मैदान बाहिरको खेलको तयारीमा पारस
स्रोतसाधनको अभाव र राजनीतिक हस्तक्षेपबीच राष्ट्रिय टोलीको नेतृत्व गरेका पारस खड्काले करीब दुई दशकको खेल जीवनमा नेपाली क्रिकेटको स्वरूप बदले।
“नेपाली क्रिकेटमा पारसभन्दा राम्रो खेलाडी जन्मिन सक्छ, तर पारस जस्तो खेलाडी चाहिं जन्मिन सक्दैन,” अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्काबारे प्रशिक्षक जगत टमाटाको विश्लेषण हो, यो।
टमाटाका यी शब्दले पारसको खेलाडीदेखि कप्तानसम्मको संघर्ष र सफलताको कथा भन्छन्। सबैभन्दा पहिला त पारस अब्बल खेलाडी हुन्। कप्तानका रूपमा कुशल नेतृत्व गर्दै टीमको मनोबल उकास्ने क्षमता पनि उनले देखाए। एउटै खेलाडीमा यस्तो संयोग विरलै भेटिन्छ।
झण्डै दुई दशकको यात्रामा पारस नेतृत्वको टोलीले रचेको यो इतिहास नेपाली क्रिकेटका महत्त्वपूर्ण उपलब्धि हुन्। कतिपय अवस्थामा उनी विवादमा पनि तानिए। यी सबै घटनामा आफूलाई केन्द्रबिन्दुमा राखेकै कारण पारस खास बनेका हुन्।
सन् १९४६ मा नेपाल क्रिकेट संघ (क्यान)को स्थापनाबाट भएको संस्थागत विकासका हिसाबले नेपाली क्रिकेटको इतिहास साढे सात दशक लामो छ। आधुनिक क्रिकेटको शुरूआतले एकखाले संघर्ष गरिरहेका वेला पारसको पुस्ताको उदय भएको थियो, जसले नेपाली क्रिकेटको मुहार नै चम्काइदियो।
यो पुस्ताले उमेर समूहदेखि अन्तर्राष्ट्रिय क्रिकेटसम्म उत्कृष्ट प्रदर्शन गर्यो- लगातार तीन वटा एसीसी यू-१९ कपको उपाधि, आईसीसी डिभिजन-५ देखि डिभिजन-१ सम्म फड्को, विभिन्न अन्तर्राष्ट्रिय उपाधि, २० ओभरको विश्वकपमा सहभागिता र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता।
झण्डै दुई दशकको यात्रामा पारस नेतृत्वको टोलीले रचेको यो इतिहास नेपाली क्रिकेटका महत्त्वपूर्ण उपलब्धि हुन्। यसबीचका सबै आरोह-अवरोहका साक्षी बने, पारस। कतिपय अवस्थामा उनी विवादमा पनि तानिए। यी सबै घटनामा आफूलाई केन्द्रबिन्दुमा राखेकै कारण पारस खास बनेका हुन्।
युवा नेतृत्व
दुई दशकको करिअरमा पारसको क्षमतामा कहिल्यै प्रश्न नउठेको पूर्व कप्तान विनोद दास बताउँछन्। “१७-१८ वर्षसम्म खेलिरहनु एउटा कुरा हो, तर लगातार उच्च लयमा खेल्नु अर्को विषय हो, जसमा पारस राम्ररी जमेका देखिए,” उनी भन्छन्।
दासका अनुसार, शुरूआती अवस्थामै पारसले ‘चिल्लो पात’को छवि देखाइसकेका थिए। सन् २००२ मा पारससँगै शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल र कनिष्क चौगाईं टोलीमा सामेल भएका थिए। पछि त्यसमा वसन्त रेग्मी थपिए। अनि यो पुस्ताले आफ्नो खुबी देखायो।
सन् २००४, २००६ र २००८ मा लगातार तीन पटक एसीसी यू-१९ कप जित्यो। त्यही समयमा हो, युवा टोलीले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, पाकिस्तान, जिम्बावे र वेस्ट इन्डिज जस्तो टोलीलाई पराजित गरेको। अन्ततः त्यही युवा पुस्ताले राष्ट्रिय टोली सम्हाल्यो।
यो टोलीले सन् २००४, २००६ र २००८ मा लगातार तीन पटक एसीसी यू-१९ कप जित्यो। त्यही समयमा हो, युवा टोलीले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, पाकिस्तान, जिम्बावे र वेस्ट इन्डिज जस्तो टोलीलाई पराजित गरेको। अन्ततः त्यही युवा पुस्ताले राष्ट्रिय टोली सम्हाल्यो।
सन् २००९ मा पारसले राष्ट्रिय टोलीको कप्तानी सम्हाले, जुन २०१९ सम्म जारी रह्यो। २०१० मा टीम नेपालले डिभिजन-५ जितेर आफ्नो क्षमता प्रमाणित गर्यो। यस्तै, २०१२ मा डिभिजन-४ च्याम्पियन भएको नेपाल २०१३ र २०१४ मा लगातार डिभिजन-३ च्याम्पियन भयो। प्रशिक्षक टमाटाका भनाइमा, टीमलाई बाँधेर राख्न सक्ने पारसले आफूले राम्रो खेलेमा टीमका अरूले पनि राम्रो गर्छन् भन्ने मान्यताले खेले।
नेपालले खेलेका प्रत्येक खेलमा उनले त्यो मान्यतालाई सही साबित गरे। त्यसैले होला, हारको सँघारमा पुगिसकेका कैयौं खेलमा टीम नेपालले जितको स्वाद चाखेको छ। सन् २०१२ मा यूएईसँग संयुक्त विजेता बन्दै उनले नेपाललाई एसीसी इलिट कपको उपाधि दिलाए। त्यो सिनियर टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो।
सफलताको उचाइ
सन् २०१४ मा पारसको कप्तानीमा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्यो। बाङ्लादेशमा हङकङ र अफगानिस्तानलाई लगातार दुई खेलमा पराजित गरेर नेपालले विश्वकपमा तहल्का मच्चायो। विश्व क्रिकेटमा नेपालको चर्चा चुलिएको त्यसपछि नै हो। त्यति मात्र हैन, नेपालमा पनि क्रिकेटले प्रमुख खेलको छवि बनायो।
पारसको खेल जीवनको पछिल्लो ठूलो सफलता थियो, सन् २०१८ मा नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता। विषम परिस्थितिमा नेपाली क्रिकेटको ढुकढुकी जोगाउने काम त्यही प्रतियोगिताले गरेको हो।
पारस नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने ऐना हुन्। एसोसिएट क्रिकेटका सफल कप्तान भएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उनलाई एसोसिएट राष्ट्रको शताब्दी पुरुषको मनोनयनमा राखेको थियो।
पारस पनि त्यो प्रतियोगितालाई सम्झिरहन्छन्, “त्यहाँबाट खाली हात फर्किनुपरे नेपाली क्रिकेट कति पछाडि पर्छ भनेर थाहा थियो। मेरो करिअर त त्यही वेला अन्त्य हुने थियो। तर, हामीले गरेर देखायौं।”
पारस नेपाली क्रिकेटलाई विश्वसामु चिनाउने ऐना हुन्। एसोसिएट क्रिकेटका सफल कप्तान भएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले उनलाई एसोसिएट राष्ट्रको शताब्दी पुरुषको मनोनयनमा राखेको थियो।
नेपाली क्रिकेटमा पारसकै नाममा थुप्रै कीर्तिमान छन्। पाँच वटा शतक प्रहार गर्ने उनी एक्लो खेलाडी हुन् भने टी-२० र ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्। उनले ३३ वटा टी-२० अन्तर्राष्ट्रिय र दश वटा ओडीआई खेले। टी-२० अन्तर्राष्ट्रियमा ७९९ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ३१५ रन बनाए।
मिडियम पेस र अफ स्पिन बलिङ गर्ने पारसले ओडीआईमा ९ र टी-२० अन्तर्राष्ट्रियमा आठ विकेट लिएका छन्। उनको कप्तानीमा नेपालले २६ वटा टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा ११ वटामा जित हात पारेको छ।
क्रिकेट समर्थकहरू भने खेल संख्या वा सफलताको संख्याभन्दा मैदानमा पारसको उपस्थितिलाई नै महत्त्वपूर्ण मान्छन्। नेपाली क्रिकेट समर्थक समाजका अध्यक्ष नारायण पराजुली भन्छन्, “पारस क्रिजमा छन् भने नेपालले जहिले पनि जित्न सक्छ भन्ने विश्वास जाग्थ्यो। यो नै उनको ठूलो कीर्तिमान हो।”
मैदान बाहिरका ‘खेलाडी’
मैदान बाहिर देखिनु र सुनिनुपर्ने ठाउँमा उनले आफूलाई उत्तिकै सशक्त रूपमा उभ्याए। नेपाली क्रिकेटमा राजनीति हावी भइरहेका वेला त्यो चुनौतीबीच खेललाई उकास्न कम चुनौती थिएन। कप्तानी सम्हालेको केही वर्षमा उनी नेपाल क्रिकेट संघ (क्यान)को कार्यशैलीप्रति आक्रामक बने, ‘खेलाडीहरूले मैदानमा आफ्नो भूमिका राम्ररी निर्वाह गरेर राम्रो नतीजा निकाल्नुपर्ने, क्यानका पदाधिकारीहरूले भने आफ्नो भूमिका खेल्नु नपर्ने?’
क्यानका पदाधिकारीले राम्ररी काम गरे नेपाली क्रिकेटको कायापलट हुने पारसको आशय थियो। उनले प्रायोजकको रकममा खेलाडीको पनि हिस्सा हुनुपर्छ भन्ने आवाज उठाए। त्यसपछि उनी क्यान अव्यवस्थापनको विरोधमा लगातारजसो बोली नै रहे।
मैदानभित्रका खेलाडीले अब मैदान बाहिर खेल्नेछन्। त्यस निम्ति उनले केही सपना र योजना बुनेका छन्। त्यो योजनाको सार हो- “हामीले जस्तो दुःख र असुविधा अबको पुस्ताले भोग्नु नपरोस्।”
सन् २०११ मा प्रशिक्षक भएर आएका पुबुदु दासानायके बीचमै फर्किने भएपछि उनलाई रोक्नुपर्नेमा पनि पारसले जोड गरेका थिए। हुन पनि, २०१० मा डिभिजन-५ पार भएपछि पुबुदुको आगमनसँगै नेपालले लगातार फड्को मार्दै गएको थियो।
क्यान विरुद्ध आक्रोश पोखेको घटनाले पारसमाथि अनुशासनका प्रश्न तेर्सिए। तर, अव्यवस्थाको विरोध गर्न उनले छाडेनन्। बाहिरी माहोलको तनावको असर उनले मैदानभित्र आफ्नो प्रदर्शनमा कहिल्यै पर्न दिएनन्।
एकदिवसीय विश्वकप खेल्ने र नेपाललाई टेस्ट राष्ट्र बनाउने उनको सपना भने पूरा भएन। क्यान गतिलो भइदिएको भए सम्भवतः पारस र उनको टोलीले अझै धेरै गर्न सक्थे कि? सन्न्यासपछिको पत्रकार सम्मेलनमा उनले त्यस्तो भावना पोखेका थिए, “नेपालले पहिले नै राम्रो गरेको भए हामीले टेस्ट खेल्नेबारे सोच्न सक्थ्यौं । त्यो पाटो अब आगामी पुस्ताको हातमा छ।”
क्यानभित्र राजनीति मात्रै भएन, भ्रष्टाचारमा फस्दै आईसीसीको निलम्बनमा नै पर्यो। यस्ता घटनाका कारण खेलाडीहरू पीडित हुनुपरेको पीडाबोधकै कारण हुनुपर्छ, पारसले मैदान बाहिरका दुरवस्था सुधार्न अब व्यवस्थापनमा आउने सोच बनाएका हुन्।
मैदानभित्रका खेलाडीले अब मैदान बाहिर खेल्नेछन्। त्यस निम्ति उनले केही सपना र योजना बुनेका छन्। त्यो योजनाको सार हो- “हामीले जस्तो दुःख र असुविधा अबको पुस्ताले भोग्नु नपरोस्।”
पारसले नेपाली क्रिकेटलाई दिएको उचाइ सामुन्नेमा रहिरहँदा नमीठो वास्तविकता चाहिँ, ७७ नम्बर जर्सी लगाएका अग्लो कदका खेलाडी अब राष्ट्रिय टोलीमा कहिल्यै देखिनेछैनन्। उनको योगदानको सम्मान गर्दै नेपाल क्रिकेट संघले उनले लगाउने गरेको जर्सी नम्बर ७७ अब नेपाली क्रिकेटरले नलगाउने निर्णय गरेको छ।
(हिमालको २०७८ भदौ अंकमा ‘क्रिकेटको अग्लो कद’ शीर्षकमा प्रकाशित रिपोर्ट।)