६७ प्रतिशत नेपालीको ब्यांकमा खाता
नेपाल राष्ट्र ब्यांकले २०७७ जेठ मसान्तसम्म ६७.३४ प्रतिशत नेपालीको ब्यांकमा निक्षेप खाता रहेको जनाएको छ।
राष्ट्र ब्यांकको ‘नेपालमा वित्तीय पहुँच सम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार कुल ३ करोड १८ लाख ८६ हजार निक्षेप खाता छन्।
यसमध्ये तीन पुस्ते विवरणका आधारमा एक व्यक्तिको एक मात्रा खाता गणना गर्दा ६७.३४ प्रतिशत नागरिकको ब्यांकमा खाता रहेको देखिएको छ। २०७६ असार मसान्तसम्म यो संख्या ६०.९ प्रतिशत थियो।
प्रतिवेदन अनुसार, कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत मात्र सक्रिय छन्। ६५.२ प्रतिशत पुरुषको खाता र ७२.३ प्रतिशत महिलाको खाता सक्रिय देखिएको छ। ग्रामीण इलाकामा रहेका खातामध्ये ८१.५ प्रतिशत सक्रिय रहेको पाइएको छ।
२०७८ चैतसम्म ७५० स्थानीय तहमा ‘क’ वर्गका ब्यांकको शाखा पुगेको छ। यो अवधिसम्म क, ख र ग वर्गका वित्तीय संस्थाको शाखा संख्या ५ हजार ९७८ पुगेको छ।
प्रदेशगत रूपमा बागमती प्रदेशमा सबैभन्दा धेरै प्रतिहजार व्यक्ति १ हजार ८०२ र कर्णालीमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेको छ।
प्रविधिको प्रयोग अन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत छ। मोबाइल ब्यांकिङ प्रयोगकर्ता ३२.०३ र इन्टरनेट ब्यांकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ।
मोबाइल ब्यांकिङ प्रयोगकर्ता प्रदेश–२ मा सबैभन्दा कम २७.०१ प्रतिशत छन्। त्यसैगरी सबैभन्दा कम प्रतिखाता इन्टरनेट ब्यांकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा ०.५२ प्रतिशत छन्।