बब्लु
दशैंमा निस्कने नयाँ नोट जस्तो थियो सागरको अनुहार। सफा। कटकटे। ओल्टाइपल्टाई हेरिरहूँ जस्तो लाग्ने। सुमसुम्याइरहूँ जस्तो लाग्ने।
बब्लु धीत मर्ने गरी हाँस्यो। अस्पतालको क्यान्टिनमा। हाँस्दा उसका उछिट्टिएका दुवै कुकुर दाँत देखिए। उसको हाँसोले भने मलाई हर्नामाडी पुर्याइदियो। सत्र वर्षअघि।
~~~ ~~~ ~~~
“आहा! कस्तो राम्रो ऊँट।”
सँघार नाघ्न नपाउँदै मेरा आँखा ऊँटमा टाँसिए।
फुपूको पछि लागेर उहाँको घर पुगेकी थिएँ। फुपू भान्सामा अलमलिन थाल्नुभयो। म उहाँको छोराको कोठामा पसें। पस्नासाथ आँखा ऊँटमा टाँसिए। त्यसको रङ र बुनोटले मेरो मन हरेको थियो। प्लास्टिकको पाइपले बुनेको। नीलो र सेतो रङको। छिर्केमिर्के। आकर्षक थियो त्यो ऊँट।
मेरा हात स्वचालित रूपमा ऊँटमा पुगे।
“यो मेरो हो,” एकाएक हात र आवाज ऊँट खोस्न आइपुगे।
“फुपू...”
म चिच्याएँ। उसको सातो उड्यो। यद्यपि ऊँट उसकै थियो। उसलाई लागेको हुनुपर्छ, अहिल्यै फुपू आउनुहुन्छ र गालामा झापड लाउनुहुन्छ। फेरि उँट पनि फुपूले नै बुन्नुभएको थियो। उसकी आमा, मेरी फुपू। फुपूले कुकुर, घोडा, फूलदानी, ह्यान्डक्यारी ब्याग पनि बुन्नुभएको थियो। त्यसरी प्लास्टिकको पाइपबाट थरीथरीका सामग्री बनाउन जान्ने हर्नामाडीभरीमा अरू कोही थिएन।
देहरादूनबाट आउँदा फुपूले आफूसँगै प्लास्टिकको पाइप बुन्ने सीप पनि ल्याउनुभएको थियो। पेन्सन ननिस्कँदासम्म फुपू फुपाजुसँगै देहरादूनमा बस्नुहुुन्थ्यो। पेन्सनपछि उहाँहरूको परिवार हर्नामाडीमा बस्न आयो, हाम्रो छिमेकी भएर।
एकतले घर थियो बब्लुको। सिमेन्टी ढलान गरिएको। पिच सडकसँगै टाँसिएको। त्यस्तो घर त्यसअघि हर्नामाडीमा कसैले बनाउन सकेका थिएनन्। गाउँलेहरू भन्थे, “लाहुरे हो, पेन्सनको पैसाले घर बनायो।”
म त्यही घरमा, उसको कोठामा पहिलो पटक पसेकी थिएँ। मेरा आँखा भने उसमा भन्दा पहिला ऊँटमा परे। ऊँट उठाएकी के थिएँ, ऊ झम्टिन आइपुग्यो। म आत्तिएर चिच्याएँ। मेरो चिच्याहटले ऊ तर्सियो र ऊँट थपक्क मेरो काखमा राखिदियो।
यसरी पहिलो भेटमै ऊ हरुवा बन्यो। म जितुवा। त्यसपछि बल्ल चिनाजान भयो, हरुवा बब्लु, जितुवा कला।
~~~ ~~~ ~~~
हार दोस्रो पटक पनि बब्लुकै भयो।
ऊसँग क्यारम थियो। देहरादूनबाटै ल्याएको। मैले पहिलो पटक स्ट्राइकर समातेको त्यति वेलै हो। खेल अन्तिममा पुगेको थियो। मेरो भागमा एउटा सेतो गोटी र क्वीन बाँकी थिए। बब्लुको भागमा एउटा कालो गोटी र क्वीन। उसले कालो गोटी सजिलै छिरायो। क्वीन टचमा थियो। गाउँको नियम अनुसार, दुई जना खेल्दा टच गोटी पनि हान्न पाइन्थ्यो। तर, झेल्ली गरें मैले।
“तैंले यो गोटी हान्न पाउन्नस्,” मैले अड्को थापेपछि उसले एक पटक मलाई हेर्यो। माथिल्लो ओठसम्म बगेको बाक्लो सिँगान तान्यो- स्वार्र। अनि रिटर्न हान्यो। रिटर्न तान्दा मेरो सेतो गोटी छिर्यो। उसले फाइन तिर्यो। मैले रातो क्वीन स्वाट्टै छिराएँ। गेम ओभर!
“झेल्ली,” बब्लु चिढियो।
“के रे? तैं झेल्ली। अबदेखि तँसँग खेल्दिनँ,” मैले घुर्की लाएँ।
“ल, ल। होइन।” बब्लुले मुख अलिकति बांगो पार्यो। आँखा भुइँतिर गाड्यो। उसका कुकुर दाँत बाहिर देखिइरहे। मेरो घुर्कीले काम गर्यो।
नगरोस् पनि कसरी! मभन्दा एक वर्ष जेठो भए पनि त्यति वेला हर्नामाडीमा उसको अरू कोही साथी थिएन। उमेरमा कान्छी भए पनि पढाइमा त म एक वर्षले जेठी नै थिएँ। ऊ आठमा, म नौमा। उमेर र कक्षा नमिले पनि साथी भएका थियौं हामी। भएको साथी नगुमोस् भन्ने डर थियो बब्लुलाई। त्यही डरलाई घुर्क्याउने हतियार बनाएँ मैले।
यसै त बब्लु स्वर थिचेर बोल्ने गर्थ्यो। कसैले ठूलो आवाज गरे आत्तिन्थ्यो। झन् मेरो सामुन्ने त ऊ बजिरहेको बिनको अगाडि सर्प जस्तो हुन्थ्यो। लल्याकलुलुक। ऊ प्रायः शान्त रहन्थ्यो।
रूप पनि अलि बेग्लै थियो उसको। कचौरा जस्ता कान अलिकति कोप्चो परेका थिए। आँखा यति चिम्सा थिए, जति वेला भेट्दा पनि निदाए जस्तै लाग्थ्यो। सबैभन्दा अनौठा त उसका कुकुर दाँत थिए- बाहिरतिर उछिट्टिएका। तिनै दाँतले गर्दा उसका ओठ कहिल्यै बन्द हुँदैनथे।
देहरादूनमा जन्मिएको। उतै आधा बाल्यकाल बिताएको। हिन्दीमा नेपाली मिसाएर बोल्थ्यो ऊ। त्यही पनि भकभकाएर। स्कूलमा साथीहरूले उसको नाम राखिदिएका थिए, बुंगो।
~~~ ~~~ ~~~
त्यो बुंगो केटाको घरमा म हरेक दिन जान्थें। हाम्रो घरबीचको दूरी हिँडेर तीन मिनेट, कुदेर डेढ मिनेटको थियो।
“बुहारी। अण्डा फ्राई खाने?,” वेलावेला फुपू जिस्काउनुहुन्थ्यो।
“ह्या! फुपू पनि खालि जिस्काउनुहुन्छ,” म खुट्टा बजाउँथें।
बब्लु र म मामाचेला र फुपूचेली थियौं। त्यसैले आमा र फुपू एकअर्कामा ठट्टा गर्नुहुन्थ्यो- बब्लु र मेरो बिहा गरिदिने भनेर। म आँखा तर्दै फुपूसँगै भान्सामा केही बेर अलमलिन्थें। त्यसपछि बब्लुको कोठामा पस्थें।
मलाई भने बब्लुमा भन्दा बढी उसँग भएको क्यारम, लुडो, व्यापारी, चेस र रिङमा लगाव थियो। तीभन्दा पनि बढी मन त कमिक्समा बसेको थियो। कमिक्सको स-सानो पुस्तकालय नै थियो उसको। ती सबथोक ऊसँगै देहरादूनबाट हर्नामाडी आइपुगेका थिए।
“अरे ओ, हमार भदैनी, त ओ बब्लुलाई नेपाली पढ्न सिकाऊ है। नेपालीमा नामी बनाउन पर्छ,” अल इन्डिया रेडियो सुनिरहनुभएका लाहुरे फुपाजुले सुत्ने कोठाबाटै आवाज दिनुहुन्थ्यो। आवाज दिउन्जेल रेडियोको कान देब्रेतिर बटार्नुहुन्थ्यो। त्यसपछि दाहिनेतिर बटार्नुहुन्थ्यो।
‘एक प्यार का नगमा है, मौजो की रवानी है,
जिन्दगी और कुछ भी नहीं, तेरी-मेरी कहानी है’
फुपाजुको स्वर मधुरो हुन्थ्यो र गल्लीभरि, कोठाभरि, घरभरि, आँगनसम्मै रेडियो गुन्जिन थाल्थ्यो। बब्लु भित्ताको सिमेन्टेड तख्ताबाट कमिक्स झिकेर मलाई दिन्थ्यो। र, म रेडियोको ध्वनि तरंगमा लहरिँदै कमिक्समा हराउन थाल्थें। कमिक्स पढिरहँदा सिनेमा हेरिरहे जस्तै हुन्थ्यो। कमिक्सको लत बसिसकेको थियो। बिस्तारै बब्लुको पुस्तकालयका कमिक्स निख्रिन थाले।
त्यसपछि मैले बजारबाट भाडामा कमिक्स ल्याएर पढ्न थालें। राज कमिक्सका हिरोमध्ये सुपर कमान्डो ध्रुव मेरो प्रिय थियो। बलिष्ठ पाखुरा। गठिलो मांसपेशी। अग्लो कद। म मात्रै होइन, मेरो कक्षाका अरू केटी पनि ध्रुवको फ्यान थिए। ध्रुव छातीमा पहेंलो र अन्यत्र नीलो रङ भएको टिपिक्कको कपडा लगाउँथ्यो। कम्मरमा बेल्ट बाँध्थ्यो।
ऊसँग अलौकिक शक्ति थियो। ऊ हावामा उडेर गुण्डाहरूलाई तह लगाउँथ्यो। बच्चाहरूलाई संकटबाट जोगाउँथ्यो। चराचुरुंगीसँग बात मार्न सक्थ्यो। पानीभित्र बीस मिनेटसम्म बस्न सक्थ्यो। स्कूलका केटीहरू जस्तै कमिक्सभित्रको दुनियाँमा ध्रुवलाई मन पराउनेमा रिचा (काली बिराली) थिइन्।
रिचा ध्रुवको पिछा गर्थिन्। तर, ध्रुव नताशाको प्रेममा इमानदार थिए। इमानदार, रणनीतिक र भौतिक ज्ञान भएको ध्रुवको म पनि अतिप्रशंसक हुन पुगेकी थिएँ।
~~~ ~~~ ~~~
प्रशंसा त म बब्लुको पनि गरिदिन्थें।
“बब्लु, तँ मेरो बाँकेलाल होस्, पसल गइदे न,” आमाले पसल जान अह्राएपिच्छे म बब्लुलाई भन्थें। हामीले सँगै बसेर पढेका थियौं, ‘बाँकेलाल और शादीका षड्यन्त्र।’
पसल तल्लो रोडमा थियो, डेढ किलोमिटर टाढा। ऊ दुवै कुकुर दाँत देखिने गरी हाँस्थ्यो। एक पटक स्वार्र सिँगान तान्थ्यो। अनि नाइलनको झोला बोकेर पसल जान्थ्यो। भुंग्रो जस्तो डल्लो घाम टाउकोमा अड्याएर। त्यतिन्जेल, म कमिक्स पढेर बस्थें। झ्यालछेउको खाटमा बसेर। सिरसिर बतास त्यही झ्यालबाट पस्थ्यो, रेशमी पर्दा हल्लाएर ढोकाबाट निस्कन्थ्यो।
मुखले ‘तँ मेरो बाँकेलाल होस्’ भने पनि मलाई त ध्रुव पो मन पर्थ्यो। कहाँ ध्रुव सुपरहिरो, शक्तिशाली। कहाँ बब्लु? म चाहन्थें- कोही मेरो जीवनमा आओस्, ध्रुव जस्तै। ऊसँग अलौकिक शक्ति होस्। ध्रुव जस्तै मानिसलाई जोगाओस्। सामाजिक रूपमा चर्चित होस्। र, ध्रुवले नताशालाई गरे जस्तै उसले मलाई प्रेम गरोस्।
हृदयमा कैशोर्यको काउकुती जाग्न थालेको वेला थियो त्यो। चाहना नहोस् पनि कसरी!
नर्सरीको बिरुवा जस्तै हलक्क बढेको थियो, उमेर। शरीर। आकांक्षा। सपना।
र, सपनामा आउन थालेको थियो, सागर डंगोल।
दशैंमा निस्कने नयाँ नोट जस्तो थियो सागरको अनुहार। सफा। कटकटे। ओल्टाइपल्टाई हेरिरहूँ जस्तो लाग्ने। सुमसुम्याइरहूँ जस्तो लाग्ने। डेनी डेन्जोंगपाको जस्तो हेयर स्टायल। नीलो र खैरो रङको सम्मिश्रणबाट बन्ने झोल जस्ता रसिला आँखा। छनोट गरेर वृक्षरोपण गरेको सिसौको रूख जस्तो सिरिक्क परेको ज्यान।
उसले सलमान खानको साजन फिल्म हेरेपछि लगाउन थालेको थियो ‘साजन पाइन्ट’। पाइन्टको पछाडिको खल्ती भुक्क उठेको हुन्थ्यो। खल्तीमा चाँदनी रुमाल पट्याएर हाल्थ्यो। स्कूलमा ऊ चर्चित थियो, सलमान खानको उपनामले। मैले भने उसको उपनाम ‘ध्रुव’ राखिदिएकी थिएँ, मनमनै।
हर्नामाडीमा पथलैयाबाट आएको थियो, मेरो ध्रुव। उसको मामाघर यहीं थियो नि त। मामाघरमै बसेर पढ्न थालेको थियो रबिनसँग। रबिन मेरै कक्षाको सहपाठी थियो। र, मेरो ध्रुव रबिनको फुपूको छोरा। रबिन र ध्रुव एकै दामलका देखिन्थे। उसैले हो ध्रुवबारे बताएको। ध्रुव हाम्रो स्कूलमा कक्षा नौमा भर्ना भएको थियो। सेक्सन ‘बी’ मा। म सेक्सन ‘ए’ मा थिएँ।
ध्रुवलाई देखेदेखि रबिनसँग मेरो मित्रता बाक्लो हुन थालेको थियो। रबिनसँग गफ गर्दा ध्रुवबारे म थप जानकारी प्राप्त गर्थें। ध्रुवसँग त कहिलेकाहीं हाफ छुट्टीमा स्कूलको करिडोरमा भेट हुन्थ्यो। कहिलेकाहीं साइन्सको प्राक्टिकल हुँदा ल्याबमा।
अर्थशास्त्रको कक्षा चाहिं एउटै हुन्थ्यो। त्यस बखत म ऊभन्दा पछिल्लो बेन्चमा बस्थें। त्यसो त स्कूल छुट्टी भएपछि चौरमा पनि देखभेट हुन्थ्यो। जहाँ केटाकेटीहरू जम्मा हुन्थे। भलिबल प्राक्टिस गर्थे।
~~~ ~~~ ~~~
एक पटक भलिबल प्राक्टिस गर्दै थियौं। ध्रुव हाम्रो समूहमा थियो। कोर्ट वरिपरि खेल हेर्ने केटाकेटीहरूले रेखा बनाएका थिए। बब्लु त्यो रेखाको एउटा थोप्लो भएर उभिएको थियो। ऊ मेरो सर्भिस पालो पर्दा मात्र बल टिपेर ल्याइदिन्थ्यो।
“बब्लु बल ल्या त।” क्लकवाइज गेममा ध्रुवको सर्भिसिङ गर्ने पालो थियो। बल कोर्ट बाहिर पुगेको थियो। बब्लु चुपचाप उभिरह्यो।
“ओई, बुंगो। सुनिनस्? बल ल्या भनेको।” ध्रुव जंगियो। बल अर्कै फुच्चे केटोले टिपेर ल्याइदियो।
“ला, सा..ला।” ध्रुवले बल हावामा उफार्यो। सुइँय्य..। सँगसँगै आफू पनि उफ्रियो। र, निधारभन्दा एकहात माथिबाट सट हान्यो। ड्याम्म। बब्लु डंग्रङ भुइँमा ढल्यो। बल बब्लुको छातीमा लागेको थियो। एकछिन भुइँमै घोप्टिरह्यो।
“मुला, अझ हाँस्छस्। बुंगो।” ध्रुवले बब्लुको नाम काढ्यो। बब्लुको दुवै कुकुर दाँत बाहिर देखिएको थियो।
बब्लु उठ्यो। छातीमा टाँसिएको धुलो टक्टक्याउँदै बब्लु ध्रुवको नजिक आयो। नाक बजायो। स्वार्र..। एक्कासि ध्रुवको छातीमा टाउको जोत्यो। न्वारनदेखिको बल झिकेर घचेट्दै लग्यो। नेट टाँगिएको पोलसम्म पुर्याएर धस्यो। त्यसपछि घरतिर बेपत्ता दौडियो।
यो सब छिनभरमा भएको थियो। के हुँदै छ भन्ने अनुमान लाउन नभ्याउँदै। हामी सबै एक छिन ट्वाँ पर्याैं। मैले पहिलो पटक बब्लु त्यसरी झोंक्किएको देखें। खासमा बब्लु हाँसेकै थिएन। चोटले रन्थनिएको थियो। ऊ रिसाउँदा पनि उसको कुकुर दाँत देखिन्थ्यो। त्यसैलाई ध्रुवले हाँसेको भन्ठानेछ। र, थप गाली दियो। बब्लु अब ठूलो भइसकेको थियो। सोह्र वर्षको। उसलाई नाम काढेको फिटिक्कै मन पर्दैनथ्यो।
~~~ ~~~ ~~~
मन त मलाई पनि पर्न छोडेको थियो- बब्लु। ध्रुवले मेरो सम्पूर्ण ध्यान आफूतिर जो खिचेको थियो। म बब्लुकहाँ भने पुगिरहन्थें। बब्लुको झ्यालबाट मूल सडकमा चियाउन। मूल सडकमा ध्रुव र रबिन साइकल कुदाउँदै बजार जान्थे। फर्कन्थे।
मलाई जतिखेरै ध्रुवलाई देखिरहूँ, हेरिरहूँ लाग्न थालेको थियो। ऊ साथीहरूसँग हात हल्लाई-हल्लाई गफ्फिएको टाढैबाट हेर्थें। नजिक पुग्न भने आँट हुँदैनथ्यो। कहिलेकाहीं नजिक पुगें भने उभिएको जमीन नै हल्लिरहे जस्तो लाग्थ्यो।
~~~ ~~~ ~~~
नभन्दै एक दिन म उभिएको जमीन हल्लियो।
मेरो ध्रुवले बिनालाई भगाएछ। बिना मेरै सहपाठी। काली केटी। फटाही केटी। तर, त्यसले कहिल्यै कुनै सुइँकै दिइनँ। ध्रुव र उसको प्रेमको। सुइँको त मैले पनि कहाँ दिएँ र! ध्रुवलाई मन पराएको। एकोहोरो प्रेम गरेको। ऊ ओहोरदोहोर गर्ने बाटोछेउ उभिने गरेको। बब्लुको झ्यालबाट चियाएको। कक्षामा उसको पछाडिको बेन्चमा बस्ने गरेको। अहँ कसैलाई थाहै दिइनँ।
आफैंलाई ढाँटेर मेरो हृदयले प्रेम गरेको ध्रुव अरू कसैलाई प्रेम गर्दो रहेछ। अरू कसैको सपना देख्दो रहेछ। अरू कसैको हात समाएर प्रेमको राजमार्गमा हिँड्दो रहेछ।
एकाएक भ्रमको कुहिरो फाट्यो र सत्य मेरो अगाडि उभिदियो। थ्याच्च पछारिएँ म यथार्थको धरातलमा। लाग्यो, बिरानो सडकको चौबाटोमा दिशाहीन छु, एक्लै-एक्लै उभिइरहेकी। हातमा बोकेर प्रेमको फूल- ओइलाइसकेको, सुकिसकेको।
खबर आएको दिन म ओछ्यानमै पल्टिरहें। बब्लुको घरमा पनि गइनँ। जाने नै किन र?
~~~ ~~~ ~~~
“माइजू, कला छ?” भोलि पल्ट बब्लु मलाई खोज्दै आयो।
“छ हो, अचम्मै भाछ। डुलुवी हिजोदेखि कतै गएकी छैन।” आमाको कटाक्ष सँगसँगै बब्लु मेरो कोठामा आइपुग्यो। बब्लुको डँडाल्नोमा चढेर घाम आइपुग्यो।
म उठेकै थिइनँ। ऊ खाटछेउको मुढा तानेर बस्यो। मैले आँखा उठाएर बब्लुलाई हेरें। उसको कुकुर दाँत बाहिर निस्किएको थियो।
“आमाले खोजिरहनुभा’छ।” आमाको बहाना लाएर बब्लुले आफूलाई पोख्यो। मलाई भने कसैसँग बोल्न मन थिएन। ट्वाल्ल परेर बब्लुलाई हेरिरहें। बब्लुको आँखा हिउँदको इनार जस्तो देखिएको थियो। गहिरो। अलिअलि ओसिलो।
त्यो आँखा ध्रुवको जस्तो थिएन। ध्रुवको सम्झनाले आङमा करेन्ट लागे जस्तो झनन पैदा भयो। हुलुक्क भयो। अमिलो थुक मुखभरि जम्मा भयो। म जुरुक्क उठें। झ्याल उघारेर बाहिर थुकें। झ्यालबाटै देखें, रबिन करेसाबारी हुँदै मेरो घरतिर आउँदै गरेको।
“तँ जा। म पछि आउँछु।” मैले बब्लुलाई धपाएँ।
मैले बब्लुलाई धपाएँ। पहिले घरबाट। पछि जिन्दगीबाट। खासमा म आफैं भागें रबिनसँग। एसएलसी परीक्षा सकिएको पर्सिपल्ट।
~~~ ~~~ ~~~
सत्र वर्षपछि बब्लुसँग भेट भयो, शहरकै अस्पतालमा। उसको पापालाई त्यहाँ भर्ना गरिएको मैले आमाबाट थाहा पाएकी थिएँ। आमा र म पापालाई भेट्न गएका थियौं। पापाको स्वास्थ्य अवस्थामा सुधार हुँदै रहेछ। वार्डमा आमा बब्लुको पापा नजिकै बसेर मसिनोसँग बोल्न थाल्नुभयो। म र बब्लु बाहिर निस्कियौं। अस्पतालको क्यान्टिनमा चिया पिउन थाल्यौं।
“अनि तैंले बिहे गरिस्?” बब्लुको अगाडि चियाको कप सार्दै सोधें मैले।
“हा, हा। गरें नि हो, दुई-दुई वटी,” बब्लु बोलक्कड भइसकेछ।
“दुइटी! मागी कि भागी?,” म छक्क परें।
“अँ। दुइटै भागी बिहे। पहिलेकीले छोडेर गई, मेरो मायाले मात्तिएर। तँ जस्तै,” बब्लु आँखा टम्मै बन्द हुने गरी बोल्यो।
“साले, मैले सोचें, तँ मेरो नाउँमा खरानी घसेर हिँड्नेछस्,” मैले ठट्टा गरें।
मेरो ठट्टा सुनेर बब्लु धीत मर्ने गरी हाँस्यो। हाँस्दा बब्लुको उछिट्टिएका दुवै कुकुर दाँत देखिए।
(हिमालको २०७८ भदाै अंकबाट)