‘हास्यव्यङ्ग्यको नाममा अश्लीलता नदेखाऔं’
कलाकार दीपाश्री निरौलाको बुझाइमा हास्यव्यङ्ग्यको पनि सीमारेखा हुन्छ, तर यस्तो सीमा नाघेर अश्लील सामग्री पस्किँदा कलाकारिता क्षेत्र नै बदनाम भइरहेको छ।
प्रहरी : ओई ! तँ किन पुलिस चौकीभित्र छिरेको ? यता आइज पी.पी.यू.!
चोर : पी.पी.यू ? क्या हे मेडम ये पि.पि.यू ?
प्रहरी : बुझिनस् पी.पी.यू. भनेको ? पोल्दापोल्दै उछिट्टिएको!
यति बोलिसक्दा दर्शकदीर्घाबाट एकैसाथ हाँसो र पररर ताली गुन्जियो।
२०५१ सालको गाईजात्रा कार्यक्रममा प्रहरीको भूमिकामा दीपाश्री निरौलाले काठमाडौंमा गरेको पहिलो प्रहसनको संवाद थियो यो। १९ वर्षको उमेरमा राष्ट्रिय सभागृहमा उपस्थित सयौं दर्शकलाई हँसाउन उभिएकी उनी आफैं भने तनावमा थिइन्।
“पहिलो पटक त्यति धेरै दर्शकसामु स्टेज टेकेकी थिएँ, शुरूमा निकै डर र लाज लागेको थियो। तर, बोल्दै जाँदा दर्शकले ताली बजाइरहे। म त हौसिएछु, अझै बोलिरहूँ, हँसाइरहूँ भन्ने पो लाग्यो,” उनी त्यो दिन सम्झिन्छिन्।
दीपाको अभिनय यात्राको पहिलो खुड्किलो गाईजात्रा कार्यक्रम नै थियोे। विराटनगरमा हुँदा १५ वर्षको उमेरदेखि नै उनले सडक प्रहसन गर्न थालेकी थिइन्। काठमाडौंमा पहिलो प्रहसन गरेपछि त्यसपछिका हरेक वर्षको गाईजात्रा कार्यक्रममा उनी नछुट्ने कलाकार बनिन्। हँसाउने कला र हक्की प्रस्तुतिले दर्शक र आयोजकको रोजाइमा परिरहिन्।
गाईजात्रा कार्यक्रमहरूमा विभिन्न चरित्रमा अभिनय गर्दै जाँदा आफ्नो कलामा निखार आएको र अभिनय यात्रा फराकिलो बनेको उनको अनुभव छ। “गाईजात्रामा गरेको अभिनयले मेरो करिअरमा धनियाँ र तीतो सत्य टेलिशृंखलाकी दीपा पात्रलाई सफल बनाउन सघाएको हो,” उनी भन्छिन्।
दीपाले कलाकारिता क्षेत्रमा पाइला टेक्दै गर्दाको समयमा हास्यव्यङ्ग्य क्षेत्रमा महिलाहरू कमै आउँथे। उनका अनुसार, त्यो अवस्था अझै पनि उस्तै छ। हास्यव्यङ्ग्य गर्नेलाई अहिले पनि ‘जोकर’ का रूपमा हेर्ने प्रवृत्तिका कारण यो क्षेत्रमा महिला कलाकार असाध्यै कम आउने गरेको उनी बताउँछिन्।
“नबुझ्नेले तपाईंकी छोरी त जोकर पो भइछे भनिदिन्छन्। त्यसपछि बुबाआमाले छोरालाई जति स्वतन्त्रता छोरीलाई किन दिन्थे र!” उनी भन्छिन्।
२०५१ सालको गाईजात्रामा प्रहसन गरेपछि दीपाले पनि अनेक आलोचना सुन्नुपरेको थियो। ‘कमेडियन पो बनिछे, अब के गर्ली र’ भन्दै अग्रज कलाकारहरूले नै खिल्ली उडाएको उनी सम्झिन्छिन्। तर, कसैले खिसी र छेडखानी गर्दैमा आफूलाई कमजोर सोचेर पछि हट्नु उचित नहुने सोचेर उनी डटिरहिन्।
“दुनियाँले जे भनोस्, यो क्षेत्रमा म केही गर्न आएकी हुँ भनेर हिंडें। त्यति वेला आलोचना सहें, दुःख गरें, आज खुशी छु,” उनी भन्छिन्।
दीपालाई हास्यव्यङ्ग्य एउटा सन्देशको झिल्को लाग्छ। त्यो झिल्को दर्शकको दिमागमा बाल्न सक्नु उनले बुझेको कलाकारिता हो। तर, हास्यव्यङ्ग्यको नाममा उच्छृङ्खलता तथा अमर्यादित विषय र प्रस्तुति आउने गरेकोमा उनी खिन्नता प्रकट गर्छिन्। हास्यव्यङ्ग्यको पनि सीमारेखा हुने र यसलाई नाघ्दा सिङ्गो कलाकारिता क्षेत्र नै बदनाम भइरहेको उनको बुझाइ छ।
“हास्यव्यङ्ग्य विधाले त ज्ञानको झिल्को बाल्नुपर्ने हो, तर अहिले सामाजिक सञ्जाल र युट्युबका धेरै सामग्रीमा उच्छृङ्खल र उत्तेजनापूर्ण विषय पाइन्छ,” उनी भन्छिन्, “गाईजात्राको प्रहसन होस् वा अन्य हास्यव्यङ्ग्य अभिनय, कलाकारिताको नाममा कसैले अश्लीलता नदेखाऔं।”
कोरोनाभाइरस संक्रमण महामारीका कारण मनोरञ्जन क्षेत्र डेढ वर्षदेखि शिथिल बनेको छ। गाईजात्राको अवसरमा हुने हास्यव्यङ्ग्य कार्यक्रम पनि महामारीका कारण यस वर्ष पनि हुन सकेन। विगत वर्षमा कलाकारहरूले गाईजात्रा कार्यक्रम उत्सवकै रूपमा हप्ता–दश दिनसम्मै गर्थे। कार्यक्रम गर्न नपाएर बाँधिँदा अरू कलाकारलाई जस्तै दीपालाई पनि उकुसमुकुस भइरहेको छ।
“बेथिति औंल्याउँदै सम्बन्धित व्यक्ति वा निकायलाई व्यङ्ग्यको वाण हान्न नपाउँदा नमज्जा लागिरहेको छ,” दीपा भन्छिन्, “बर्सेनि हुने गरेको गाईजात्रा कार्यक्रमले मानिसहरूलाई आफूले केही गल्ती गरे कार्यक्रममा व्यङ्ग्य बर्साउँछन् भनेर सतर्क गराउँदै आएको थियो।” यस्तो सतर्कताको सोच विकसित गराउनु कलाकारको अभिनय र हास्यव्यङ्ग्य क्षेत्रको ताकत मान्छिन् उनी।
यस पालि महामारीले बिथोले पनि अर्को वर्षको गाईजात्रामा राजनीतिक–सामाजिक विषय र पात्र टिपेर व्यङ्ग्यले आच्छुआच्छु पार्ने यात्रामा अवरोध नआओस् भन्ने उनको कामना छ।