यस्तो होस् हिमाल
कोरोना सिर्जित विषम परिस्थितिलाई सामना गर्दै हिमाल फेरि छापा अवतारमा आउने खबर साँच्चै सुखद छ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सार्वजनिक मुद्दाहरूमा विचार निर्माणका लागि हिमालको विशेष योगदान छ। यसमा प्रकाशित हुने खोजमूलक फिचर, विश्लेषणात्मक लेख र संवादहरूले नेपाली पाठकलाई टिपनटापन सूचनाभन्दा थप गहिराइमा समझदारी निर्माण गर्न उल्लेखनीय सहयोग गरेका छन्। द्वन्द्वकालमा हिमालका पत्रकारहरूले जोखिम मोलेर युद्धसिर्जित कठिनाइ र मानवअधिकार हननका घटनाहरूको रिपोर्टिङ गरे जसले पत्रकार र हिमाल दुवैलाई स्थापित गरिदियो।
राजनीति पत्रकारिताको सबैभन्दा प्राथमिकताको विषय हो। तथापि, हिमालले आफ्नो नजर फराकिलो पारेको छ। हिमालका कभर स्टोरीहरू नितान्त राजनीतिक घटनामा सीमित छैनन्। ‘औषधि र उपचार जीवन-मरणको व्यापार’, ‘नेपाली आधुनिक गायनको नयाँ आयाम’, ‘प्रेम, विवाह र यौन’, ‘तेलमा मिसावटको खेल’, ‘बढ्दो सम्बन्ध विच्छेद’, ‘पुस्तान्तरण’, ‘ज्यानमारा पुस्तैनी रोग’, ‘सय वर्षको विराटनगर’ आदि जस्ता कभर स्टोरीहरूले हिमालको पत्रकारिता समाजको विविध आयामको उद्घाटनमा अभ्यासरत रहेको इंगित गर्छ।
राजनीतिक तथा सामाजिक परिवर्तनको महत्त्वपूर्ण चरणमा आमसञ्चारको भूमिका पनि उल्लेखनीय हुन्छ। सामाजिक परिवर्तन निरन्तर हुन्छ। राजनीतिक परिवर्तनका केही ऐतिहासिक घडीहरू हुन्छन्। लोकतन्त्रको पुनर्बहाली, गणतन्त्रको स्थापना, संविधान सभाको निर्वाचन, माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण, नयाँ संविधानको निर्माण र घोषणा निकट विगतका महत्त्वपूर्ण राजनीतिक परिवर्तन हुन्। राजनीतिक संक्रमणको महत्त्वपूर्ण यी घडीमा हिमाल मानवअधिकार, समावेशिता, संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतन्त्रको पक्षमा उभियो।
निष्पक्षता सम्भवतः अमूर्त र असम्भवप्रायः हुन्छ। तर, आमसञ्चार कुनै न कुनै तहमा प्रतिपक्षी हुनु जरुरी छ। बहुदलीय राजनीतिक अभ्यासमा दलहरूप्रति खबरदारी गरिरहन, सत्तालाई नागरिक अधिकारको रक्षार्थ जिम्मेवार गराइरहन र नागरिकलाई लोकतन्त्रको अभ्यास, विकास र उन्नतिका लागि उत्प्रेरित गरिरहन आमसञ्चारले प्रतिपक्षी भूमिका निर्वाह गर्नु जरुरी हुन्छ।
समयक्रममा मिडिया हाउसका लगानीकर्ता र सम्पादकीय विचारघेराले आमसञ्चारलाई कतै न कतै परिधिको निर्माण गर्ने पनि साँचो हो। यस अर्थमा निरपेक्ष निष्पक्षताको आग्रह असम्भव नै हुन्छ। तथापि, एउटा जिम्मेवार मिडियाले कोहीप्रति खरो र कोहीप्रति नरम नीति अंगीकार गर्नु पनि प्रश्नरहित हुन सक्ला र?
जस्तै, पुष्पकमल दाहाललाई आवरणमा नै ‘डेमागग्’ घोषित गर्न ‘हिम्मत’ गर्ने हिमाल संविधानको हुर्मत लिएर नेपाली जनताको स्थिर सरकारको आकांक्षामा ठेस पुर्याउने केपी ओलीप्रति किन तुलनात्मक हिसाबले नरम देखिन पुग्यो?
अर्को उदाहरण हेरौं, हिमालले सहिष्णुताको नेपाली दर्शनको खोजी गर्यो। हरेक समाजमा हुने द्वन्द्वको अनिवार्यतासँगै ऐक्यबद्धताका कारक पनि हुन्छन्। नेपाली समाजमा रहेको एकता र सहिष्णुताको परम्पराको उद्घाटन समाजलाई स्थिरता र शान्तितर्फ अभिप्रेरित गर्ने हिमालको त्यो भरभग्दुर कोशिश थियो।
यति महत्त्वपूर्ण विषयको सम्प्रेषण गरिरहँदा हिमालले चुनेका ‘नेपाली चेतनप्रवाहका अनुहार’हरूमा भने किन ‘एकथरी’ विचार राख्ने मानिसहरू समेटिन सकेनन्? के नेपाली समाजमा तिनका विचारले पारेको प्रभाव ठाडै अस्वीकार गर्न सकिन्छ र? अबको हिमाल यस्ता विरोधाभासबाट मुक्त हुन जरुरी छ।
आशा गरौं, हिमालले समाजको बृहत् आयामलाई समेट्ने जमर्को यथावत् राख्नेछ, नियमित गर्नेछ र थप विस्तृत गराउनेछ। साथै, विचारको परिधिलाई थप फराकिलो पनि पार्नेछ। स्क्रीन स्क्रोल गर्दा पठन सरल र रोमाञ्चक होला। तर, स्क्रोल गरेका अक्षरहरू हावामा उडिभ्याउँछन्।
छापामा फर्काइएका पाना अर्को हातमा हुन्छ। छापा म्यागजिन टेबलमा सजिन सक्छ। अभिलेखमा सुरक्षित हुन सक्छ। त्यसैले कोरोना सिर्जित विषम परिस्थितिलाई सामना गर्दै हिमाल फेरि छापा अवतारमा आउने खबर साँच्चै सुखद छ।
निरन्तरताको कामना।
बुटवल, रुपन्देही
(हिमालको २०७८ भदाैं अंकमा प्रकाशित पाठक समीक्षा।)