कविकुञ्जमाथि धावा!
महाकवि देवकोटाको घर भत्काउनुअघि नेपाल प्रज्ञा-प्रतिष्ठानले सार्वजनिक सुनुवाइ वा सरोकारवालाहरूसँग बृहत् छलफल गर्नुपर्नेमा महामारीका बीच धरोहर नामेट पारिनु दुर्भाग्य हो।
दिनको उज्यालोमा गर्न नसकिने वा गर्न नहुने काम रातमा हुने गर्दछ। उज्यालोबाट आत्तिने र रातमा रत्तिनेलाई निशाचर भनिन्छ। नियतमा खोट हुनेहरू अँध्यारोको पर्खाइमा हुन्छन्। मूलढोकाबाट छिर्ने आँट नहुनेहरू जस्केलाको ताकमा हुन्छन्।
विश्वका अधिकांश मानिसका निम्ति कोभिड-१९ मृत्यु-नाच हुँदै आएको छ। तर, केही सीमित मानिसका लागि यो एउटा सुनौलो मौका हो। वस्तुको आपूर्तिमा एकाधिकार जमाउँदै कालोबजारी गर्ने, सेटिङमा राज्यस्रोत दोहन गर्ने, जनतालाई रोगको त्रासमा गृहबन्दी बनाउने, जनताको प्रतिरोधको नैसर्गिक अधिकार कुण्ठित गर्दै निरंकुशता लाद्नेहरूका निम्ति महाव्याधि एक प्रकारले महामौका हो।
हामीकहाँ पनि दुई पटक प्रतिनिधि सभा विघटन, अध्यादेशको भरमा शासन, स्वास्थ्य सामग्री खरीदमा अनियमितता जस्ता घटना यही बीचमा देखिए। राजनीति गर्नेहरूले कुटिल चाल चल्नु कुनै अनौठो होइन, तर शब्दहरू गोडेर साहित्यको भण्डार भर्नुपर्नेहरूले समेत कोभिड-१९ को मौकामा चौका हान्नु कम्ती खेदजनक छैन।
प्रसंग नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा हालै महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास जगैदेखि नामेट पारिएको परिघटना हो। महाकविले जीवनको अधिकांश समय बिताएको 'कविकुञ्ज'लाई सरकारी स्वामित्वमा लिएर त्यसलाई जीर्णोद्धारबाट साहित्यिक तीर्थस्थल बनाउने घोषणा गरिँदा त्यसको सर्वत्र वाहवाही भएको थियो। संसारभरि नै साहित्यिक स्रष्टाका निजी निवास मर्मत तथा जीर्णोद्धार गरेर मौलिक अवस्थामा राख्ने प्रचलन छ। कतिपय मुलुकमा त स्रष्टाले भोगचलन गरेका सामग्रीहरू (मेमोराबिलिया) दुरुस्त राखिएको पाइन्छ।
महाकवि देवकोटाले जीवनको अधिकांश समय बिताएको 'कविकुञ्ज'लाई सरकारी स्वामित्वमा लिएर त्यसलाई जीर्णोद्धारबाट साहित्यिक तीर्थस्थल बनाउने घोषणा गरिँदा त्यसको सर्वत्र वाहवाही भएको थियो। तर, सरकारबाट यसको स्वामित्व ग्रहण गरेको नेपाल प्रज्ञा-प्रतिष्ठानले घर भत्काइदिएको छ।
भौतिक वस्तु मात्र नभएर कुनै विशेष घटनाक्रमका निशानी समेत संरक्षण गरिएको देखिन्छ। उदाहरणका लागि, ३१ अक्टोबर १९८४ मा नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवासमा आफ्नै अङ्गरक्षकहरूका गोली प्रहारबाट दिवंगत भएकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको नाममा स्थापित संग्रहालयमा अझै पनि सिसाभित्र छोपिएको रगतका दागहरू देख्न सकिन्छ। २००८ नोभेम्बरमा आतङ्ककारी संगठन लस्कर-ए-तयबाको मुम्बई शहरका 'ल्यान्डमार्क' माथिको श्रृङ्खलाबद्ध आक्रमणको अर्को वर्ष दिवा खानाका लागि मुम्बईको लियोपोल्ड क्याफे पुगेको बखत त्यस रेस्टुराँले गोलीबारीबाट क्षतविक्षत सिसा र भित्ता जस्ताको तस्तै राखेको देख्दा पंक्तिकार आश्चर्यमा परेको थियो। अझ उच्च शिक्षा निम्ति बेलायतको प्रवासका दिनहरूमा लन्डन र पेरिस शहर टहल्दै गर्दा देखिएका स्रष्टाहरूका संग्रहालय र 'मेमोराबिलिया' त वर्णनातीत छन्।
स्वच्छन्दतावादी धारका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका आधुनिक युगका कवि हुन्। समयकै हिसाब गर्दा पनि महाकविले देहत्याग गरेको ६ दशक मात्र पूरा भएको छ। देवकोटासँग संगत र सान्निध्य गरेका अनि उनको शिष्य हुने सौभाग्य पाएका अनेकौं व्यक्ति आज पनि भेट्न सकिन्छ। विसं १९६६ मा काठमाडौंको धोबीधारामा जन्मिएका देवकोटाको बाल्यकाल जन्मघरमा बिते पनि उनले संवत् २००० तिर मैतीदेवीमा घर निर्माण गरेका थिए, जहाँ उनी मृत्यु पर्यन्त बसेका थिए। आफूद्वारा निर्मित यसै घरलाई उनले कविकुञ्जको नाम दिएका थिए।
देवकोटाको निधनपछि त्यस घरमा उनका सन्तति र पछिल्लो समय भाडामा मानिस बस्दै आएका थिए। उक्त घर भएको ठाउँमा उस्तै डिजाइनको नयाँ निर्माण गरेर संग्रहालय बनाउने योजनामा रहेको प्रज्ञा-प्रतिष्ठानले कविकुञ्ज भत्किने अवस्थामा रहेकाले भत्काउनुपरेको जनाएको छ। निर्माण अवधि र संरचनागत हिसाबले त्यो घर खासै पुरानो होइन। किनकि, काठमाडौं उपत्यकामा अझै पनि मल्लकालीन घर देख्न सकिन्छ।
कविकुञ्ज संरचनागत हिसाबले सबल थियो भन्ने अर्को प्रमाण २०७२ सालको महाभूकम्प हो। यदि संरचना कमजोर हुन्थ्यो त घर भूकम्पबाट सोत्तर भइसकेको हुन्थ्यो। कविकुञ्जलाई मिहिन रूपबाट अवलोकन निरीक्षण गरेका सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीका अनुसार, घरको संरचनामा कुनै कैफियत थिएन, मात्र केही दलिन मक्किएका थिए, जसलाई सजिलै विस्थापन गर्न सकिन्थ्यो।
यस्तो साझा अनि विराट् व्यक्तित्वको घर भत्काउनुअघि नेपाल प्रज्ञा-प्रतिष्ठानले सार्वजनिक सुनुवाइ गर्नुपर्ने होइन? साहित्य र वाङ्मय, कला र वास्तुकला, सम्पदा र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरूमाझ बृहत् छलफल गर्नुपर्ने होइन? यदि यस्तो छलफलबाट महाकविको घर भत्काउनैपर्ने राय आउँथ्यो भने त्यो सर्वस्वीकार्य हुन्थ्यो र महाकविको घर भत्काएको दोष स्वाभाविक रूपमा प्रज्ञा-प्रतिष्ठानमाथि पर्दैनथ्यो।
दुई-तीन सय वर्ष पुराना दर्जनौं मल्लकालीन घरहरू जीर्णोद्धार मार्फत मौलिक स्वरूपमा फर्काएका पुरीका भनाइमा कविकुञ्ज जीर्णोद्धार र खर्च दुवै हिसाबले सजिलो घर थियो। उनले मौलिक स्वरूपमा फर्काएका पुराना घरहरूको अवलोकन निम्ति प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ टोलीलाई भक्तपुर निम्त्याएका थिए। विडम्बना, कविकुञ्ज नामेट गर्न दृढ संकल्पित प्राज्ञहरूले देवकोटाको ऐतिहासिक घर छापामार शैलीमा ध्वस्त पारिछाडे। कोरोना कहरका कारण सार्वजनिक भेटघाट सम्भव नहुनु प्राज्ञहरूका लागि वरदान र देवकोटापूजक साहित्यानुरागीका निम्ति अभिशाप बनिदियो।
कोही उचाइका कवि हुन्छन् त कोही फैलावटका। देवकोटामा उचाइ र फैलावट दुवैका कवि हुने संयोग पाइन्छ। 'पागल' जस्तो उच्च बौद्धिक कविता होस् वा 'मुनामदन' जस्तो झ्याउरे भाकाको सरल खण्डकाव्य, देवकोटा 'क्लास' र 'मास' दुवैका कवि हुन्। यस अर्थमा उनी सबै नेपाली र नेपालभाषीमा स्पन्दित कवि हुन्। अनि यस्तो साझा अनि विराट् व्यक्तित्वको घर भत्काउनुअघि नेपाल प्रज्ञा-प्रतिष्ठानले सार्वजनिक सुनुवाइ गर्नुपर्ने होइन? साहित्य र वाङ्मय, कला र वास्तुकला, सम्पदा र इन्जिनियरिङ क्षेत्रका व्यक्तिहरूमाझ बृहत् छलफल गर्नुपर्ने होइन? यदि यस्तो छलफलबाट महाकविको घर भत्काउनैपर्ने राय आउँथ्यो भने त्यो सर्वस्वीकार्य हुन्थ्यो र महाकविको घर भत्काएको दोष स्वाभाविक रूपमा प्रज्ञा-प्रतिष्ठानमाथि पर्दैनथ्यो। यस्तो बाटो अपनाइँदा समय केही बढी लाग्न सक्थ्यो, तर परिणामको स्वामित्व सबैमा जान्थ्यो।
जो प्रज्ञावान् हुन्छ, उही प्राज्ञ हो। प्राविधिक रूपमा सरकारी स्वामित्वका प्रज्ञा-प्रतिष्ठानका पदाधिकारीलाई प्राज्ञ भनिए पनि प्राज्ञको न्यूनतम तत्त्व प्रज्ञा हो। सरकारद्वारा राजनीतिक भागबण्डामा नियुक्त यस्ता पदाधिकारी आवधिक अर्थात् 'म्यादी प्राज्ञ' हुन्। म्यादी प्राज्ञको चुरीफुरी पद रहुन्जेल मात्र हो। तर, सर्वकालिक प्राज्ञ आफ्नै प्रज्ञा र आभाद्वारा प्रकाशित हुन्छन्। आज देवकोटाका घर भत्काउनेहरू दलहरूका आसेपासे म्यादी प्राज्ञ हुन्। यी म्यादी प्राज्ञले महाकविको श्वास र स्पर्शद्वारा जीवित कविकुञ्जलाई धुलिसात गरे। यस अपराधका भागीदारहरू जीवन पर्यन्त जनताको कठघरामा उभिनुपर्नेछ।