विद्युत् खपत बढाउन मौसम अनुसार फरक महसुल लागू गरिँदै
सरकारले विद्युत् खपत बढाउन फरक–फरक उपभोक्ता महसुल लागू गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई ध्यानमा राखी वर्षायाम र सुक्खायाममा फरक-फरक विद्युत् महसूल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसूलमा सुविधा दिने निर्णय भएको बताइन्।
उनले खाना पकाउने ग्यासको आयातलाई विद्युतीय चुल्हो मार्फत प्रतिस्थापन गरिने समेत बताइन्।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोग मार्फत सञ्चालन लागत घटाई ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिने बताए।
प्राधिकरणको वार्षिकोत्सवमा दिइएको जानकारी अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्या वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको छ। सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ। समग्रमा, हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँच सहितको विद्युत् पुगेको कार्यकारी निर्देशक घिसिङले बताए।
आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणका जलविद्युत्गृहबाट कुल दुई अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको थियो। यो अघिल्लो वर्षको तुलनामा करीब ७ प्रतिशत कम हो। आर्थिक वर्ष २०७६/७७ मा भारतबाट एक अर्ब ७३ करोड युनिट विद्युत् खरीद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारण गत आर्थिक वर्ष २०७७/७८ मा ६३.४५ प्रतिशत बढी अर्थात् दुई अर्ब ८२ करोड युनिट विद्युत् खरीद गरिएको घिसिङले जानकारी दिए।
आर्थिक वर्ष २०७७/७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत छ, जुन त्यसभन्दा अघिल्लो आर्थिक वर्षका तुलनामा १.९१ प्रतिशतले बढी हो। विद्युत् खपतमा भएको वृद्धि, कोभिड–१९ को कारणले चुहावट नियन्त्रणको कार्यक्रम उल्लेख्य रूपमा सञ्चालन नभएकाले चुहावट बढेको हो।
आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणको नाफा घटेको छ। आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद मुनाफा रु.११ अर्ब ६८ करोड रहेकोमा गत आर्थिक वर्ष २०७७/७८ मा रु.३ अर्ब ५१ करोड मात्रै छ।