‘कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी छैन’
नमिलेको घर र मिलेर बसेको घरमा कत्ति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्नो तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
घरबाट भागेर २०३६ सालमा राजनीतिमा लागेकी नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा काठमाडौं ८ ‘क’ बाट निर्वाचित भएकी थिइन्।
एमाले बागमती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य गुटगत आन्तरिक संघर्षका कारण त्यति वेला मुख्यमन्त्री बन्न सकिनन्। अहिले एमाले विभाजन भएको वेला उनी मुख्यमन्त्री बनेकी छन्।
नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष जितेकी शाक्य यति वेला भने अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिएकी छिन्। नेपालले २ भदौमा नयाँ पार्टी गठन गरेसँगै ओलीले डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।
अब नेपाल पक्षले साथ नदिंदा उनको मुख्यमन्त्री पद जोगिने देखिंदैन। उनी भने सबैको साथ पाएर नै मुख्यमन्त्री बनेको बताउँछिन्। मुख्यमन्त्री शाक्यसँग सरिता दाहालले गरेको कुराकानी :
नेकपा (एमाले) विभाजन भएको र निर्वाचन नजिकिंदै गरेको वेला छोटो समयका लागि मुख्यमन्त्री बन्नुभएको छ। कसरी अघि बढ्ने योजना छ?
छोटो समयकै लागि भन्नुपर्यो, १६ महिना जति मात्रै बाँकी छ। यसमा पनि केही चुनौती र केही अवसरहरू देखेकी छु। पहिलो, बजेट नै हो। यसअघिको बजेटबाट भएका राम्रो कामको समीक्षा गर्छाैं। बजेट तथा कार्यक्रममा आवश्यकता र विगतको कार्यान्वयनको पाटो हेर्नु छ। त्यसपछि काम शुरू गर्छौं।
बागमती प्रदेशका सबै जिल्ला अत्यन्तै सम्भाव्यता बोकेका छन्। मैले पटक-पटक भन्ने गरेकी छु, यहाँको जीवन दुःखमा बस्नुपर्ने खालको छैन, हामीले आँट गरेर योजनाहरू बनाउने र कार्यान्वयनमा ल्याउने हो भने कोही पनि अभाव र समस्यामा बस्नुपर्ने छैन। अवसर नै अवसर भएको यो प्रदेशमा सबैको साथ चाहिन्छ, धेरै काम गर्न सकिन्छ। जनता र प्रदेशका लागि काम गर्छु।
अहिले हाम्रो ध्यान कोभिड-१९ नियन्त्रणमै छ। खोपको अपर्याप्तता छ, केही अव्यवस्थालाई व्यवस्थित गर्नुपर्छ। यस्तै, बाढीपीडितको अवस्थाप्रति पनि ध्यान दिनुपर्छ। सरकारले केही गर्ला भन्ने आशा बोकेर बस्नुभएको छ। उहाँहरूका लागि केही गर्नुपर्छ। बाढीपीडितको जहाँ-जहाँ समस्या छ, त्यहाँ ध्यान दिनेछु।
अब मैले महिलासँगै सबै नागरिकका सवाललाई सम्बोधन गर्नुपर्छ। संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ। बागमती प्रदेशको हकमा मैले नेतृत्व गर्ने छोटो समयमा कति सक्छु, गरेर देखाउनेछु।
अर्को, सुशासन कायम गर्नुपर्नेछ। भ्रष्टाचार, अनियमितता विरुद्धको लडाँइ छ। विकास निर्माणका नियमित योजना त छँदै छन्।
देशको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ। महिलाका लागि केही विशेष योजना छन्?
म पहिले पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी हुँ। त्योभन्दा अगाडि जति वेला म आन्दोलनमा थिएँ, मेरो विषय महिला नै थियो। अखिल नेपाल महिला संघको अध्यक्ष भएको नाताले पनि मेरो मुख्य पाटो महिला नै थियो र आज पनि हो।
कमरेड साहना प्रधानसँग आन्दोलनमा हिंड्दा पनि महिलाको विषयमा हामी गहिरिएर सोच्ने र विश्लेषण गर्दथ्यौं। जेल पर्दाताका आन्दोलनको विषय पनि महिलाकै थियो। मेरो आन्दोलनको विषय महिला, मैले सबैभन्दा बढी समय खर्चिएको विषय महिला आन्दोलन, अनि आफैं पनि महिला भएका कारण मैले महिलाको मुद्दालाई बिर्सने त कुरै भएन। महिला कति पीडित, कति दमित, कति दुःख, पीडा सहेर बसेका छन् भन्ने बुझेकी छु।
अहिले संविधानमा महिलाका विषयमा जे व्यवस्था भएको छ, त्यो हाम्रो आन्दोलनबाट नै आएको हो। अझै पनि महिला पीडित छन्। हामीले अझै लड्नुपर्छ। अब मैले महिलासँगै सबै नागरिकको सवाललाई सम्बोधन गर्नुपर्छ। संविधानमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्छ। बागमती प्रदेशको हकमा मैले नेतृत्व गर्ने छोटो समयमा कति सक्छु, गरेर देखाउनेछु।
विगतमा धेरै पटक मुख्यमन्त्री हुने भन्ने हल्ला चल्यो। तर, यस पटक भने एकाएक मुख्यमन्त्री बन्नुभयो। यो कसरी सम्भव भयो?
विगतमा हल्ला भए, तर हल्लामै सीमित रहे। यो पटक अपर्झट नै कदम उठाइयो। सबै नेतालाई समेत जानकारी दिन सकिएन, तर थाहा पाएपछि पनि सबै दलका नेता, सांसदले फोन गरेर आफ्नो साथ छ भन्नुभएको छ। सत्ता र विपक्षी दलका नेताले ‘तपाईं हिजै मुख्यमन्त्री बन्नुपर्ने थियो, आज बन्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ।
सबै दलका नेताले ‘जे कदम चाल्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। म ढुक्क छु, मेरो कार्यकाल सफल पार्न सबैको विश्वास प्राप्त हुनेछ।
सबै दलका नेताले ‘जे कदम चाल्नुभयो, हाम्रो पूर्ण साथ छ’ भन्नुभएको छ। म ढुक्क छु, मेरो कार्यकाल सफल पार्न सबैको विश्वास प्राप्त हुनेछ।
तपाईंको पार्टी राजनीति त एकाएक बदलियो नि?
पार्टीभित्रको हलचल त केही लामै हो, मुख्य बागमती प्रदेशमा किन यस्तो भयो भन्ने सवाल अहिले चर्चामा छ। केन्द्रीय राजनीतिमा जे जस्तो देखिएको छ, यसले दुःखी बनाएको छ।
अहिले विकासका लागि राजनीतिक सहमति र प्रष्ट भिजनका साथ अगाडि बढ्नुपर्ने वेला हो। काम गर्न कुनै अप्ठ्यारो पनि छैन। तर, पार्टीभित्र बेमेल, अस्वस्थ प्रतिस्पर्धा, गुटगत गतिविधि, एक–आपसमा मिल्नै नसक्ने घमण्ड र दम्भले नै नोक्सान पुर्यायो।
नेतृत्व तहमा घमण्ड बढी भयो। सबैलाई सम्मान गर्ने, समेटेर लैजाने, त्यो खालको लचकता र फराकिलोपन देखिएन। यसै कारण हामीले धेरै अवसर गुमायौं। राजनीतिक वातावरण कमजोर हुँदै गयो। जनतामा निराशा बढायो। अनेक चलखेल बढे, एकताबद्ध हुने अवस्था नै देखिएन।
म पार्टीको सिनियर भएको हिसाबले पनि नेतृत्व गर्नुपर्ने थियो। मैले बाटो देखाउनुपर्ने भएकाले एकताको पक्षमा उभिएकी हुँ।
यस्तो अवस्थामा बागमती प्रदेशबाट एकताको सन्देश दिने प्रयास गरेका हौं। हामी विभाजनतिर जानु हुन्न भनेर दबाब दिन खोजेका हौं। त्यसका लागि सल्लाह गर्दै, सहमति खोज्दै, अगाडि बढ्दै आयौं। मन फराकिलो बनाउँदै आयौं।
म पार्टीको सिनियर भएको हिसाबले पनि नेतृत्व गर्नुपर्ने थियो। मैले बाटो देखाउनुपर्ने भएकाले एकताको पक्षमा उभिएकी हुँ। लोकतन्त्र जोगाउन, गणतन्त्र जोगाउन, संविधानको मर्म राख्न एकताको पक्षमा फराकिलो सोच राखेर यो आँट गरेकी हुँ। मलाई डोरमणिजीबाट पनि साथ मिल्यो।
तपाईं त माधवकुमार नेपाल पक्षकी नेत्री, अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध पनि गुर्नभयो। अहिले मुख्यमन्त्री पदका लागि आफ्नो विचार साट्नुभएको भन्ने आरोप छ नि?
यस्तो आरोप लगाउनेलाई मैले भन्नु केही छैन। लोकतन्त्रमा आफ्नो विचार राख्न पाइन्छ, लागेको भन्न पाउनुहुन्छ।
मुख्यतः अष्ट कस्ती मान्छे हुन् भनेर चिन्नुपर्छ। अष्टले पदका लागि कहिले होडबाजीमा लागेकी छ? पार्टीमा हिजो मेरो देन के थियो, आज के योगदान गरिरहेकी छु? यो सब बुझ्नेहरूले त्यस्तो आरोप लगाउनुहुन्न।
आन्दोलनको दौरानमा, कम्युनिष्ट पार्टी स्थापना गर्ने क्रममा झलनाथ खनाल, जीवराज आश्रित, मदन भण्डारी, माधव नेपालले मलाई यहाँसम्म ल्याउनुभयो। घरपरिवार छाडेर म एक्लो निस्कँदा अन्योलमा थिएँ, उहाँहरूले नै मलाई कम्युनिष्टको सिद्धान्त बुझाउनुभयो। विचारमा खार्नुभयो। उहाँहरूको साथ मेरा लागि अद्वितीय छ। घर छोडेर हिंडेको मान्छेलाई धेरै सिकाउनुभयो, र अहिले यहाँ छु।
पछिल्लो समय केपी कमरेडको दम्भ बढी भयो। पदमा पुगेपछि अगाडि-पछाडि कोही देख्नुभएन। व्यक्ति-व्यक्तिलाई पनि निषेध गर्ने काम भयो। त्यही कारणले राजनीतिलाई यो ठाउँमा पुर्यायो।
केपी कमरेडलाई मैले झापा आन्दोलनपछि मात्रै चिनेकी हुँ। म कोही नेतृत्वलाई अपमान गर्न सक्दिनँ, किनकि उहाँहरूले दुःख बुझेर आउनुभएको छ। त्याग गरेर आउनुभएको छ। तर, यतिखेर आएर जस्तो सोच राख्नुपर्ने हो, त्यो देखिएन। मुलुक, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र, गणतन्त्रका लागि एकजुट भएर अगाडि बढौं, मन फराकिलो गरौं, कसैले कसैलाई निषेध नगरौं भन्ने सोच नेतृत्वले राख्नुपर्थ्यो, त्यो देखिएन।
पछिल्लो समय केपी कमरेडको दम्भ बढी भयो। पदमा पुगेपछि अगाडि-पछाडि कोही देख्नुभएन। व्यक्ति-व्यक्तिलाई पनि निषेध गर्ने काम भयो। त्यही कारणले राजनीतिलाई यो ठाउँमा पुर्यायो।
नमिलेको घर र मिलेर बसेको घरमा कति फरक हुन्छ? पार्टी भनेको पनि घर नै हो। अहिले नमजा लागेको छ। पार्टी अप्ठ्यारो अवस्थामा पुगेको छ। मैले आफ्ना तर्फबाट केपी कमरेडलाई भनेकी छु- अब तपाईंले पार्टी हाँक्न सक्नुहुन्न।
त्यसैले पनि फलानालाई छोडेर फलानाको तर्फ गयो भन्ने मेरो विषयमा लागू हुनै सक्दैन। म सबैको आदर–सम्मान गरेर अगाडि बढ्छु। हामी फुट्नु राम्रो हैन, यो प्यानल, त्यो प्यानल हैन, संस्कारयुक्त कम्युनिष्ट पार्टीका लागि मेरो मत हो।
अहिले कम्युनिष्ट आन्दोलनमा एकताको जरुरी छ। मैले एकताका लागि यो कदम चालेकी हुँ। यता र उताभन्दा पनि एकताकी पक्षधर हुँ। प्राप्त उपलब्धिको रक्षा गर्ने वेलामा फुटेको मलाई पटक्कै ठीक लागेको छैन। अब एक ठाउँमा आउनैपर्छ, मिल्नैपर्छ भन्ने दबाब दिन खोजेकी हुँ।
लोकतन्त्र भनेको विचारको तन्त्र हो, फरक विचार आउनु स्वाभाविक हो भनेर बुझिदिनुस्। सकारात्मक विचारै महत्त्वपूर्ण हुन्छ। आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिदिनुस्, केही राम्रो गरेर देखाउनेछु।
२०५४ सालमा पार्टी फुट्दाको पीडा मैले पनि भोगेकी छु। त्यो फुटपछि पार्टीभित्र कति धेरै तिक्तताहरू जन्मिए, त्यो अहिले झलझली सम्झिरहेकी छु। त्यस्तै घटना फेरि नहोस् भनेर म एकताको पक्षमा उभिएकी हुँ। कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी हैन।
यो तपाईंको पार्टीको कुरा भयो। बागमतीका बासिन्दालाई के भन्नुहुन्छ?
यति वेला राजनीतिक अस्थिरता देखेर जनतामा निराशा बढेको छ। लोकतन्त्र बेकारको रहेछ भन्ने सोच आउन सक्छ। जनताका लागि शान्ति, विकास, समृद्धि चाहिएको छ। यो वेला राजनीतिक अस्थिरता देखेर आत्तिनु स्वभाविक पनि हो। नआत्तिनुस्, राम्रो समय आउँछ।
लोकतन्त्र भनेको विचारको तन्त्र हो, फरक विचार आउनु स्वाभाविक हो भनेर बुझिदिनुस्। सकारात्मक विचारै महत्त्वपूर्ण हुन्छ। आफ्नो ठाउँबाट सरकारलाई सहयोग गरिदिनुस्, सरकार सधैं जतनाकै लागि हो। धैर्य राखिदिनुस्, केही राम्रो गरेर देखाउनेछु।