‘सांस्कृतिक क्रान्तिका धरोहर गुमायौं’
जनवादी एवं प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ।
काठमाडौंको वयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो उनकाे निधन भएको जनवादी गायक जीवन शर्माले बताए। “हामीले सांगीतिक आकाशका सुनौला नक्षत्र गुमायौं,” शर्माले हिमालखबरसँग भने।
१ भदौमा काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई बयोधा अस्पताल लगिएको थियो। चिकित्सकले मस्तिष्कघात भएको बताएका थिए।
त्यसयता बयोधा अस्पतालमै उनको उपचार चलिरहेको थियो। उपचारका क्रममा आज निधन भएको हो। उनका श्रीमती र पाँच छोराछोरी छन्।
लामो समय टुहुरेसँग सांगीतिक कर्ममा संलग्न गायक शर्माले उनको निधनले अपूरणीय क्षति भएको बताएका छन्। गायक शर्माकै शब्दामा टुहुरेको सम्झना :
२०३६ सालदेखि उहाँ सँगसँगै गीत गाउन थालेको थिएँ। जनताका दुःख, पीर, व्यथाका गीत गाउँथ्यौं। गाउँगाउँमा गएर जनतालाई जागरुक बनाउँथ्यौं।
उहाँको स्वरमा जादू छ। युनिक स्वर हो। स्वरमा मौलिकपन छ। उहाँलाई कहिल्यै नदेखेको मान्छेले पनि गीत सुन्ने बित्तिकै जेबी टुहुरे भनेर चिन्न सक्छन्। उहाँको स्वरमा मौलिकता र विशिष्टता छ।
उहाँ जनताको कलाकार हो। जीवनभर जनताकै पक्षमा गीत गाउनुभयो। जनताकै पक्षमा जीवन समर्पण गर्नुभयो। जनताका लागि गीत गाउनु बाहेक उहाँको अर्को कुनै कर्म थिएन।
सानैदेखि गीत गाउन थाल्नुभएको हो। पछिल्लो पटक कोरोनाभाइरसको महामारीले बन्दाबन्दी नहुँदासम्म सँगसँगै सांस्कृतिक कार्यक्रममा सहभागी भएका थियौं। समग्रमा भन्दा उहाँले बाँचुन्जेल जनवादी गीत गाउनमै आफूलाई समर्पित गर्नुभयो।
उहाँ गाउँगाउँ जानुभयो। बस्तीबस्ती पुग्नुभयो। पञ्चायतको शासनकालमा गीत गाएर जनतालाई जागरुक बनाउनुभयो। बहुदलीय व्यवस्था पुनःस्थापित भएपछि पनि गणतन्त्रका लागि गीत गाउन थाल्नुभयो।
उहाँका गीत गाउँगाउँ, बस्तीबस्ती पुगेका छन्। जनताका घरघरमा पुगेका छन्, जनजिब्रोमा पुगेका छन्। उहाँका गीत युगौंयुग अमर रहनेछन्। नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको छ। भौतिक रूपमा नरहे पनि गीतका माध्यमबाट युगौंयुग बाँचिरहनुहुनेछ।
उहाँ जस्तो गायक अर्को छैन। उहाँको निधनले अपूरणीय क्षति भएको छ। सांगीतिक क्षेत्रमा ठूलो खाडल परेको छ। हामीले सांगीतिक आकाशका सुनौला नक्षत्र गुमायौं। सांस्कृतिक क्रान्तिका धरोहर गुमायौं।