किन सर्यो कांग्रेस महाधिवेशन?
२०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने नेपाली कांग्रेसको महाधिवेशन पटक-पटक सरेको छ। निर्धारित मितिमा महाधिवेशन किन हुन सकेको छैन? यसको लाभ कसले लिइरहेको छ?
नेपाली कांग्रेसको विधानमा हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। जस अनुसार, १४औं महाधिवेशन २०७६ फागुनमै सम्पन्न भइसक्नुपर्थ्यो। तर, यो भदौका लागि निर्धारित महाधिवेशन पनि पुनः सरेको छ।
९ मंसीरमा महाधिवेशन शुरू गर्ने कांग्रेसको निर्णय छ। महाधिवेशनको मिति सारिएको यो तेस्रो पटक हो। कांग्रेस नेताहरू मूल नेतृत्वको अनिच्छाका कारण महाधिवेशन हुन नसकेको बताउँछन्।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको प्राथमिकतामा नपरेका कारण महाधिवेशनको मिति तोक्ने र नगर्ने गरिएको बताउँछन्। “चार वर्षमा अवधि सकिएपछि पाँच वर्षमा अधिवेशन गर्नुपर्छ भन्ने नेतृत्वलाई लाग्नुपर्थ्यो, तर जनगुनासोको समेत बेवास्ता गरेर सकेसम्म लम्ब्याउने गरियो,” पौडेल भन्छन्। विधि-विधान अनुसार चल्नुपर्ने कांग्रेसबाट त्यसको उल्लंघन भएको र नेताहरूले त्यसबाट हुने क्षतिको अनुमान नगरेको उनको भनाइ छ।
दुई वर्ष अघिदेखि क्रियाशील सदस्यता विवादमा कांग्रेस अल्झिइरहेको छ। त्यसैलाई कारण देखाएर महाधिवेशनको मिति तोकेर पनि पटक पटक सार्ने गरिएको छ। कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला क्रियाशील सदस्यता वितरणमा भएको विवादका कारण महाधिवेशन समयमा हुन नसकेको बताउँछन्।
क्रियाशील सदस्यता विवाद टुंग्याउन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको छानबिन समिति बनाइएको छ। यसअघि सदस्यता छानबिनका लागि लेखकको संयोजकत्वमा समिति बनाइएको थियो।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कांग्रेसको नेतृत्वमा व्यवस्थापकीय असक्षमताले महाधिवेशन हुन नसकेको बताउँछन्। “कांग्रेसको केन्द्र त जिल्ला शाखा जस्तो व्यवस्थित पनि छैन,” दाहाल भन्छन्, “कांग्रेसको नेतृत्व सामान्य चलनचल्तीको मात्रै छ।”
देउवालाई अनुकूल
निर्धारित समयमा महाधिवेशन नहुनु र पटक-पटक महाधिवेशनको मिति सर्नुको लाभ कांग्रेस राजनीतिमा सबैभन्दा बढी शेरबहादुर देउवालाई मिल्ने देखिन्छ। १४औं महाधिवेशनबाट पुनः एक कार्यकाल सभापति बन्ने घोषणा गरेका देउवालाई बदलिएको राजनीतिक समीकरण र प्रधानमन्त्रीको कुर्सीमा भएको सत्तारोहणले लाभ मिल्नेछ। विश्लेषक दाहाल भन्छन्, “विधान अनुसार चार वर्षभित्र महाधिवेशन भएको भए के हुन्थ्यो भन्न सकिँदैन, डेढ वर्ष पहिला हुनुपर्ने महाधिवेशन भएन र उहाँ प्रधानमन्त्री हुनुभयो।”
२०७४ सालको स्थानीय तह निर्वाचन र संघीय तथा प्रदेशको निर्वाचनमा कांग्रेसको पराजयपछि देउवा आलोचनाको अग्रभागमा थिए। उनीमाथि संसद्मा प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न चुकेको आरोप थियो। यसले पार्टीभित्र उनको व्यक्तित्व क्षयीकरणको दिशामा थियो।
तर, संसद्मा झण्डै दुई तिहाइ बहुमत भएको नेकपामा आएको विभाजन र एमालेको शक्ति संघर्षका कारण ६३ सांसद भएको पार्टीका सभापति देउवाले प्रधानमन्त्री बन्ने अवसर पाए। यसले पुनः कांग्रेस सभापति बन्ने बाटो खोलेको छ।
कांग्रेस केन्द्रीय सदस्य कोइराला सभापतिको उम्मेदवार बन्न पाउने देउवाको अधिकार भए पनि सभापतिको उम्मेदवारमा भन्दा प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालनमा ध्यान दिनुपर्ने बताउँछन्। उनी भन्छन्, “दोस्रो पटक सभापति बन्ने इच्छा राख्नु अस्वाभाविक होइन, तर अहिलेको देशको जटिल परिस्थितिमा महत्त्वपूर्ण समय सरकार सञ्चालनमा खर्च गर्नुपर्ने हो।”