२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण शुरू
प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ।
भूमिगत विद्युत्गृह जान प्रयोग हुने ‘भेन्टिलेसन टनेल' को काम मंगलबार शुरू भएसँगै आयोजनाको निर्माण औपचारिक रूपमा शुरू भएको हो। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोड्न मंगलबार पहिलो विस्फोट गराइएको छ। अब मुख्य प्रवेश सुरुङ, केबल सुरुङ लगायत संरचना निर्माण अगाडि बढाइनेछ।
आयोजना स्थलमा निर्माण सामग्रीको आपूर्तिका लागि क्रसर प्लान्टको स्थापना, निर्माण सामग्रीहरूको परीक्षण, पहुँच सडकका लागि त्रिशूली नदीमा बेलीब्रिजको निर्माण, बाँध लगायत संरचना निर्माणका लागि रूख कटान, पहुँच सडक निर्माण लगायत काम धमाधम भइरहेका छन्। निर्माण कार्यमा अहिले २०० श्रमिक आयोजना स्थलमा खटिएका आयोजनाले जनाएको छ।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरीद र निर्माण मोडलमा कोरियन कम्पनी डुसानले ठेक्का पाएको छ।
आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व ब्यांक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी छ। साथै, आयोजना प्रभावित स्थानीयका लागि अधिकतम १० प्रतिशतसम्म शेयर लगानी सुनिश्चित गरिएको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
कुल अनुमानित लागत रु.६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याज सहित) रहेको आयोजनामा नौ वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ।
आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सब–स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ। आयोजनाको निर्माण २०८३ मंसीरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।