इतिहास शिरोमणिको बाझिएको इतिहास
इतिहास शिरोमणि बाबुराम आचार्यका पुस्तक तथा लेखमा केही ऐतिहासिक घटना सम्बन्धी तथ्य बाझिएका छन्, जसले इतिहासबारे अन्योल सिर्जना गरेको छ।
इतिहास शिरोमणि बाबुराम आचार्यको देहान्त भएको पनि पाँच दशक पुग्नै लाग्यो। जागीरका क्रममा बझांगी राजा जयपृथ्वीबहादुर सिंहको निजी सहायकका रूपमा काम गर्ने अवसर पाउँदा आचार्यले नेपालको इतिहासका सामग्री आद्योपान्त पढ्न पनि पाए।
त्यही लतले बुबाको अस्थि गंगा नदीमा विसर्जन गर्न जाँदा पनि बिहारको आरा शहरस्थित एक पुस्तकालयमा पुगे। त्यहाँ भारतीय विद्वान् भगवान्लाल इन्द्राजीले संकलन गरेको नेपालका प्राचीन अभिलेखको संग्रहमा उनको आँखा पर्यो।
त्यो पढेपछि नेपालमा पनि यस्ता अभिलेख पाइँदा रहेछन् भन्ने जानकारी पाए। अनि जागीर खाँदै उनी इतिहासको खोजी र अध्ययनमा समर्पित भए। त्यसकै प्रतिफल राजा त्रिभुवनले २००८ मा आचार्यलाई ‘इतिहास शिरोमणि’ घोषणा गरे।
यही क्रममा तत्कालीन युवराज वीरेन्द्रको पहलमा उनलाई इतिहास लेखनको एउटा परियोजना दिइयो। त्यही परियोजना अन्तर्गत उनले लेखेको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’को चार वटा भाग २०२४ देखि २०२६ सम्म प्रकाशित भए। पहिलो संस्करण राजदरबार संवाद सचिवालयले प्रकाशित गरेको थियो भने दोस्रो संस्करण २०६१ मा आएर मात्रै साझा प्रकाशनले छाप्यो।
आचार्यले २००६ मा गोरखा भाषा प्रकाशिनी समितिमा इतिहास लेखकका रूपमा जागीर पाएका थिए। त्यस वेलासम्म उनका दुवै आँखा बन्द भइसकेका थिए। उनले ऐतिहासिक सामग्रीका आधारमा भनेका कुरा लेख्ने काम देवीप्रसाद भण्डारीले पाएका थिए।
पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको माइतीबारे इतिहास शिरोमणि आचार्यका लेखनमा एकरूपता छैन। नेपालको सेन वंश हो कि भारतको गोरखपुरतिरको राजपूत खलक भन्ने यकिन छैन।
६० वर्षको उमेर हदका कारण २००८ मा अवकाश पाएपछि उनले लेखेको पुस्तक छापिएन। तर, जे जति खेस्रा छन्, ती सबै भण्डारीले इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’का विभिन्न १४ अंकमा क्रमागत रूपमा प्रकाशनमा ल्याएका छन्।
इतिहास शिरोमणि आचार्यको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) र ‘पूर्णिमा’मा छापिएको एउटै विषयमा कतिपय तथ्यहरू बाँझिएका छन्। उनकै पुस्तकमध्ये केहीमा पनि तथ्यहरू एकै छैनन्। यसले ऐतिहासिक तथ्यबारे अन्योल खडा गरेको छ। यस लेखमा उनका बाझिएका केही तथ्यबारे चर्चा गरिएको छ।
राजेन्द्रलक्ष्मीको माइतीघर पाल्पा कि गोरखपुर?
पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको माइतीबारे इतिहास शिरोमणि आचार्यका लेखनमा एकरूपता छैन। नेपालको सेन वंश हो कि भारतको गोरखपुरतिरको राजपूत खलक भन्ने यकिन छैन।
आचार्यको कृति ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ : ३०६) मा युवराज प्रतापसिंह शाहको विवाह सन् १७६६ फेब्रुअरी (विसं १८२२ फागुन दोस्रो साता)मा भएको थियो भन्ने उल्लेख छ। पृथ्वीनारायण शाहकी महारानी नरेन्द्रलक्ष्मीको माइतीघर गोरखपुरतिरबाट झिकाइएकी डोला मैयासँग युवराज प्रतापसिंह शाहको शुभ-विवाह सम्पन्न भयो र युवराज्ञीको नाम राजेन्द्रलक्ष्मी रह्यो भन्ने लेखिएको छ।
तर, इतिहास प्रधान पत्रिका ‘पूर्णिमा’मा देवीप्रसाद भण्डारीले प्रस्तुत गरेको आचार्यको शृंखलाबद्ध लेख ‘ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास’मा राजेन्द्रलक्ष्मीको माइतीघर फरक छ। ‘पूर्णिमा’को पूर्णाङ्क ५० (२०३८ भदौ : १२) मा छापिएको आचार्यको लेखमा पाल्पामा गन्धर्व सेनपछि तिनका नाति मुकुन्द सेन (चौथा) राजा भएका र पृथ्वीनारायण शाहले उनकी छोरी राजेन्द्रलक्ष्मीसँग युवराज प्रतापसिंह शाहको विवाह गरिदिएको उल्लेख छ। यसले राजेन्द्रलक्ष्मीको माइतीघर गोरखपुर कि पाल्पा भन्ने अन्योल खडा भएको छ।
युवराज प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीको विवाह मिति र त्यससँग जोडिएका राजनीतिक सन्दर्भले अर्को अन्योल थपेको छ।
त्यस्तै, युवराज प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीको विवाह मिति र त्यससँग जोडिएका राजनीतिक सन्दर्भले अर्को अन्योल थपेको छ। ‘पूर्णिमा’मा छापिएको लेख अनुसार, पहिले पाल्पाका राजा मुकुन्द सेनसँग पृथ्वीनारायण शाहको सम्बन्ध राम्रो थियो। तर, आफ्ना बन्धु दिग्बन्धन सेनको मकवानपुर रियासत झिकिएपछि उनी गोरखालीको विरोधी दलमा सामेल भए।
आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ : २८७) का अनुसार, पृथ्वीनारायण शाहले सेन वंश उन्मूलन गर्ने क्रममा आफ्नै ससुराली राज्य मकवानपुरमाथि हमला गर्दा राजा दिग्बन्धन सेन भागेर हरिहरपुरगढीतिर पुगेका थिए। त्यहाँबाट पनि भागेर परिवारजन सहित खुँडाघाट पुगे। त्यहाँ पनि गोरखाली शैन्य गयो, तर दिग्बन्धन सेन, उनका छोरा, आमा र बहिनी उम्के। उनकी रानी र सात वटा हात्तीलाई समातियो।
त्यसपछि मात्रै दिग्बन्धन सेनले आत्मसमर्पण गरे, ५ फागुन १८१९ मा। पृथ्वीनारायण शाहले जीवनभर दिग्बन्धन सेन र उनका छोरालाई गोरखामा नजरबन्दमा राखे भन्ने आचार्यले उल्लेख गरेका छन्।
आचार्यले उल्लेख गरे अनुसार, मुकुन्द सेन (चौथा)सँग पहिले राम्रो सम्बन्ध भएको, तर दिग्बन्धनको रियासत झिकिएपछि पृथ्वीनारायण शाहको विरोधी दलमा मिले भन्ने प्रसंग थितिमितिको हिसाबले मेल खाँदैन। पृथ्वीनारायण शाहले दिग्बन्धन सेनको रियासत विसं १८१९ फागुन पहिलो सातामै गोरखामा गाभेका थिए। त्यसको तीन वर्षपछि मात्र प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीबीच विवाह भएको देखिन्छ। यदि यो प्रकरणकै कारण पृथ्वीनारायण शाहको पाल्पाली राजासँग मित्रता टुटेको हो भने प्रतापसिंह शाहको विवाह विसं १८२२ मा नभई विसं १८१९ फागुन महीनाअघि नै भएको हुनुपर्ने हो।
‘पूर्णिमा’को पूर्णाङ्क ५१ (२०३८ चैत : ६) मा आचार्यले विसं १८३५ भदौको आधाआधीमा दलजित शाह र श्रीहर्ष पन्तको सहयोगमा बहादुर शाहले राजभवन घेर्न लगाई तत्कालीन काजी सर्वजित राना र उनको अनुयायीलाई काट्न लगाएको तथा राजेन्द्रलक्ष्मीलाई नजरबन्दमा राखेपछि गोरखालीका शत्रु पाल्पाली राजा मुकुन्द सेन झन् विरोधी बनेको उल्लेख गरेका छन्। त्यसैले, राजदरबारको परियोजना अन्तर्गत छापिएको उनको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’मा उल्लेख भएको प्रतापसिंह शाहको ससुराली गोरखपुरलाई मान्ने कि ‘पूर्णिमा’मा छापिएको पाल्पालाई मान्ने भन्ने अन्योल देखिन्छ।
पृथ्वीनारायण शाह बनारसबाट बुटवल हुँदै गोरखा फर्कंदा बाटोमा भेटेका पाल्पाली राजाका विषयमा पनि एकरूपता छैन। बुटवलमा भेटिएका पाल्पाली राजा गन्धर्व सेन थिए कि उनका नाति मुकुन्द सेन (द्वित्तीय) भन्नेमा आचार्यको लेखाइ बाझिएको छ।
पृथ्वीनारायण शाह बनारसबाट बुटवल हुँदै गोरखा फर्कंदा बाटोमा भेटेका पाल्पाली राजाका विषयमा पनि एकरूपता छैन। बुटवलमा भेटिएका पाल्पाली राजा गन्धर्व सेन थिए कि उनका नाति मुकुन्द सेन (द्वित्तीय) भन्नेमा आचार्यको लेखाइ बाझिएको छ।
उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ : ११९) मा त्यस वेला गन्धर्व सेनको मृत्यु भइसकेको र उनको ठाउँमा उनका नाति मुकुन्द सेन (द्वित्तीय) थिए भन्ने उल्लेख गरेका छन्। तर, ‘पूर्णिमा’को पूर्णाङ्क ५० (२०३८ भदौ : २) मा बनारसबाट पृथ्वीनारायण शाह गोरखा फर्कंदा हिउँद हुनाले पाल्पाली राजा गन्धर्व सेन बुटवलमै थिए भन्ने उल्लेख गरेका छन्। एउटै सन्दर्भमा दुई पाल्पाली राजा कसरी उल्लेख भए भन्ने अन्योल छ।
प्रतापसिंह शाहको राजमुकुट
पृथ्वीनारायण शाहको १ माघ १८३१ मा नुवाकोटको देवीघाटमा देहान्त भयो। बाबुको देहान्तपछि युवराज छोरा प्रतापसिंहले राजमुकुट पहिरिने नै भए। तर, उनी राजमुकुट पहिरिन देवीघाट पुगेका थिए कि काठमाडौंको राजदरबारमै राजमुकुट ल्याइयो भन्नेबारे पनि आचार्यका दुई खालको लेखन भेटिन्छ।
‘पूर्णिमा’को पूर्णाङ्क ५१ (२०३८ चैत : २) मा लेखिए अनुसार, पृथ्वीनारायण शाह परलोक भएपछि ‘दाजुभाइ मिली पिताका नीति नियममा चल्नू’ भनी रानी नरेन्द्रलक्ष्मीले प्रतापसिंह शाहलाई राजमुकुट पहिर्याई चितामा चढेकी थिइन्। त्यही दिन प्रतापसिंह शाह काठमाडौं आई सजधजका साथ राजसिंहासनमा बसेर ब्रजनाथ पण्डितलाई मुख्यमन्त्री र स्वरूपसिंह कार्कीलाई काजी दिई मुख्य सेनापति बनाए भन्ने उल्लेख छ।
कीर्तिपुरेको प्रहारबाट पृथ्वीनारायण शाहका एक भाइ दलजित शाह सख्त घाइते भएको र अर्का भाइ शूरप्रताप शाहको देब्रे आँखा फुटेको ऐतिहासिक घटनाबारे पनि आचार्यको लेखनमा तीन वटा मिति देखिन्छन्।
तर, आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः४३६) मा पृथ्वीनारायण शाहको देहान्तपछि प्रतापसिंहले पहिरिनु भनी नरेन्द्रलक्ष्मीले भारदारसँग राजमुकुट काठमाडौं पठाएको र त्यसपछि सती गएको उल्लेख गरेका छन्। नरेन्द्रलक्ष्मीले पठाएको राजमुकुट साँझ काठमाडौं दरबारमा पुगेको र प्रतापसिंह शाहले राजसिंहासनमा बसी नेपालको श्री ५ महाराजाधिराजको गुरुत्तर भार वहन गरी अभिभारा लिएको लेखिएको छ।
यी दुवै लेखोटमा देखिएको विरोधाभासले प्रश्न उब्जाएको छ, आफ्ना बाबु पृथ्वीनारायण शाहको अन्तिम संस्कार भइरहँदा प्रतापसिंह शाह नुवाकोटमा थिए कि काठमाडौं?
कीर्तिपुरमाथि गोरखाली अधिकारको तिथिमिति
गोरखालीले कीर्तिपुरमाथि गरेको दोस्रो असफल आक्रमणबारे पनि आचार्यको लेखनमा तीन वटा मिति देखिन्छन्। कीर्तिपुरेको प्रहारबाट उनका एक भाइ दलजित शाह सख्त घाइते भएको र अर्का भाइ शूरप्रताप शाहको देब्रे आँखा फुटेको ऐतिहासिक घटनामा उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ : ३०३)मा यो युद्धको मिति ४ असोज १८२१ मा भएको उल्लेख गरेका छन्।
त्यस्तै, ‘पूर्णिमा’को पूर्णाङ्क ५० (२०३८ भदौ : ९) मा उनले शूरप्रताप शाह आदि नवयुवकले आक्रमण गर्ने राय दिँदा सन् १७६१ का आखिरी (विसं १८१८ पुस)मा कीर्तिपुरमा दोस्रो आक्रमण गरिएको उल्लेख छ। अझ ‘पूर्णिमा’कै पूर्णाङ्क २७ (२०२९ असोज : १६५) मा प्रकाशित ‘गोरखा विजयकालका घटना’ शीर्षकको लेखमा उनले कीर्तिपुरको दोस्रो आक्रमण विसंं १८२३ भदौमा भएको लेखेका छन्।
यसैगरी, कीर्तिपुरमाथि गोरखालीले अधिकार प्राप्त गरेको घटनामा पनि आचार्यले दुई वटा मिति प्रस्तुत गरेका छन्। उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ : ३०६)मा कीर्तिपुरमाथि ३ चैत, १८२२ मा गोरखाली अधिकार स्थापित भएको उल्लेख गरेका छन्। तर, ‘पूर्णिमा’को पूर्णाङ्क २७ (२०२९ असोज : १६५-१६६) मा गोरखालीले विसं १८२३ माघ-चैतमा कीर्तिपुरलाई घेरा हालेको र चैत शुक्ल नवमीमा अधिकार प्राप्त भएको उल्लेख छ। दुवै मितिमा एक वर्षको फरक छ।
युद्धमा विजित भइसकेका पक्षलाई पृथ्वीनारायण शाहले कस्तो व्यवहार गर्थे भन्ने सन्दर्भमा पनि आयार्यकोे धारणा एक-आपसमा बाझिएको छ। कीर्तिपुरका बासिन्दाको नाक, कान र ओठ काटिएको सन्दर्भमा उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) मा सक्दो बचाउ गरेका छन्।
विजितसँगको व्यवहार
युद्धमा विजित भइसकेका पक्षलाई पृथ्वीनारायण शाहले कस्तो व्यवहार गर्थे भन्ने सन्दर्भमा पनि आयार्यकोे धारणा एक-आपसमा बाझिएको छ। कीर्तिपुरका बासिन्दाको नाक, कान र ओठ काटिएको सन्दर्भमा उनले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१) मा सक्दो बचाउ गरेका छन्।
आचार्यले पुस्तक (२०६१ : ५३३)मा कुनै युद्धमा आत्मसमर्पण गरेका र रणक्षेत्रमा समातिएका व्यक्तिको युद्धपछि हत्या भएको आजसम्म कुनै पनि समसामयिक कागजपत्र देखिएको छैन भनेका छन्। युद्ध मैदानमा भिड्न आएका बाहेक अरू कुनै पनि निहत्था नरनारीको गोरखाली सेनाले हत्या गरेको कागजपत्र नभेटिएको धारणा राखेका छन्।
तर, यही पुस्तक (२०६१ : १६७) मा पृथ्वीनारायण शाह नुवाकोटबाट बेलकोट आक्रमणका लागि डोलीमा चढेर आफैं दौडिएका र ठूलो क्षति व्यहोरेर जयन्त रानालाई पक्राउ गरी नुवाकोट ल्याएको उल्लेख छ। उनलाई नुवाकोटमा ल्याई छाला काढेर मारिएको पनि उनले लेखेका छन्। यसरी, पृथ्वीनारायण शाहले विजित भइसकेका निहत्था मानिसलाई मारेको कतै समसामयिक कागत पत्र फेला नपरेको उल्लेख गरेका आचार्यको एउटै पुस्तकमा एकले अर्कोलाई काट्ने दुई फरक तथ्य छन्।
यस्तै, कीर्तिपुरका बासिन्दाको नाक, ओठ र कान काटेको भन्ने विलियम कर्कपेट्रिकको लेखनलाई खण्डन गर्दै आचार्यले आफ्नो पुस्तक (२०६१ : ५३३)मा केही कातरले आत्मसमर्पणपछि गोरखाली सैनिकलाई झुक्याएर मारेका हुनाले उनीहरूलाई सजाय दिंदा नमारी पोइल जाने जनानाको नाकका टुप्पा नथुनी काटे झैं गरी कुरूप मात्र बनाएको अनुमान गरेका छन्। तर, ‘पूर्णिमा’को पूर्णाङ्क ५० (२०३८ भदौ : १३) मा कीर्तिपुर शहरभित्र गोरखाली प्रवेश गरेपछि केही मुर्खले झुक्याई दश–आठ जना गोरखालीलाई मारेपछि पृथ्वीनारायण शाहले उनीहरूलाई नमारी नाक, कान काटेर छोडिदिएको उल्लेख गरेका छन्।
स्यामर्पा लामा जीवित कि मृतक?
नेपाल-चीनको युद्धका कारणमध्ये भोटबाट आएका स्यामर्पा लामाको शरण पनि एक हो। इतिहासकार ज्ञानमणि नेपालको ‘नेपाल निरूपण’ (२०५५ : २४९) अनुसार, भोटका टशी ल्हुन्यो मठ (गुम्बा)का टशी लामा पाल्देन पेशे परलोक भएपछि उनका भाइ स्यामर्पा लामाले जिम्मा पाएका थिए। धनमाल हिनामिना गरेको अभियोग लागेपछि १४ अनुयायी सहित भागेर पूर्वको बाटो सिक्किम पुगी उनले नेपालमा शरण मागे। तत्कालीन नायब बहादुर शाहले पनि खुशीसाथ उनलाई शरण दिए। यसले नेपाल-तिब्बत सम्बन्ध झन् बिग्रिएको उल्लेख गरेका छन्।
त्यस्तै, स्यामर्पालाई रणबहादुर शाहले १२ खेत जागीर दिएको ‘१८४५ साल आषाढ वदि ८ रोज ६’ को पत्र इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ७७ (असोज २०४७ : २०) प्रकाशमा ल्याए। स्यामर्पा प्रकरणका कारण चीन समेत नेपालसँग रिसायो।
चिनियाँ पक्षले वार्तामा स्यामर्पाको सुपुर्दगी र दिगर्चा गुम्बामा लुटिएका सामग्री फिर्ता हुनुपर्ने माग गरेको थियो। तर, काठमाडौंबाट धैवुङतिर जाँदै गर्दा एक बासमा स्यामर्पाले विष सेवन गरी आत्महत्या गरेका कारण उनलाई भौतिक रूपमै चिनियाँ सेनापतिसमक्ष बुझाउन सम्भव भएन।
आचार्यले आफ्नो पुस्तक ‘चीन तिब्बत र नेपाल’ (२०५९ : १७०-१७६) मा उल्लेख गरे अनुसार, नेपालसँग वार्ता गर्न कुतीमा आएका तिब्बती काजीहरू धुरिन्, यु-तो, सर्दार च्वाग्-लो-चनलाई नेपाली पक्षले ३१ साउन, १८४९ मा पक्रेर काठमाडौं ल्यायो। त्यसपछि चीन र भोटले नेपालमा हमला गरे। नेपाली सेनालाई चीन-तिब्बतले दपेट्दै ल्याउँदा उनीहरू धैवुङमा आइपुगे।
त्यसपछि वार्ताका लागि नेपाली पक्षले पक्राउ परेका तिब्बती काजीहरूका साथ स्यामर्पा लामालाई पनि धैवुङको चिनियाँ शिविरमा पुर्यायो। चिनियाँ पक्षले वार्तामा स्यामर्पाको सुपुर्दगी र दिगर्चा गुम्बामा लुटिएका सामग्री फिर्ता हुनुपर्ने माग गरेको थियो। तर, काठमाडौंबाट धैवुङतिर जाँदै गर्दा एक बासमा स्यामर्पाले विष सेवन गरी आत्महत्या गरेका कारण उनलाई भौतिक रूपमै चिनियाँ सेनापति समक्ष बुझाउन सम्भव भएन। तर, चिनियाँ सेनापतिले स्यामर्पालाई बुझाउन अड्डी कसे।
चिनियाँ-तिब्बती सेना थप उग्र भई वेत्रावतीसम्म आइपुगेपछि बहादुर शाहले नेपाली फौजलाई डटेर लड्न निर्देशन दिए। त्यसपछि दोहोरो युद्धमा चिनियाँ-तिब्बती सेनाको ठूलो क्षति भयो। उनीहरू नेपालसँग सम्झौता गर्न बाध्य भए। स्यामर्पा जीवितै नभएको अवस्थामा उनको अस्थि-अवशेष भए पनि सुम्पे हुने सन्देश पठाए। त्यसपछि ११ भदौ, १८४९ मा चिनियाँ सेनापति तुङ-थ्वाङलाई स्यामर्पा लामाको अस्थि-अवशेष र उनीसाथ आएका अनुचर परिचर हस्तान्तरण गरियो।
यसबाट हेर्दा स्यामर्पा लामाको आत्महत्या भइसकेका कारण उनको हाडखोर बुझेर चिनियाँ सेना फिर्ता भए भन्ने बुझिन्छ। तर, आचार्यकै अर्को पुस्तक ‘अब यस्तो कहिल्यै नहोस्’ (२०६८ : १२-१६) पढ्दा भने स्यामर्पा लामालाई नेपाली पक्षले चिनियाँ सेनापति समक्ष जिउँदै बुझाएको देखिन्छ।
यसमा उल्लेख भए अनुसार, वार्तामा आफूलाई पक्राउ पर्ने छनक पाएपछि उनी बीच बाटोमै रोकिए। तर, चिनियाँ पक्षले उनको खोजी गर्यो। पछि सम्झौता अनुसार, स्यामर्पा र दिगर्चाबाट लुटेर ल्याइएका धनमाल फिर्ता गर्न नेपाली पक्ष सहमत भयो।
नेपाली पक्षले स्यामर्पा लामालाई सुपुर्दगी गर्यो। तर, चीनतिर फर्कने क्रममा उनले विषपान गरी पहिलो बासमै आत्महत्या गरे भनी आचार्यले लेखेका छन्। स्यामर्पाका विषयमा दुई पुस्तकमा दुई वटा कुरा लेखेर आचार्यले अन्योलग्रस्त बनाएका छन्।