गोर्खाको यथार्थ चित्रण
आम गोर्खाले जस्तो टिमले हामी वीर हौं भनेका छैनन्, बरु गोर्खालीलाई किन वीर भनियो र त्यस्ता विशेषणले लाहुरे जातिलाई के असर पार्छ भनेर मनोवैज्ञानिक विश्लेषण गरेका छन्।
सामान्यतया गोर्खाहरू कलिलै उमेरमा फौजमा लाग्छन्, अवकाश पाउँछन् र चुपचाप जिन्दगी बिताउँछन्। यस अर्थमा फरक देखिएका छन्, टीम गुरुङ। १७ वर्षको उमेरमा ब्रिटिश गोर्खा फौजमा भर्ना भएका धम्पुस, कास्कीका टीम आयो गोर्खाली मार्फत पुर्खा र आफ्ना वास्तविक कथा लिएर आएका छन्।
आम गोर्खाले जस्तो उनले हामी वीर हौं भनेका छैनन्, बरु गोर्खालीलाई किन वीर भनियो र त्यस्ता विशेषणले लाहुरे जातिलाई के असर पार्छ भनेर मनोवैज्ञानिक विश्लेषण गरेका छन्।
लेखकले कतै पनि नअलमलिईकन गोर्खाको कथा बुनेका छन्। यी कथाहरू गोर्खाको मनोविज्ञान, जीवन भोगाइ र दुःखसँग सम्बन्धित छन्। उनी लेख्छन्- बेलायतले खुला पसलमा आई आफूलाई चाहिए जति सामान उठाएर लगे जस्तो गरी नेपाली युवालाई लगिरह्यो। त्यसको तथ्याङ्क न नेपालले राख्यो, न बेलायतले।
सेनामा १३ वर्ष बिताएर कर्पोरल पदबाट अवकाश लिएका लेखकले गोर्खाको २०० वर्षभन्दा लामो इतिहासदेखि गोर्खाहरूमाथि भएको असमानताका बारेमा समेत उल्लेख गरेका छन्। यस अर्थमा यो किताब गोर्खाबारे जान्न चाहनेलाई आँखीझ्याल हो।
हरेक विषयमा उनले केही न केही कुरा खोजेर राखिदिएका छन्। ‘गोर्खा को हुन्?’ शीर्षकमा उनले कहिलेदेखि गोर्खा बेलायतका लागि प्रयोग हुन थाले र कुन कुन मितिमा ‘गुर्खा’ को अंग्रेजी हिज्जे कसरी प्रयोग गरियो भनेर तिथिमिति सहित उल्लेख गरेका छन्।
खुकुरी सम्बन्धी अध्यायमा खुकुरी कहिलेदेखि प्रयोग हुन थाल्यो भन्ने कुरा मात्र छैन, बेलायतको रक्षा मन्त्रालयले ‘मार्क फोर’ नामक खुकुरी सन् १९५१ मा बेलायतमा बनाएको र लागत महँगो परेपछि निर्माण बन्द गरेको प्रसङ्ग समेटेका छन्। ‘गोर्खा ब्रिगेड’ निर्माण, विश्वयुद्धहरूमा गोर्खाको प्रयोग, विभिन्न गुर्खा रेजिमेन्टहरूको निर्माण इतिहास, ब्रुनाई र बोर्नियोमा गोर्खाहरूको प्रयोग, भारतीय सेनामा गोर्खाको समावेश जस्ता विषयवस्तु छोटो तर सटीक रूपमा प्रस्तुत गरिएको छ।
‘के कुराले गोर्खालाई स्पेसल बनाउँछ’ भन्ने शीर्षकमा उनी लेख्छन्- गोर्खाले नुनको सोझो गर्ने, जुन कुरा लगाइदिएको छ त्यही कुरा विना प्रश्न खुरुखुरु गरिरहने, कामको जिम्मेवारी महसूस गर्ने र भर्ती हुन बाहेक अरू कुरा गर्न नजान्ने भएकाले उनीहरूलाई इमानदार बनाएको छ।
‘के कुराले गोर्खालाई स्पेसल बनाउँछ’ भन्ने शीर्षकमा उनी गोर्खाले नुनको सोझो गर्ने, जुन कुरा लगाइदिएको छ त्यही कुरा विना प्रश्न खुरुखुरु गरिरहने, कामको जिम्मेवारी महसूस गर्ने र भर्ती हुन बाहेक अरू कुरा गर्न नजान्ने भएकाले उनीहरूलाई इमानदार बनाएको उल्लेख गरेका छन्। यस बाहेक उनीहरू प्राकृतिक रूपमै निर्भीक, धार्मिक र त्यही प्रकारको हुर्काइले गर्दा इमानदार भएको टिप्पणी गरेका छन्।
बालबच्चाको जिम्मेवारी लिएर लडाइँमा श्रीमान्लाई पठाएका महिलाहरूले वहन गरेको जिम्मेवारी बिर्सन नहुने भन्दै लेखकले उनीहरूमाथि लामो लेख लेखेका छन्। नालापानीको लडाइँदेखि अहिलेसम्म आइपुग्दा गोर्खा महिलाले दुःख सहेर वा विधवा भएर गोर्खालाई ‘गुर्खा’ बनाउन गरेको योगदान बिर्सन नहुने लेखकले सन्देश दिएका छन्। जति पनि गोर्खा लडाइँमा गए, उनीहरूका महिलाबारे कुनै पनि लेखकले अहिलेसम्म ध्यान दिएका थिएनन्।
किताबमा २७ वटा शीर्षक समावेश छन्। ‘आफ्नै भनाइ’ मा लेखकले अब हलिउडले गोर्खाबारे फिल्म बनाउनुपर्ने र त्यो सत्यतथ्यमा आधारित हुनुपर्ने उल्लेख गरेका छन्।
आयो गोर्खालीले गोर्खा सम्बन्धी सत्य, भ्रम र मिथकलाई सजिलोसँग बताएको छ। आफ्ना बारेमा लेख्न खोज्ने गोर्खाका लागि यो पुस्तक उदाहरण हुनसक्छ। लाहुरे पृष्ठभूमिका लेखकले किताबमा कतै पनि सेना सम्बन्धी ‘जार्गन’, अप्ठेरा अनि बुझ्न नसकिने शब्द प्रयोग गरेका छैनन्, तर राम्ररी सम्पादन नगरिएका कारण एउटै कुरा विभिन्न ठाउँमा दोहोरिएका छन्। यस्ता किताब नेपालीमा अनुवाद भए अझ राम्रो हुन्थ्यो।
किताब किन लेख्नुभयाे?
अहिलेसम्म गोर्खाका जति किताब लेखिएका छन्, ती सबै गोरा वा बाहिरी मान्छेले लेखेका छन्। ती एक पक्षीय छन्। उनीहरूको एउटा कुरा मात्रै हुन्छ, गोर्खा इमानदार हुन्छन्, मर्न डराउँदैनन्।
यो मात्र गोर्खालीको इतिहास होइन, यो भित्रको व्यथा खै, पहिले किन यस्ता कुरा आएनन् भन्ने लाग्ला। पुराना पुस्ता लेख्न नसक्ने हुनाले लेखेन, नयाँ पुस्ता जो लेख्न सक्षम छ, उसले लेखेन।
भनेपछि इतिहास जोगाउनका लागि लेख्नुभएको?
नयाँ पुस्ता भन्छन्, हाम्रा पुर्खाले पहिलो र दोस्रो विश्वयुद्ध लडे। यस्तो बहादूरी देखाए, उस्ता गीतहरू गाए, तर पूर्ण रूपमा खै कहाँ लेखिएको छ त गोर्खाका कथाहरू? यही खाली ठाउँ भर्न किताब लेख्नुपर्यो।
कति समय लाग्यो किताब लेख्न?
सन् २०१७ मा शुरू गरें। गोर्खाबारे लेखिएका किताब, पत्रपत्रिका र लेख पढें। वृत्तचित्र हेरें। बेलायत, सिङ्गापुर, मलेसिया, बर्मा, नेपाल, विभिन्न सङ्ग्रहालय आदिको भ्रमण गरें। एक महीना पूरै नेपाल भ्रमण गरें। करीब सय जना जति ‘वार भेट्रान’ सँग कुरा भयो। सन् २०१७ मा लेख्न शुरू गरेर साढे दुई वर्षमा सकें।
गोर्खाको समानताको मुद्दामा नेपाल पनि दोषी छ?
अहिलेसम्म के भनिंदै आएको छ भने गोर्खाको मुद्दामा ब्रिटिश दोषी छ। जति ब्रिटिश दोषी छ, नेपाल पनि त्यतिकै दोषी हो। किनभने, नेपालको अनुमति विना बेलायतले केही गर्न सक्दैनथ्यो। हरेक कुरालाई दुवै पक्षबाट हेर्नुपर्छ।
पुस्तक प्रतिक्रिया कस्तो छ?
कसैलाई गाली गर्नु पनि छैन, उकास्नु पनि छैन। सोचेभन्दा बढी नै राम्रो प्रतिक्रिया पाएको छु। आँखाले देखेको, कागजमा भेटाएको र इतिहासमा उल्लेख भएको कुरा लेख्दा गोराले मन नपराउन पनि सक्छन्, तर सत्य यही हो।
पुस्तकः आयो गोर्खाली
लेखकः टीम आई. गुरुङ
प्रकाशकः वेस्टल्यान्ड पब्लिकेसन्स, भारत
मूल्यः नखुलेको