यसरी घटाऔं कोभिड-१९ को सम्भावित तेस्रो लहरको असर
अन्य मुलुकहरू कोभिड-१९ को तेस्रो लहरबाट गुज्रिनुपरेको र नेपालमा पनि 'डेल्टा प्लस' भेरिएन्ट देखिएको सन्दर्भमा कोभिड-१९ को सम्भावित तेस्रो लहरको असर कम गर्न कस्तो तयारी गर्नुपर्ला?
संक्रामक रोगहरू फैलिने क्रममा साधारणतया संक्रमितको संख्या बढ्दै जाने र एउटा अधिकतम स्तरमा पुगेपछि घट्दै जाने प्रक्रियालाई 'लहर' भनिन्छ। नेपाल कोभिड-१९ को दुई लहरबाट गुज्रिसकेको छ। पहिलो लहरको असर २०२० को अक्टोबर-नोभेम्बर महीनामा धेरै देखिएको थियो भने दोस्रो लहर २०२१ को अप्रिलबाट शुरू भयो।
दक्षिणएशियाली देशहरूमा कोभिड-१९ को असर पहिलो लहरमा भन्दा दोस्रोमा बढी देखिएको छ। यसका लागि छिमेकी मुलुक भारतमा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरिएन्ट 'डेल्टा' बढी जिम्मेवार देखिएको छ। दोस्रो लहरसँगै कोभिड-१९ वृद्धवृद्धा र रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरूका लागि मात्र नभई स्वस्थ र कम उमेरसमूहमा पनि उत्तिकै घातक हुनसक्ने पाइएको छ।
कोभिड-१९ को डेल्टा भेरिएन्ट अन्य भेरिएन्टभन्दा अत्यन्तै संक्रामक छ। त्यसैले यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिन्ताजनक भेरिएन्टको सूचीमा राखेको छ। चीनमा गरिएको एक अध्ययनका अनुसार, डेल्टा भेरिएन्टबाट संक्रमितहरूमा अन्य भेरिएन्टबाट संक्रमित हुनेको तुलनामा हजार गुणाभन्दा बढी भाइरस पाइन्छ। अहिले दक्षिणएशियाली देशहरूमा डेल्टा भेरिएन्टको असर कम हुँदै गए जस्तो देखिए पनि अमेरिका, बेलायत, दक्षिण-पूर्वी एशियाली सहित विश्वका कैयौं मुलुकमा डेल्टा भेरिएन्ट कोभिड-१९ गराउने प्रमुख भेरिएन्टका रूपमा छ।
हालसम्म गरिएका अनुसन्धानहरूका अनुसार, कोभिड-१९ विरुद्धको खोपले डेल्टा भेरिएन्टबाट हुने गम्भीर बिरामी र मृत्यु कम गराउन महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले कोभिड-१९ को महामारीबाट पार पाउन खोपको उपलब्धता र प्रयोग बढाउन अनिवार्य छ। नेपालमा पनि खोप आउने र प्रयोग गरिने क्रम जारी छ।
तर, विगत केही सातामा संक्रमितहरूको संख्या बढिरहेको, नेपालमा पनि 'डेल्टा प्लस' भेरिएन्ट देखिएको र अन्य मुलुकहरू कोभिड-१९ को तेस्रो लहरबाट गुज्रिनुपरेको सन्दर्भमा नेपालमा कोभिड-१९ को सम्भावित तेस्रो लहरको असर कम गर्न कस्तो तयारी गर्नुपर्ला? यही विषयमा यो आलेख केन्द्रित छ।
दोस्रो लहर ताकाका सकारात्मक परिवर्तनलाई आत्मसात् गरौं
दोस्रो लहरका वेला सरकारी निकाय, विदेशी दातृ संस्थाहरू, गैरनाफामूलक संस्थाहरू तथा विभिन्न सहयोगी व्यक्तिहरू सबैको सामूहिक प्रयासबाट अस्पतालहरूमा अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरहरूको व्यवस्था भयो। यस्तै, बेड संख्या थप्ने लगायत अस्पतालको अन्य पूर्वाधार सुधार्ने कार्यहरू सम्भव भए। शहरी र ग्रामीण भेगमा पनि आइसोलेसन केन्द्रहरू थपिए, पीसीआर गर्न सम्भव नभएका ठाउँमा तत्काल परिणाम दिने एन्टिजेन टेस्ट गर्ने कार्य शुरू भयो। त्यति मात्र हैन, संक्रमितहरूको संख्या तीव्र बढेसँगै सर्वसाधारणले मास्क लगाउने, व्यक्तिगत दूरी कायम राख्ने जस्ता नियम पालना गरे, खोपको प्रयोगमा देखिएको हिचकिचाहट पनि कम भयो।
सम्भावित तेस्रो लहरबाट जोगिन हामीले यी सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दै हाम्रो स्वास्थ्य प्रणालीलाई अझै सुधार गर्नुपर्ने हुन्छ। संक्रमितहरूको बढ्दो संख्या व्यवस्थापन गर्न प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा कोभिड-१९ का वार्डहरूको व्यवस्था गर्नुपर्छ। साथै, दक्ष स्वास्थ्य कर्मचारीहरू, पर्याप्त अक्सिजन सिलिन्डर एवं बेडहरू सहितको उच्चस्तरीय स्वास्थ्य सुविधा थपेर तयारी अवस्थामा रहनुपर्छ।
परीक्षणको दायरा बढाऔं
अन्य देशहरूको तुलनामा नेपालमा अझै पनि कोभिड-१९ को परीक्षण पर्याप्त भइरहेको छैन। जस्तै, २० साउनको तथ्यांक हेर्दा नेपालमा दैनिक परीक्षण दर प्रति हजारमा जम्मा ०.३५ छ, जब कि यही संख्या भारतमा १.२७, अमेरिकामा २.१५, अस्ट्रेलियामा ७.०५ र बेलायतमा ११.०८ छ। यो अवस्था हेर्दा परीक्षण दर बढाउनुपर्ने देखिन्छ।
पीसीआर परीक्षणको सुविधा अहिले बागमती प्रदेश र शहरी क्षेत्रमा मात्र केन्द्रित देखिन्छ, यसलाई देशका दुर्गम क्षेत्रहरूमा पनि विस्तार गर्न जरुरी छ। पीसीआर मेसिनहरू भएर पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेका प्रयोगशालाहरू प्रयोगमा ल्याउनुपर्छ। पीसीआर सुविधा उपलब्ध हुन नसकेको अवस्थामा एन्टिजेन परीक्षणको सुविधा सबै जिल्लामा उपलब्ध गराउनुपर्छ, जसले गर्दा तेस्रो लहरमा तयार रहन सकियोस्। संक्रमित व्यक्ति, स्थान र समय जस्ता तथ्यांकहरूको मूल्यांकन निरन्तर गर्नुपर्छ, जसले संक्रमण फैलिने प्रक्रिया बुझ्न र उपयुक्त निर्णय लिन सघाउँछ।
परीक्षण सुविधा विस्तार गरेर मात्र हुँदैन, परीक्षण गर्न नजाने वा हिचकिचाउने व्यवहार पनि बदल्न जरुरी देखिन्छ। कोभिड संक्रमित देखिएमा समाजमा बहिष्कृत हुने डरले सर्वसाधारणले लक्षण देखिंदा पनि परीक्षण गराउन नजाने गरेका समाचारहरू आइरहेका छन्। जनप्रतिनिधि र समाजका अगुवा व्यक्तिहरू मार्फत कोभिड-१९ प्रतिको गलत धारणा हटाउने गरी सही सूचना प्रवाह गरेर परीक्षण गर्न जाने वातावरण बनाउनुपर्छ।
यात्रा सम्बन्धी नियम कार्यान्वयन र सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणको व्यवस्था गरौं
सरकारले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरूलाई क्वारेन्टिन अनिवार्य गरे पनि त्यसको कार्यान्वयन भए/नभएको प्रष्ट छैन। खोप लगाएको प्रमाण देखाउने, परीक्षणको नतीजा देखाउने र क्वारेन्टिनमा बस्ने जस्ता सरकारले तय गरेका नियमहरूको कडाइका साथ पालना गरिनुपर्छ। भारतीय सीमाका प्रवेश बिन्दुहरूमा हेल्थ डेस्कको संख्या बढाउन भएका प्रयासहरू अगाडि बढाउँदै यस्ता हेल्थ डेस्क सबै नाकामा राख्न जरुरी छ। सिमानामा व्यवस्थित आइसोलेसन केन्द्रहरू स्थापना गर्ने र त्यहाँ सकभर नि:शुल्क वा सस्तो खर्चमा बस्ने व्यवस्था मिलाउनु उचित हुन्छ। त्यहाँबाट एन्टिजेन परीक्षण गराएर मात्र मानिसहरूलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाउनुपर्छ।
कन्ट्याक्ट ट्रेसिङ चुस्त बनाऔं
कोभिड-१९ को महामारी नियन्त्रणमा संक्रमित पहिचान मात्र गरेर पुग्दैन, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो कामको जिम्मा स्थानीय स्तरमा वडाहरूलाई दिए पनि दक्ष जनशक्ति नहुँदा यसको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ। त्यसैले कन्ट्याक्ट ट्रेसिङका लागि स्थानीय तहलाई आवश्यक मानवीय संसाधन व्यवस्थापनमा सहयोग गर्दै माथिल्ला स्वास्थ्य निकायहरूले कडाइका साथ अनुगमन गर्नुपर्छ।
संक्रमण न्यूनीकरणमा व्यक्तिगत प्रयास पनि महत्त्वपूर्ण हुन्छ। संक्रमण भएको व्यक्तिले आफूलाई आइसोलेसनमा राख्ने तथा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई खबर गरेर क्वारेन्टिनमा बस्न तथा कोभिड परीक्षण गराउन सूचित गर्नुपर्छ। स्थानीय तह मार्फत सार्वजनिक स्थलमा मास्क अनिवार्य गर्ने, भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न नदिने तथा सार्वजनिक स्थलहरूमा हात धुने सहज व्यवस्था मिलाउन आवश्यक हुन्छ।
खोपको न्यायोचित वितरण गरौं
कोभिड-१९ को खोपको आपूर्ति बढ्दै जाँदा खोपको न्यायोचित वितरण सुनिश्चित गरिनुपर्छ। उमेर समूहका आधारमा खोप लगाइँदै गर्दा विपन्न, सीमान्तकृत लगायतलाई समेट्नुपर्छ। साथै, खोपको महत्त्व र खोपसँग सम्बन्धित जोखिम पनि प्रष्ट रूपमा बताउनुपर्छ।
काठमाडौं र विराटनगर लगायत शहरहरूमा खोप केन्द्रहरू अत्यन्तै अव्यवस्थित देखिए। खोप केन्द्रमा भएको भीडभाडले त्यहींबाट संक्रमण फैलिने जोखिम देखियो। त्यसैले खोप केन्द्रको संख्या बढाउने र तिनमा भौतिक दूरी लगायत अन्य मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था मिलाउनुपर्छ। खोप केन्द्रहरूमा भीडभाड, लामो लाइन र घन्टौं कुर्नुपर्ने बाध्यता हटाउन खोप लगाउने मापदण्ड (उमेर समूह, पेशा आदि) प्रष्ट पारिदिने, मापदण्ड पूरा नगरेकाहरूलाई प्रवेश नदिने र आवश्यकता अनुरूप मनग्गे स्वास्थ्य कार्यकर्ता र स्वयंसेवीहरू परिचालन गर्नुपर्छ।
सरकारले आप्रवासी कामदारहरूका लागि खोप प्रमाणपत्र दिने व्यवस्था गरे पनि यो प्रक्रियालाई डिजिटाइज गरेर सहज रूपमा सबैलाई उपलब्ध गराउनु उपयुक्त हुन्छ। किनभने, खोप प्रमाणपत्रलाई विभिन्न देशले घरभित्र तथा सार्वजनिक स्थलमा हुने कार्यक्रमहरूमा सहभागी हुन अनुमति दिने 'इजाजतपत्र' का रूपमा समेत प्रयोग गरेको पाइन्छ।
सुरक्षित आइसोलेसनको सुनिश्चितता गरौं
कोभिड-१९ को पहिलो लहरमा स्थानीय सरकारहरूले आइसोलेसन केन्द्रको निर्माण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेले। दोस्रो लहरमा सरकारले गम्भीर बिरामी नभएकाहरूलाई घरमै आइसोलेसनमा बस्न प्रोत्साहित गर्यो। तर, होम आइसोलेसन त्यति सुरक्षित देखिएन। कतिपय अवस्थामा परिवारका धेरै सदस्य एकैचोटि संक्रमित हुन पुगे।
त्यसैले तेस्रो लहर रोक्न स्थानीय सरकारले हरेक संक्रमितले सुरक्षित तवरले घरमै वा स्थानीय तहले तोकेको आइसोलेसन केन्द्रमा बसेर सबै मापदण्ड पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्नुपर्छ। संक्रमित व्यक्तिले पनि आफ्नो नजिकैको स्वास्थ्य संस्था वा सरकारको कोभिड-१९ हटलाइन नम्बरमा फोन गरेर होम आइसोलेसनमा बस्दा परिवारलाई कसरी जोखिम कम गराउने भनेर बुझ्न आवश्यक हुन्छ।
घरमै आइसोलेसनमा बस्न सम्भव नभएका र कम आय हुने व्यक्तिहरूका लागि स्थानीय सरकारले सुरक्षित र सुविधायुक्त आइसोलेसन केन्द्रहरूको व्यवस्था गरिदिनुपर्छ।
वैज्ञानिक अनुसन्धानमा लगानी बढाऔं
कोभिड-१९ अनुसन्धानको क्षेत्रमा नेपालले धेरै काम गर्न बाँकी छ। भर्खरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाभाइरसको 'जिन सिक्वेन्सिङ' शुरू गरेको छ, जसले नेपालमा फैलिरहेको कोरोनाभाइरसको बारेमा जान्न थप मद्दत पुग्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डब्लूएचओको संयुक्त पहलमा भइरहेको देशव्यापी कोभिड-१९ को सिरोलोजी सर्वेक्षणले पनि कोभिड-१९ को संक्रमणको अवस्था बुझ्न थप सघाउनेछ। यस्ता ठूला सर्वेक्षणलाई निरन्तरता दिइनुपर्छ। छिमेकी मुलुक भारतले एक वर्षकै बीचमा यस्तो सर्वेक्षण चार पटक गरिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा कोभिड-१९ को खोपको 'क्लिनिकल ट्रायल' पनि शुरू गर्न सकिन्छ। त्यस कार्यमा खोप सम्बन्धी काम गर्ने देशभित्र र बाहिर रहेका विज्ञ र संस्थाहरूको सहयोग लिनुपर्ने हुन्छ। अहिले प्रयोगमा रहेका खोपहरूको किशोरकिशोरीमा गरिने परीक्षण वा फरक-फरक खोपको मिश्रण सम्बन्धी अनुसन्धानहरूमा नेपाल पनि सहभागी हुनसक्छ। खोप लगाउने जनसंख्या बढ्दै जाँदा आगामी दिनहरूमा खोपको प्रभावकारिताको पनि अध्ययन गर्न जरुरी हुन्छ।
भाइरसको विस्तार रोक्न सबै नागरिकले आफ्नो कर्तव्य निर्वाह गरौं
नेपालमा कोभिडको तेस्रो लहरको असर कम गर्न भाइरस फैलिने क्रम रोक्नुपर्छ र यसका लागि हामी सबै नागरिकले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ। यो महामारीको असर लामो समयसम्म नरहोस्, यसले पहिले जस्तो धेरैको ज्यान नलियोस् भन्ने हो भने नागरिकले जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका उपाय कडाइपूर्वक पालना गर्नैपर्छ।
जबसम्म विश्वभर नै बहुमत जनसंख्या खोपबाट सुरक्षित हुँदैन, तबसम्म कोभिड-१९ को असर ररिरहने देखिन्छ। त्यसैले यो समयमा मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने, साबुनपानीले हात धुने, भीडभाड नगर्ने र त्यस्ता ठाउँमा नजाने जस्ता जनस्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्नुपर्छ। कार्यकक्ष, पसल, रेस्टुरेन्ट आदिमा राम्रो हावा खेल्ने र भीडभाड कम हुने व्यवस्था मिलाउनुपर्छ भने मास्क लगाउन अनिवार्य गर्नुपर्छ। हाम्रा यी ससाना कार्य र पहलले भाइरस नियन्त्रणमा ठूलो भूमिका खेल्न सक्छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले खोप लगाएका व्यक्तिहरूलाई समेत मास्क लगाउन भनेको छ। किनभने, खोप लगाएका व्यक्तिले समेत डेल्टा भेरिएन्टबाट संक्रमित भएको अवस्थामा अरूमा भाइरस सार्न सक्छन्। नेपालमा डेल्टा प्रमुख भेरिएन्ट रहेको अवस्थामा खोप लगाएका र नलगाएका सबैले समान रूपले रोकथामका उपाय अवलम्बन गर्नुपर्छ।
दोस्रो लहरको वेला गत २८ वैशाखमा नेपालमा संक्रमितको संख्या सबैभन्दा धेरै (९४८३) पुगेको थियो। त्यसै दिन पीसीआर परीक्षणमा पोजेटिभ देखिने दर प्रति १०० जनामा ४४.५ थियो। २४ साउनमा यो दर कम (२०.६) छ। तर, नेपालमा अझै पनि प्रति एक लाख मानिसमा नयाँ साप्ताहिक रूपमा संक्रमित भेटिने औसत संख्या भारतको भन्दा धेरै छ।
त्यसैगरी, नेपालमा संक्रमित व्यक्तिले अरूलाई कोभिड-१९ सार्न सक्ने दर अहिले १.१५ छ, दोस्रो लहर उच्च बिन्दुमा पुगेको समयमा करीब २.१३ थियो भने मध्य जूनतिर ०.६३ थियो। यो दर एक भन्दा माथि हुँदा कोरोनाभाइरस समुदायमा छिटै फैलिने सम्भावना हुन्छ। त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि निकट भविष्यमा सम्भावित तेस्रो लहरको जोखिम औंल्याएको छ।
२६ साउनसम्मको तथ्यांक अनुसार, नेपालमा खोपको पूर्ण मात्रा लगाउने जनसंख्या जम्मा ९.१ प्रतिशत छ। खोप लगाउने संख्या कम भएको र सजिलै सर्न सक्ने डेल्टा भेरिएन्ट फैलिरहेको अवस्थामा हामी पहिलेभन्दा पनि धेरै सजग हुन आवश्यक छ। सबैको सामूहिक पहल र जिम्मेवारीबोधबाट मात्र कोभिड-१९ को तेस्रो लहरको असर कम गर्न सकिन्छ।
लेखकहरू नेपाल-जोन्स हप्किन्स युनिभर्सिटी कोभिड-१९ भ्याक्सिन एड्भोकेसी ग्रुपमा आबद्ध छन्। यो ग्रुपमा जनस्वास्थ्य क्षेत्रमा नेपालमा ५ देखि १५ वर्षसम्म काम गरेका महामारी विज्ञान, संक्रामक तथा नसर्ने रोगहरू, खोप निर्माण, स्वास्थ्य असमानता, स्वास्थ्य प्रणाली, खाद्य सुरक्षा र पोषण, समाज विज्ञान, बिरामी सुरक्षा आदिसँग सम्बन्धित विज्ञहरू छन्। छिरिङ पेमा लामा र सन्तोष ढकाल जोन्स हप्किन्स युनिभर्सिटीमा आबद्ध छन्। स्वेता मनोहर जोन्स हप्किन्स युनिभर्सिटीमा आबद्ध छिन् भने विनीता अधिकारी जोन्स हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थ र हेल्थ फाउन्डेसन नेपालसँग सम्बद्ध छिन्। यस्तै, विजय आचार्य अमेरिका-नेपाल मेडिकल फाउन्डेसन, म्यासाचुसेट्स जनरल हस्पिटल र हार्वर्ड मेडिकल स्कूलमा सम्बद्ध छन्। एन्जेला केसी जोन्स हप्किन्स युनिभर्सिटी र अकुमेनमा सम्बद्ध छिन् भने मोल्ली फिट्जगेराल्ड र दिनेश न्यौपाने जोन्स हप्किन्स युनिभर्सिटीमा सम्बद्ध छन्।