पर्यटन प्रवर्द्धन अभियान शुरु
नेपाल भ्रमण वर्षलाई लक्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा अभियान शुरु भएको छ ।
अमेरिकन एक्सप्रेस कार्ड प्रयोगकर्ता विदेशीलाई स्वदेशी प्राकृतिक सौन्दर्य, मौलिकता र विविधताका बारे जानकारी गराई नेपालमा भ्रमणका लागि आकर्षित गर्ने अभियानको मुख्य उद्देश्य हो । तीनै संस्थाले बेवसाइट, सामाजिक सञ्जाललगायत माध्यमबाट प्रचार गर्ने जनाइएको छ ।
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अभियान मार्फत नेपाललाई विदेशमा प्रवर्द्धन गरी स्वदेशमा उनीहरूको गन्तव्य विस्तारित गर्ने जानकारी दिए ।
पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र अमेरिकन एक्सप्रेसका दिव्या जैनले पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने विचार व्यक्त गरे ।
सन् २०२० जूनसम्म जारी रहने अभियानमा यहाँ घुम्न आउने पर्यटकलाई हिमालयन बैंकका ८० भन्दा बढी मर्चेन्ट पार्टनर होटल, रेष्टुराँ, साहसिक खेल पर्यटन, स्थानीय कलाकृति खरीदमा विशेष छुट तथा अन्य सुविधा उपलब्ध गराइने छ ।