खाता करिडोर : वन्यजन्तुको राजमार्ग, स्थानीयलाई मृत्युमार्ग!
वन्यजन्तुको अन्तरदेशीय आवागमनका लागि नमूना संरक्षित क्षेत्रका रूपमा ख्याति पाएको बर्दियाको खाता जैविक मार्ग स्थानीय बासिन्दाका लागि भने ज्यानकै जोखिम बनेको छ।
बर्दियाको मधुवन नगरपालिका-३ कोठियाघाटकी रेनुका सुनार २६ फागुन २०७७ मा बाख्रालाई घाँस काट्न कोठियाघाट सामुदायिक वनमा गएकी थिइन्। सासू कौशिला सुनार सहित ६ जना जंगल गएका वेला रेनुकालाई बाघले झम्टियो। "हामी अलि टाढा थियौं। बुहारीसँगै भएकी साथी 'बाघले मार्यो, बाघले मार्यो' भनेर चिच्याएको सुनेर त्यहाँ पुग्दा त बुहारीलाई लगिसकेको थियो," कौशिलाले भनिन्, "वरिपरि धेरै बेर खोज्दा पनि भेटेनौं। हामीले खबर गरेपछि गएका प्रहरीले बुहारीलाई भेट्न त भेटे, तर त्यस वेलासम्म सास गइसकेको थियो।"
४२ वर्षयता कोठियाघाटमा बस्दै आएकी ६० वर्षीया कौशिला पछिल्लो समय बाघले गरिरहेको जस्तो आक्रमण यसअघि कहिल्यै थाहा नपाएको बताउँछिन्। अचेल घर नजिकै बाघ आउने गरेको बताउँदै उनी भन्छिन्, "एक हप्ता पहिले पनि आएको थियो। हामी सबै चिच्यायौं र टाढैबाट गयो," उनी भन्छिन्, "अचेल त घरमै आएर खान्छ कि भन्ने डर लाग्छ। डरले रातभर सुत्न सकिंदैन।"
पहिले नै श्रीमान् गुमाएकी कौशिला बुहारीको निधनपछि नाति-नातिनी हुर्काउँदै छिन्। "बच्चा सानै छन्। बुहारीलाई बाघले लगेपछि रातदिन रोएरै बितेको छ," उनी भन्छिन्, "बाख्रा पालेकी छु, तर घाँस जुटाउनै गाह्रो छ। बाघको डर र बुहारीको सम्झनाले जंगल जान मन लाग्दैन।"
२६ फागुन २०७७ मा बाघको आक्रमणबाट मृत्यु भएकी बुहारी रेनुकाको तस्वीर सहित बर्दियाको मधुवन नगरपालिका-३ कोठियाघाटकी कौशिला सुनार ।
रेनुकालाई आक्रमण गर्नुभन्दा चार महीनाअघि बाघले मधुवन-३ धनौराका दिनेश थारूलाई आक्रमण गरेर ज्यान लिएको थियो। ११ कात्तिक २०७७ मा जंगलमा च्याउ टिप्न गएका उनलाई बिहान ११ बजे बाघले लगेपछि उनका साला रमेश अन्य साथीलाई लिएर खोजीमा निस्किए। तर, रमेशलाई पनि बाघले मार्यो ।
धनौराकी रमिता चौधरीले बाघको आक्रमणबाट एकै दिन श्रीमान् र भाइ गुमाइन्। दुई छोरी हुर्काउँदै गरेकी उनी बाघले आफ्नो घर उजाडिदिएको बताउँछिन्। बिहे भएको १० वर्ष भएको थियो। दिनेश काठमाडौंमा घर बनाउने श्रमिकको काम गर्थे। "एक पटक घुमाउन पनि लैजानुभएको थियो। पछि छोरीहरूलाई काठमाडौंमै लगेर पढाउने भन्नुहुन्थ्यो। अहिले श्रीमान् बितेपछि यहींको सरकारी स्कूल पढाउन पनि मलाई धौ–धौ भएको छ," रमिताले भनिन्, "घर बनाउन पनि सकिएको छैन। खेती गर्न जग्गा छैन, सबै किनेर खानुपर्छ। ठूलो समस्यामा छौं।"
रमिताकी जेठी छोरी नेपाल मावि धनौरामा कक्षा २ मा पढ्छिन्। कान्छी स्कूल जाने उमेरकी भइसकेकी छैनन्। उनी भन्छिन्, "यसअघि बाघले आक्रमण गरेको थाहा थिएन। बाघको आक्रमणले हाम्रो परिवार नै बर्बाद भयो। कसैले छोरीहरूलाई पढाउन सहयोग गरिदिए हुन्थ्यो।"
११ कात्तिक २०७७ मा बाघको आक्रमणबाट श्रीमान् र भाइ गुमाएकी बर्दियाको मधुवन नगरपालिका-३ धनौराकी रमिता चौधरी ।
दिनेश र रमेशले एक–अर्काका दिदी-बहिनी बिहे गरेका थिए। रमिताले श्रीमान् र भाइ गुमाए जस्तै त्यही घटनामा मधुवन-३ की पूजा थारुले पनि दाइ (दिनेश) र श्रीमान् (रमेश) गुमाइन्। "दादा (दिनेश)लाई बाघले आक्रमण गरेको थाहा पाएपछि हामी सबै उहाँलाई जिउँदै भेट्न सकिन्छ कि भनेर खोज्न गएका थियौं। खै कताबाट बाघ आएर श्रीमान्लाई झम्टियो। उहाँलाई पनि बचाउन सकेनौं," उनी भन्छिन्।
२५ वर्षमै उनी दुई छोरीकी आमा भइसकेकी छन्। जेठी छोरी कक्षा ३ र कान्छी १ मा पढ्छिन्। रमेश पनि घर बनाउने श्रमिक थिए। कमाउने श्रीमान्को मृत्युपछि घर परिवार चलाउन पूजाले खाता सामुदायिक वन समन्वय समितिले सञ्चालन गरेको आलु चिप्स बनाउने तालीम लिएकी थिइन्। तर, बन्दाबन्दीका कारण त्यसपछि सामान्य व्यवसाय पनि शुरू गर्न पाइनन्। "कहिलेकाहीं मजदूरी गर्न जान्छु। अहिले त त्यही पनि पाइएको छैन। जति नै समस्या भए पनि छोरीहरूलाई पढाउन मन छ," उनी भन्छिन्, "उनीहरूलाई कसरी हुर्काउने, कसरी पढाउने भनेर खुब चिन्ता लाग्छ। कसैले छोरीहरूलाई पढाउन सहयोग गरिदिए हुन्थ्यो।"
यी तीन वटै घटना बर्दियाको खाता जैविक मार्ग (करिडोर)मा भएका हुन्। यो करिडोरले बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोड्छ। यी दुई संरक्षित क्षेत्रका बाघ, हात्ती, गैंडा जस्ता ठूला तर लोपोन्मुख जनावर आवतजावत गर्ने मार्ग यही हो।
बर्दियामा जंगल क्षेत्र नजिकै रहेको मधुवन नगरपालिका-३ स्थित धनौरा ।
केही अगाडि बर्दियामा जंगली हात्तीको ठूलो झुण्ड देखिएका तस्वीरहरू सञ्चारमाध्यममा छाएका थिए। ती तस्वीर यो करिडोरको महत्त्व दर्शाउने दृष्टान्त हुन्। भारतबाट आएको हात्तीको झुण्ड यही करिडोर हुँदै आएकै बाटो भारत फर्किएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ भन्छन्, "अन्य साना वन्यजन्तु पनि प्रशस्तै आउजाउ गर्छन्, तर प्रमुख रूपमा बाघ, गैंडा र हात्तीहरूले करिडोर प्रयोग गरिरहेका छन्।"
विष्णुप्रसाद श्रेष्ठ, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज
सन् २०२१ को गणनामा बर्दियामा ३८ वटा गैंडा पाइएका छन्। त्यस्तै, त्यहाँ १२० वटा जति जंगली हात्ती भएको अनुमान गरिएको छ। कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीमा शुरूमा गैंडाको वासस्थान थिएन। अहिले भारतीय संरक्षणकर्मीहरूले त्यहाँ चार वटा गैंडा भेटेको आफूहरूलाई बताएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख रविन कडरियाले बताए।
"त्यसको अर्थ त्यहाँ नेपालबाटै गैंडाहरू पुगेका हुन्। कुनै जनावर आउजाउ गर्छन् भने कुनै उतै पनि बस्न सक्छन्। खाता करिडोरमा हामीले बाघका क्रियाकलाप अनुगमन गर्न स्वचालित क्यामेरा राखेका थियौं, तिनमा कम्तीमा पाँच वटा बाघ आउजाउ गरिरहेका पायौं," कडरियाले भने, "करिडोरले वन्यजन्तुलाई बाटो मात्रै उपलब्ध गराएको छैन, यता र उताका वन्यजन्तुबीचको सम्बन्धबाट नयाँ सन्तान जन्मने कारण जैविक रूपमा पनि विविधतापूर्ण हुन पाएको छ। संरक्षणका लागि यो ठूलो उपलब्धि हो।"
यसरी करिडोरले वन्यजन्तुका सन्तानमा अनुवांशिक ह्रास हुनबाट जोगाएको छ। जसले गर्दा वन्यजन्तुका भावी पुस्ता पनि प्रकृतिसँग जुध्दै बाँच्न सक्ने गुणहरू लिएर जन्मिनेछन्।
खाता करिडोरबाट गरिएको बाघको उद्धार । तस्वीर: राष्ट्रिय प्रकृति संरक्षण कोष
संरक्षणमा बिर्सिएको मानवीय पाटो
बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र भन्दा बाहिर पर्ने खाता करिडोर संरक्षित वनको रूपमा छ, जसको व्यवस्थापन डिभिजन वन कार्यालय बर्दियाले गर्दै आएको छ। स्थानीय समुदायले पनि खाता संरक्षण समिति गठन गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा जैविक मार्ग घोषणा गर्नसक्ने व्यवस्था छ। पुरानो वन ऐनमा संरक्षित वनका रूपमा घोषणा गर्नसक्ने व्यवस्था भए बमोजिम सन् २०१० मा खाता करिडोर घोषणा गरिएको थियो। यद्यपि नेपाली कानूनले करिडोरलाई छुट्टै रूपमा चिन्दैन।
करिडोरलाई पूर्व-पश्चिमको हुलाकी सडकले काटेको छ। जसले गर्दा वन्यजन्तुको उत्तर-दक्षिण आवागमनमा बाधा पुगेको छ। वन्यजन्तुको सघन आवतजावत हुने मधुवन-३ मा वन्यजन्तुका लागि ४५ मिटर चौडाइको आकाशे पुल प्रस्ताव गरिए पनि निर्माण कार्य शुरू गरिएको छैन।
खाता करिडोरलाई काटेको पूर्व-पश्चिम हुलाकी सडक ।
सन् २०१८ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ८७ वटा बाघ पाइएका थिए। त्यस्तै, भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीमा २८ वटा बाघ भेटिएका थिए। तीमध्ये कतिपय बाघ खाता करिडोर हुँदै नेपाल-भारत गरिरहन्छन्। संरक्षणको क्षेत्रमा यसरी योगदान गरेको यो करिडोरमा पछिल्लो समय बाघको आक्रमण बढेसँगै स्थानीयवासी असुरक्षित बनेका छन्। जसले अन्तत: बाघ जस्तो लोपोन्मुख वन्यजन्तुकै संरक्षणमा चुनौती थप्छ।
खाता करिडोरमा बाघका गतिविधिको अनुगमन । म्याप स्रोत: सन् २०१६ को अक्टोबरमा क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको लेखबाट ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार, सन् २०१९ यता बाँकेदेखि कैलालीसम्म बाघको आक्रमणबाट २३ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेमा दुई जना र कैलालीमा एक जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका हुन्। यस्तै, बर्दियाका २० जनामध्ये सात जना खाता करिडोरका हुन्। रेनुका, दिनेश र रमेश बाहेक पनि यो करिडोरमा पर्ने मधुवन नगरपालिकाका विशाल ओली, चित्रबहादुर केसी, नन्दकला थापा क्षेत्री र गंगा खत्री बुढालाई बाघले मारेको छ।
रविन कडरिया, प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया
"मानिस-बाघबीचको द्वन्द्वले संरक्षणमा चुनौती थपेको छ। यो चुनौती चोरी शिकार भन्दा बढी छ। त्यसैले संरक्षणका कार्यक्रमलाई यस्तो द्वन्द्व कम गर्न केन्द्रित गर्नुपर्छ," राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख कडरिया भन्छन्।
स्थानीय समुदाय घाँस-दाउरा तथा च्याउ, निगुरो जस्ता तरकारीका लागि समेत जंगलमा निर्भर छ। जीविकोपार्जनको वैकल्पिक उपाय नभएका संरक्षण क्षेत्रमा बस्ने मानिसलाई बाघ संरक्षणका नाममा जंगल जान रोक लगाउन मिल्दैन। त्यसैले बाघ संरक्षणका लागि वनमा रहेको स्थानीय समुदायको निर्भरतालाई वैकल्पिक उपायबाट सम्बोधन गर्नुपर्ने आवश्यकता छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषले केही समयअघि आयोजना गरेको महामारीमा बाघको संरक्षण विषयक वेबिनारमा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले मानिसको ज्यान गइरहेको विषयलाई बाघ संरक्षणका नाममा बेवास्ता गर्न नहुने बताएकी थिइन्।
"राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाइने 'फरेस्ट फुड' मा आदिवासी जनजातिको हक रहन्छ। उनीहरूलाई त्यसबाट वञ्चित गर्न पाइँदैन। त्यसैका लागि जंगल जाँदा दुई वर्षमा २३ जनाको ज्यान गइसक्यो। यसलाई सामान्य रूपमा लिन मिल्दैन," उनले भनेकी थिइन्।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ पनि वनमा निर्भर समुदायलाई प्रवेशमा रोक लगाउनु भन्दा स्थानीयदेखि संघीय सरकारसम्मले जीविकोपार्जनका लागि सहयोग गर्नुपर्ने बताउँछन्। "स्थानीय समुदायलाई सहभागी नगराएसम्म संरक्षण सफल हुँदैन," उनी भन्छन्।
सन् २०१९ यता बाँकेदेखि कैलालीसम्म बाघको आक्रमणबाट मानिसहरूले ज्यान गुमाएको स्थान । म्याप स्रोत: राष्ट्रिय प्रकृति संरक्षण कोष
नेपालमा सन् २००९ मा १२१ वटा बाघ पाइएकोमा २०१८ मा २३५ वटा पुगेका छन्। नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता एवम् लक्ष्य पूरा गर्दै छ। यससँगै चिन्ताको विषय, सन् २०१८ पछि बाघको आक्रमणबाट मानिसको मृत्यु हुने क्रम पनि तीव्र भएको छ। अन्यत्र पनि रहेको आक्रमणको यस्तो तीव्रता खाता करिडोरमा अझ बढी छ। पूरै बाँके-बर्दिया क्षेत्रमा भएको क्षतिको एक तिहाइ एउटै नगरपालिकाभित्र पर्ने यो करिडोरमा भएको छ।
खाता करिडोरमा सन् १९९३ देखि २०१३ को २० वर्षको अवधिमा बाघको आक्रमणबाट जम्मा तीन जनाको ज्यान गएको थियो। तर, सन् २०१९ यता मात्रै सात जनाको ज्यान गइसकेको छ। २०२१ फेब्रुअरीमा प्रकाशित जर्नल लेख कम्प्लेक्स कन्सिक्वेन्सिस् अफ कन्जरभेसन सक्सेस: इमर्जिङ ह्युमन-टाइगर कन्फ्लिक्ट इन नेपालमा संरक्षणकर्मीहरूले बर्दिया-बाँके कम्प्लेक्समा अहिलेको स्तरको द्वन्द्व जारी रह्यो र मानवीय क्षति कम गर्न समयमै ध्यान दिइएन भने बाघ संरक्षणमै ठूलो जोखिम निम्तिने चेतावनी दिएका छन्।
सन् २०१६ को अक्टोबरमा क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको लेख आर करिडोर गुड फर टाइगर बट ब्याड फर पिपुल ? एन एसेसमेन्ट अफ द खाता करिडोर इन लो ल्यान्ड नेपालमा भने लेखकहरूले करिडोर स्थानीयवासीका लागि समस्याग्रस्त नभएको निष्कर्ष दिएका थिए। यद्यपि, करिडोर क्षेत्रमा भइरहेका पछिल्ला आक्रमण र मानिसहरूको मृत्युले भने त्यस्तो निष्कर्षलाई चुनौती मात्रै दिंदैनन्, बाघ संरक्षणको मोडालिटीमै प्रशस्त प्रश्न उठाउँछन्। गत फागुनमा बुहारी गुमाएकी कौशिला सुनार भन्छिन्, "सरकारले बाघ जोगाउने मात्रै भनिरहेको छ, हामी कसरी बाँच्ने भन्ने कसैलाई मतलब नै छैन।"