मानसिक समस्यासँग जुध्ने हिम्मत
मानसिक रोगको भोगाइलाई पुस्तक मार्फत इमानदारीपूर्वक खोलेकी शाहीन भट्टले बलिउडको सेलिब्रेटी परिवारको परिवेशबारे पनि लेखेकी छन्।
प्रसिद्ध भारतीय चलचित्र निर्देशक–निर्माता महेश भट्टकी माहिली छोरी हुन्, शाहीन भट्ट। यस्तै, बलिउडकी सफल अभिनेत्री आलिया भट्टकी दिदी हुन्। विगत दुई दशकदेखि उनी ‘म्यानिक डिप्रेसन’ अर्थात् अवसादबाट पीडित छिन्।
स्क्रिप्ट लेखकबाट पेशागत जीवन शुरू गर्दागर्दै शाहीन मानसिक रोगबाट पीडित हुन पुगिन्। करीब १४ वर्षको उमेरमा डिप्रेसनको शिकार भएकी उनी १८ वर्ष पुग्दा मात्र यस रोगबाट पीडित भएको थाहा भयो। रोगसँग संघर्ष गर्दाको कठिन भोगाइ तथा सेलिब्रेटी परिवारको सेरोफेरो उनले आत्मकथा ‘आई ह्याभ नेभर बिन (अन)ह्याप्पीयर’ मा उतारेकी छन्।
समाजमा मानसिक रोग वर्जित वा लोकलाजको विषय बनाइएको छ। अधिकांश मानिस यसबारे कुरा गर्न र सुन्नै चाहँदैनन्। जसका कारण पीडितले खुलेर आफ्नो समस्या घरपरिवारमा समेत राख्न सक्ने अवस्था हुँदैन। तर, शाहीनले पुस्तकमा आफ्नो परिवारको परिवेश र मानसिक रोगले उत्पन्न गरेको कठिन जीवनको बेलीबिस्तार लगाएकी छन्। मानसिक रोगलाई आफ्नो जीवनको पाटो मानेर स्विकारेकी छन्।
मानसिक रोगबाट जेलिने क्रममा शाहीनमा बारम्बार आत्महत्याको सोच मात्र आएन, आत्महत्याको प्रयास समेत गरिन्। एक्लोपन, रित्तोपन, निराशा, चिन्ता र द्विविधा जस्ता मानसिक सकसबाट कसरी गुज्रिनुपर्यो, उनले पुस्तकका धेरै पानामा खुलेर लेखेकी छन्। रोगले जीवन नै हार्ने नकारात्मक मनस्थितिमा पुर्याएको आत्मस्वीकृति मात्र उनीसँग छैन, रोगसँग लड्ने साहस र जीवनलाई निरन्तरता दिने प्रण पनि छ। मानसिक रोगबारे विभिन्न सन्दर्भ सामग्रीका आधारमा लेखिएको यो पुस्तकले विशेष गरेर डिप्रेसन पीडितको मनोभाव बुझ्न मद्दत गर्छ।
मानसिक रोगबाट जेलिने क्रममा शाहीनमा बारम्बार आत्महत्याको सोच मात्र आएन, आत्महत्याको प्रयास समेत गरिन्। एक्लोपन, रित्तोपन, निराशा, चिन्ता र द्विविधा जस्ता मानसिक सकसबाट कसरी गुज्रिनुपर्यो, उनले पुस्तकका धेरै पानामा खुलेर लेखेकी छन्।
आत्मकथामा उनले डिप्रेसनको इतिहास, चरित्र र कारणबारे पनि चर्चा गरेकी छन्। डिप्रेसन मन बेखुशी भइरहने अवस्था हो। आधुनिक समयको उपज मानिए पनि मानसिक रोगको उपस्थिति प्राचीन कालदेखि नै मानिसमा रहेको देखिन्छ। मानसिक रोग मूलतः जैविक रसायनको कारणले हुन्छ। तर, सामाजिक, पारिवारिक र वातावरणीय प्रभाव पनि यसको कारण बन्छ।
मानसिक रोगी भए पनि मानिसको जीवन जिएको शाहीनको दाबी छ। यो रोग र यसका रोगी सामाजिक अवहेलनाका विषय र पात्र बने पनि उनले आफ्नो भोगाइ पुस्तक मार्फत उजागर गर्नु प्रशंसायोग्य विषय हो। एक शिक्षित नारी र सम्पन्न व्यावसायिक परिवारकी सदस्य हुनुले पनि यो साहस र आडभरोसा मिलेको हुनसक्छ। तर, भारतीय समाजमा मानसिक रोगीहरू र तिनका गुम्सिएका कथा असंख्य छन्। समाजबाट तिरस्कार, परिवारको बेवास्ता, आर्थिक अभावले धेरै मानसिक रोगी रोगले भन्दा पनि बढी प्रताडित भइरहेका छन्।
यी मानसिक रोगीहरूको पीडा झल्काउने गरी शाहीनको आत्मकथा मनोरोग साहित्यमा एउटा योगदान हुने गरी त आयो। तर, यस्ता धेरै मनोरोगीको व्यथा र दुर्दशा गुपचुपमै छन्। विगतमा अभिनेत्री दीपिका पादुकोणलाई डिप्रेसन भएकोबारे भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरेका थिए। सेलिब्रेटीको कथा सञ्चारमाध्यमहरूले भने पनि असंख्य मानिसको रोगको कथा भने भारतमै सुनिएको छैन।
शाहीन आफ्नो रोगमाथि भावना व्यक्त र बौद्धिक विमर्श गर्न सक्षम छिन्। रोगसँग लडेर बाँकी जीवन जिउने उनको अठोट प्रेरणादायी छ। समग्रमा, रोगसँग लड्दै बाँच्न चाहनेहरूसँग ऐक्यबद्धता हो, यो पुस्तक।
पुस्तकः आई ह्याभ नेभर बीन (अन)ह्याप्पीयर लेखकः शाहीन भट्ट विधाः आत्मकथा पृष्ठः २०० मूल्यः भारु.२५०