बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गरिँदै
बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गरिएको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी सांसद अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको हो। सरकारले दल विभाजनका लागि अध्यादेश ल्याएसँगै एमाले फुटेर नेपाल पक्षले नयाँ दल दर्ता गर्ने चर्चा चले पनि शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा नेपाल पक्षका एक सांसदले नयाँ सरकार गठनका लागि आज वा भोलिसम्म प्रक्रिया अगाडि बढ्ने बताए।
"एमाले एकता रहे पनि नरहे पनि त्यसबारे पछि मिलाऔंला, अहिले डोरमणि पौडेलको ठाउँमा शाक्यलाई मुख्यमन्त्री बनाएर जाने कुरा भएको छ," ती सांसदले भने।
प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पौडेल मुख्यमन्त्री छन्। संसदीय दलको बैठकले दलको नेता परिवर्तन गर्नसक्छ। यसकै लागि आजै नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्दै छ।
बागमती प्रदेश सभाका ११० सदस्यमध्ये एमालेका ५६ जना सांसद छन्। यसमध्ये नेपाल समूहका कम्तीमा २२ सांसद छन्। केन्द्रसहित विभिन्न प्रदेशमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेपाल पक्षबीच फाटो रहे पनि बागमतीमा दुवै पक्ष एक ठाउँमा छन्।