रु. १ करोडसम्मको व्यवसाय गर्न सस्तो ब्याजदरमा ऋण दिन राष्ट्र ब्यांकको निर्देशन, मोटरबाटो नभएको जग्गा पनि धितो राख्न मिल्ने
ब्यांक तथा वित्तीय संस्थाले रु.१ करोडसम्मको व्यावसायिक कर्जामा सस्तो ब्याजदर दिनुपर्ने भएको छ।
नेपाल राष्ट ब्यांकले मंगलबार एकीकृत निर्देशिका जारी गर्दै रु.१ करोड सम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नुपर्ने व्यवस्था लागू गरेको हो।
यद्यपि, आयात सम्बन्धी व्यवसाय गर्नेले भने सस्तो ब्याजदरको कर्जा पाउनेछैनन्। निर्देशिकाले व्यवस्था गरे अनुसार, यदि ब्यांक तथा वित्तीय संस्थाको आधारदर ५ प्रतिशत रहेछ भने उनीहरूले थप २ प्रतिशत जोडेर बढीमा ७ प्रतिशतसम्मको ब्याजदरमा यस्तो ऋण प्रवाह गर्नुपर्नेछ । अहिले अधिकांश ब्यांकको आधार दर ६–७ प्रतिशत छ।
निर्देशिकामा रु.२० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटरबाटो नभएको खेतीयोग्य जमीनलाई पनि ब्यांक तथा वित्तीय संस्थाले धितोका रूपमा स्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि, मोटरबाटो नभएका जग्गालाई ब्यांक तथा वित्तीय संस्थाले धितो मान्ने गरेका थिएनन्। निर्देशिकाले ब्यांक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा सम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रूपमा दिनुपर्ने व्यवस्था समेत गरेको छ।
देशैभरि वित्तीय पहुँच विस्तार गर्न केन्द्रीय ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको थियो। निर्देशिकाले कोभिड–१९ महामारीका कारण मारमा परेका व्यवसायलाई आगामी पुससम्ममा तिर्नुपर्ने ऋणको सावाँ–ब्याज एक वर्षपछिसम्म सार्न मिल्ने सुविधा पनि दिएको छ।