झालाई हटाएर प्रदेश २ को प्रमुखमा मिश्र
प्रदेश २ को प्रदेश प्रमुखमा मंगलबार हरिशंकर मिश्र नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जनाएका छन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री हरिशंकर मिश्र, महोत्तरीलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ।”
३२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो। त्यही अनुसार, राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।
त्यस्तै, प्रदेश २ का प्रदेश प्रमुख राजेश झा हटाइएका छन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले झालाई पदमुक्त गरेको जनाइएको छ। झालाई केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख नियुक्त गरेको थियो।
यसअघि गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि हटाइएका थिए। लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरूङलाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो।