माधव नेपालले खोले एमाले विभाजनको भित्री कारण
नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालले नेकपा (एमाले) विभाजनको कारण खुलाएका छन्।
बुधबार आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेर फर्के लगत्तै उनले पार्टी पंक्ति र आम जनसमुदायको नाममा अपील जारी गरेका हुन्।
पूर्व प्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी फुटेको दाबी गरेका छन्।
नेता नेपालको अपील उनकै शब्दमाः
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
यति वेला हाम्रो पार्टी नेकपा (एमाले) गम्भीर संकटबाट गुज्रिरहेको छ । हाम्रोे पार्टी एकताबद्ध भएर अगाडि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको छ। यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो । उहाँ पार्टीका सिद्धान्त, नीति, विचार र पार्टीको नवौं महाधिवेशनबाट पारित गरिएका निर्णय अनुसार नचल्नु हो।
पार्टीको नवौं महाधिवेशनले मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने मूल नीति पारित गरेको थियो, तर त्यही महाधिवेशनबाट पार्टी अध्यक्षमा चुनिएका केपी ओलीले महाधिवेशनका निर्णय बोक्दै बोक्नुभएन। उहाँ पार्टी महाधिवेशनप्रति इमानदार रहनुभएन। उहाँले महाधिवेशनका निर्णय पालना नगरी आफूखुशी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। त्यसैबीच तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता गरेर निर्माण गरिएको नेकपाको अध्यक्षका रूपमा रहँदा पनि केपी ओली पार्टीका नीति र विधि अनुसार कहिल्यै चल्नुभएन।
मुलुकको प्रधानमन्त्री समेत रहेका उहाँले सरकार पनि पार्टी नीति र जनअपेक्षा अनुसार चलाउनुभएन। उहाँ मुलुकको संविधान अनुसार पनि चल्नुभएन। फलतः पार्टीमा गम्भीर मतभेद र विवाद उत्पन्न भयो। उहाँले ५ पुस २०७७ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन गर्न सिफारिश गरेपछि उक्त विवाद चरमचुलीमा पुग्यो र तत्कालीन नेकपा राजनीतिक रूपले दुई भागमा विभाजित भयो।
३ जेठ २०७५ मा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपाको निर्माण हुनु नेपाली कम्युनिष्ट आन्दोलनलाई आधारभूत रूपमा एकीकृत गर्ने एउटा ऐतिहासिक घटना थियो, तर केपी ओलीकै गलत विचार र व्यवहारका कारण त्यो ऐतिहासिक एकता टिक्न सकेन। २०७७ फागुन २३ मा अदालतको फैसलाद्वारा त्यो एकता भङ्ग भयो। अदालतको उक्त फैसलाले तत्कालीन एमाले र माओवादी केन्द्र पूर्वावस्थामै फर्कनुपर्ने स्थिति सिर्जना भएको थियो।
त्यस अवस्थामा एमालेको २ जेठ २०७५ सम्म कायम रहेको केन्द्रीय कमिटीको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने हो भन्ने सम्बन्धमा निर्णय लिनुपर्दथ्यो। पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केपी ओलीले त्यसका निम्ति पहल गर्नुपर्दथ्यो, तर उहाँले त्यस्तो कुनै पनि पहल नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी एमालेलाई विभाजनतर्फ धकेलिदिनुभयो।
त्यस प्रकारको विषम परिस्थितिमा हामीले ४ र ५ चैत २०७७ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी “नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं” भन्ने आह्वान गर्यौं, तर ओलीले एकताका लागि पहल गर्ने होइन कि उल्टै निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाउनुभयो। उहाँले साङ्गठनिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन, पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यदिशालाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उल्लङ्घन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गर्नुभयो। उहाँ गालीगलौजमा समेत उत्रिनुभयो। उहाँले पार्टी एकताको पक्षमा रहेको भान पार्न अनेकौं प्रकारका चालबाजी र नाटक त गर्नुभयो, तर वास्तवमा पार्टी एकतामा अगाडि बढ्न चाहनुभएन।
निरन्तर रूपमा विभाजनकारी निर्णय र गतिविधि गर्दै अगाडि बढ्नुभयो। हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गर्यौं, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो। त्यसैले आज हामी इतिहासको एउटा अत्यन्तै गम्भीर मोडमा आइपुगेका छौं। उहाँले एकातिर एकताको निम्ति वार्ताको अभिनय गर्ने, अर्कातर्फ नयाँ पार्टी सदस्यता वितरण गर्ने, पार्टी सदस्यताको नवीकरण गर्ने र पार्टीको तल्लो तहको अधिवेशनको मिति तोक्दै व्यापक रूपमा संगठनात्मक क्रियाकलाप अगाडि बढाउँदै आफ्नो गुटको शक्ति वृद्धि गर्ने र हामीलाई कुनै संगठनात्मक गतिविधि गर्न नदिई वार्ताको नाटकमा अलमल्याउने काम गरिरहनुभयो।
यति मात्र होइन, उहाँले कहिले स्पष्टीकरण, कहिले कारबाही, कहिले आममाफी, गद्दार, देशद्रोही घोषणा गर्दै फलानो फलानो व्यक्तिका निम्ति एकताको च्याप्टर क्लोज, ढोका बन्द भन्दै नेतृत्व पंक्तिबीच विभाजन ल्याई अलमल्याउने र कतिपयलाई तान्ने काममा लागि रहनुभयो। हुँदा हुँदा १ भदौ २०७८ मा त उहाँ पार्टी नेता र सांसदहरूलाई कारबाही गरी गैरकानूनी रूपमा निष्कासन गर्ने तहमा उभिइसकेपछि बाध्य भएर हामीले कठोर फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
पार्टीको ठूलो पंक्तिलाई अन्धकार भविष्यतिर धकेलिने र निराशाको अवस्थामा पुग्न नदिन तथा नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम चाल्नुपर्ने स्थिति उत्पन्न भएको छ। एमालेको पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले विकल्पको बाटो रोज्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको छ।
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी हाम्रा अग्रजहरूको क्रान्तिकारी दृष्टिकोण, शहीदहरूको बलिदान र हजारौं योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउन चाहन्छौं। हाम्रो पार्टीले स्थापनाकालदेखि नै राष्ट्र र जनता समक्ष राखेका लक्ष्य उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौं।
त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्नुपर्ने आवश्यकता परेको छ। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा र विकासका निम्ति पनि हामीले दृढताका साथ अगाडि बढ्नुपर्ने भएको छ। यही दायित्वबोधका साथ अगाडि बढौं।
प्रिय कमरेडहरू तथा आदरणीय जनसमुदाय,
हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन सक्तैनौं। हामी आफ्नो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौं। त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, स्वच्छ संस्कार र क्रान्तिकारी अडान तथा समाजवादी ध्येयप्रतिको अटल विश्वास जस्ता असल मान्यतामा अडिरहन चाहन्छौं। एमालेले स्थापित गरेको विचारको विविधतालाई आत्मसात् गर्ने दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौं। त्यसका निम्ति एमालेलाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ। एमाले पुनर्गठन र रूपान्तरणको यस महाअभियानको क्रममा हामीले नेकपा (एमाले)बाट वैधानिक रूपमा विद्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अगाडि बढेका छौं। कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यस महाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पुर्याउनुहुन सबैमा हार्दिक अपील गर्दछौं।