बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुलुककै पहिलो महिला मुख्यमन्त्री तथा बागमती प्रदेशको दोस्रो मुख्यमन्त्री नियुक्त शाक्यले बुधबार राति नै पद तथा गोपनीयताको शपथ लिएकी छन्। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन्।
निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएपछि माधवकुमार नेपाल पक्षकी शाक्यलाई अध्यक्ष केपी शर्मा ओली पक्षले दलको नेता चयन गरेको थियो। पौडेल स्वयंले शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए। दलको नेता भएपछि एमालेको सिफारिशमा शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएकी हुन्।
नवनियुक्त मुख्यमन्त्री शाक्यले बुधबार नै दुई मन्त्री नियुक्त गरेकी छिन्। कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेता नेपालले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन्।
संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै माधव नेपाल पक्षले नेकपा एमाले (समाजवादी) नामक नयाँ पार्टी दर्ता गरेपछि शाक्य लगायत एमालेका दोस्रो तहका केही नेताहरूले नेता नेपालको साथ छाडेका छन्।
यसअघि बागमती प्रदेशमा नेपाल पक्षको नेतृत्व गरिरहेकी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारी स्वरूप नै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए।