महन्थ ठाकुरको पक्षमा १४ सांसदको सनाखत
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा जनता समाजवादी पार्टी (जसपा)का १४ जना सांसदले सनाखत गरेका छन्।
बुधबार निर्वाचन आयोग पुगेर उनीहरूले नयाँ दल दर्ताका लागि सनाखत गरेका हुन्। जसपाबाट विभाजन भएर ठाकुरको नेतृत्वमा २ भदौमा लोसपा दर्ताका लागि निवेदन दिइएको थियो।
नयाँ दल दर्ताका लागि आयोगले आज सनाखत गरेको हो। १४ जना सांसदले सनाखत गरेसँगै लोसपाले नयाँ दलको मान्यता पाउने भएको छ।
नयाँ दल दर्ताका लागि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य आवश्यक पर्छ। जसपाले ठाकुर लगायत केन्द्रीय सदस्यलाई हटाएकाले नयाँ दल दर्ता गर्न सांसदको हस्ताक्षर बुझाइएको थियो।
जसपाका ३२ जना सांसद छन्। नयाँ दल दर्ताका लागि सात जना सांसदको समर्थन आवश्यक थियो। ठाकुरको पक्षमा भने १४ जना सांसद उभिएका छन्।
सांसदको सनाखत सकिएसँगै ठाकुरलाई आज नयाँ दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी छ।