'त्यो वेला हिंडाइ नै विश्वविद्यालय थियो’
'बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। खानलाउन पुग्नेले बास बस्न दिन्थे।'
लेखक एवं पत्रकार भैरव रिसालको ९४औं जन्मदिनको अवसरमा हिमालमिडियाले ‘घुमफिर संवाद’ आयोजना गर्याे। भर्चुअल संवादमा पत्रकार कनकमणि दीक्षित र जूमबाट जोडिएका देश तथा विदेशका सहभागीले राखेका घुमफिर सम्बन्धी जिज्ञासाबारे रिसालले अनुभव सुनाएका थिए। रिसालसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईं त काठको बासिन्दा होइन?
हो, म काठको हुँ। खाँटी काँठे।
यो शब्दले किन नकारात्मक सन्देश दिन्छ?
काठे भनेपछि अलिकति आफ्नोमै केन्द्रित हुने जनाउँदो रहेछ। हुन पनि धारा, पानी जे छ आफू मात्रै उपभोग गर्ने बानी हुँदो रहेछ। तल आफ्नो घर छ, माथि छोरीलाई पानी नपुगे पनि आफू मात्रै प्रयोग गर्ने बानी हुँदो रहेछ। यो पहिलेको कुरा, अहिले त छैन। त्यसैले आफूमा मात्रै केन्द्रित हुने भएकाले नकारात्मक बनेको हो कि।
तपाईं भक्तपुरको दधिकोटमा जन्मिनुभयो। काठे भन्नाले शहरभन्दा बाहिर बस्ने पहाडे, पर्वतेलाई भनिन्थ्यो, होइन?
होइन। नेवार पनि हुन्छन्, तामाङ पनि हुन्छन्। धेरै थरी हुन्छन्। अलि छुचो चाहिँ बाहुन–क्षेत्री हुँदा रहेछन्।
तपाईंको घुमाइको शुरूआत कसरी भयो?
मान्छे घरबाट निस्कने तीन-चार थरी बहाना हुँदा रहेछन्, जात्रा, पर्व, मेला लगायत। त्यसमै एउटा इन्द्रजात्रा हो। म पहिलो पटक इन्द्रजात्रा हेर्न काठमाडौं आएको थिएँ। मेरो फुपू इन्द्रचोकमा बस्नुहुन्थ्यो।
मेरा बुबाका जेठा बुबाले आफ्नोभन्दा तलको जातकी केटीसँग बिहे गर्नुभएछ। उहाँबाट जन्मिएकी छोरी राम्री रहिछन्। असनको जोशीसँग बिहे भएछ। उहाँलाई हामी शहरकी दिदी भन्थ्यौं।
शहरकी दिदी हाम्रो घर आउनुभयो भने लुगा धुने, डस्नाको खोल धुने, तकियाको खोल धुने, खान दिने चलन हुन्थ्यो। म पहिलो पटक १९९७ सालमा इन्द्रजात्रा हेर्न काठमाडौं आएको थिएँ। उनै इन्द्रचोकमा शहरकी दिदीको घरमा बसेको थिएँ। यसरी भ्रमण शुरू भएको रहेछ।
अनि काठमाडौंका अन्य ठाउँ पनि जानुभयो होला?
पूर्णिमाको दिन बनेपाको धनेश्वरमा बत्ती बाल्ने चलन थियो। म पुरेतको छोरा भएकाले त्यहाँ जान पाउँथें। इन्द्रजात्रापछि दोस्रो मेलामा धनेश्वर गएँ। धनेश्वर जाँदा जुत्ता पनि थिएन। मंसीरको पूर्णिमा हो, अलिअलि चिसो भइसकेको थियो। नाङ्गो खुट्टाले सडकमा हिंड्नुपरे पनि दंग थिएँ।
अमेरिका जाँदा मिसिसिपी नदीको सिरान तास्का पुग्यौं। एउटा ढुंगाबाट अर्को गर्दै मिसिसिपी तर्यौं। सानो छँदाको धनेश्वरको यात्रा र पछि मिसिसिपी यात्रा उस्ताउस्तै लाग्यो।
पहिले उपत्यकाबाट बाहिर जान र आउन राहदानी चाहिन्थ्यो भनिन्छ। के कस्तो थियो?
राहदानी नलिई बाहिर जान पाइँदैनथ्यो। उपत्यकाबाट बाहिर जाँदा चिसापानी गढीमा राहदानी देखाउनुपर्थ्यो।
२००९ सालमा भीमफेदीमा आलु आन्दोलन भयो। त्यसवेलाको सरकारले दुईतिर भन्सार लियो। यसको भीमफेदीका साहुले विरोध गरे। हडताल गरेपछि सरकारले मान्छे पक्राउ पनि गर्यो।
त्यो वेला चार वटा विद्यार्थी संगठन थिए। हामी आन्दोलनको नेतृत्व गर्न काठमाडौंबाट भीमफेदी गएका थियौं। एउटा विद्यार्थी संगठनबाट म पनि थिएँ। राहदानी लिन भ्याइएन।
हाम्रो चिनजानका दिवाकरविक्रमको बुवा ऋद्धिविक्रम त्यहाँका बडाहाकिम हुनुहुन्थ्यो। हामीले उहाँलाई ढाँट्यौं। कोही कलकत्ता, कोही बनारस जान लागेको भन्यौं। बुढाले बास बस्न दिए, खान दिए, विदेशीले पाउने पातलो डस्ना ओछ्याउन दिए।
टेलिफोनबाट पनि राहदानी बन्दो रहेछ। भोलिपल्ट हाम्रो राहदानी आयो। त्यसपछि हामीलाई छोडे, हामी गयौं। अनि पर्सि पल्ट जुलूस लिएर आयौं। जुलूसमा देखेपछि बुढाले ‘फटाहा हो, मलाई ढाँटेर, मेरै अतिथि भएर गयौ’ भने।
राहदानी भएन भने चिसापानी गढीबाट बाहिर जान पाइँदैनथ्यो। अन्य ठाउँमा राहदानीको चलन भएको मलाई थाहा छैन।
चिसापानी गढी बाहेक बाहिर जाने बाटो अन्य कहाँ कहाँ थियो?
चार भञ्ज्याङ भनिन्छ नि, हो त्यो बाहिर जाने बाटो हो। साँगा भञ्ज्याङ, बाँढ भञ्ज्याङ (थानकोट), पाँचमने (पश्चिम जानेतिर) र फर्पिङ भञ्ज्याङ।
२००४ सालमा जयतु संस्कृतम् आन्दोलन भयो। संस्कृतका विद्यार्थीले जुलूस निकाले, त्यो पहिलो जुलूस हो। त्यो जुलूसमा सहभागी कति विद्यार्थीलाई राणाले चार भञ्ज्याङ कटाए। चार भञ्ज्याङ कटाएपछि सुरक्षित हुँदो रहेछ। राणाले पनि राज्यको मूल हिस्सा यही चार भञ्ज्याङ भित्रलाई मानेका रहेछन्।
अहिले त जताततै बाटो बनेर चार भञ्ज्याङको महत्त्व कम भयो। ती भञ्ज्याङको यात्रा सम्झनुहुन्छ?
काठमाडौंबाट थानकोट भएर चित्लाङ गइन्थ्यो। त्यसपछि तलको कुलेखानी, चिसापानी भएर भीमफेदी जानुपर्थ्यो। अहिले त ठूलो तलाउ छ, त्यति वेला डुंगामा हिंड्नुपर्थ्यो। यो बाटो तीन-चार पटक पैदल गएको छु।
कुलेखानीमा त चिसो पानी, माछा पकाएर दिन्थे। माछा पकाउनेले धोती फेरेको हुँदैनथ्यो, खाने मान्छे धोती फेरेर पिर्कामा बसेर खाने गर्थे।
तपाईं त चार भञ्ज्याङ पारी विभिन्न ठाउँ पुग्नुभएको छ। गाउँ छिर्यो, चिनेको मान्छे कोही हुँदैन। बास कसरी माग्ने गरिन्थ्यो?
बासको दुई-तीन थरी पद्धति थियो। एउटा पाँचमाने भञ्ज्याङबाट पश्चिम जानेले बास पाउँथ्यो। पश्चिमतिरको घरमा खाना खायो भने एक रुपैयाँ २५ पैसा तिर्नुपर्थ्यो। दाल, भात, तरकारी हुन्थ्यो।
अनि एउटा गुन्द्री दिन्थे, तकियाका लागि पिर्का दिन्थे। गुन्द्रीमुनि पिर्का ओछ्यायो र तकिया बनायो। ओढ्ने आफैंले बोक्नुपर्थ्यो। बाटो किनार, मान्छे आतेजाते हुने ठाउँमा यसरी राम्रै बास पाइन्थ्यो।
एक पटक म धादिङबेंसी जान लागेको थिएँ। कुन्नि के झोक चल्यो, सडकतिर नगएर गाउँतिर गएँ। गाउँको एक पसलमा चिया खान लागेको थिएँ, विद्यार्थी आएँ। एक जना ‘दलित’ विद्यार्थी रहेछ, मैले उसलाई एउटा डटपेन दिएँ। कति खुशी भयो ऊ।
त्यहाँ अबेर भयो। मैले ‘कहाँ बस्ने’ भनेपछि एउटाले आफ्नोमा भन्छ, अर्कोले आफ्नोमा भन्छ। उनीहरूबीच तर्क-वितर्क भयो। एउटाले भन्यो- तँकहाँ दुहुनो छैन। भैंसी छैन। दूध खान दिन के गर्छस्? त्यसपछि उनीहरूले नै दुहुनो भैंसी भएको घरमा बास बस्ने निर्क्योल गरे।
माओवादी विद्रोह नहुँदासम्म बास बस्न समस्या थिएन। त्यसपछि बास बस्न समस्या भएको हो।
बास बस्न दिनेले आदरसाथ राख्थे, माया गर्थे, स्नेह गर्थे। अतिथि देवो भवः अर्थात् पाहुनालाई देवता ठान्ने चलन हुन्थ्यो। खानलाउन पुग्नेले बास बस्न दिन्थे।
मलाई सम्झना छ, धादिङबेंसी जाँदा मीठो खानेकुरा खानलाई एउटा जुक्ति निकालेको थिएँ। पछि अन्य ठाउँमा पनि त्यस्तै गरें। जुन घरमा बास बस्यो, त्यो घरको नानीलाई ‘ओहो, कति राम्रो रहेछ, राम्रो पढ्यो भने ठूलो हुन्छ’ भन्यो। अनि बाउआमा दङ्ग हुन्थे। राम्रो खाना दिन्थे। म त्यो अड्कल गर्थें।
एउटा नचिनेको मान्छेले अर्को मान्छेलाई भेट्नासाथ परिचय माग्थे। त्यो जुगै अर्कै थियो, अहिले त्यो जुग छैन।
अनि म काठमाडौंबाट पाल्पासम्म पहाडको बाटो हिंडेर गएको छु। कल्पना गर्नुस् कस्तो होला हगि? २०११ सालतिर हो, त्यो अर्कै रमाइलो थियो।
पाल्पा गएको भन्नुभयो। राणाले आफूलाई चित्त नबुझेको सन्तानलाई पाल्पा पठाउने चलन थियो। त्यो ऐतिहासिक बाटो नै थियो होला। सम्झिनुहुन्छ, कुन बाटो जानुभयो?
काठमाडौंबाट पाँचमाने, रानीपौवा हुँदै त्रिशूली, आरुघाट भएर गयौं। त्यसपछि गोरखा सदरमुकाम भएर नारायणकाजी श्रेष्ठको गाउँ जौबारी गयौं। मूलबाटो छोडेर एकदम माथि जानुपर्छ।
त्यसपछि राजेश्वजीहरूको गाउँ लिगलिग गयौं। त्यसपछि मथुरा श्रेष्ठको गाउँबन्दीपुर त्यसपछि लेखनाथ अधिकारी–श्रीकान्त अधिकारी, पृथ्बी सुब्बा गुरुङहरूको गाउँ लमजुङ हुँदै पोखरा पुग्यौं। त्यहाँ विश्वेश्वरप्रसाद कोइराला पुग्नुभएको थियो। संगठन गर्न जानुभएको रहेछ। विमानस्थलमा उहाँसँग भेट भयो।
उहाँसँग छात्रसंघका विद्यार्थीले खर्च मागेछन्। भैरव र पूर्णप्रताप हिंड्न हुने, तिमीहरू नहुने भनेर गाली पनि गर्नुभएछ। त्यो खालको वेला थियो। हिंड्ने संस्कार थियो। त्यो वेला हिंडाइ भनेको विश्वविद्यालय नै थियो। निरक्षर मान्छेले पनि हिंडेर ज्ञान बटुल्थे।
पोखरा पुगेपछि त्योभन्दा उताको बाटो सम्झिनुहुन्छ?
सम्झन्छु, पोखराबाट पाल्पा जाँदा नुवाकोट भन्ने ठाउँ थियो, ४ नम्बर पनि भन्थे। अनि पुतलीखेत, माथि डाँडामा थियो। अनि हामी काम्दी पुल तर्यौं। त्यहाँबाट पाल्पा भएर भोलि पल्ट बुटवल झर्यौं। त्यो वेला अर्कै थियो।
नयाँ मान्छे भेट हुँदा तपाईं ‘के मा’ भन्थे। त्यो जात सोधेको हो?
हो। बसेको ठाउँ, थर, जात, नाउँ। सानो प्रश्न, एउटा जस्तो तर, खोज्दा तीन–चार वटा उत्तर आउँथे। कस्तो हुनुहुन्छ भनेपछि सबै थोक बताउनुपर्थ्यो।
पश्चिमतिर हिंडाइको केही सम्झना छ?
म जुम्ला, हुम्ला गएको हुँ। राससमा काम गर्थें। जुम्ला, हुम्लामा छानो नभएको घर हुन्छ भन्ने सुनें। उत्सुकता जाग्यो। अफिसबाट जान मिलेन, अनि बिदा लिएर जुम्ला गएँ।
डोरबहादुर विष्टजी दुर्गम क्षेत्र हेर्ने कार्यालयमा हुनुहुन्थ्यो। उहाँलाई ‘लौ न मलाई जुम्ला लगिदिनुस्’ भने। उहाँले टिकट किनिदिनुभयो। काठमाडौंबाट ‘पिलाटस पोर्टर’ जहाज जुम्ला जान्थ्यो।
जुम्लामा चिनजानकै मान्छे बद्रीविक्रम अञ्चलाधीश हुनुहुन्थ्यो। त्यहाँबाट हुम्ला जाने एक जना मान्छे खोजिदिनुभयो। यसरी मैले जुम्लाबाट हुम्ला तथा हुम्लाबाट जुम्ला हिंडेर आवतजावत गरेको छु।
~~~ ~~~ ~~~
(भर्चुअल संवादमा जोडिएका दर्शकले पनि जिज्ञासा राखेका थिए। उनीहरूका प्रश्न र रिसालका उत्तर।)
उमेश पौडेल : पूर्व २ नम्बरको कुरा गरौं न। यो चलन राणाकालको होला, तपाईंलाई याद छ?
त्यति वेलाको ४ नम्बर भनेको भोजपुर, ६ नम्बर भनेको धनकुटाभन्दा माथि, ५ नम्बरबारे थाहा छैन। मैले नहिंडेको ओखलढुंगा हो। रुम्जाटारमा हवाईजहाज जान्थ्यो, म हेलिकप्टरबाट गएको छु। पूर्वतिर अरू सबै ठाउँ घुमेको छु।
रामेछाप सदरमुकाम गएको छु, पहिलेको भँगेरीडाँडा। पुष्पलालको जन्मथलो हो। मेची अञ्चल जम्मै घुमेको छु। कोशी अञ्चल पनि लगभग जम्मै घुमेको छु।
कनकमणि दीक्षित : तपाईंले त सबै जिल्ला घुम्नुभएको छ?
हो, ७७ जिल्ला टेकेको छु। त्यसमध्ये तीन-चार जिल्ला टेकेको छु, अरू सबै जिल्ला घुमेको छु।
तपाईंको पत्रकारितालाई घुमन्ते विद्याले कतिको सघायो?
धेरै सघायो, पत्रकारिताले धेरै घुमायो। पहिले आफैं घुमें, पछि नेपाल वातावरण पत्रकार समूहका तर्फबाट घुमें। मलाई वास्तवमा भैरव रिसाल बनाएको त पत्रकारिताले हो है।
पत्रकारितालाई टेवा दिने नयाँ-नयाँ खोज, नयाँ-नयाँ अनुभवले न हो। त्यो पेश गर्न घुमाइले नै दियो?
हो त नि। मेरो बानी थाहा नपाएको ठाउँ जान खोज्ने भयो। थाहा नपाएको सोध्ने बानी भयो। सोध्यो भने जो मान्छे पनि खुशी हुन्थे। जोसुकै मान्छेलाई पनि ‘यो के हो’ भनेर सोध्यो भने बताउन पाउँदा खुशी हुने रहेछ। त्यो मनोविज्ञान हुने रहेछ, ‘म त जान्ने रहेछु’ भनेर मान्छे दंग हुँदो रहेछ। सुकिलो लुगा लगाएको मान्छेले सोध्यो भनेर त्यसको अर्कै माने हुँदो रहेछ।
अहिले त मान्छे मोटरबाट हिंड्छ। मोटर आएपछि त घुमन्ते भन्ने सकियो।
मोटर भएपछि त दूरदूर जान पाइन्छ भन्छन्। मोटरमा झ्यालबाट हेर्नु र पैदल हिंडेर हेर्नुमा केही फरक छ?
फरक त छ, तर मान्छेको स्वाभाव अर्कै हुँदो रहेछ। मेरो गाउँ लुभु, त्यहीं पढें। मेरो गाउँको दधिकोट आउने बाटोमा मोटरमा आइरहेको थिएँ। मोटरले धुलो उडाइरहेको थियो। डिलमा बसेको मान्छे मुसुक्क हाँसेको छ।
किन भनेको त उसको बाटोमा मोटर हिंड्यो। उसकै जग्गामा बाटो बनाएका छौं, धुलो खाइरहेको छ, हामी मोटरमा छौं, तर उही मान्छे खुशी हुन्छ। विकास भन्या त्यस्तो हुँदो रहेछ।
हामीले पैदल हिंड्दाको मिठास त गुमायौं?
त्यो चरण त गयो। किताबमा छापिएको पढ्यो। त्यो कति सत्य हुन्छ, त्यो अर्कै विवादको विषय छ। नेपाल चिन्ने र बुझ्ने जुन हिंडुवा विद्या छ, त्यो त हरायो अब।
अहिले त झन् स्थानीय सरकारले गाउँगाउँ मोटर बाटो पुर्याएको छ। अब त हिंड्ने चलन सकियो?
कमलमणिजी काठमाडौंबाट तेह्रथुमको संक्रान्ति डाँडा जानुभयो, मदनधारा र अस्पतालको शिलान्यास गर्न। फर्केपछि मैले कस्तो लाग्यो भनेर सोधें। उहाँले ‘नेपालमा केही भएको छैन भन्नेहरूलाई तेह्रथुमको संक्रान्ति डाँडा पठाए हुन्छ’ भन्नुभयो।
धेरै वर्षपछि मोटरमा जानुभयो। उहाँलाई त्यो धुनधान विकास भयो। तर, अहिले जन्मेको केटाकेटीलाई त विकास पुगेको छैन। त्यसले विकास भनेको सापेक्षित हुँदो रहेछ।
ओम सिटौला : आठराई संक्रान्तिमा तपाईं पुग्नुभएको छ कि छैन?
म गएको त याद भएन। तर, भानुभक्त सिटौला भन्ने मान्छेले संक्रान्ति डाँडालाई विकास गर्न साह्रै मरिहत्ते गर्नुभएको थियो।
धुव्र सिम्खडा : पाँचमाने र मुड्खु भञ्ज्याङ एउटै हो कि फरक?
एउटै हो।
तीर्थ कोइराला : बास बस्ने निर्धारित ठाउँ हुन्थे कि जहाँ पुग्यो त्यहीं बास बस्ने गरिन्थ्यो? जात, थर बुझेर दिन्थ्यो कि? बास खोज्न कतिको सजिलो हुन्थ्यो?
पश्चिम जाँदा रानीपौवा, पाँचमानेमा पैसा दिएर बास बस्ने ठाउँ थिए। धेरै चल्तीको ठाउँमा पैसा तिरेर बास बस्न पाइन्थ्यो।
पूर्वतिर त्यस्ता ठाउँ थिएनन्। सित्तै खान पाइने, सित्तै सुत्न पाइने हुन्थ्यो। म पूर्वतिर खोटाङमा ओर्लेर भोजपुर गएको छु।
पूर्ण पी राई : दुई दशकअघि कतै जाँदा पनि बन्दोबस्ती सामान बोक्नुपर्थ्यो । तपाईंले हिंड्दा के थियो?
त्यति वेला खानेकुरा बोकेर जानुपर्दैनथ्यो। जहाँ बस्यो, त्यहीं पाइन्थ्यो। खानलाउन पुग्ने घर खोज्यो, त्यहीं बस्यो। दाँती मिल्या घरमा बस्दा खानेकुरा पाइन्थ्यो।
तर, महिलालाई धेरै दुःख हुन्थ्यो। हामी सुत्नुभन्दा अगाडि पनि उनीहरू काम गरिरहेका हुन्थे, बिहान हामी उठ्नुभन्दा अगाडि ढिकी कुटिराखेका हुन्थे। दिउँसो कपडा बुन्नुपर्ने। पूर्वतिर पनि महिलालाई त साह्रै दुःख थियो।
संगीता लामा : मेरो मामाघर पूर्व १ नम्बर भन्थे। म कहिल्यै गएकी छैन। पूर्व १ नम्बर घुम्न जाँदा कस्तो थियो? त्यहाँका तामाङहरूको अवस्था कस्तो थियो?
तामाङ गाउँमा हाकिम त तामाङै हुन्थे। तैपनि तामाङ भनेको दुःखमा पसेका। धेरै कष्ट गर्नुपर्ने, अनेक दुःख। डाँडाकाँडामा बस्ने, धान हुने ठाउँमा कम बस्ने। मकै हुने ठाउँमा मात्रै बस्ने हुँदो रहेछ।
एक पटक चित्लाङमा बास बसेको वेला घट्ट आएका मान्छेलाई भात खान दिएनन्। किन नदिएको भन्दा ‘धेरै भात खान्छ, तपाईंहरू तीन जनाले खाने भात एउटैले खान्छ’ भने। हाम्रो समाजका विकृति, विसंगति, असंगति, असमानताले जनजीवनमा प्रभाव पार्थ्यो नै।
सुदर्शन सुवेदी : खाना खाँदा धोती–कछाड फेर्नुपर्ने चलन थियो। तपाईंले भोग्नुपर्यो?
मैले भोगिनँ। टुरमा जाँदा धोती फेरेर खाइनँ। कसले पकाएको छ, धोती फेरेर के खाने? मैले धोती नफेरेरै खाएँ।
हाम्रा छविलाल पोखरेल पण्डित तीर्थ जानुभएको थियो। फर्केर आउँदा धरानमा बस्नुभएछ। उहाँ धोती फेरेर खान बस्नुभएछ, बाँड्ने मान्छेले त धोती फेरेको रहेनछ। अनि अर्कोले ‘के गरेको गुरु, तपाईंले धोती फेर्नुभएको छ, तपाईंलाई खान दिने मान्छेले फेरेको छैन’ भनेर सोधेछ। उहाँले भन्नुभएछ, ‘उसको कर्तव्य उसले गर्यो, मेरो कर्तव्य मैले गरें।’
केदार शर्मा : अधिकांश नेपालीको साझा विशेषता यो हो भनेर तोक्न मिल्छ?
अर्कालाई दुःख नदिने, सकेसम्म सित्तै नखाने नेपालीको विशेषता हो। घरमा आएको मान्छेलाई खाना खान दिने संस्कार हो। खासगरी कर्णाली, सुदूरपश्चिममा। गाउँबाट खानेकुरा उठायो, अनि पाहुनालाई खुवाउने चलन रहेछ।
म २०१८ सालमा जनगणना गर्न सुदूरपश्चिम जाँदा त्यो थिति तोडें। खाना खाएको ठाउँमा पैसा दिएँ। पैसा लिनलाई असजिलो मान्थे।
सुदूरपश्चिममा बास बस्न गाह्रो थियो। बास दिन मान्दैनथे। बास बस्न दिएपछि खाना दिनुपर्छ भनेर। किनकि, खाना पाउनै गाह्रो थियो। कहीं त हामी जबर्जस्ती पनि बास बस्थ्यौं।
कनकमणि दीक्षित : पहाडदेखि तराई झरेको सम्झना छ?
पहाडबाट हिंडेर तराई झरेको त छु। तर, हामी तराईको संस्कार, चालचलन बुझ्दा रहेनछौं। संस्कार, संस्कृति, चालचलन नबुझेपछि समस्या त हुने नै भयो। त्यहाँको भाषा अलिअलि बोल्यो भने मान्छेले धेरै माया गर्छन्।
पूर्व-पश्चिम राजमार्ग नबन्दासम्म त जता जाँदा पनि हिन्दुस्तान भएरै जानुपर्थ्यो। २०११ सालमा विद्यार्थीलाई संगठित गर्न जनकपुर, महोत्तरी गएको छु। त्यसपछि राससमा हुँदा प्रधानमन्त्रीहरूसँग जाँदा पनि जताततै धुलैधुलो, धेरै कठिन थियो।
कालापानी क्षेत्रको भ्रमणबारे पनि बताइदिनुस्?
२०१४ सालमा राजा महेन्द्रले सुदूरपश्चिमको भ्रमण गरे। त्यो वेला घोडे भ्रमण हुन्थ्यो, हेलिकप्टर थिएन। त्यो एउटा भ्रमणमा ११-१२ सयको पल्टन थियो। जहाँ जाँदा पनि झिलिमिली हुन्थ्यो। जेनेरेटर बोकेर लगिन्थ्यो, राजा बास बस्ने घरमा बत्ती बल्थ्यो।
त्यही देखेर मैले २०१८ सालको जनगणनामा सुदूरपश्चिम जान्छु भनें। डोटी, बैतडी (दार्चुला बैतडीमै थियो), डडेल्धुरा र बझाङ हेर्ने जिम्मा थियो। त्यही सिलसिलामा दार्चुला पुगेको हुँ।
दार्चुलाको दब्य्राङ, गुञ्जी, व्यास गएको छु। त्यति वेला कालापानी गइएन, बस्ती थिएन। जहाँ जनता बस्थे, त्यहाँ जनगणना हुने हो। त्यस कारण कालापानी, लिपुलेक, लिम्पियाधुराभन्दा तल्ला भागमा गएर वातावरण बनाएको छु।
केशव दाहाल : त्यो वेला भान्साको बनोट कस्तो थियो? पूर्वी पहाडका बाहुन, क्षेत्री, राई लिम्बूको भान्साको फरकपनबारे केही सुन्न पाए हुन्थ्यो?
जेठोबाठो नै घरको मूली हुन्थ्यो। प्रायः पहिले उसले खान्थ्यो, केटाकेटी बाहेक। सबभन्दा गाह्रो बुहारीहरूलाई हुन्थ्यो। सबैभन्दा पछाडि उनीहरूले खान्थे। बिहे नगरेकी छोरीले भान्सामा छुन नहुने चलन थियो।
चुलोमा बूढाबूढी, घरमूली बस्थे। अँगेनामा आगो ताप्थे। साता–आठ वटा चौका हुन्थ्यो, बस्ने ठाउँमा।
अर्जुनमणि दीक्षित : हामीमध्ये पूर्वी वा पश्चिमी पहाडमा यात्राको क्रममा बास मागेर बास बस्न पाएकाले आफूलाई भाग्यमानी सम्झेको हुनुपर्छ। तीसको दशकमा म पश्चिम पहाडको यात्राको क्रममा डोटी जाँदा बानीडुंग्रा, दैलेख जाँदा रानीमत्तामा र यसैगरी पूर्वी पहाडमा खाँदबारीबाट भोजपुर जाँदा सुन्तले बासको मिठो सम्झना छ।
हामी नेपाली कति भाग्यमानी जसको घरमा जति बेलामा पनि ढोका ढक्ढकाउन मिल्ने निर्धक्कसँग बास माग्न पाइने, जता पुगे पनि अतिथि सत्कार, खाना सबै पाइने। नाम मात्रको पैसाको घरमा बस्न र खान पाइन्थ्यो? रातविरात यत्रो सुविधा र सद्भाव पाउँथ्यो। यसमानेमा हामी कति भाग्यमानी?
नेपाली संस्कार भन्या अनौठो खालको छ। खास गरी कर्णाली क्षेत्रमा गोरखालीलाई भनेर दुई माना चामल छुट्याएर राख्नुपर्दो रहेछ। गोरखाली आएपछि भातै खान दिनुपर्ने रहेछ। नेपाली जनता जस्तै गरीब भए पनि अतिथि सत्कार गर्नुपर्छ, खान दिनुपर्छ, बेलुका आएको मान्छेलाई भोको सुताउनु हुन्न भन्ने संस्कार थियो।
माओवादी जनआन्दोलन भएपछि यो थितिमा गडबड भएको हो। नत्र अतिथि भनेपछि साह्रै माया गर्ने संस्कार थियो। कति ठाउँमा अतिथि नआएपछि खानै नखाने, खोजेर ल्याएर खुवाउने चलन हुन्थ्यो। सुर्खेतको रानीमत्तामा पानीको अभाव थियो। अन्न पाइने, पानी नपाइने। पानीका लागि धेरै तल जानुपर्थ्यो। पानी माग्यो भने मोही खान दिन्थे।
कनकमणि दीक्षित : तपाईंले त शताब्दीअघिको नेपाल अनुभव गर्न पाए जस्तो लाग्छ। यहाँको प्रतिक्रिया?
म धादिङको उत्तरी हिमाली भेगतिर गएको थिएँ। तामाङ गाउँमा बास बसें। बेलुका मीठो खाना दिए। भात, बोक्रा नभएको सिमीको तरकारी थियो।
भोलि पल्ट ढिंडो खायौं। त्योसँग तामाङको घरको पानी नहालेको दूध। ढिंडो र दूध असाध्यै मीठो। हिंड्ने वेला बिहानको खानाको त हिसाबै गरेनन्। किन हिसाबको नगरेको भनेको त ‘ढिंडोको पनि पैसा लिन्छ’ भने। भातको पैसा लिने, ढिंडोको नलिने चलन थियो।
अतिथिलाई सेवा गर्नुपर्छ भन्ने भावना हो। यो नेपालको साह्रै ठूलो संस्कार हो। त्यो अहिले अर्कै भएको छ।
टीकाराम भट्टराई : भैरव दाइको व्रतबन्ध र बिहेका बारेमा बताइदिनुपर्यो?
व्रतबन्धको सबै याद भएन। सात वर्षमै व्रतबन्ध भएको थियो।
बिहेको याद छ। मेरो दुइटा बिहे भए। पहिलो बिहे ११ वर्षको हुँदा गरेको थिएँ। शंखमूलमा बिहे भएको हो, त्यति धेरै याद भएन।
श्रीमती घरमा बसिनन्। माइत बसिन्। अनि १६ वर्षमा दोस्रो बिहे सुशीलासँग भयो। त्यति वेला दोस्रो बिहे गर्नु हुन्न भन्ने कानून थिएन। दोस्रो बिहे हेरेरै गरिएको हो। त्यो वेलाको परिस्थिति, आर्थिक अवस्था अनुसार बज्रबाराहीमा बिहे भएको थियो। एउटा दमाईंले बाजा बजाएका थिए।
कनकमणि दीक्षित : घर सम्हाल्ने सुशीला दिदी नभएको भए त भैरव दाइ यसरी घुम्न जान सक्नुहुन्नथ्याे नि?
हो, हो। घरको सल्लाह नभए त हुँदैनथ्यो। घरबाट माया गरे, घुम्न अनुकूल भयो, घुमियो। मुलुक पढियो, बुझियो। मुलुक पढ्न, बुझ्न घुम्नुपर्छ।
अहिलेका राजनीतिक दलका नेताहरू मुलुक पढ्दैनन्, विदेश पढेका हुन्छन्। हाम्रो यही समस्या हो जस्तो लाग्छ। राजा महेन्द्रले मुलुक पढेका थिए, मुलुक बुझेका थिए। घोडे भ्रमणमा देश घुमेका थिए।
मुलुक बुझ्नलाई परिवारले जुन सहयोग गर्यो, त्यो अत्यन्त ठूलो कुरा हो। नत्र अहिले तपाईंहरूको अगाडि बोल्ने कुरै हुँदैनथ्यो।
कुन बाटो बीपी कोइरालालाई विराटनगरबाट काठमाडौं ल्याइएको हो?
बीपी कोइरालालाई हिंडाएर ल्याएको बाटो पुनःस्थापित गर्नुपर्यो। रामेछापको भँगेरीडाँडाका गोविन्दजंग श्रेष्ठ भन्ने हुनुहुन्छ, उहाँले बीपी कोइराला आउँदा महको चाका नै खान दिनुभएको थियो। बीपीलाई ल्याएको बाटोलाई पुनःस्थापित गर्नसके ऐतिहासिक धरोहर हुन्छ।
अर्जुन ढकाल : त्यति वेला घुम्न जाँदा झोला कस्तो हुन्थ्यो? झोलामा के राख्नुहुन्थ्यो?
काठमाडौंबाट पाँचमाने भएर पाल्पा जाँदा एउटा झोला थियो। त्यो झोलाको पाँच सुका (एक रुपैयाँ २५ पैसा) पर्थ्यो। झोलामा एक जोर लुगा हाल्यो, एक जोर लुगा जगेडा राख्यो। दाह्री काट्ने सामान राख्यो।
सुती झोला त अलि पछि २००७ सालतिर आएको हो। त्योभन्दा अघि त रुमालमा पोको बाँधेर लगिन्थ्यो। चप्पलको चलन थिए, जुत्ता लगायो, हिंड्यो।
भिडियाे