चार तस्वीर, चार कथा
नेपाली सञ्चारमाध्यममा विभिन्न समयमा छापिएर विशेष चर्चा पाएका र धेरैको मनमा बसेका केही खास तस्वीर र त्यसभित्रको रोचक कथाः
हरेक तस्वीरसँग कुनै कथा, व्यथा, घटना वा सम्झना जोडिएको छ। तत्क्षणको साक्षी र जीवन्त हुने भएकाले तस्वीरको तागत विशिष्ट हुन्छ। भनाइ नै छ– ‘तस्वीर आफैं बोल्छ’, ‘हजार शब्दले नबोल्ने कुरा एउटा तस्वीरले भन्छ’।
निश्चित समय पक्रिन सक्दा तस्वीरको मूल्य र अर्थ खास हुने भएकाले फोटोग्राफी र फोटो पत्रकारितामा यस कुरामा विशेष ध्यान दिइन्छ। तस्वीरले सोझै बोल्ने कुरा त भइहाल्यो, त्यो खिच्ने व्यक्तिसँग त्यस पछाडिको रोचक र मार्मिक कथा पनि हुन्छ। यहाँ नेपाली सञ्चारमाध्यममा विभिन्न समयमा आएका र निकै चर्चा पाएका चार तस्वीर लिइएको छ, जसबारे सम्बन्धित फोटो पत्रकारसँग तस्वीर पछाडिको कथा र सम्झना खोतलेका छौं।
मार्मिक तस्वीरले दिएको खुशी
बिहानको ९ः३० बजे, यो वेला काठमाडौंको मूल सडक सवारीसाधनको चापले अटेसमटेस नै हुन्छ। ४ फागुन २०६२ मा कान्तिपुरका तत्कालीन फोटो पत्रकार शालिग्राम तिवारीलाई केही कामले बिजुलीबजार जानु थियो।
जति नै हतार भए पनि जाम छल्न उनले कहिल्यै ‘शर्टकट’ बाटो रोजेका थिएनन्। तर, त्यस दिन सधैं हिंड्ने बाटो भुले जस्तै गरी उनले मोटरसाइकल नयाँ गल्लीतिर मोडे। “बिजुलीबजार जान बानेश्वरको बाटो हिंड्न सक्थें, तर त्यो दिन के भएछ मलाई, थापाथलीबाट बिजुलीबजार निस्किने भित्री गल्ली पो छिरेछु,” शालिग्राम सम्झिन्छन्।
त्यो गल्ली छिर्नासाथ उनका आँखा एउटा दृश्यमा टक्क रोकिए। मोटरसाइकलमा हठात् ब्रेक लगाए। त्यो दृश्यले उनको मन अमिलो बनायो।
“एक बालक विद्यालयको पर्खाल बाहिरबाट चियाएर विद्यार्थीले पिटी खेलेको सिको गर्दै थिए,” १६ वर्षअघिको समय सम्झँदै उनी भन्छन्। उनले तत्कालै झोलाबाट क्यामेरा निकाले। पिटी खेलिरहेका विद्यार्थीलाई पृष्ठभूमिमा पारेर, दुईवटा इँटाको आडमा उभिएका बालकको तस्वीर खिचे।
उनी त्यस दिन यस्तै तस्वीर खिच्छु भनेर हिंडेका थिएनन्। तर, मन तृप्त पार्ने जीवन्त तस्वीर खिच्ने हरेक फोटो पत्रकारभित्रको भोक उनीभित्र पनि थियो। उनको भोक त्यस दिन मेटियो। त्यो तस्वीरले उनलाई दोब्बर खुशी दियो। कारण, त्यही तस्वीरकै कारण बालकको शैक्षिक भविष्य सुनिश्चित गरिदियो। त्यो तस्वीर कान्तिपुरको पहिलो पृष्ठमा छापियो।
“छापिएपछि तस्वीरले चर्चा त पायो नै, तस्वीरको प्रभावले बच्चाको जीवनमा पनि बहार ल्याइदियो,” उनले खुशी साटे, “तस्वीर छापिएको केही दिनमै नयाँ बानेश्वरको नोबेल एकेडेमीले ती बालकलाई चाहे जति निःशुल्क पढाइदिने भयो।”
अब समस्या पर्यो, ती बालकलाई कहाँबाट सम्पर्कमा ल्याउने! तस्वीर खिच्ने वेला उनले परिचय र सोधखोज गरेका थिएनन्। तर, बालकले सिलाएर लगाएको चप्पल र फाटेको पाइन्ट लगाएको देखेका उनले अनुमान लगाए, ऊ यतै झोपडीमा भेटिन सक्छ। दिनभर थापाथली र बिजुलीबजारका भित्री गल्लीमा चहार्दा साँझपख बच्चालाई भेटे।
विद्यालयले निःशुल्क पढाइदिने कुरा बाआमासँग सुनाएपछि उनीहरू भक्कानिएर रोएको अहिले जस्तो लाग्छ, शालिग्रामलाई। ती बालक हुन्, नीरज चौलागाईं। उनले नोबेल एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरिसकेका छन्।
फोटो पत्रकार भएपछि शालिग्रामले मिडियाका लागि र फ्रिलान्सिङका क्रममा कति तस्वीर खिचे, उनलाई हेक्का छैन। तर, संयोगले खिचेको बालकको तस्वीर उनका लागि यादगार र फोटो पत्रकारिताको जीवनमा अर्को खुड्किलो बनिदियो।
तस्वीर जतिसुकै विशेष भए पनि छापामा त्यसका लागि उचित स्थान दिनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। यो पाटोमा पनि शालिग्रामको तस्वीरले न्याय पायो।
“फोटो त संयोगले खिचियो, तर छाप्ने वेला तत्कालीन सम्पादक नारायण वाग्लेले पहिलो पृष्ठमा स्थान नदिएको भए कुरा त्यहीं सकिन्थ्यो,” उनी भन्छन्।
हाल फ्रिलान्सिङ फोटोग्राफी गरिरहेका शालिग्रामको यो तस्वीर सम्बन्धी अब एउटै चाहना छ। तस्वीर खिच्ने वेला चार वर्ष हाराहारी रहेका बालक अहिले कम्तीमा २० वर्षे युवक भइसके। “नभेटेको धेरै भयो, उनको बारेमा अरूहरूले सुनाए अनुसार स्नातक पढ्दै छन् रे। अब उनको पछिल्लो तस्वीर खिच्न मन छ,” उनी भन्छन्।
‘बा झा'ल !’
दुई वर्षअघि १३औं दक्षिणएशियाली खेलकुद (साग)का क्रममा सातदोबाटोको कराते हल तातेकोे थियो। खेलाडीहरूको हरेक ‘एक्सन’ कैद गर्न फोटो पत्रकारहरू एकोहोरिएका थिए। त्यही भीडमा थिइन्, अन्नपूर्णकर्मी सुनिता डंगोल। उनले लेन्सबाट पछ्याइरहेकी खेलाडी थिइन्, सुनिता महर्जन।
महर्जन पाकिस्तानकी कुल्सुमसँग प्रतिस्पर्धा गरिरहेकी थिइन्। फोटो पत्रकार डंगोललाई नेपालले पक्का हार्छ भन्ने मनमा लागेको थियो। “सुनिता महर्जनको खेल सन्तोषजनक थिएन, त्यसैले त्यहाँको खेल छोडेर म अर्कै ब्लकमा गएँ,” डंगोल सम्झिन्छिन्। तर, उनले एकाएक सुनिन्– करातेमा ६५ केजी तौल समूहमा नेपालले पाकिस्तानलाई जित्यो।
त्यसपछि उनी दगुर्दै विजेता सुनिता महर्जनको छेउमा पुगिन्। त्यहाँ उनको अन्तर्वार्ता चल्दै थियो। तस्वीर खिच्न मन लाग्ने गरी महर्जनको मुहारमा झ्वाट्ट तान्ने खालको उल्लास देखिनन्। राम्रो तस्वीर नभेटेर खिन्न भएकी उनको कानमा नेवारी शब्द ठोक्कियो, ‘बा झा'ल’ अर्थात् बुवा आउनुभो!
उनको चेतनाले त्यो शब्दलाई तुरुन्तै अर्थ्यायो– विजेता बनेकी महर्जनको बुवा आउनुभएछ। यस्तो खुशीको क्षण कस्तो बन्ला भन्नेमा उनी क्यामेरा लिएर सजग बनिन्।
त्यत्तिकैमा महर्जन र कुनाबाट लुसुक्क निस्केका एक वृद्ध एक–अर्कालाई भेट्न दौडिएको उनले देखिन्। र, पछ्याइरहिन्। त्यसपछि देशका लागि खेलेको खेलमा जितेकी छोरी र बुबाको भेटमा कस्तो माहोल बन्यो, त्यो सुखद र भावपूर्ण क्षण डंगोलको तस्वीरले नै बोलेको छ।
महर्जनले पहिलो स्वर्ण पदक जितेपछिको खुशी बुबालाई आत्मीय अँगालोमा बेरेर साटेकी छन्। छोरीको अँगालोमा बाँधिएका नाति महर्जनका आँखा रसाएका थिए। बुबाको आँखामा आँसु देखेपछि सुनिता अझै भक्कानिइन्। एकआपसको आँसु पुछ्दै फेरि रुँदै गरेका उनीहरू अवाक् थिए। त्यो सबै क्षण डंगोलको क्यामेराले लगालग ४०–५० सटमा कैद गरेको थियो।
“त्यो माहोलमा हात काम्दा जूम गर्नै सकेकी थिइनँ,” उनले सुनाइन्।
बाबु–छोरीको आत्मीय अँगालोको यो तस्वीरले त्यसै वर्ष (२०७६) पीजे क्लबको स्पोर्ट फोटो प्रतियोगितामा दोस्रो स्थान हात पार्यो। खेलाडीको एक्शन विनाको तस्वीर भएर पनि स्पोर्ट फोटो प्रतियोगितामा पुरस्कृत भएको यो पहिलो तस्वीर बन्यो। त्यसपछि खेलकुदको उत्कृष्ट तस्वीर खिच्न मैदान नै पुग्नुपर्छ भन्ने सोच पनि सुनिताले त्यागिदिइन्।
“खेलाडीका अभिव्यक्ति र भावना पनि गजबको क्षण बन्दा रहेछन्,” सुनिता भन्छिन्, “तर चनाखोपन अति जरुरी छ। किनकि कसैले बोलेको आवाज पछ्याएरै मैले यो फोटो कैद गर्न सफल भएँ।”
मानवीयताको सग्लो उदाहरण
गड्याङ्ङ!
फोटो पत्रकार मीनरत्न वज्राचार्यले एक्कासि गोली चलेको आवाज सुने। गोली कहाँबाट आयो, कसले हान्यो र कसलाई लाग्यो होला भन्ने सोच्न पनि नभ्याउँदै त्यहाँ एक जना व्यक्ति ढलिसकेका थिए। घटना थियो, १० वैशाख २०४७ को। स्थान, काठमाडौं इन्द्रचोक।
निर्दलीय पञ्चायती व्यवस्था ढलेर बहुदल आइसक्दा पनि ती दिनहरूमा बहुदलीय व्यवस्थाको समर्थन र विरोधमा जुलूस भइरहेका थिए। प्रहरीहरूलाई पनि मण्डले भनेर गोली हानिएका घटनाहरू भएका थिए। बिहान सबेरै साइकल लिएर निस्किएका मीन मध्य दिनमा इन्द्रचोक पुग्दा गोली चलेको थियो।
३२ वर्षअघिको घटना सम्झिंदै उनी भन्छन्, “२०४६ चैतमा बहुदलीय व्यवस्था आएपछि पनि तत्कालीन सत्ताधारीहरूले शान्ति कायम गर्न नसक्दा त्यस दिन पनि गोली चलेको थियो।”
कन्चटमा गोली लागेर ढलेको मानिस उनी पहिलो पटक देख्दै थिए। क्यामेरा एकोहोरो ती व्यक्तितिरै सोझ्याइरहे।
गोलीको आवाज परपरबाट आइरहेकै थियो। मीनका हातगोडा चिसा भएका थिए। फेरि पनि त्यहाँ अर्को गोली चल्न सक्ने त्रासका बीच मानिसहरूले त्यस व्यक्तिलाई बचाउन गरेको प्रयासले उनको ध्यान तान्यो। उनलाई अझै याद छ, “त्यो मानिस ढल्नासाथ पाँच जनाले उठाएर वीर अस्पतालतिर दौडाउँदै थिए।”
फोटोले बोलेको सन्देश अर्थ्याउँदै मीन भन्छन्, “कन्चटमा लागेको गोलीले टाउको रक्ताम्य र क्षतविक्षत जस्तै थियो। तर पनि, बचाउन सक्ने आशाले दयालु मानिसहरूले गरेको कर्म साँच्चै मार्मिक लाग्यो। त्यहाँ मानवीयता नमरेको देखें।” यो तस्वीरले आफूलाई नेपाली कति दयालु हुन्छन् भनेर सम्झना दिलाउने उनी बताउँछन्।
मीनले यस घटनाको एउटा मात्र तस्वीर खिचेनन्। त्यो व्यक्तिको अवस्था थाहा पाउन वीर अस्पताल नै पुगे। उसको मृत्यु भइसकेको रहेछ। भुइँमा लडेको तस्वीर पनि खिचे।
जब यो तस्वीर प्रजातन्त्रको उदय पुस्तकमा छापियो, गोली लागेको व्यक्तिलाई अस्पताल लैजाने मानिसहरू मीनको सम्पर्कमा आए। मृत्यु हुने व्यक्तिको नाम नवेल खड्का रहेछ। ठेगाना र परिवार भने पत्ता लागेन। नवेललाई उठाएर अस्पताल पुर्याउने सबैलाई उनले यो तस्वीर एक–एक प्रति दिए। “तर नवेलको परिवार भने आएनन्। तस्वीर हेर्न नसकेर पनि हो कि,” मीन भावुक हुँदै भन्छन्, “एउटै इच्छा के छ भने, नवेलका परिवार आए भने उनलाई बचाउन त्यस वेला भएको कोशिशबारे तस्वीर देखाउँदै बताउने थिएँ।”
बुद्ध र बन्दूक
२९ वर्षको उमेरमा दीपेन्द्र वज्राचार्यले यस्तो तस्वीर खिचे, जसले नेपालको कठिन समयको कथा भन्छ। तस्वीरको एउटै फ्रेममा सैनिकले भिरेको बन्दुक र शान्तिका दूत बुद्धको मूर्ति छ। अन्य समयमा यो तस्वीर खिच्न त्यति सकस नहुँदो हो, जति दीपेन्द्रलाई त्यो समयमा भयो।
१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि राजधानी काठमाडौंमा अमनचैनको ठाउँमा सन्त्रास छाएको थियो। सञ्चार संस्थाहरूमा तोडफोड शुरू हुन थालेको थियो। दीपेन्द्रलाई डरले त गाँजेको थियो, तर आफ्नो कामबाट विचलित नहुने ठानेका थिए। डल्लुमा बस्ने उनी तत्कालीन समय साप्ताहिकको पुल्चोकस्थित कार्यालय पुग्नुपर्थ्यो। दीपेन्द्र भन्छन्, “सडकमा दुई जना मानिस उभिन पनि दिइएको थिएन, क्यामेरा भिरेर फोटो खिच्न झन् कति गाह्रो थियो होला!”
तर, त्यो अवस्थामा पनि उनले गम्भीर अर्थ बोक्ने तस्वीर खिचे। यो तस्वीर उनले ज्ञानेन्द्रले सत्ता हत्याएको पर्सि पल्टको दिन थापाथलीको पुलबाट खिचेका हुन्। “त्यति वेला बुटको आवाजले राजधानी त्रस्त थियो।
त्यही बुद्धको मूर्ति छेउ घण्टौं लुकेर तस्वीर खिचेको थिएँ। हेर्दाहेर्दै बुद्धको मूर्तिसँगै एक जना आर्मी र उसले भिरेको बन्दुक एउटै फ्रेममा अट्न पुग्यो,” उनी भन्छन्।
तस्वीर सांकेतिक हुनुपर्छ भन्ने मान्यता राख्ने दीपेन्द्रलाई यो तस्वीरले सन्तुष्टि मिल्यो। तस्वीरको विशेषताबारे उनी भन्छन्, “बुद्ध र हतियारले पनि एउटै ठाउँमा बाँच्नुपर्ने दिन आएको बुझाउन शब्द चाहिएन।”
तस्वीर खिचेपछि यसको कठोर समीक्षक उनी आफैं बन्ने गरेका छन्। चित्त नबुझ्दासम्म एउटा तस्वीरका लागि तीन महीनासम्म समय लगाएको सम्झन्छन्। सोचेको जस्तो तस्वीर आएपछि मात्र आफूलाई मीठो निद्रा पर्ने उनी बताउँछन्। त्यस दिन उक्त तस्वीर राम्रो भएर पनि दीपेन्द्रलाई निन्द्रा लागेन। यसको कारण आफैंले काम गर्ने पत्रिकाले तस्वीर छाप्ने आँट गरेन।
नछापिएर निराश भएका उनले त्यो तस्वीर नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितलाई देखाए। त्यसपछि नेपाली टाइम्समै तस्वीर छापियो। “बल्ल आफ्नो फोटो पत्रकारिताले न्याय पाएको महसूस गरें,” उनी भन्छन्।