बालबालिकामा मोटोपनको ‘महामारी’
घरका पौष्टिक खानेकुरा छाडेर बजारका जंक फूड खाने प्रवृत्तिका कारण बालबालिकाहरू मोटोपनको शिकार मात्र भइरहेका छैनन्, उनीहरूको शारीरिक विकासमै असर परेको छ।
काठमाडौंका हर्क लामाका १० वर्षे छोरा छन्। तर, उमेरको तुलनामा उनको शारीरिक तौल अस्वाभाविक बढी छ। अहिले ६० केजी तौल रहेका छोरा चलाख र फूर्तिलो नभएको लामा बताउँछन्।
स्वस्थ व्यक्तिको तौल उमेर र उचाइ अनुसार मिल्नुपर्छ। अमेरिकी संस्था डिसेबल्ड वर्ल्डका अनुसार, १० वर्षको बालकको औसत तौल ३२ र बालिकाको ३१ केजी हुनुपर्छ। यस अनुसार, लामाका १० वर्षे छोराको तौल ३२ केजी हुनुपर्ने हो। तर, उनको तौल निर्धारित मापदण्डभन्दा झन्डै दोब्बर बढी छ।
लामाका अनुसार, उनका छोरा सानैदेखि बजारका जंक फूड अर्थात् पत्रु खाना बढी खान्थे। “घरमा पकाएका खानेकुरा खान नमानेपछि छोरा भोकै होला भनेर बाहिरका तयारी खाना दियौं,” लामा भन्छन्, “मोटोपन बढेपछि डाक्टरलाई देखाउँदा बजारका अस्वस्थकर खाना बढी खाएकाले तौल बढेको थाहा भयो।”
जंक फूड सेवन गर्ने लत छुटाउन नसक्दा छोराले अहिले पनि घरका खानेकुराभन्दा चाउचाउ, बिस्कुट, चाउमिन जस्ता वस्तुमै जोड दिने गरेको उनको पिरलो छ। आफ्नो अनुभवका आधारमा उनी बालबालिकालाई जंक फूडको सेवनबाट रोक्न अभिभावकले शुरूदेखि नै ध्यान दिनुपर्ने सुझाव दिन्छन्। “बच्चा हुर्कंदै गएपछि छुटाउन नसकिने रहेछ,” उनी भन्छन्, “शुरूमा मायाले बजारका खानेकुरा दियौं, तर अहिले त्यही कुरा विष सरह भएको छ।”
काठमाडौंकै आरती कार्कीले पनि लामाको जस्तै समस्या भोगिरहेकी छन्। कार्कीका ११ वर्षे छोराले घरमा पाकेका खानेकुरा खानै मान्दैनन्। जंक फूड अत्यधिक खाने उनको तौल ५२ केजी छ। जब कि, स्वास्थ्यको मापदण्डमा ११ वर्षका बालकको औसत तौल ३५ र बालिकाको ३६ केजी हुनुपर्छ। कार्की भन्छिन्, “घरको खानेकुराभन्दा छोरा जंक फूड खान जिद्दी गर्छ। सुस्त छ, पढेको कुरा छिटै बिर्सिन्छ।”
जंक फूड सेवनबाट बालबालिका मोटोपनको शिकार भएको समस्याबाट लामा र कार्की मात्र हैन, धेरै अभिभावक पीडित छन्। जंक फूडको उपभोगसँगै कोठाभित्रै ग्याजेट चलाएर बस्ने, शारीरिक सक्रियता नहुने कारण बालबालिकामा मोटोपन थप चिन्ताको विषय बनेको छ। त्यसमा पनि पछिल्लो समय कोरोना महामारीका कारण विद्यालय बन्द भएर घरमै बसेका बालबालिका शारीरिक रूपमा निष्क्रिय भई जंक फूडको भुलभुलैयामा धेरै परेका छन्।
पोषणको विषयमा लेख्ने र बोल्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती पछिल्लो समय बजारमा पाइने अस्वस्थकर तयारी खानेकुरा सेवन गर्ने धेरै बालबालिकामा मोटोपनको समस्या बढिरहेको बताउँछिन्।
चिनी, नुन र चिल्लोपन बढी भएका र प्रोटीन, भिटामिन, खनिज लगायत महत्त्वपूर्ण पौष्टिक तत्त्व नहुने खाद्य पदार्थलाई जंक फूड भनिन्छ। चाउचाउ, कुरकुरे, आलु चिप्स, फ्रेन्च फ्राइज, बिस्कुट, कुकिज, चकलेट, क्यान्डी, गुलियो पेय पदार्थ, प्याक गरिएको जुस जस्ता तयारी खानेकुरा जंक फूड अन्तर्गत पर्छन्। यस्तै, पिज्जा, बर्गर जस्ता फास्ट फूड पनि अस्वस्थकर मानिन्छन्।
डा. उप्रेती जंक फूडलाई 'पत्रु खाना' भन्छिन्। “पत्रु खाना भनेको मानव स्वास्थ्यका लागि हानिकारक वस्तु हो, तर जिब्रोको स्वादका लागि यिनै वस्तुमा मोहित भएर रोग निम्त्याउनेहरू धेरै छन्,” उनी भन्छिन्।
जंक फूडप्रतिको आकर्षण कस्तो छ भने, गाउँगाउँसम्म यस्ता वस्तुले प्रवेश पाएर नेपाली पौष्टिक खानालाई विस्थापित गर्दै लगेका छन्। देशमा यस्ता वस्तुको ठूलो परिमाणमा आयात भइरहेको छ। पछिल्लो एक दशकमा झन्डै डेढ खर्ब रुपैयाँ बराबरको जंक फूड आयात भइरहेको सरकारी तथ्यांकले देखाउँछ।
जंक फूडको उच्च आयात
सन् २००८ देखि २०२० सम्म विभिन्न मुलुकबाट १२४ प्रकारका रु.१ खर्ब ३९ अर्ब ५६ करोड ४९ लाख बराबरको जंक फूड आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक छ। जसमध्ये रु.१ खर्ब २९ अर्ब बराबरको ८४ करोड ६३ लाख ३५ हजार केजी ठोस वस्तु र रु.१० अर्ब ५८ करोड ४१ लाख बराबरको १४ करोड ६४ लाख लिटर तरल पदार्थ आयात भएको छ।
एक दशकमा सबैभन्दा बढी रु.३४ अर्ब १२ करोड बराबरको ८ करोड ८४ लाख केजी हल्का पेय पदार्थ बनाउने कच्चा पदार्थ आयात भएको छ। यसपछि रु.१३ अर्ब ६२ करोड ६४ लाख बराबरको १६ करोड ४० लाख केजी बिस्कुट र रु.१० अर्ब ८२ करोड बराबरको ३ करोड ३८ लाख केजी चकलेट भित्रिएको तथ्यांक छ। यस्तै, करीब रु.९ अर्ब बराबरको साढे चार करोड केजी दालमोठ, नुनको उच्च मात्रा रहेका भुजिया, कुरकुरे, लेज जस्ता वस्तु आयात भएका छन् (हे.इन्फो)।
सन् २००८/९ मा नेपालमा रु.३ अर्ब ९५ करोड ८९ लाख ४९ हजार बराबरको जंक फूड आयात भएको थियो। जुन कोरोनाभाइरस महामारी शुरू हुनुअघि सन् २०१८/१९ मा रु.२२ अर्ब १९ करोड बराबरको हाराहारीमा भित्रिएको थियो। यसका साथै, देशभित्रै पनि यी वस्तुको उत्पादन हुन्छ। नेपालीहरूको खाने बानीमा आएको परिवर्तनले मौलिक खानालाई आयातीत अस्वस्थकर खानेकुराले विस्थापित गर्दा यस्ता वस्तुको आयात उच्च भएको हो। जसका कारण देशमा बाल मोटोपन जस्तो स्वास्थ्य समस्या ‘महामारी’ सरह बढ्दै छ।
यसरी बढ्दै छ बाल मोटोपन
सन् २०१९ मा बेलायतको ‘बीएमसी पब्लिक हेल्थ’ जर्नलमा प्रकाशित एक अध्ययनले ललितपुरका ६ देखि १३ वर्ष उमेरका एक चौथाइ बालबालिकामा बढी तौल र मोटोपनको समस्या रहेको देखाएको थियो। सन् २०१७ को मे–अक्टोबरमा गरिएको उक्त अध्ययन ललितपुरका शहरी क्षेत्रमा रहेका १० वटा निजी विद्यालयमा कक्षा एकदेखि पाँचसम्म पढ्ने ५७५ विद्यार्थीमा गरिएको थियो।
उक्त अध्ययनले १०७ जनामा बढी तौल र ४१ जनामा मोटोपन देखिएको थियो। अध्ययनले बाल्यावस्थामा बढी तौल र मोटोपनको समस्या जंक फूडको उच्च उपभोग र कम शारीरिक अभ्याससँग जोडिएको निष्कर्ष निकालेको छ। चिकित्सकहरू बढी तौल हुने समस्या रोग नभएको बरु मोटोपन रोग भएको बताउँछन्। बढी तौलको समस्यालाई रोग नमाने पनि यसलाई मुटु, क्यान्सर जस्ता नसर्ने रोग निम्त्याउने ‘जोखिम कारक’ मानिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, कुनै एक नौ वर्षको बालक वा बालिकाको बीएमआई (बडी मास इन्डेक्स) २२ भन्दा धेरै भएमा बढी तौल र २६.५ भन्दा बढी भएमा मोटोपन भएको मानिन्छ। कुनै व्यक्तिको तौल (केजी)लाई उचाइ (मिटर)को वर्गले विभाजन गरेर बीएमआई निकालिन्छ, यसका आधारमा कुनै व्यक्तिमा बढी तौल वा मोटोपन के समस्या छ भनेर थाहा पाउन सकिन्छ।
सन् २०१४ मा नेदरल्यान्ड्सको ओबेसिटी रिसर्च एन्ड क्लिनिकल प्राक्टिस् जर्नलमा प्रकाशित अध्ययनले ललितपुरका निजी विद्यालयमा १ देखि ६ कक्षामा अध्ययनरत ९८६ विद्यार्थीमध्ये १४४ जनामा बढी तौल र १११ जनामा मोटोपन रहेको देखाएको थियो।
ललितपुरका विद्यालयमा गरिएको अध्ययनमा सहभागी ५७५ बालबालिकामध्ये ५२ प्रतिशतले सातामा एकदेखि दुई पटकसम्म, १७ प्रतिशतले ३ देखि चार पटकसम्म र ४.५ प्रतिशतले पाँच पटकभन्दा बढी ससेज, ह्यामबर्गर जस्ता प्रशोधित मासु सेवन गरेको देखाएको छ। यस्तै, सहभागीहरूमध्ये ४७.१ प्रतिशतले सातामा १ देखि २ पटक, २२.१ प्रतिशतले तीनदेखि चार पटक र ९.७ प्रतिशतले पाँच पटकभन्दा बढी चिप्स, फ्राइज, पोट्याटो क्रिप्स जस्ता जंक फूड सेवन गर्ने गरेको पाइयो। अध्ययनमा समेटिएका ५७५ बालबालिकामध्ये ८३ प्रतिशतले हल्का पेय पदार्थ सेवन गर्ने गरेको समेत देखाएको थियो। यसले बाल मोटोपनको प्रमुख कारण बजारमा पाइने अस्वस्थकर जंक फूड रहेको देखाएको छ।
उक्त अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजको जनस्वास्थ्य विभागकी सह–प्राध्यापक डा. अर्चना श्रेष्ठ अधिकांश बालबालिकाले कार्बोहाइड्रेटयुक्त खानेकुराको सेवन गर्ने गरेकाले उनीहरूमा मोटोपन देखिएको बताउँछिन्। डा. श्रेष्ठ भन्छिन्, “हाम्रो अध्ययनले निजी विद्यालयका ५७५ बालबालिकामध्ये कम जंक फूड खाने २१ र धेरै खाने ४६ प्रतिशतमा मोटोपन देखिएको थियो। यस्तै, विद्यालय आउजाउमा सवारीसाधनको प्रयोग गर्ने ३१ प्रतिशतमा र हिंडेर आउनेमा भने ११ प्रतिशतमा मात्र मोटोपन देखिएको थियो।”
सन् २०१४ मा नेदरल्यान्ड्सको ओबेसिटी रिसर्च एन्ड क्लिनिकल प्राक्टिस् जर्नलमा प्रकाशित अध्ययनले ललितपुरका निजी विद्यालयमा १ देखि ६ कक्षामा अध्ययनरत ९८६ विद्यार्थीमध्ये १४४ जनामा बढी तौल र १११ जनामा मोटोपन रहेको देखाएको थियो। अध्ययनले मोटोपन तथा बढी तौलको समस्या कम गर्न विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नुपर्ने, जंक फूड बहिष्कार गरिनुपर्ने र घर बाहिर गर्ने शारीरिक अभ्यासलाई बढावा दिनुपर्ने निष्कर्ष निकालेको थियो।
बालबालिकामा अस्वस्थकर खानेकुरा सेवन गर्ने बानी सम्बन्धमा सन् २०१८ मा बेलायतको म्याट्रनल एन्ड चाइल्ड न्यूट्रीसन जर्नलमा प्रकाशित अध्ययनले काठमाडौं उपत्यकाका १२ देखि २३ महीनाका ७४५ बालबालिकामध्ये अधिकांशले अस्वस्थकर तयारी खाना र पेय पदार्थ सेवन गर्ने गरेको देखाएको थियो। अध्ययनमा समेटिएका बालबालिकामध्ये एक चौथाइले बजारमा पाइने अस्वस्थकर खानेकुरा र चिनीयुक्त पेय पदार्थ आहार ऊर्जाकै रूपमा अर्थात् प्रमुख खान्कीका रूपमा सेवन गर्ने गरेका पाइएको थियो। उक्त अध्ययनका अनुसार, कमजोर आर्थिक–सामाजिक स्थिति भएको सबैभन्दा ठूलो जनसंख्याले जंक फूड सेवन गर्ने गरेको छ।
डा. श्रेष्ठका अनुसार, जंक फूडमा पोषणको मात्रा कम र चिनी, नुन र चिल्लो धेरै हुने भएकाले यसको सेवनले दीर्घ रोग निम्त्याउँछ। “नुन र चिनीको मात्रा धेरै हुँदा मधुमेह र रक्तचाप बढ्ने तथा मुटु सम्बन्धी दीर्घ रोगको समस्या हुन्छ,” उनी भन्छिन्।
जनस्वास्थ्यविद् डा. उप्रेतीको बुझाइमा जंक फूडले नेपालीको खाने संस्कृति नै बिगारेको छ। “जंक फूडमा अत्यधिक मात्रामा नुन र फ्याट हुन्छ, बढी नुनको सेवनले मिर्गौलालाई असर पर्छ। सानै उमेरमा मिर्गौलामा समस्या हुँदा बालबालिकाका अन्य अंग समेत बिग्रिन्छन्,” उनी भन्छिन्।
"जंक फूडमा पोषणको मात्रा कम र चिनी, नुन र चिल्लो धेरै हुने भएकाले यसको सेवनले दीर्घ रोग निम्त्याउँछ। “नुन र चिनीको मात्रा धेरै हुँदा मधुमेह र रक्तचाप बढ्ने तथा मुटु सम्बन्धी दीर्घ रोगको समस्या हुन्छ।” - डा. अर्चना श्रेष्ठ, सह–प्राध्यापक, स्कूल अफ मेडिकल साइन्सेज, काठमाडौं विश्वविद्यालय
३ मंसीर २०७६ मा रातो बङ्गला फाउन्डेशनले प्रकाशन गरेको स्नायु विकासको द्रुत मूल्याङ्कन सम्बन्धी एक अध्ययन प्रतिवेदनले ‘फकाउन र पकाउन सजिलो हुने’ ठानेर दिइने जंक फूडको लतले पनि बालबालिकाहरूमा मध्यम र गम्भीर खालको कमजोरी देखिएको जनाएको थियो। ललितपुर महानगरपालिकाले आठ वटा वडामा सञ्चालन गरेको बाल हेरचाह केन्द्रका १३६ बालबालिकामा गरिएको उक्त अध्ययनले जंक फूड बढी रुचाउने अधिकांश बालबालिकामा उमेर अनुसार उचाइ र तौल कम भएको देखाएको थियो। अध्ययन अनुसार, बालबालिकालाई सानैदेखि उमेर अनुसारको काममा नलगाउँदा उनीहरूको मांसपेशी विकास र सीपमा पनि बाधा पुगेको छ।
सन् २०१६ मा प्रकाशित नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा पाँच वर्षमुनिका बालबालिकामा बढी तौल तथा मोटोपनको समस्या प्रत्येक एक सय जनामध्ये २.१ प्रतिशतमा रहेको उल्लेख छ। स्वास्थ्य सेवा विभागको २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार, नेपालले बढी तौल र मोटोपनको समस्या सन् २०२२ सम्ममा १.४ प्रतिशत र दिगो विकास लक्ष्य अनुसार, सन् २०३० सम्ममा एक प्रतिशतभन्दा तल पुर्याउनुपर्छ।
यी लक्ष्य पूरा गर्न निकै कठिन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक तथा नीति योजना शाखाका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन्। “विद्यालय स्तरदेखि नै सुधार ल्याउन नसके यो समस्या २ प्रतिशतभन्दा पनि अझै बढ्ने देखिन्छ,” डा. शर्मा भन्छन्। बढी तौल र मोटोपनको समस्या बढ्दै गए बाल्यावस्थामा नै मधुमेह र मुटुरोग देखिने उनी बताउँछन्।
कसरी रोक्ने जंक फूडको सेवन?
बालबालिकामा जंक फूडको बढ्दो असरलाई रोक्न पछिल्ला वर्षहरूमा सामुदायिक र निजी विद्यालयहरूले अग्रसरता नलिएका हैनन्। सरकारले २०७७ फागुनमा देशभरिका सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई जंक फूड खुवाउन निषेध गरेको थियो। शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्थानीय स्तरमा उत्पादन हुने खानेकुरालाई प्राथमिकतामा राख्दै ६० प्रकारका ‘मेनु’ तयार पारेको थियो।
“बजारमा पाइने पत्रु खानाको आयात, बिक्री–वितरण र सेवनमा अहिले नै सरकारी स्तर र घरपरिवारबाट रोक नलगाउने हो भने अबको १० देखि १२ वर्षमा नेपालमा स्वस्थ बालबालिका भेटिन नै मुश्किल पर्नेछ।” - डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्
यस्तै, निजी विद्यालय सञ्चालकहरूको छाता संगठनहरूले पनि विद्यालयहरूमा प्याकेट बन्द खानेकुरा ल्याउन रोक लगाएका छन्। तर, यसको पूर्ण रूपमा पालना भए–नभएको हेरिएको छैन। यस्तै, प्याकेट बन्द खानेकुरामा बन्देज लगाइए पनि दिवा खाजामा चाउमिन जस्ता अस्वस्थकर खानेकुरा काठमाडौंकै विद्यालयहरूमा खुवाइने गरेको थियो। यो महामारीको वेला विद्यालय बन्द भएर घरमै बसिरहेका बालबालिका जंक फूडको कस्तो जालोमा परेका होलान् भन्ने अध्ययनकै विषय बनेको छ।
जनस्वास्थ्यविद् डा. अर्चना श्रेष्ठ बालबालिकालाई जंक फूडबाट जोगाउन यसको सेवनले स्वास्थ्यमा पुर्याउने असरबारे विद्यालयमा सिकाउनुपर्ने सुझाव दिन्छिन्। यस्तै, विद्यालय वरिपरि जंक फूडको बिक्री–वितरणमा रोक पनि लगाउनुपर्ने उनी बताउँछिन्। “मुख्य गरी घरमा यसबाट आफ्नो बच्चालाई टाढा राख्न अभिभावक संवेदनशील बन्नुपर्छ,” उनी भन्छिन्।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा जंक फूडको आयात रोकेर सरकारले व्यापार घाटा कम गर्न कृषि उपजको उत्पादन, गुणस्तर वृद्धि र बजारीकरणमा सहजीकरण गर्नुपर्ने बताउँछन्। “विभिन्न मुलुकबाट हुने जंक फूड आयातमा प्रतिबन्ध लगाएर स्वदेशमै खाद्यान्न उत्पादन, तिनको प्रवर्द्धन र पोषणका कार्यक्रम गर्न सरकारको ध्यान जानुपर्छ।”
भन्सार विभागका निर्देशक शिशिर घिमिरे सरकारले कानून बनाएर अखाद्य वस्तुको आयातमा प्रतिबन्ध लगाउन सकिने बताउँछन्। घिमिरेका अनुसार, नेपालमा शक्तिवर्द्धक पेय पदार्थले स्वास्थ्यमा असर गरेको पाइएपछि डेढ वर्षदेखि यसको आयातमा प्रतिबन्ध लगाइएको छ। आयातीत वस्तुको सेवनले स्वास्थ्यमा असर परेको प्रमाणित भए सरकारले प्रतिबन्ध लगाउन सक्ने उनी बताउँछन्।
जनस्वास्थ्यविद् डा. उप्रेती भन्छिन्, “बजारमा पाइने पत्रु खानाको आयात, बिक्री–वितरण र सेवनमा अहिले नै सरकारी स्तर र घरपरिवारबाट रोक नलगाउने हो भने अबको १० देखि १२ वर्षमा नेपालमा स्वस्थ बालबालिका भेटिन नै मुश्किल पर्नेछ।”
(तथ्यांक पत्रकारिता केन्द्रको सहयोगमा)