बार्हाः संस्कारमा यौन शिक्षा
छोरी रजस्वला हुनुअघि वा भइसकेपछि ‘बार्हा:’ राखेर दिइने जीवनोपयोगी शिक्षा अब छोराहरूलाई पनि दिन सकियो भने यौन दुर्व्यवहार तथा यौन हिंसालाई न्यूनीकरण गर्न सहयोग पुग्न सक्छ।
पहिलो पटक रजस्वला हुनुअघि वा भइसकेपछि नेवार समाजमा छोरीलाई ‘बार्हाः’ राख्ने चलन छ। अपवाद बाहेक प्रायः अनिवार्य हुन्छ। यसमा उल्लेखनीय के छ भने, बार्हाः राख्नुअघि र पछि छोरीमा देखिने फरक स्वभावबारे सूक्ष्म रूपमा बुझ्ने र बुझाउने गरिन्छ। यो नेवार समाजमा जति आवश्यक छ, त्यति नै उपयोगी गैरनेवार समाजलाई पनि हुनसक्छ।
गुफा राख्ने चलनसँग बार्हाः मिल्दोजुल्दो भए पनि एउटै होइन। छोरी पहिलो पल्ट रजस्वला हुने बित्तिकै गुफामा राखिन्छ भने नेवार समाजमा रजस्वला नहुँदै, तर रजस्वला हुने उमेर पुगेपछि उपयुक्त समयमा बार्हाः राखिन्छ। पहिलो पटक रजस्वला भए पनि हत्तपत्त बार्हाः राख्नैपर्छ भन्ने अनिवार्य छैन।
बार्हाः वा गुफामा राखिएकी छोरीले घर बाहिर जानु त टाढाको कुरा घाम समेत हेर्न पाउँदिनन्। पुरुषको छायाँ समेत हेर्नु हुँदैन भनेर आफ्नै दाजुभाइ तथा बाबुबाजेबाट पनि टाढा राख्ने गरिन्छ। बढीमा १२ दिनसम्म बार्हाः राखिन्छ।
बार्हाः राखिने कोठालाई ‘बार्हाः क्वथा’ भनिन्छ। बार्हाः निश्चित विधि पूरा गरेर मात्रै राखिन्छ भने निकाल्दा पनि सोही अनुसार विधि पूरा गरिन्छ। बेहुलीलाई जस्तै श्रृंगारपटार गरेर निकाल्दा कपडाले अनुहार छोपिन्छ। पूजापछि सर्वप्रथम सूर्य दर्शन गराइन्छ र त्यसपछि मात्रै स्वतन्त्रतापूर्वक अन्य कुरा हेर्न पाइन्छ।
बार्हाः राखिएको अवधिभर शुचिनिचिमा ठूलै ध्यान दिएर पूजा गरिन्छ। ‘बार्हाः क्वथा’ मा ‘बार्हाः ख्याः’ भनेर एक ख्याकको पनि स्थापना गरिएको हुन्छ। बार्हाः बस्ने छोरीले ती ख्याकलाई चढाएर मात्रै खानुपर्छ।
बार्हाः राखिएको अवधिभर शुचिनिचिमा ठूलै ध्यान दिएर पूजा गरिन्छ। ‘बार्हाः क्वथा’ मा ‘बार्हाः ख्याः’ भनेर एक ख्याकको पनि स्थापना गरिएको हुन्छ। बार्हाः बस्ने छोरीले ती ख्याकलाई चढाएर मात्रै खानुपर्छ।
गुफा राख्दा छोरीलाई सामान्यतः छुट्टै कोठामा राख्ने र ओछ्यानको सट्टा गुन्द्रीमा सुताउने गरिन्छ। बार्हाः राखिएको वेला भने ओढ्ने-ओछ्याउनेको राम्रो बन्दोबस्त गरिन्छ। बार्हाः राख्दा आफ्नै घरमा वा सामूहिक रूपमा राख्ने चलन छ। छिमेकी वा कतै बार्हाः राखिएको घर छ भने त्यहाँ समावेश गर्न लाने पनि चलन छ। जसलाई ‘बार्हाः घाकेगु’ भनिन्छ।
बार्हाः राखिने वेला केही दशकअघिसम्म पनि श्रृंगारपटार गर्ने र श्रृंगार सामग्री बनाउन सिकाउने पनि गरिन्थ्यो। यही वेला वयस्क महिलाले छोरीलाई दैनिकीबारे सिकाउने गर्छन्। परिवार तथा समाजको वस्तुस्थिति बुझाएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने शिक्षा दिने गरिन्छ। यसमा विशेषतः यौनसँग सम्बन्धित शिक्षा हुन्छ। केटासाथी तथा परिवारकै पुरुषसँग समेत सचेत र सतर्क हुने जानकारी पाउँछन्।
अहिले यौन दुर्व्यवहारबाट जोगाउन बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’का विषयमा सिकाउनुपर्नेमा जोड दिन थालिएको छ। यस्तो आधारभूत शिक्षा परम्परागत रूपमा नेवार समाजमा बार्हाःको अवसरमा दिइन्छ।
आजभोलि बालबालिका विरुद्ध यौन दुर्व्यवहार तथा यौन हिंसा हुने गरेका समाचार प्रायः आइरहन्छन्। कतिपय अवस्थामा आफू विरुद्ध यौन दुर्व्यवहार भइरहेको कुरा अबोध बालबालिका तथा किशोरीले चाल पाएकै हुँदैनन्। अहिले यौन दुर्व्यवहारबाट जोगाउन बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’ का विषयमा सिकाउनुपर्नेमा जोड दिन थालिएको छ। यस्तो आधारभूत शिक्षा परम्परागत रूपमा नेवार समाजमा बार्हाःको अवसरमा दिइन्छ। यसरी नै अपरिचितसँग नखेल्न तथा नजिकिने नगर्न पनि सिकाइन्छ।
बार्हाःमा सिकाइने यौन शिक्षासँग आजभोलि स्वयं नेवार समाज पनि अनभिज्ञ हुन थालेको छ। पहिले जस्तो फुर्सद नभएको र विद्यालयमा पढाइ छुट्ने समस्याले थोरै दिन वा एक दिन अथवा एक रात मात्रै बार्हाः राखेर रीत मात्र पुर्याउने चलन बढेको छ। यसकै लागि समय मिलाएर विदेशबाट आउनेहरू पनि बार्हाःको रीत मात्रै पुर्याएर जाने गरेका छन्। तर, बार्हाः कर्म सम्पन्न भएको खुशियालीमा भव्य भोजको आयोजना गर्न भने छुटाउँदैनन्।
थेरवादी नेवार बौद्ध समाजमा केही दशक यतादेखि बार्हाःको विकल्पमा ‘ऋषि प्रव्रज्या’ को चलन चलाउन थालिएको छ। बार्हाः राख्ने उमेरको छोरीलाई केही दिन विहारमा राखी बौद्ध शिक्षा दिनुलाई ‘ऋषि प्रव्रज्या’ भनिन्छ। यसपछि बार्हाः राख्नु पर्दैन भन्ने प्रचारप्रसारले स्थानीय संस्कार र संस्कृतिलाई चुनौती दिएको छ।
बार्हाःको विकल्प ऋषि प्रव्रज्या हुन सक्दैन। बार्हाः संस्कृतिलाई आत्मसात् गर्न नसक्नेबाट ‘ऋषि प्रव्रज्या’ को अवधारणा ल्याएको बुझ्न सकिन्छ। थेरवादी बौद्ध समाजमै पनि नौलो अवधारणाका रूपमा रहेको यो प्रचलन कुनै पनि वेला जहाँसुकै पनि सञ्चालन गर्न सकिने खालको छ, तर बार्हाःको विकल्पका रूपमा मात्रै चलाउनु स्थानीय संस्कार र संस्कृतिमाथि हस्तक्षेप हो।
बौद्ध धर्म-दर्शनसँग आफ्नै निश्चित संस्कृति र संस्कार हुँदैन र यसको विकास र विस्तार स्थानीय संस्कार र संस्कृतिसँग सामञ्जस्य राखेर हुने गर्छ।
बौद्ध धर्म-दर्शनसँग आफ्नै निश्चित संस्कृति र संस्कार हुँदैन र यसको विकास र विस्तार स्थानीय संस्कार र संस्कृतिसँग सामञ्जस्य राखेर हुने गर्छ। बौद्ध धर्मको यो स्वभाव विपरीत बार्हाः संस्कृतिलाई प्रभावित पार्न खोज्नुले बौद्ध धर्मको स्वभावमाथि नै प्रश्न उठाउन सकिने भएको छ, जसको जवाफ बौद्ध ग्रन्थमा पाइँदैन।
बार्हाःमा सिकाइने शिक्षा जीवन पर्यन्त अविस्मरणीय हुनुका पछाडि अनेक मनोवैज्ञानिक कारण हुन सक्छन्। विद्यालय हाताभित्र अनेक अनुशासनका साथै ‘यो गर्नु’ र ‘त्यो नगर्नु’ भनी दिइने आदेशभन्दा आफ्नै टोलछिमेक तथा नाताकुटुम्बसँगै बार्हाःको अवसरमा आत्मीय र रमाइलो वातावरणमा दिइने शिक्षा प्रभावकारी हुनु स्वाभाविक पनि हो।
विद्यालय जानुपर्ने छोरीलाई बार्हाःका लागि समय मिलाउनु गाह्रो हुन्छ। यस अवस्थामा एक रात वा थोरै दिनको बार्हाः सञ्चालन गर्नुभन्दा विद्यालय बिदा हुने समय पारेर सकभर १२ दिन नै राख्नु उचित हुन्छ। विद्यालय आफैंले दिनुपर्ने शिक्षा बार्हाःमा दिनुलाई अन्यथा लिनु पनि हुँदैन।
बार्हाःलाई समय अनुसार परिमार्जन गर्नु पनि आवश्यक छ। पुरानो जमानामा बार्हाः राख्दा श्रृंगारपटार गर्न ‘बार्हाः क्वथा’ भित्रै घरेलु श्रृंगार सामग्री बनाउने तथा सिकाउने गरिन्थ्यो। अहिले पनि त्यस्तै सामग्री बनाउनैपर्छ भन्ने जरुरी छैन। बार्हाः राखिएकी छोरीको रेखदेख गर्ने महिला स्वयं पनि आधुनिक समाजलाई नजिकबाट देखेका, आफ्नो कुरा बाल मस्तिष्कमा ग्राह्य हुने गरी शिक्षा दिन सक्ने तथा बुझाउन सक्ने हुनुपर्छ।
अन्यत्र सहज रूपमा नपाइने शिक्षा बार्हाःको अवसरमा प्राप्त गर्न सकिने भएमा परम्परागत संस्कार र संस्कृति स्वतः जीवनोपयोगी हुन्छ।
यौन शिक्षाका लागि परम्परागत पद्धति नै अपनाउनुपर्छ भन्ने छैन। यौन शिक्षाको विषयवस्तुलाई व्यापक रूपमा लिई बार्हाः राखिएको अवसरमा सिकाउने तथा अन्तरक्रिया गर्न सकिन्छ। अन्यत्र सहज रूपमा नपाइने शिक्षा बार्हाःको अवसरमा प्राप्त गर्न सकिने भएमा परम्परागत संस्कार र संस्कृति स्वतः जीवनोपयोगी हुन्छ।
नेवार समाजमा मात्रै होइन, अन्य जातजातिको अध्ययन गर्दा पनि छोराछोरी हुर्केर अर्को चरणमा प्रवेश गरेको जनाउ दिन खास संस्कार र संस्कृतिको विकास गरेको पाइन्छ। यी आ-आफ्नै ढंगले सञ्चालित छन्। नेवार समाजमा छोरीलाई हुर्केको जनाउ दिंदै आवश्यक शिक्षा दिन चलाइएको एक प्रकारको ‘क्लोज क्याम्प’ पनि भन्न सकिन्छ।
गुफा राख्नुलाई पनि ‘क्लोज क्याम्प’ का रूपमा लिई यौन तथा अन्य अत्यावश्यक विषयमा सिकाउने बन्दोबस्त गर्न सकिन्छ। यस्तै क्लोज क्याम्प विद्यालय तथा सामाजिक संघसंस्थाले किशोरीहरूका लागि मात्रै नभएर किशोरहरूका लागि पनि व्यवस्था गर्न सकियो भने यौन दुर्व्यवहार तथा हिंसालाई न्यूनीकरण गर्न सहयोग पुग्छ।