‘फ्लू र कोरोनाको संक्रमणले हुने ट्वीन्डेमिक जोखिमपूर्ण’
केही महीनायता ट्वीन्डेमिक फ्लूको संक्रमण बढ्न थालेको छ। कोरोनाको जस्तै लक्षण भएकाले यसले संक्रमित र स्वास्थ्यकर्मीलाई समेत अलमलमा पार्ने गरेको छ। नयाँ फ्लू भएकाले यसको बारेमा अध्ययन, अनुसन्धान पनि पर्याप्त भएको पाइँदैन। यसको लक्षण, जोगिन अपनाउनुपर्ने उपाय लगायतबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीः
ट्वीन्डेमिक कस्तो खालको रोग हो?
यति वेला कोभिड–१९ महामारी छ। बर्खाको समय फ्लूको पनि ‘सिजन’ हो। ट्वीन्डेमिक एक प्रकारको फ्लू हो। कोरोना र फ्लू सँगसँगै देखिएको अवस्थालाई ट्वीन्डेमिक भनिएको हो। यसले कोभिड-१९ को जस्तै अवस्था सिर्जना गर्ने र लक्षण पनि मिल्ने भएकाले ट्वीन्डेमिक नामकरण गरिएको हो। यो वर्ष अर्थात् सन् २०२१ को शुरूआतदेखि यसको संक्रमण बढ्दै गएको छ। जुलाई महीनायता दुई हप्ताको फरकमा दुई गुणाले बढेको देखिन्छ। परीक्षण नै नगराएको, तर समुदायस्तरमा यसबाट प्रभावित कति होलान्? अनुमान लगाउन गाह्रो छ।
ट्वीन्डेमिकका लक्षण कोरोनाभाइरससँग मिल्दा छन् भनिन्छ नि?
काेराेना र ट्वीन्डेमिक फरक भाइरस भए पनि यो दुईवटै सर्ने तरिका एउटै हो। तर, यसको उपचार गर्ने पद्धति फरक छ। ट्वीन्डेमिक र कोभिड दुवै श्वासप्रश्वासनको समस्याबाट शुरू हुन्छन्। दुवैमा ज्वरो, खोकी, जिउ दुख्ने र घाँटी दुख्ने हुन्छ। तसर्थ, ट्वीन्डेमिक छुट्याउन लक्षण मात्रै पर्याप्त हुँदैन। कोरोना संक्रमितलाई चाहिँ स्वाद, गन्ध थाहा नपाउने अथवा त्यसमा ह्रास आउने हुन्छ। अर्को कुरा, ट्वीन्डेमिकको लक्षण २/३ दिनमा देखिन्छ भने कोरोनामा सामान्यतया ५/६ दिन लाग्छ। लक्षण मिल्दोजुल्दो भएकै कारण ट्वीन्डेमिक हामी स्वास्थ्यकर्मीका लागि पनि चुनौतीपूर्ण छ।
नेपाल जस्तो स्वास्थ्य क्षेत्र व्यवस्थित नभएको मुलुकका लागि ट्वीन्डेमिकको प्रभाव कस्तो पर्ने देखिन्छ?
ट्वीन्डेमिक शुरूआतमै नेपाल लगायत केही देशमा फैलिएकाे छ। यदि विकसित देशमा फैलिएको हुँदो हो त अध्ययन, अनुसन्धान अगाडि बढाएर रोकथामको उपाय खोजिन्थ्यो। तर, हामी यसको भोलिको अवस्था यस्तै होला भनेर अनुमान गर्नसक्ने अवस्थामा छैनौं। दु:खद कुरा चाहिं, ट्वीन्डेमिक फ्लू भयो भने पाँच गुणा मृत्युदर बढ्छ भन्ने निचोड अमेरिकन र पश्चिमा देशका वैज्ञानिकहरूको अनुसन्धानले निकालेको छ।
अहिले ट्वीन्डेमिक पोजेटिभ र कोरोना नेगेटिभ भएको धेरै पाएका छौं। एकै व्यक्तिलाई दुवै पोजेटिभ भयो भने चाहिं ज्यादै जोखिम हुन्छ। र, संक्रमण पनि फैलाउँछ।
अहिले हाम्रो देशमा ट्वीन्डेमिक संक्रमितको सङ्ख्या कति छ?
गत हप्तासम्म ८० जना हाराहारी यसबाट संक्रमित भएको देखिन्छ। हामीलाई चिन्ताको विषय चाहिं, यो फ्लू र कोरोना पोजेटिभ एकैपटक देखियो भने कति जोखिम होला भन्ने छ। किनकि, यसको अनुभव कुनै देशले पनि गरेको छैन। यसको व्यवस्थापन कसरी गरिन्छ भनेर कतै देख्न पाइएको छैन। भोलि यसको व्यवस्थित तरिकाले उपचार भयो भने नेपाल एउटा उदाहरण हुनसक्छ।
अब पश्चिमी देशमा जाडो मौसम शुरू हुँदै छ। जाडो मौसम फ्लूको लागि उर्वर समय हो। यसको अर्काे गम्भीर कुरा चाहिँ, यसले बालबालिकालाई असर बढी गर्छ।
ट्वीन्डेमिक फ्लू पनि मौसमी नै हो?
हो। ट्वीन्डेमिक फ्लू लामो समय जाँदैन, तर अहिले यसको ‘पिक’ समय हो। अबका २–३ हप्ता उग्र भएर बिस्तारै घट्ने हाम्रो अनुमान छ। कोरोनाभाइरस नभइदिएको भए सबै जनशक्ति यसको नियन्त्रणमै लगाउन सक्थ्यौं, तर अवस्था त्यस्तो छैन।
ट्वीन्डेमिकको विशेष उपचार र खोप छ कि छैन?
हामीसँग यसको खोप छ। विकसित देशहरूले पनि यसका विरुद्ध खोप लगाउन भनेका छन्। खोप लगाएका धेरै मान्छेमा फ्लू देखिए पनि अस्पताल भर्ना हुने अवस्था सिर्जना हुँदैन। खोपले मृत्युदर घटाउँछ।
ट्वीन्डेमिकका बारेमा बल्ल बहस हुँदै छ। यसलाई चिन्नका लागि परीक्षण नै आवश्यक पर्छ। यसो गर्दा परामर्शदेखि उपचारमा कोरोनाभन्दा फरक तरिका अपनाउन सकिन्छ। फ्लू आफैंमा खतरनाक हुन्छ। त्यसकारण स्वास्थ्यकर्मीसँग समयमै परामर्श गर्नु उचित हो।
ट्वीन्डेमिक कति खतरनाक फ्लू हो?
अघिल्लो वर्ष नै अमेरिका र युरोपेली वैज्ञानिकहरूले ट्वीन्डेमिक आउनसक्ने अनुमान गरेका थिए। तर, त्यसो भएन। यो वर्ष चाहिं देखिएको छ। हामीलाई चिन्ता चाहिं ट्वीन्डेमिक र कोरोना संक्रमण एकैपटक भयो भने कति असर गर्ला भन्ने नै हो। यस्तो हुँदा धेरै खतरा हुन्छ भन्ने हाम्रो अनुमान छ। फेरि ट्वीन्डेमिक भएर पनि जाँच नगर्ने, अस्पताल नआउने संख्या पनि उत्तिकै होला। मृत्युदर यति नै भन्ने यकिन नभए पनि हेलचेक्र्याइँ गर्ने खालको सामान्य फ्लू होइन।
यसको उपचार चाहिँ के छ?
फ्लू भएपछि बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई चाँडै निमोनिया हुनसक्छ। यसबाट जोगिन मास्क लगाउने, साबुनपानीले हातधुने नै हो। विकल्प खोप पनि हो। यो सरकारले निःशुल्क उपलब्ध गराउँछ। खोप लगाए अस्पतालमा लामो समय बस्नु पर्दैन र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ।
ट्वीन्डेमिक र कोरोनाको मिश्रित रूप आउन नदिन सरकारले गर्नैपर्ने उपाय के–के हुन्?
ट्वीन्डेमिक भर्खर देखिन थालेको छ। सरकारले तत्काल के गर्ने भन्दा पनि पहिलो काम नै कोरोना र ट्वीन्डेमिक छुट्याउने हो। त्यसका लागि परीक्षण नै मुख्य उपाय हो। काठमाडौं बाहिर पनि परीक्षणलाई व्यापक बनाउनुपर्छ। परीक्षणले संक्रमितसँगै स्वास्थ्यकर्मीलाई पनि उपचार र परामर्शका लागि सहज बनाउँछ।