एभरेष्ट म्याराथन जेठ दोस्रो साता
हिमालय एक्सपिडिसन्सले ‘तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन’ यही जेठ दोस्रो साता आयोजना गर्ने भएको छ ।
१५ जेठमा शुरु हुने १७ औँ चरणको उक्त म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट शुरु भई नाम्चेबजार पुगेर समापन गरिने बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा विदेशी १५५ धावकसहित दुई सयभन्दा बढी धावकको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितामा ४२.१९५ किमीको म्याराथन, ६० किमीको अल्ट्रा म्याराथन र २१ किमीको हाफ म्याराथनमा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक विक्रम पाँडेकाजीले जानकारी दिए ।
उनले उक्त म्याराथन विश्वकै एक आकर्षक र साहसिक खेलका रूपमा विकास भएको चर्चा गर्दै सबै धावकलाई सम्बन्धित मार्गका हिमनदी, प्राचीन शेर्पा गाउँ तथा गुम्बा र भौगोलिक विविधताको आनन्द लिन अनुरोध गरे ।
फुल म्याराथनको पुरुषतर्फका विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रोले रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन् ।
त्यस्तै विदेशी प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र रु २५ हजार पाउने छन् ।
अल्ट्रा दौडका विजेताले एक लाख, दोस्रोले ७५ हजार र तेस्रोले रु ५० हजार पाउनेछन् । हाफ म्याराथनतर्फका विजेताले भने रु ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउनेछन् ।
प्रतियोगितामा यस वर्ष २२ वर्षे बेलायती क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा धावक हुने भएका छन् भने क्यानाडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा ज्येष्ठ धावक हुने भएका छन् ।
आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले उक्त प्रतियोगिताका लागि धावकहरू आजै सगरमाथा क्षेत्रतर्फ लाग्ने जानकारी दिए। म्याराथन उच्च हिमाली क्षेत्रमा आयोजना हुनेभएकाले धावकलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्याइने उनको भनाइ थियो ।
प्रतियोगितामा नेपालसहित विश्वका ३० राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
–मुना कार्की