कल्प-ग्रन्थ : प्रयोग कि विलास !
नगरकोटीको वर्णनमा पाठक लट्ठिने सम्मोहन त छ, तर कथा कता बग्दै छ भन्ने भेउ पाइँदैन। अनायासै विषय परिवर्तन भइरहन्छ, कथाको प्लटभित्र सब–प्लट खप्टिरहन्छ। स्वैरकल्पनाको मियोलाई फन्को मार्दामार्दै सकिन्छन् धेरै कथा। त्यसपछि के पढें भनी सोची ल्याउँदा केही याद रहँदैन।
नाइजेरियाली मूलका अमेरिकी लेखक तेजु कोल लेखनमा बहुविधाको प्रयोगका लागि विख्यात छन्। शब्दसँगै फोटोग्राफी र चित्रकलाको अपूर्व संगम छ, उनका आख्यान र गैरआख्यानमा। उपन्यास वा निबन्ध पढ्दा घटनाको सचित्र वर्णनानन्द मिल्छ। हान कांग र खालिद हुसैनीका पछिल्ला कवितासंग्रहमा शब्द र तस्वीरको एकसाथ प्रयोगले पाठकको एकाग्रता तान्छ।
आजभोलि दुई वा दुईभन्दा बढी विधाको मिश्रण कला बाक्लै देखिन्छ। आफ्नो रचनामा अन्य किताबबाट कुनै सन्दर्भ उल्लेख गर्ने पद्धति त धेरै सामान्य भइसक्यो। कुमार नगरकोटीको लेखनमा पनि विधाहरूको खप्ट्याइ, भञ्जन र बहुप्रयोग व्यापक हुन्छ। विगत दुई दशकदेखि लेखनरत नगरकोटीले स्वैरकल्पनामा अलग पहिचान बनाएका मात्र छैनन्, प्रयोगको अर्को नाम बनिसकेका छन्। उनको पछिल्लो किताब कल्प–ग्रन्थ पनि अनेकौं प्रयोगले भरिएको छ। प्रयोग अनुसार कथाहरूलाई इन्स्टलेसन स्टोरिज, परास्टोरिज, पोस्टकार्ड स्टोरिज, टाइपोग्राफिक स्टोरिज जस्ता विभिन्न खण्डमा बाँडिएको छ।
‘खग्रास’ कथामा टाइपोग्राफीको प्रयोग भरमार छ। पुस्तकको झन्डै एक चौथाइ भाग यही कथाका पानाले ओगटेका छन्। तर, टाइपोग्राफीले बोक्ने अर्थ कम देखिन्छ। उल्टापाल्टा, ठाडा–तेर्सा, मोटा–मसिना अक्षर संयोजनको उपादेयता झल्किंदैन। यति धेरै पाना केका लागि खर्च भए भन्ने प्रश्न उब्जिन्छ।
ग्रन्थको पहिलो कथामा कथावाचक अल्जाइमर्सको बिरामी छ, जहाँ सम्पादकको टिप्पणी र प्रतिक्रिया सामेल गरिएको छ। यसमा स्कूले विद्यार्थीको उत्तरपुस्तिकामा शिक्षकले कोरे जस्तो पारामा हस्तलिपिमा सुझाव दिइएको पाण्डुलिपि कथा पढ्न सकिन्छ। यो नगरकोटीको कथा लेखनको बिल्कुलै नयाँ प्रयोग हो। तर, अर्को कोणबाट हेर्दा लेखकले पाठकलाई कल्पना गर्ने ठाउँ नै नराखेको प्रतीत हुन्छ। सम्पादन कलाको प्रयोगबाट पठनलाई निर्देशित र अतिरिक्त बोझिलो बनाइदिए जस्तो लाग्छ।
सिर्जनामा टाइपोग्राफीको प्रयोग धेरै पहिलेदेखिकै हो। यो एस्थेटिक्स् अर्थात् सौन्दर्यबोधको पाटो पनि हो। टाइपोग्राफीमा लेखाइको ढाँचा, पृष्ठ संयोजन, रङको छनोट, अक्षरका आकार, अवस्थिति लगायत धेरै पक्ष प्रयोग हुन्छन्। बीसौं शताब्दीको शुरूआतमै अमेरिकी कवि ईई कमिङ्स र विलियम कार्लोस विलियम्सले आफ्ना कवितामा टाइपोग्राफीको सघन प्रयोग गरेका थिए। त्यसैले यस्ता कवितालाई हेर्ने कविता पनि भनियो।
नगरकोटीको ‘खग्रास’ कथामा भने टाइपोग्राफीको प्रयोग भरमार छ। पुस्तकको झन्डै एक चौथाइ भाग यही कथाका पानाले ओगटेका छन्। तर, टाइपोग्राफीले बोक्ने अर्थ कम देखिन्छ। उल्टापाल्टा, ठाडा–तेर्सा, मोटा–मसिना अक्षर संयोजनको उपादेयता झल्किंदैन। यति धेरै पाना केका लागि खर्च भए भन्ने प्रश्न उब्जिन्छ। किताब पाउन मोटो रकम अग्रिम भुक्तानी गरेका पाठकका लागि यो ‘पृष्ठ विलास’ बोझिलो भारी मात्रै बन्ने जोखिम छ।
भारतीय गीतकार तथा लेखक गुलजारका अनुसार, लेखनमा व्यापकता ल्याउन र मानवीयता घोल्न कम्तीमा ४/५ भाषामाथि राम्रो पकड हुन आवश्यक छ। गुलजारको यो प्रस्तावनामा नगरकोटी खरो उत्रेका छन्। कथाहरूमा अंग्रेजी, हिन्दी, उर्दू, मैथिली, डोट्याली भाषाका अंशहरू नियमित अन्तरालमा भेटिन्छन्। उनै गुलजारको एउटा कथाको ट्रान्सक्रियसन समेत गरेका छन्, तर अलग अन्दाजमा। क्वार्टर साइजका पोस्टकार्ड कथाहरूले दुई दशक अघिसम्मको समय सम्झाउँछन्। ‘रेडियो’, ‘चप्पल’ जस्ता सशक्त कथा भएका ग्रन्थभित्र केही अति सामान्य कथा पनि छन्।
नगरकोटी स्वैरकाल्पनिक कथा बुनाइमा मग्न देख्दा समसामयिक यथार्थ लोक र सामाजिकसँग वास्ता नभएको लेखक ठान्नेहरू पनि छन्। नेपाली साहित्यका विशुद्धतावादी र कतिपय ‘लालफित्ता’ धारीको नजरमा त उनको लेखनको कुनै सामाजिक महत्त्व नै छैन। त्यो सोचलाई ‘कोरागाउँका किरियापुत्रीहरू’, ‘कलब्रेकर्स’, ‘झ्यालिन्चा’, ‘बुख्याँचा’, ‘फ्याक्ट्री’, ‘भल्चरावलोकन’ आदि कथाले खण्डन गर्छन्।
सधैं झैं नगरकोटीको पात्र चयन पृथक् छ। पात्रहरू ओझेल पर्ने, गायब हुने भइरहन्छन् उनका कथामा। पात्रको नाम र प्रवृत्ति अचम्मका छन्। तर, अनौठा यी पात्रको नाम र अन्य तामझामको सापेक्षमा भूमिका भने फितलो देखिन्छ। ग्रे–स्टोरिज खण्डमा राखिएको ‘स्मृति–ग्रहण’ कथाका मुख्य दुई पात्रको समन्वयले कथाको शीर्षक त आकर्षक बनेको छ, तर कथानक र उनीहरूको भूमिका सामान्य छ। नेतागणलाई बाल–स्वरूपमा ढालेर गरिएको चरित्र चित्रण बाहेक ‘पिकनिक’ पनि खासै ओजपूर्ण लाग्दैन।
पछिल्लो समय नगरकोटी राजनीतिक व्यङ्ग्य कथातिर बाक्लै लहसिएका छन्। यो ग्रन्थमा पनि त्यस्ता कथा छन्। ‘विद्या नष्ट’ पाराले राजनीतिक पात्रलाई कलात्मक उपहास गर्ने साहस र शैली बेजोड छ।
नगरकोटीका सिर्जनामा रम्न अध्ययनको फराकिलो दायरा चाहिन्छ। सिनेमा, चित्रकला, संगीत र अन्य विधाका सामग्रीमा पहुँच र ज्ञान हुनुपर्छ। अनि रात, सपना, मृत्यु, चिहानबाट गुज्रँदै स्वैरकाल्पनिक दुनियाँको हावा महलमा पनि आनन्द मान्नुपर्छ, जसले रहस्यमयी र तिलस्मी दुनियाँमा पनि पुर्याउँछन्। उनको वर्णनमा पाठक लट्ठिने सम्मोहन त छ, तर कथा कता बग्दै छ भन्ने भेउ पाइँदैन। लख काटेको छेउटुप्पो मिल्दैन। कथा कतिखेर सकियो, अत्तोपत्तो हुँदैन। अनायासै विषय परिवर्तन भइरहन्छ, कथाको प्लटभित्र सब–प्लट खप्टिरहन्छ। स्वैरकल्पनाको मियोलाई फन्को मार्दामार्दै सकिन्छन् धेरै कथा। त्यसपछि के पढें भनी सोची ल्याउँदा केही याद रहँदैन। कथन शैली भने कथा पिच्छे फरक र आकर्षक छ।
नगरकोटी स्वैरकाल्पनिक कथा बुनाइमा मग्न देख्दा समसामयिक यथार्थ लोक र सामाजिकसँग वास्ता नभएको लेखक ठान्नेहरू पनि छन्। नेपाली साहित्यका विशुद्धतावादी र कतिपय ‘लालफित्ता’ धारीको नजरमा त उनको लेखनको कुनै सामाजिक महत्त्व नै छैन। त्यो सोचलाई ‘कोरागाउँका किरियापुत्रीहरू’, ‘कलब्रेकर्स’, ‘झ्यालिन्चा’, ‘बुख्याँचा’, ‘फ्याक्ट्री’, ‘भल्चरावलोकन’ आदि कथाले खण्डन गर्छन्। ‘फ्याक्ट्री’ कथा त स्वैरकाल्पनिक भन्दा पनि विज्ञान कथा निकट लाग्छ। २०७६ सालमा काठमाडौंमा मञ्चित ‘मार्क्स फर्किए’ नाटकले जन्माएको ‘कार्ल मार्क्स सोल्ड आउट’ मार्क्सवादी अभ्यासमाथिको चोटिलो सामाजिक व्यंग्य हो।
सूधपा समूहका पारसमणि प्रधानको एउटा कवितांश छः ‘शब्द थुपारीकन के हुन्छ कविता ? भाव भए पो हुन्छ।’ कविताका बारेमा उनले भनेको सन्दर्भ नगरकोटीका कथाहरूमा पनि लागू हुन्छ। उनी उस्तै आशयका शब्दावलीहरू प्रशस्त घुसाउँछन्, जहाँ शब्दविन्यासले त मुग्ध पार्ला, तर शब्द र भावको तादात्म्य खोज्नु बेकार हुन्छ। एक उदाहरण:
‘हल्लेलुला–ओ–हल्लेलुला। ह्वाट द हेल। द्याट वज् अ पर्फेक्ट सुफियाना आन्सर। सो ब्यूटीफुल एण्ड एनिग्मेटिक। तौबातौबा। या खुदा, मै मर जावाँ। हल्लेलुला–ओ–हल्लेलुला।’
लेखकहरूलाई अग्रजहरूको प्रभावबाट मुक्त भएर आफ्नै ढंगले लेख्न सजिलो छैन। यही पक्षलाई समीक्षक ह्यारोल्ड ब्लुमले ‘एन्जाइटी अफ इन्फ्ल्यूएन्स’ नाम दिएका छन्। नगरकोटीका कथामा पनि खोजी पस्ने भने कतै न कतैका, कसै न कसैका, केही न केही सन्दर्भ मिल्न जान्छन्।
टाढाका गाब्रियल गार्सिया मार्खेजको त के कुरा, हाम्रै छेउका बाङ्लादेशी लेखक हुमायुन अहमद पनि स्वैरकल्पना बडो जतनले चलाउँथे। अहमदका सिर्जनामा प्रचुर हास्यरस भेटिन्छ। नेपाली आख्यानमा रहेको हास्यचेतको खडेरीबाट भने नगरकोटीले हामीलाई जोगाएका छन्। गम्भीर सन्दर्भले बोझिल भएको पाठकको मनलाई हास्य सन्दर्भले हलुका बनाइदिन्छन्।
लेखकहरूलाई अग्रजहरूको प्रभावबाट मुक्त भएर आफ्नै ढंगले लेख्न सजिलो छैन। यही पक्षलाई समीक्षक ह्यारोल्ड ब्लुमले ‘एन्जाइटी अफ इन्फ्ल्यूएन्स’ नाम दिएका छन्। नगरकोटीका कथामा पनि खोजी पस्ने भने कतै न कतैका, कसै न कसैका, केही न केही सन्दर्भ मिल्न जान्छन्। ‘स्तन–फूल’ कथामा हांग कानको प्रभाव देखिन्छ, ‘होटल फ्यान्टासी’ कथामा उडी एलेनको सिनेमा ‘मिडनाइट इन पेरिस’ को झल्को आउँछ। बाह्य प्रभावबाट मुक्त हुन नगरकोटी अकल्पनीय प्रयोग गर्छन्। तर, अलग बन्ने कोशिशमा उनका नजमेका कथा पनि यस ग्रन्थमा छन्।
निरन्तर लेखिरहेका इटालीवासी एलेना फेरान्तेको वासस्थान, रूपाकृति, खास नाम, लिंगबारे आम जगत् बेखबर छ। उनका किताबबारे हुने छलफलमा प्रकाशक, अनुवादक उपस्थित हुन्छन्। रोलाँ वार्थले ‘डेथ अफ अथर’ मा प्रष्ट्याए जस्तो फेरान्तेका सन्दर्भमा लेखकको अस्तित्व गौण हुन्छ, कथा नै पाठकसँग संवाद गर्छन्। तर, फेरान्ते लोपोन्मुख प्रजाति जस्तो लाग्छ यो समय। अहिले लेखकको हाजिरीमा किताबमाथि निरन्तर बहस हुन्छ, लेखकका रायविचार सुनिन्छ। आफ्नै किताबबारे सत्र ठाउँमा सत्र थरी कुरा गरिरहेका हुन्छन् स्रष्टाहरू।
केही वर्ष अघिसम्म नगरकोटी पनि बजारमा किताब गएपछि त्यसको पछाडि लागेको देखिंदैनथे। तर, दशौं पुस्तकको माइलस्टोन भएर होला, यस पालि उनी निरन्तर सेलिब्रेसनमा छन्, सेलिब्रेटीसँग छन्, उनकै किताबका उपहार–प्रतिका साथ। जे होस्, कल्प–ग्रन्थ भौतिक किताबको सेलिब्रेसन पनि हो। हार्ड कभरको किताबमा आकर्षक ज्याकेटदेखि भित्रका लामा–छोटा कथाहरूमा पोखिएका अक्षर र विविध आकृतिको आफ्नै महत्त्व छ। अलग कलेवरमा पाठकको र्याकमा ठडिएको कल्प–ग्रन्थले भौतिक किताबको निरन्तरताको पैरवी गरे झैं लाग्छ।
पुस्तकः कल्प–ग्रन्थ विधाः आख्यान लेखकः कुमार नगरकोटी प्रकाशकः बुक-हिल पब्लिकेसन
हिमालको २०७८ भदौ अंकमा 'स्वैरकाल्पनिक ठेली' शीर्षकमा प्रकाशित पुस्तक समीक्षा।
सिभिल इन्जिनियरमा स्नातक खनिया अंग्रेजी साहित्यका विद्यार्थी हुन्। अफ्रिकी र अरबी साहित्यमा उनको विशेष रुचि छ।