधाको द एक्ट ब्यान्डकी भोकलिस्ट सुजिना श्रेष्ठ छालाको सौन्दर्य प्रसाधन बिक्री-वितरणको काममा लागेकी छन्। “कोरोना शुरू हुनुभन्दा केही समय अघिदेखि नै मैले यो व्यवसाय शुरू गरेकी थिएँ,” उनी भन्छिन्, “पहिला जस्तो विशुद्ध संगीतमा मात्रै निर्भर भएको भए अहिले गाह्रो हुने रहेछ।”
कोरोना महामारीले लाइभ म्युजिक ठप्प पारेपछि अनलाइन माध्यमबाट गाउने, बजाउने र सामूहिक प्रस्तुति दिएर केहीले चित्त बुझाइरहेका छन्। अघिल्लो बन्दाबन्दीका वेला कलाकर्मीहरू ‘रिमोट कोल्याबोरेसन’मा आबद्ध भएका थिए । योगेश्वर अमात्य, न्ह्यु बज्राचार्य, जेम्स प्रधानहरूले बन्दाबन्दीमा ‘ज्याम सेसन’ सञ्चालन गरे। मनोज केसी, राजु लामा, बर्तिका एम.राई, दिवस गुरुङहरूले पनि ‘रातो र चन्द्र सूर्य...’ मा सहगायन गरेका थिए।
बन्दाबन्दीभर संगीतमै व्यस्त रहेका दीपक बज्राचार्यले ‘कोरोना...’ बोलको गीत निकाले भने छोरी चेरिसासँग मिलेर आफ्ना नयाँ-पुराना गीतहरू पनि गाइरहे। “कोभिडसँगको लडाइँमा सुरक्षित रहन, सद्भाव कायम राख्न गीत मार्फत आह्वान गरेको थिएँ,” उनी भन्छन्, “आफू पनि व्यस्त रहने र श्रोताको अनुहारमा थोरै भए पनि हाँसो ल्याउने उद्देश्य हो।” उनले त्यो वेला शुरू गरेको द म्युजिकल मेडिसिन श्रृंखला अझै पनि चलाइरहेकै छन्।
महामारी र बन्दाबन्दीले लाइभ म्युजिकलाई लाइभ स्ट्रिमिङतिर सारेको छ। तर, दर्शकको ठूलो भीडसामु प्रस्तुति दिँदाको उल्लास अनलाइनमा प्राप्त नहुने संगीतकर्मीको अनुभव छ। “स्टुडियो र रिहर्सल कक्षमा गाउँदा म एक्लो हुन्छु,” नेपथ्य ब्यान्डका गायक अमृत गुरुङले फेसबूकमा लेखेका छन्, “लाइभ कन्सर्टमा गाउँदा मसँगै हजारौं दर्शक हुन्छन्। दर्शकको भावना र सहकार्यले नै लाइभ शोमा लाइफ थप्छ। कलाकार र प्राविधिकका गल्ती, कमजोरी दर्शकको उन्मुक्त सहभागिताले छोपिदिन्छ।” ब्यान्डले कुनै वेलाको कन्सर्टको भिडिओमा गीतका शब्दहरू स्क्रीनमा देखाएर ‘जीवन हो घामछाया....’ गीतलाई युट्युबमा राखेको छ।
बन्दाबन्दीका वेला चर्चामा आएको क्लबहाउसमा गाउने-बजाउने माहोल बनेको छ। केही अघि गायिका त्रिशाला गुरुङले यसमा अनौपचारिक एकल प्रस्तुति दिएकी थिइन्। क्लबहाउस, जूम, गुगल मिट, युट्युब, फेसबूक र विशेषतः टिकटकमा लाइभ मार्फत गीत सुनाउने कलाकारको संख्या बढ्दो छ। गायिका एलिना चौहानले टिकटक लाइभबाट आफूले एक चोटिमा सर्वाधिक एक लाख रुपैयाँसम्म कमाएको बताएकी थिइन्।
विपुल क्षेत्रीले गत वर्ष रिलिज गर्न तयार पारेको एल्बम समय भर्खरै रिलिज गरेका छन्। एक्स ब्यान्डले स्थापनाको २८ वर्ष पूरा भएको उपलक्ष्यमा अघिल्लो साल अमेरिका, बेलायत, कोरिया, दुबई र नेपालका विभिन्न ठाउँमा विशेष प्रस्तुति दिने योजना बनाएको थियो। त्यस वेलाका लागि सोचेका शोहरू अब ३०औं वार्षिकोत्सवमा समेत आयोजना नहुने हुन् कि भन्नेमा गायक मुखिया सशंकित छन्।
फेशन : ‘पर्ख र हेर’
फेशन शोहरू बन्द छन्, ब्युटी पेजेन्ट (सौन्दर्य प्रतियोगिता) पनि स्थगित छन्। बन्दाबन्दी खुकुलो हुँदा ब्युटी सलुनहरू खुले पनि ग्राहकको चहलपहल देखिँदैन। कतिपय मेकअप आर्टिस्टहरू ग्राहकको घर-घरै गएर सेवा दिन थालेका छन्। आर्थिक मन्दीले गर्दा क्रय क्षमता घटेको छ । त्यसैले फेशनवेयरहरूको बिक्रीमा पनि ह्रास आएको छ।
बिहे, पास्नी र अरू भोजभतेरका कार्यक्रममा रोक लगाइएकाले पहिला जस्तो नयाँ डिजाइनका लुगाहरू बिक्री हुन नसकेको फेशन डिजाइनर युबी थापा बताउँछन्। “बिहेको सिजनमा आएका अर्डर सबै रद्द भए,” एकताका ठमेलस्थित छाया सेन्टरमा बुटिक चलाउने गरेका उनी भन्छन्, “फेशन इभेन्ट नभएपछि यो क्षेत्रको अवस्था डामाडोल छ। दोस्रो बन्दाबन्दीपछि मेरो बुटिक पनि बन्द भयो।”
युबी थापा कलेक्सन (बुटिक) मा ३५ जना कर्मचारी थिए। पसल बन्द भएपछि उनले ६-७ जना मात्रै राखेर काम गरिरहेका छन्। तर, पर्याप्त अर्डर नआएकाले उनले नयाँ डिजाइन खासै बनाइरहेका छैनन्। डिजाइनर वेयर मात्रै नभएर सामान्य फेन्सी पसलमा समेत नयाँ डिजाइनका पहिरन भित्रिएका छैनन्। अन्तर्राष्ट्रिय बजारमा नयाँ डिजाइन सार्वजनिक भएपछि त्यसको चहलपहल नेपालसम्म आइपुग्ने हो। विदेशमा फेसन शोहरू रोकिएकाले नयाँ डिजाइन प्रदर्शनमा आएका छैनन्।
नेपालको फेशन क्षेत्र अधिकतम मात्रामा भारत र चीनमा निर्भर छ। धेरैजसो कच्चा पदार्थ, फेब्रिक र एक्सेसरिज चीन र भारतबाट आउने गरेका छन्। यी दुवै देशमा कोरोनाको बिगबिगी हुनु र कतिपय सामान नाकामा अड्किनाले नेपाली फेशन क्षेत्रको रङ उडेको छ । कतिपय डिजाइनर ‘सन् २०२०/२१ को फेशन भनेको घर बस्दा लाउने धोक्रे सुरुवाल हो’ भनेर ठट्टा पनि गर्छन्।
अघिल्लो महामारीका वेला विश्व फेशन क्षेत्रमा कहलिएका नाम र ब्रान्डहरूले मास्क, पन्जा, पीपीई, सेनिटाइजर बनाएर अग्रपंक्तिमा खटिनेहरूलाई बाँडेका थिए। कोरोनाभाइरसले इटालीमा विध्वंस मच्चाउँदा गुची ब्रान्डले चीनबाट ३० लाख सर्जिकल मास्क र ५५ हजार स्वास्थ्य सामग्री खरीद गरी अस्पतालहरूलाई दिएको थियो। अर्मानीले पनि अस्पतालहरूलाई २० लाख यूरो दिनुका साथै आफ्ना सबै कारखानाबाट मास्क उत्पादन गरेको थियो। जारा, एचएन्डएमहरूले अझै पनि पीपीई उत्पादन गर्दै आएका छन्।
फेशन क्षेत्रमा गतिविधि नभएर कारोबार घट्न थालेपछि डिजाइनर, मेकअप आर्टिस्ट, मोडलहरूले सामाजिक सञ्जालबाट आफ्ना ब्रान्डको विज्ञापन गर्न थालेका छन्। हामीकहाँ धेरैजसो डिजाइनको प्रवर्द्धन इन्स्टाग्रामबाट भइरहेको छ। तर, अनलाइनमा हेरेरै फेब्रिक र टेक्चरबारे अड्कल लगाउन गाह्रो हुन्छ। फेरि खरीदकर्ताहरूले आफूले ट्राई गरेर मात्र कुनै पनि पहिरन छान्ने गर्छन्। त्यसैले हामीकहाँ फेशनवेयरहरूको अनलाइन कारोबार त्यति लोकप्रिय छैन। ग्राहकले अनलाइन डिस्प्लेमाथि विश्वास गरिहाल्ने प्रवृत्ति पनि छैन।
अभिनेत्री साम्राज्ञी शाहले महामारीकै वेला अनलाइन स्टोर सञ्चालनमा ल्याइन्। प्याप नामक उक्त स्टोरमा सिल्कका पहिरन बढी उपलब्ध छन्। उनले पनि इन्स्टाग्राममा नयाँ डिजाइनका पहिरनहरू डिस्प्ले गरिरहेकी हुन्छिन्। जेनिशा मोक्तान लगायत कतिपय पूर्व मिस नेपाल र मोडलहरूले इन्स्टाग्राममै शृंगार सामग्री र त्यसको प्रयोगबारेको ट्युटोरिअल (शिक्षण) भिडिओ सेयर गर्ने गरेका छन्।
केही वर्षयता बग्रेल्ती आयोजना हुने गरेका सौन्दर्य प्रतियोगिता भने महामारीले ठप्पै पारिदिएको छ। पहिलो र दोस्रो बन्दाबन्दीबीचको खुला समयमा भने मिस नेवाः लगायत ३०-४० वटा फेशन कार्यक्रम आयोजना गर्न पाएको फेशन कोरिओग्राफर एवं कार्यक्रम आयोजक रोजिन शाक्य बताउँछन्।
“काठमाडौंमा मात्रै वर्षमा अन्दाजी एक सय वटा ब्युटी पेजेन्ट र ४० वटा जति फेशन शो आयोजना हुन्थे,” उनी भन्छन्, “फेशन इभेन्टहरू नहुँदा आयोजक, डिजाइनर, मेकअप आर्टिस्ट, फोटोग्राफर, मोडल, प्राविधिक समूह जस्ता यसमा आबद्ध ठूलो समूहलाई मर्का परेको छ। लामो समयदेखि थन्क्याएर राखेको हुनाले लाइट, साउन्डका उपकरण बिग्रिन, खिया लाग्न थालेका छन्।”
बन्दाबन्दी खुलेर बिस्तारै कार्यक्रम गर्न पाइहाले पनि पहिलाको जस्तो उत्साह नहुने रोजिनको बुझाइ छ। “अब फेशन क्षेत्र ब्युँतिन धेरै समय लाग्छ,” उनी भन्छन्, “फेशन इभेन्ट र ब्युटी पेजेन्टहरू अनलाइन आयोजना गर्नुको खासै अर्थ हुँदैन। यो प्रयोगात्मक विषय भएकाले अनलाइनमा सिकाउन मिल्दैन। सिकाइहाले पनि फिनाले कसरी गर्ने? फेरि, कार्यक्रम गर्नु मात्रै उद्देश्य होइन। विजेतालाई स्थापित गराउनुपर्यो। त्यसका लागि मोडलिङ, विज्ञापन जस्ता प्लेटफर्म पनि अहिले पहिला जस्तो छैनन्। फेशन क्षेत्रले अब फेरि शून्यबाट शुरू गर्नुपर्ने भएको छ। त्यसका लागि पर्खिनु बाहेक विकल्प छैन।”
(हिमालको २०७८ भदौ अंकमा 'मनोरञ्जनको भविष्य' शीर्षकमा प्रकाशित रिपोर्ट)