संस्थागत सामाजिक उत्तरदायित्वको रकम उज्यालो शहर अभियानमा खर्च गर्न विद्युत् प्राधिकरणको आग्रह
नेपाल विद्युत प्राधिकरणले विभिन्न प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्ने रकम ‘उज्यालो सहर’ अभियानमा लगाउन अनुरोध गरेको छ।
उज्यालो शहर अभियान अन्तर्गत नगरपालिकासँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। यसबाट यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने र शहरी सौन्दर्य समेत वृद्धि हुने प्राधिकरणले जनाएको छ।
यस्तै, प्राधिकरणले सफा शहर अभियान अन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तारलाई भूमिगत गर्ने लगायतका काम अगाडि बढाएको छ।
प्राधिकरणले सीएसआरको रकम स्मार्ट लाइट जडानमा खर्च गरी उज्यालो शहर अभियानको सारथि बन्न उद्योगी, व्यवसायी, औद्योगिक प्रतिष्ठान, औद्योगिक घराना, ब्यांक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायतलाई अनुरोध गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण एवं स्थानीय तहसँगको समन्वय र सहकार्यमा सीएसआरको रकम उज्यालो शहर अभियानमा खर्च गर्न सकिने बताए।
औद्योगिक व्यवसाय ऐन, २०७६ ले मझौला, ठूला उद्योग वा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने घरेलु वा साना उद्योगले व्यावसायिक सामाजिक जिम्मेवारी वहन गर्ने प्रयोजनका लागि प्रत्येक आर्थिक वर्षमा वार्षिक खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था गरेको छ। ब्यांक तथा वित्तीय संस्थाले सीएसआर सम्बन्धी कार्यमा थप क्रियाशील हुन आफ्नो हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआर कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत स्थानहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियान नै चलाउने भएको छ। नगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन्।
लागत अनुमान, प्रविधिको छनोट, खरीद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्नेछ। नगरपालिकाले आफैं शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकासँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गर्ने योजना प्राधिकरणको छ।