भास्कराचार्यका पर्याय नयराज
जीवन पर्यन्त इतिहास, ज्योतिष शास्त्र आदि विषयको चिन्तनमा लागेका नयराज पन्तलाई भारतका प्रख्यात गणितज्ञ र ज्योतिषी भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गर्दा कम होला, बढी हुँदैन।
भारतका प्रसिद्ध गणितज्ञ र ज्योतिषी भास्कराचार्यको जन्म वि.सं. ११७१ मा भएको थियो। उनले जति पुस्तकहरू लेखे, आज पनि उत्तिकै महत्त्वपूर्ण छन्। यस्तो हुनुको मुख्य कारण उनले आत्मप्रचारका लागि मनगढन्ते कुरा लेखेनन्। कुनै पनि विषयवस्तुमा तथ्य र प्रमाण सहित सजिलो र रसिलो पाराले सबैले बुझ्ने गरी लेखे। गणित, ज्योतिष शास्त्र जस्तो कठिन विषय पनि मीठो काव्यात्मक शैलीमा लेखे।
उनले लेखेकामध्ये लीलावती, बीजगणित, सिद्धान्तशिरोमणि–गणिताध्याय, सिद्धान्तशिरोमणि–गोलाध्याय र करणकुतूहल लगायत पुस्तक विद्वान्हरूका माझ पूजित र उपयोगी छन्। लीलावतीलाई सिद्धान्तशिरोमणिकै प्रथम भाग, बीजगणितलाई दोस्रो भाग, गणिताध्यायलाई तेस्रो भाग र गोलाध्यायलाई चतुर्थ भाग मानिन्छ।
भास्कराचार्यले सिद्धान्तशिरोमणिको गणिताध्यायमा आफ्नो ग्रन्थको महत्ता दर्शाउने क्रममा आफूले लेखेका गहिरा कुरा राम्रोसँग बुझेर विद्वान्हरू सन्तुष्ट हुने र मूर्खहरू नबुझेर हाँसोमा उडाउनेछन् भनेर लेखेका छन्। अहिलेको परिस्थिति त्यस्तै देखिएको छ। नयराज पन्त सहितका विद्वान्हरू उनले भनेका कुरा बुझेर सन्तुष्ट हुन पुगे। यस विपरीत मूर्खहरूले कुरा नबुझ्दा यो ग्रन्थ त विदेशीबाट सिकेको विद्या हो भन्नसम्म भ्याए।
जसरी भास्कराचार्यले आफ्नो जीवन अत्यन्तै ऊर्जाशील भएर अध्ययन–अनुसन्धानमा खर्चिए, त्यसरी नै नयराज आजीवन इतिहासको खोज एवं ज्योतिषको अनुसन्धानमा निर्लिप्त भए।
ज्योतिर्विद् नयराज पन्तको जन्म २६ साउन १९७० मा काठमाडौंको महाबौद्धमा भएको थियो। उनी ज्योतिर्विद् मात्र नभएर इतिहासविद्, वैयाकरण, कवि थिए। भास्कराचार्यलाई नयराजले अत्यन्तै सम्मान गर्ने गरेको उनका अनुसन्धानमूलक लेखका साथै प्रस्तुत पद्यबाट प्रष्ट हुन्छः
बोल्ने जे हो विषय, उसको भावलाई लिएर
भित्री भित्री तहतक पुगी धीरताले गुनेर।
बोल्नू, शङ्का यदि हुन गए चूप लाग्नू भनेर
शिक्षा दिन्छन् निज चरितले भास्कराचार्य हेर।।
जसरी भास्कराचार्यले आफ्नो जीवन अत्यन्तै ऊर्जाशील भएर अध्ययन–अनुसन्धानमा खर्चिए, त्यसरी नै नयराज आजीवन इतिहासको खोज एवं ज्योतिषको अनुसन्धानमा निर्लिप्त भए। त्यसैले पनि नयराजले ईश्वरसँग धन, दौलत माग्नुभन्दा एउटा आलस्यरहित गतिशील जीवन माग्नु श्रेयस्कर सम्झिएको देखिन्छ। उनी भन्छन्–
आलस्यको दास भएर जीवन, त्यसै नजाओस् जिउँदै मरीकन।
यो यत्तिमै नाथ दया गर्यौ भने, यो दास तिम्रो छ कृतार्थ नै हुने।।
नयराजका इतिहास, काव्य र ज्योतिष सम्बन्धी अनुसन्धानमूलक लेख–रचनाहरू शारदा, पुरुषार्थ, जयतु संस्कृतम्, सिंहनाद, पूर्णिमा, प्रज्ञा, मर्यादा आदि पत्रपत्रिकामा प्रकाशन भएका थिए। आर्थिक अभावबाट गुज्रिंदा पनि उनले पूर्णिमा, विद्या–रक्षा जस्ता पत्रिका आफ्नै लगानीमा प्रकाशन गरे। जुन पत्रपत्रिका ज्योतिषीय एवं अन्य क्षेत्रका अनुसन्धाताहरूलाई महत्त्वपूर्ण मार्गदर्शकका रूपमा छन्।
उनले अहिलेका विद्यावारिधिका शोधपत्रहरू भन्दा सहस्रगुणा अनुसन्धानात्मक पुस्तकहरू प्रकाशन गरे। उनले लेखेका हिन्दू सिद्धान्तज्योतिष र ग्रीक सिद्धान्तज्योतिषको तुलना, प्राचीन गणित र नवीन गणितको तुलना, गोलबोध, लिच्छवि संवत्को निर्णय, पण्डित गोपाल पाण्डे र उनको घनमूल ल्याउने रीति, त्रिकोणमिति (ज्योत्पत्ति) आदि ग्रन्थहरू हेर्दा उनले एक विषयमा हैन, १२ भन्दा बढी विषयमा महाविद्यावारिधि गरेका छन्।
नयराजले रत्नदीप, सुमतितन्त्र, वृत्तशतकम् जस्ता ज्योतिषका महत्त्वपूर्ण पुस्तकहरूको सम्पादन र संशोधन गरी तिनीहरूको प्रतिसंस्कृत रूप तयार गरेका छन्। लेखकको नाम थाहा नभएको सुमतितन्त्र जस्तो महत्त्वपूर्ण ग्रन्थ नेपाली–भूमिसँग सम्बन्धित भएको कुरा, लक्ष्मीपतिको रत्नदीप र उनका धूपघटीका आदि यन्त्र, पण्डित गोपाल पाण्डेको गणितीय खोज आदि पत्ता लगाई सर्वसाधारणमाझ ल्याउने काम पनि उनैले गरे। त्यस्तै, सिद्धान्तशिरोमणि एवं सर्वानन्दकरण जस्ता ज्योतिषीय ग्रन्थहरूका विभिन्न ठाउँमा गणितीय संशोधनको थालनी पनि उनीबाटै भयो।
नयराजले रत्नदीप, सुमतितन्त्र, वृत्तशतकम् जस्ता ज्योतिषका महत्त्वपूर्ण पुस्तकहरूको सम्पादन र संशोधन गरी तिनीहरूको प्रतिसंस्कृत रूप तयार गरेका छन्। लेखकको नाम थाहा नभएको सुमतितन्त्र जस्तो महत्त्वपूर्ण ग्रन्थ नेपाली–भूमिसँग सम्बन्धित भएको कुरा, लक्ष्मीपतिको रत्नदीप र उनका धूपघटीका आदि यन्त्र, पण्डित गोपाल पाण्डेको गणितीय खोज आदि पत्ता लगाई सर्वसाधारणमाझ ल्याउने काम पनि उनैले गरे।
ग्रह, नक्षत्र, ताराहरूको अवस्थिति जनाउने प्राचीन गोलयन्त्रहरूको निर्माण गराई तिनीहरूका माध्यमले सिद्धान्तज्योतिषको अध्ययन–अध्यापन गराउने पहिलो श्रेय पनि नेपालका सन्दर्भमा नयराजलाई नै जान्छ। उनले लेखेका सूर्यग्रहणका कारिका, चलनकलनस्य कश्चनांशा, शुल्बसूत्रानुगत रेखागणित आदिमा प्रयोग भएको संस्कृत काव्यशैली त भास्कराचार्यकै बराबर छ।
संस्कृत व्याकरण नपढी शास्त्रको अर्थ गर्न नसकिने भएकाले पहिले व्याकरण पढेर मात्र ज्योतिषीय ग्रन्थको अध्ययनमा लाग्नुपर्ने भास्कराचार्यको उपदेशलाई नयराजले पनि सदुपयोग गरेको देखिन्छ। प्रख्यात वैयाकरणहरूले गरेका गल्तीलाई समेत उनले व्याकरण–संशोधन नामको पत्रिका मार्फत सच्याउने काम गरेका छन्।
प्राच्य र पाश्चात्य गणितज्योतिषको तुलनात्मक अध्ययन सजिलो होस् भन्ने उद्देश्यले रेखागणित, दीर्घवृत्तलक्षणम्, त्रिकोणमिति, चलनकलनम् आदि आधुनिक सिद्धान्तहरूको संस्कृत भाषामा पद्यात्मक अनुवाद गर्ने काम पनि नयराजले गरे। यिनको अध्ययनले आधुनिक रेखागणित हाम्रै शुल्बसूत्रहरूको विस्तृत व्याख्या एवं त्रिकोणमिति ज्योत्पत्तिकै विस्तृत रूप रहेको र चलनकलन जस्तो विषयमा भास्कराचार्यकै देन रहेछ भनेर अनुसन्धाताहरूलाई जानकारी भयो।
त्यस्तै, भारतमा सुधाकर जस्ता विद्वान्ले पनि थीबोको पछि लागेर ‘सिद्धान्तज्योतिष त हिन्दूहरूले ग्रीकबाट सुटुक्क सारेर ल्याएका हुन्, जसलाई उनीहरूले ईश्वरको कृपाका रूपमा व्याख्या गर्छन्। यो सिद्धान्त उनीहरूको मौलिक सिद्धान्त होइन’ भनेका थिए। त्यस कुराको नयराज पन्तले सप्रमाण खण्डन गरी यस्तो आरोपबाट बचाएका थिए। उनी जीवित रहँदासम्म यो कुराको प्रतिवाद गर्ने कसैले आँट गरेनन्। उनी दिवंगत भएपछि सिद्धान्तज्योतिष हामी हिन्दूहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्गज्योतिष हो भनेर प्रचारप्रसार गर्ने विद्वान्हरूको एउटा समूह नै छ। संस्कृत भाषा एवं सनातन वैदिक धर्म र संस्कृतिको रक्षार्थ लागिरहेका उनीहरूको विद्वत्तामा यहाँनेर प्रश्न उठाइएको होइन। तर, सिद्धान्तज्योतिष सम्बन्धी उनीहरूको धारणा गलत छ।
जीवन पर्यन्त संस्कृत भाषा, ज्योतिष, इतिहास आदि विषयको चिन्तनमा लागेका नयराज पन्तलाई भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गरिएको हो। भास्कराचार्यका ग्रन्थ ज्योतिष सम्बन्धी मात्रै देखिन्छन्, तर नयराजका लेख एवं ग्रन्थ विभिन्न विषयका छन्। उनी प्रत्येक क्षेत्रमा सफल देखिन्छन्। त्यसैले उनलाई भास्कराचार्यका पर्यायका रूपमा मात्र चित्रण गर्नु कम होला, बढी हुन्न।
भारतमा धेरै समयदेखि चलिरहेको सायनवादी भनाउँदाहरूको कोलाहल नेपालमा पनि भित्रिएको थियो। त्यस समय ‘सायनको विरोधी निरयण नभएको र सायन र निरयण दुवै पद्धति हामीले अँगालेको’ प्रमाण सहित विभिन्न पत्रपत्रिकामा छपाएका थिए। यसले गर्दा विषयवस्तु नै नबुझी सायन–सायन भन्ने मानिसहरू त्यो समयमा पाखा लागेका थिए। अहिले पनि त्यस्ता कुरा सञ्चारमाध्यममा सुनिंदै आएकाले ती विद्वान्हरूले पहिले संस्कृत व्याकरणको गहिरो अध्ययन गरी भास्कराचार्य एवं नयराजका कृतिहरूको अध्ययन गरून्।
यसरी जीवन पर्यन्त संस्कृत भाषा, ज्योतिष, इतिहास आदि विषयको चिन्तनमा लागेका नयराज पन्तलाई भास्कराचार्यकै पर्यायका रूपमा चित्रण गरिएको हो। भास्कराचार्यका ग्रन्थ ज्योतिष सम्बन्धी मात्रै देखिन्छन्, तर नयराजका लेख एवं ग्रन्थ विभिन्न विषयका छन्। उनी प्रत्येक क्षेत्रमा सफल देखिन्छन्। त्यसैले उनलाई भास्कराचार्यका पर्यायका रूपमा मात्र चित्रण गर्नु कम होला, बढी हुन्न।
संस्कृत वाङ्मयभित्रका विषयवस्तुको अध्ययन–अनुसन्धानका लागि खोलिएको नेपाल संस्कृत विश्वविद्यालय जस्तो संस्थाले पनि नयराजलाई चिन्न सकेको छैन। पाठ्यक्रम परिमार्जनका नाममा रामप्रसादलाई प्रसादराम बनाएर आफ्नालाई भत्ता दिलाउने भन्दा बढी केही काम हुन सकेको छैन। त्यसैले नयराजका रेखागणित, त्रिकोणमिति, सूर्यग्रहण, चलनकलन आदि रचनाहरू समेटेर पाठ्यक्रम निर्माण गर्ने सोच पदाधिकारीलाई छिटोभन्दा छिटो आओस्। उनले लेखेका इतिहास सम्बन्धी लेख–रचना पनि सम्बन्धित विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा राखून्।
(खनाल नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन्।)