प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी
नेकपा (एमाले) ले प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ।
आज एमाले प्रदेश १ को संसदीय दलको बैठक बसेर आचार्यलाई संसदीय दलको नेता बनाउने र मुख्यमन्त्रीको शपथ ग्रहण गराउने तयारी गरिएको एमालेका एक नेताले बताए। यसका लागि बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको भए पनि उडान प्रभावित हुँदा काठमाडौंमा रहेका मुख्यमन्त्री शेरधन राई र आचार्य विराटनगर नपुगेपछि बैठक बस्न सकेको छैन।
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले संसदीय दलको बैठक बोलाइएको बताए। मुख्यमन्त्री राई र आचार्य पुगेपछि बैठक बस्ने उनले जानकारी दिए।
एमालेमा बढेको विवादले पार्टी विभाजन भएपछि मुख्यमन्त्री राईलाई राजीनामा गराएर आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएको एमाले स्रोतको भनाइ छ। एमाले विभाजन भएपछि आचार्यले माधवकुमार नेपाल र झलनाथ खनालको साथ छोडेका छन्।
९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन्। त्यसमध्ये एमालेका ५१ सांसद छन्। प्रदेश सभा सदस्य राजेन्द्र राई र राजन राई भने नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागिसकेका छन्।
सरकार बनाउनका लागि ४७ जना सांसदकाे समर्थन आवश्यक पर्छ। थप दुई जना सांसद एकीकृत समाजवादीमा लागे भने एमालेले बहुमत गुमाउनेछ।
नेपाल नेतृत्वको पार्टीमा जान सक्ने सम्भावना रहेका सांसदलाई मन्त्री पद दिएर भए पनि सरकार टिकाउने एमालेको रणनीति रहेको छ। यसअघि बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो। शाक्यले पनि नेपालको साथ छाडेकी थिइन्।