एमाले विभाजनपछि यस्तो छ लुम्बिनीको गणित
२१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पार्टी रोज्न पाउने व्यवस्था छ। तर, हालसम्मको अवस्था हेर्दा लुम्बिनी प्रदेशमा एमाले विभाजनको प्रभाव शून्यप्रायः देखिन्छ।
एमाले विभाजन गरेर माधवकुमार नेपालको अध्यक्षतामा गठन गरिएको नेकपा (एकीकृत समाजवादी)को प्रभाव लुम्बिनी प्रदेशमा न्यून देखिएको छ।
पार्टी विभाजन पूर्व माधव नेपाल समूहको पक्षमा खुलेर लागेका, समानान्तर जिल्ला कमिटी बनाएकाहरू पनि अहिले एमालेमै फर्किएका छन्।
२१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले पार्टी रोज्न पाउने व्यवस्था छ। हालसम्मको अवस्था हेर्दा लुम्बिनी प्रदेशमा एमाले विभाजनको प्रभाव शून्यप्रायः देखिन्छ।
एमाले जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष पुरुषोत्तम घिमिरे पार्टी विभाजन हुनु पूर्व माधव नेपाल समूहमा खुलेर लागेका थिए। तर, नेपालले पार्टी विभाजन गरेपछि उनले एमालेमै रहने निर्णय गरेका छन्। “एमालेमा हुर्किएको गलत प्रवृत्तिको विरोधमा पार्टीभित्रको अन्तरसंघर्षका लागि माधव नेपाललाई साथ दिएको हो,” घिमिरे भन्छन्, “पार्टी विभाजनका लागि होइन, भाग खानकै लागि पार्टी विभाजन गरेको देखियो, बोलाए भने एमालेको बैठकमा उपस्थित हुने निर्णय गरेको छु।”
रुपन्देहीमा २ जेठ २०७५ अघिको ७५ सदस्यीय जिल्ला कमिटीमध्ये १ जना सिद्धिचरण भट्टराई मात्र एकीकृत समाजवादीमा लागेका छन्।
त्यसैगरी पार्टी विभाजन हुनुअघि माधव नेपाल समूहमा लागेर समानान्तर गतिविधिमा संलग्न रहँदै आएका एमाले अर्घाखाँची जिल्ला कमिटी उपसचिव प्रेम गैरे पनि पार्टी विभाजनमा सामेल भएका छैनन्।
अर्घाखाँची जिल्ला कमिटीबाट अहिलेसम्म जिल्ला सचिव रामबहादुर चौहान मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन्। बाँकी जनप्रतिनिधि नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेका छैनन्।
पार्टी विभाजन पूर्व गुल्मीका बहुमत जनप्रतिनिधि माधव नेपाल समूहमा थिए। तर, अहिले उनीहरू सबैजना एमालेमै छन्।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाको तुलनामा बाँके र दाङमा भने नेकपा एकीकृत समाजवादीको अवस्था केही राम्रो छ।
गोकर्ण विष्ट एमालेमै रहेपछि विगतमा उनीसँगै लागेका जनप्रतिनिधि विभाजित पार्टीमा देखिएनन्। विगतमा माधव नेपाल समूहमा खुलेर लागेका मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा गुल्मी जिल्लामा अहिलेसम्म नयाँ पार्टीमा कोही पनि नदेखिएको बताउँछन्।
त्यसैगरी पाल्पा जिल्ला कमिटी र निर्वाचित जनप्रतिनिधि पनि एकीकृत समाजवादीको पक्षमा खुलेका छैनन्। पाल्पाबाट समाजवादीमा लाग्ने एक मात्र व्यक्ति सोमप्रसाद पाण्डे छन्।
साविक लुम्बिनी अञ्चलका ६ जिल्लाको तुलनामा बाँके र दाङमा भने नेकपा एकीकृत समाजवादीको अवस्था केही राम्रो छ। दाङ जिल्ला कमिटीका अध्यक्ष टीकाराम खड्काले एमाले छोड्ने निर्णय गरेका छन्।
८१ सदस्यीय जिल्ला कमिटीमध्ये एमाले र नवगठित एकीकृत समाजवादीको अवस्था बराबर रहेको उनको दाबी छ। अहिलेसम्म खड्का सहित करीब १८ जिल्ला कमिटी सदस्य नयाँ पार्टीतिर देखिएका छन्। एमालेका तर्फबाट चुनाव जितेका स्थानीय तहका प्रमुख र उपप्रमुख सहित १० जना भने एमालेमै छन्।
नयाँ पार्टी गठनका लागि शुरूदेखि अग्रसर मेटमणि चौधरीको प्रभाव आफ्नै गाउँपालिकामा कमजोर देखिएको छ। मेटमणिकी दिदी गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले एमालेमै रहने घोषणा गरेर पार्टीका कार्यक्रममा सहभागी भइरहेकी छन्। गढवा मेटमणिको घर भएको पालिका हो।
गढवा गाउँपालिकामा अहिलेसम्म निर्वाचित वडा सदस्यमध्ये राधेश्याम थारू र मनोनीत देवीलाल दूधराक्ष मात्र एकीकृत समाजवादीतिर लागेका छन्।
त्यसैगरी बाँके जिल्ला कमिटी अध्यक्ष अशोक कोइराला नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर लागेका छन्। एमालेको साविक ८७ सदस्यीय जिल्ला कमिटीमध्ये कोइराला सहित १७ जना एकीकृत समाजवादीतर्फ खुलेका हुन्। बाँकेका स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि कोही पनि विभाजित पार्टीतर्फ देखिएका छैनन्।
बाँकेबाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित संविधानसभा सदस्य दलबहादुर सुनार नै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेकाले उनको व्यक्तिगत प्रभावका कारण मतदाता तहमा केही प्रभाव पर्ने देखिन्छ।
बर्दियामा पनि विभाजनको असर निकै कम देखिएको छ। ५९ सदस्यीय जिल्ला कमिटीमध्ये एकीकृत समाजवादीतर्फ ७ जना जिल्ला सदस्य खुलेका छन्। जनप्रतिनिधिमध्ये गुलरिया नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रताप गौतम नवगठित पार्टीमा लागेका छन्। एमालेले जितेका २ नगरपालिका र एक गाउँपालिकाका जनप्रतिनिधि पनि मूल पार्टीमै छन्।
एमालेको रोल्पा जिल्ला कमिटीका अध्यक्ष हरिप्रसाद घर्ती, सचिव ओमराज घर्ती र दुई जिल्ला कमिटी सदस्य बाहेक सिंगो कमिटी एमालेमै छ। त्यसैगरी एमालेले जितेका त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिले पनि एमालेमै रहने निर्णय गरेका छन्।
प्युठानमा अहिलेसम्म भोजक्रिम बुढा मात्र माधव नेपाल नेतृत्वको पार्टीमा देखिएका छन्। प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य अहिलेसम्म कतै खुलेकी छैनन् भने अन्य स्थानीय तहमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि एमालेमै छन्।
१२१ सदस्यीय जिल्ला कमिटी रहेको कपिलवस्तुमा अहिलेसम्म लंक हमालले मात्र नयाँ पार्टीमा जाने निर्णय गरेका छन्। विगतमा माधव नेपाल समूहमा खुलेका कपिलवस्तुबाट निर्वाचित सांसद विष्णु पन्थीले पनि एमालेमै रहने निर्णय गरेका छन्। पश्चिम नवलपरासी र रुकुम पूर्वका जनप्रतिनिधिले भने पार्टी रोज्ने विषय छलफलमै रहेको प्रतिक्रिया दिएका छन्।