सम्पदाको संरक्षणमा स्थानीयकै जागरुकता जरुरी
प्राचीन सम्पदाको संरक्षणमा स्थानीयवासीकै जागरुकता आवश्यक हुने सरोकारवालाले औंल्याएका छन्।
'हिमाल' पुनःप्रकाशनको अवसरमा १ भदौमा आयोजित 'फर्किए देउताः लुकीछिपी विदेशिएका नेपाली मूर्ति फर्काउन थाल्नुको अर्थ' शीर्षकमा आयोजित 'तपाईंसँग हिमाल संवाद' कार्यक्रममा वक्ताहरूले ऐतिहासिक मूर्तिको अभिलेखनले नै चोरी घट्ने र मूर्ति फिर्ती अभियान सफल हुने धारणा राखे।
सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले मूर्ति चोरीमा रक्षक नै भक्षक भएको सुनाए। "तिलगंगाको उमा-महेश्वरको मूर्ति हल्लाउन सात जना मानिस चाहिन्छन्। सरकारी संरक्षण नभईकन कसरी चोरी भयो होला?," पुरीले भने, "अलजजिराले स्टिङ अपरेसन गरेर समातिएका दोषीलाई दुई हप्तामै छाडियो। लहरो तान्दा पहरो गर्जन्छ भनेर कोही पनि जोखिम लिन अघि सरेन।"
उनले टिस्टुङको लिच्छविकालीन शिलालेख संरक्षणका लागि लामो चक्कर काट्नुपरेको फेहरिस्त पनि सुनाए। पुरीले थपे, "मूर्ति फिर्तीका लागि पर्याप्त प्रमाण चाहिँदो रहेछ। त्यसैले लैनसिंह बाङदेल र यूर्गेन शिकको जस्ता ऐतिहासिक पुस्तक महत्त्वपूर्ण छन्।"
नेपाली मूर्तिको न्यूयोर्कमा हुन लागेको लिलामी रोक्न पनि सफल भएको उनले सुनाए। साथै, पुरीले फर्पिङको सरस्वती मूर्तिलाई पछाडिबाट घनले हानेर टाउको छिनालिएपछि एक भक्तालु महिलाले लोग्ने मर्दाभन्दा बढी आँसु आएको बताएपछि आफूले चोरी भएका मूर्तिको प्रतिकृति सहितको म्यूजियम अफ स्टोलन आर्टको अवधारणा ल्याएको बताए।
उनले ५० मध्ये ३६ मूर्तिको प्रतिकृति तयार भइसकेको बताए। उनले थपे, "हामी दुर्लभ मूर्ति भेट्छौं, तर फेरि मूर्ति चोरी होला भनेर प्रचार गर्न डर लाग्छ। चोरेर लाने गरीब हुन्, चोरिने हामी धनी हौं।"
हिमाल संवादमा नेपाल कला परिषद्की क्युरेटर स्वस्ति कायस्थ राजभण्डारीले सम्पदाको संरक्षक समुदाय नै हो भन्ने जागरुकता ल्याउन अभियानै चलाउनुपर्ने बताइन्। उनले भनिन्, "हामीकहाँ मूर्तिको प्राणप्रतिष्ठा गर्ने चलन छ। मूर्ति चोरी भएका वा चोट लागेमा अर्को प्रतिस्थापन गरिन्छ। साँच्चै भन्ने हो भने बिग्रेका, चोरी भएका वा खण्डित मूर्तिलाई पूजा गर्नु हुँदैन भन्ने जनविश्वास रहेकाले प्राचीन मूर्तिको समुदायमा पुनःस्थापना चुनौतीपूर्ण छ।"
कार्यक्रममा पूर्व राजदूत दुर्गाप्रसाद भट्टराईले नियम कानूनमा मात्र लेखेर सम्पदा संरक्षण नहुने बताए। सन् २०१३ देखि २०१८ सम्म सम्पदा संरक्षणका लागि थुप्रै कानून बने पनि सफल नभएको उनले बताए। मूर्ति फिर्तीका लागि यथेष्ट प्रमाण जुटाउनुपर्ने औंल्याउँदै भट्टराईले थपे, "त्यति सजिलै मूर्ति कसरी गए होलान् र विदेशको समुद्रमा कसरी हराए होलान्? चोरीमा सानादेखि ठूला मानिस संलग्न छन्। त्यसैले त म्यूजियमदेखि म्यूजियमसम्म, प्राइभेट कलेक्सनदेखि प्राइभेट कलेक्सनसम्म यात्रा गर्छन्।"
कार्यक्रमका सहजकर्ता पत्रकार कनकमणि दीक्षितले चोरी भएर फर्केका मूर्तिको छुट्टै संग्रहालय बनाउन सकिने धारणा राखे। दीक्षितले तल्ला तहका र बिचौलियालाई मात्र चोर भन्ने गरिएको उल्लेख गर्दै अब चोरीमा सलबलाएका सम्पूर्ण शृंखलालाई नै चोर भनिनुपर्ने जिकिर गरे।
"चोरीका मूर्तिबारे चियोचर्चा गर्दा कसैलाई झर्को लागे लागोस्। तर, चियोचर्चा गर्न छाड्नुहुन्न," उनले भने, "त्यसो गर्दा बजार मूल्यसँगै चोरीको क्रम पनि ओरालो लाग्छ। यसमा प्रचारप्रसार जति ढिला भयो, उति क्षति हुन्छ। अबको खानतलासी आगम छेँ र निजी संकलनमा हुनुपर्छ। त्यसपछि लाजगालले पनि जीवित संस्कृतिका मूर्ति फिर्ता हुन्छन्।"
कार्यक्रममा सहभागी पत्रकार देवेन्द्रराज भट्टराईले प्रतिप्रश्न गरे, "हामी मूर्ति चोरीको समाचार त लेख्छौं, तर चोर को हो भनेर कहिले लेखौंला?"
अर्का सम्पदाप्रेमी जगतराज उपाध्यायले दैलेखको दामुपालको शिलालेख अनेक कोशिशपछि बल्ल स्थानीय तहले टहरो बनाएर संरक्षण गरेको अनुभव सुनाए भने अर्जुन आचार्यले मूर्ति फिर्ता आउँदा गद्गद भए पनि संग्रहालयमै धूलाम्मे भएको देख्दा चिन्ता लागेको बताए।
यलमाया केन्द्र पाटनढोकामा भएको कार्यक्रममा हिमालका प्रकाशक समेत रहेका दीक्षितले प्रत्येक महीनाको १ गते 'तपाईंसँग हिमाल संवाद' आयोजना हुने जानकारी दिए।